५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

यसरी गरौं रानी महल संरक्षण

यसरी गरौं रानी महल संरक्षण
अ+ अ-

प्रकाश शर्मा ढकाल

नेपाल पर्यटन बोर्डले पाल्पाको रानी महलमा हेरिटेज होटल सहित हनिमुन गन्तव्यको रुपमा विकास गर्न प्रस्ताव गरेको समाचार बाहिरिएपछि ऐतिहासिक महत्वका सम्पदा संरक्षणका बारेमा बहसले गति लिन थालेको छ ।

तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको अग्रसरतामा पुरातात्विक महत्वको रानी महलको व्यवस्थापन तानसेन नगरपालिकाले गर्ने गरी पुरातत्व विभाग र तानसेन नगरपालिकाबीच २०७५ श्रावणमा एक सम्झौता भएको थियो । जस अनुसार नगरपालिकाले प्रवेश शुल्क समेत लिन सक्ने र सो समेतको आयबाट महलको संरक्षण, मर्मत सम्भार गर्ने दायित्व नगरपालिकाको रहेको छ ।

महलको भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने बजेटको व्यवस्था सङ्घीय सरकारले गर्ने प्रतिबद्धता तत्कालीन पर्यटन मन्त्रीले जनाएका थिए । दश वर्षे उक्त समझदारीपत्रमा सो महल तथा त्यसले चर्चेको क्षेत्र कुनै पनि रुपमा तेस्रो पक्षलाई भोगाधिकार दिन वा भाडामा लगाउन नपाउने व्यवस्था गरिएको थियो ।

पर्यटन मन्त्रालयले सङ्घीय संरचनामा यस प्रकारको अभ्यासको शुरुवात आफूले गरेको जनाएको थियो । नगरपालिकाद्वारा व्यवस्थापन हुने भएपछि स्थानीय जनसमुदायमा महलप्रतिको अपनत्वभाव बढ्ने, यसको संरक्षण हुने तथा थप प्रचार प्रसार भई पर्यटकीय गन्तव्यको रुपमा विकास हुने अपेक्षा लिइएको थियो ।

वि.सं. १९५४ मा जनरल खड्ग शम्शेरले आफ्नी रानी तेज कुमारीको सम्झनामा यो दरबार बनाउन लगाएको इतिहास रहेको छ । १०० वर्ष भन्दा पुराना ऐतिहासिक संरचनाहरु पुरातात्विक संरचनाको परिभाषा भित्र पर्ने हुँदा यसको संरक्षण, सम्वद्र्धन एवं उपयोग समेतमा पुरातत्व विभागको स्वीकृति लिनु पर्ने हुन्छ । नेपालको ताज महलको रुपमा परिचित यो महल पछिल्लो समय आन्तरिक पर्यटक खासगरी युवा युवतीको रोजाईको गन्तव्यको रुपमा परिचित हुँदै आएको छ । महल कालिगण्डकी किनारको वन क्षेत्रमा रहेका कारण अन्य पर्यटकीय पूर्वाधारको अभाव हुँदा पर्यटकहरु समस्यामा पर्ने गरेका छन् ।

संरक्षण र व्यवस्थापनका मोडलहरु

विश्वमा ऐतिहासिक महत्वका सम्पदाहरु संरक्षणका विभिन्न मोडलको अभ्यास भैरहेको छ । कतिपय सम्पदा संरक्षण राज्यको प्रत्यक्ष नियन्त्रणमा रहेको हुन्छ भने केही समुदाय मार्फत पनि व्यवस्थापन गर्ने गरेको पाइन्छ । त्यसै गरी सरकार र समुदायको सहकार्य, निजी क्षेत्र मार्फत संरक्षण र व्यवस्थापन, सरकार–समुदाय–निजी क्षेत्रको सहकार्यमा पनि उपयोग र संरक्षण गर्ने गरेको पाइन्छ । सम्पदाको अवस्था, त्यसको राष्ट्रिय अन्तर्राष्ट्रिय महत्व, समुदाय, स्थानीय तहहरुको क्षमताजस्ता पक्षले यसको सञ्चालनको मोडालिटी तय गर्दछ ।

यस्तै मोडलहरु मध्ये पर्यटन बोर्डले प्रस्ताव गरेको भनिएको होटल सञ्चालन सहितको संरक्षण पनि एक हो । व्यवसायसँगै संरक्षणको सिद्धान्त अनुरुप व्यवस्थापन हुने यस्तो मोडलमा सरकारले निश्चित शर्तहरुको अधीनमा रहि व्यवसाय सञ्चालनको अनुमति प्रदान गर्दछ । स्वामित्व सरकारसँगै रहने तर भोगाधिकार र संरक्षणको दायित्व निजी क्षेत्रको हुन्छ । निश्चित अवधिका लागि लिज सम्झौता अन्तर्गत संरक्षण एवं सञ्चालन गरिन्छ ।

