९ मंसिर २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इखले ज्योतिषी बन्नुभएका माइलाबा



अ+ अ-

‘तँ मात्र काठमाडौँ जान्छस्, मलाई लाँदैनस् ।’ म सधैँ घरजाँदा यसै भन्नुहुन्थ्यो माइलाबा । तर उहाँलाई काठमाडौँ लैजान यति गाह्रो कि उहाँले गाडी चढ्नै नपर्ने, देखेपनि लाग्ने । गाडी परै देखे यता काम छुट्ने । ५० वर्ष पहिले आफू गएको काठमाडौँको के कस्तो परिवर्तन भएछ हेर्ने धोको थियो उहाँलाई । मैले भन्थेँ– ल हिँड्नुस् माइलाबा म यसपालि हजुरलाई लगेरै जान्छु । अनि उहाँको सदावहार जवाफ हुन्थ्यो– गाडीमा नराखी लैजा हैत । तर त्यो सम्भव थिएन । पोखरासम्म गाडीमा लैजान सकेपनि त्यहाँबाट जहाजमा लानुहुन्थ्यो । तर पोखरा गाडीमा कसरी लानु ? उहाँ गाडी चढ्नै नमान्ने ।

त्यस्तै १२ वर्षजति अघि मैले पोखरासम्म गाडीमा र त्यहाँबाट जहाजमा काठमाडौँ लैजाने योजना बनाएँ । (टीकाराम र खगेश्वर दाई) उहाँका छोराहरुसँग यही सल्लाह गर्यौँ । घर गएँ । म जाँदा उहाँले राजु छोरो (मलाइ उहाँले सधैँ राजु भन्नुहुन्थ्यो) आउँछ, काठमाडौँ जाने भनेर दौरा सुरवाल सिलाइसक्नुभएको रहेछ । संयोग म घर पुग्दा उहाँले पनि सिलाएको दौरा सुरवाल लिएर घर फर्कँदै हुनुहुन्थ्यो । मलाई देखेपछि भन्नुभयो ‘छोरा आइस् ? यी दौरा सुरवाल सिलाएर ल्याएको छु, मलाई काठमाडौँ लाने त होला नि, होइन ? कस्तो अचम्म लाग्यो । काठमाडौँ जाने कस्तो उत्कट चाहना उहाँको ।

दुई दिन म घर बसेँ । त्यसपछि मैले सोचेँ माइली आमा नभई त कसरी लैजानु ? बाटोमा पनि उहाँ भएपछि सजिलो होला भन्ने लाग्यो । त्यतिञ्जेल हाम्रो गाउँसम्मै गाडी पुगेको थियो, महिन्द्रा जिपहरु चल्थे । तर माइलाबाले म अघिल्लै दिन गएर बागलुङ बस्छु भोलिबिहान तिमीहरु आएपछि जाने भनेर हिँडेरै बागलुङ बजारमा गएर आफन्तकोमा बस्नुभयो । भोलिपल्ट बिहान टीकाराम दाईले बागलुङ पुगेर बालाई माइक्रोबसमा ल्याउने र म र माइलीआमा नयाँपुल निस्कने सल्लाह भयो । हामी बिहानै हिँड्यौँ र त्यस्तै १० बजेतिर नयाँपुल निस्कियौँ । यदि गाडी लागेर कुश्माबाट उता जान सक्नुभएन भने पनि उहाँहरु सँगै घर फर्किनुहुन्छ र हामी काठमाडौँ जान्छौँ भनेर पनि मैले माइलीआमालाई सँगै लगेको थिएँ ।