नेपालमा अभ्यास

नेपालमा पनि यस्तो अभ्यास हुँदै नभएको भने होइन । काठमाडौंमा रहेका केही ऐतिहासिक दरबारमा अहिले पनि होटलहरु सञ्चालन भैरहेका छन् । याक एण्ड यति, शंकर होटल यस्तै दरबारमा सञ्चालन भैरहेका छन् । यी दरबारहरु भने व्यक्तिगत सम्पत्ति हुन् ।

बबरमहलस्थित बबरमहल रिभिजिटेड होस् वा केशरमहलस्थित सम्पदामा द्वारिकाज होटलको व्यवस्थापनमा सञ्चालित क्याफे पनि यसका उदाहरण हुन् । कति सम्पदा क्षेत्रमा संरचनाको प्रयोग नगरी वरिपरीको क्षेत्रमा व्यवसाय सञ्चालन पनि भैरहेका छन् ।

नारायणहिटी परिसरमा व्यावसायिक संरचना निर्माण गर्ने गराउने विषयमा बाक्लै छलफलहरु भएका समाचार आइरहेका छन् । पोखराको रत्न मन्दिरदेखि चितवनको दियालो बंगलासम्मका सम्पदाहरुको व्यावसायिक उपयोगको पक्ष विपक्षमा चर्चाहरु भैरहेका छन् ।

विकल्प के हुन सक्दछ ?

पर्यटन बोर्डबाट अघि सारिएको भनिएको प्रस्ताव महलको ऐतिहासिक संरचनाको पूर्ण प्रयोग गरी होटल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने देखिन्छ । उसले प्रस्ताव गरे अनुसार केही भागमा सङ्ग्रहालय बनाउन सकिन्छ । सरकारले व्यवसाय गर्नु हुँदैन भन्ने मान्यतामा विश्वास गर्ने हो भने सरकार आफैंले या आफ्ना निकाय मार्फत होटल सञ्चालन गर्नु उपयुक्त देखिँदैन । तारा गाउँ विकास समितिले सञ्चालन गरिरहेका ककनी, पोखरा तथा नगरकोटका होटलहरु हेरे मात्रै पुग्छ ।

रानी महलको मूल संरचना होटलका लागि प्रयोग गर्दा पुरातात्विक महत्वप्रतिको संवेदनशीलता महत्वपूर्ण विषय हुन आउँछ । आन्तरिक वा बाह्य सजावट होटलको सुविधा अनुकूल बनाउने नाममा मूल संरचना तथा परिसरका अन्य संरचना मासिने, स्वरुप परिवर्तन हुने सम्भावना रहन्छ । त्यसमा प्रयोग गर्ने निर्माण सामग्री, रसायनहरुले थप जोखिम निम्त्याउन सक्दछ । होटल सञ्चालन गरेपछि होटलका ग्राहकका लागि मात्र त्यसका संरचना अवलोकनको अवसर प्राप्त हुने जोखिम पनि उत्तिकै रहन्छ ।

रानी महल क्षेत्र कालिगण्डकी तथा खोला किनारामा रहेको तथा घना जङ्गल पनि रहेका कारण परिसर भित्रै अन्य संरचना निर्माण गर्न सहज देखिँदैन । तसर्थ रानी महल आसपासका क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गर्ने, अर्गली दरबार समेतका अन्य ऐतिहासिक सम्पदाहरुको संरक्षण र सम्बद्र्धन गर्न गुरुयोजना निर्माण गर्नु जरुरी छ ।

सुविधासम्पन्न रिसोर्टहरुको निर्माण गर्ने, कालिगण्डकी नदीमा जल पर्यटनका सम्भावनाहरुको खोजी गरी विकास गर्न सकिन्छ । निजी क्षेत्रलाई यसमा आकर्षित गर्नका लागि विशेष छुट सुविधाका प्याकेजहरु नगरपालिका, प्रदेश सरकार तथा नेपाल सरकारबाट हुनु आवश्यक छ । भौगोलिक अवस्थिति अनुसार जिप फ्लायर जस्ता साहसिक र मनोरञ्जनात्मक पर्यटकीय संरचनाहरु विकास गर्न सकिन्छ ।

अन्तमा, यस्ता ऐतिहासिक सम्पदा न हाम्रा हिजोका अग्रजका सम्पत्ति हुन् न हाम्रो पुस्ताका । तसर्थ भावी पुस्ताका लागि पनि सम्पदाहरुको संरक्षण गरी हस्तान्तरण गर्न सक्ने गरी प्रयासहरु अगाडि बढाउनु पर्ने देखिन्छ । व्यवसाय व्यापारका नाममा यसको महत्वलाई कम आँकलन गर्न तथा पुरातात्विक सम्पदाका नाममा अलपत्र पार्ने कार्य पनि सह्य हुन सक्दैन । दुवै अतिवाद भन्दा माथि उठेर कन्जुमेसन र कन्जरभेसन (उपभोग र संरक्षण) बीच सन्तुलन कायम गर्नु आजको आवश्यकता हो ।

लेखक, नेपाल सरकारका उपसचिव हुनुहुन्छ ।