हामी पुगेको एकैछिनमा उहाँ चढेको माइक्रोबस त त्यहाँ आइपुग्यो तर माइलाबा गाडीभित्रै बेहोस् । त्यो मात्र त्यस्तै ४ किलोमीटरको यात्रा थियो । दुई जनाको सिटमा सुत्नुभएको, शरीर इन्तु न चिन्तु । आँखा बन्द, मुहार पुरै पहेँलो भएको । बोलाएँ । बोल्नुभएन । के भयो हजुरलाई ? मैले सोधेँ । गाडी लायो । सासैसासले भन्नुभयो । मेरो हातको नाडी चपक्कै समात्नुभयो रगतै नचल्नेगरी । अचम्म ! अब कसरी काठमाडौँ लैजानु ? २८६ किलोमीटर गुड्नु छ, चार किलोमीटरमै यस्तो । त्यसपछि दाई र म भएर गाडीबाट ओराल्यौँ । बाटोमा खान दिउँला भनेर अंगुर किनेको थिएँ, दिएँ । मुखै उक्काउनुभएन । सफा भाँडोमा पानी बोकेको थिएँ । दिएँ । खानुभएन । हातको सारले पानी छम्किनु भन्नुभयो । टाउकामा पानी छम्किएपछि एकैछिनमा बल्ल आँखा खोल्नुभयो । र भन्नुभयो– कहाँ पुगियो पोखरा ? मैले भनेँ नयाँ पुल । बल्ल ? उहाँले भन्नुभयो । त्यसपछि लौ त्यसो भए म जान सकिन तिमीहरु जाओ भन्नुभयो । आजै उहाँलाई घर फर्किन गाह्रो छ, रिंगटा लागेको छ । अब के गर्नु ? मैले अनुरोध गरेँ कुश्मासम्म गाडीमै जान । सुरुमा मान्नुभएन । पछि बल्ल तल्ल कुश्मासम्म जान मान्नुभयो । तर वरै झर्नुभयो जंगलमा । त्यसपछि उहाँहरुलाई कुश्मा लक्ष्मी छोरीकोमा पुर्याउने व्यवस्था गर्यौँ र हामी काठमाडौँ लाग्यौँ ।

यसपालि पनि उहाँको काठमाडौँ जाने रहर पूरा गर्न सकिएन । नमज्जा लाग्यो । नसकिने नै रहेछ भन्ने बुझेँ । हामी काठमाडौँ आइ नपुग्दै मेरी श्रीमतीलाई माइलाबाले फोन गरेर भन्नुभएछ– राधा मलाई आठ घन्टासम्म बेहोस बनाउने सुइ लगाएर काठमाडौँ लैजाउ त । उनी स्वाथ्यकर्मी हुन् । यस्तो होस् बन्द गराउने औषधि राखिएका सुई पनि हुन्छन् भन्ने थाहा पाउनुभएछ र भन्नुभएछ । उनले त्यति लामो समयसम्म बेहोस् बनाउन त मिल्दैन बुवा भनेँ भन्दै थिइन् । आफैँ आउन नसकेपनि पछि उहाँलाई केही वर्षपछि भबितव्यले ल्यायो काठमडौँ । घरमाथि हिँड्दा हिँड्दै लड्नुभएछ र टाउकामा चोट लागेछ । उपचारका लागि पोखरासम्म ल्याएको मौका छोपेर यही बेला काठमाडौँ लैजाउँ भन्ने सल्लाह भयो र दुवै दाजुहरुले काठमाडौँ ल्याउनुभयो ।

काठमाडौँको डोमेस्टिक एयरपोर्टबाट कलंकी घरसम्म कसरी ल्याइयो भन्ने बारेमा अहिले यहाँ लेख्न सकिँदैन । चार पटक गाडीबाट ओर्लंदै र हिँड्दै घरसम्म ल्यायौँ । थोरे गाडी चढ्नुभयो र धेरै हिँड्नुभयो । जहाजमै पनि माइलाबाले हवाई परिचारिकालाई जहाज रोक्न निकै बिन्ती गर्नुभएछ । ‘तिमीलाई ५०० रुपैयाँ दिन्छु नानी, यो जहाज रोकिदेउ, म हिँडेर जान्छु’ भन्नुभएछ । परिचारिका र वरिपरिका यात्रु हासेछन् । यो कुरा पछि खगेश्वर दाई सुनाउँदै हुनुहुन्थ्यो ।

माइलाबामा बडो राम्रो ‘ह्युमरस सेन्स’ थियो । जस्तो सुकै कुराबाट पनि मानिसलाई हसाउँने र जतिसुकै पिर परेपनि मुख अमिलो नपार्ने । उहाँ रिसाएको पनि मैले कहिल्यै देखिन । केटाकेटीहरुसँग त सधैँ जिस्किएरै कुरा गर्ने । त्यसैले सबै केटाकेटीका प्यारा हुनुहुन्थ्यो माइलाबा । त्यसैले सानैदेखि मेरी छोरी सिद्धी र विजय माइलाबासँग खेल्न रमाउन खुब मन पराउने । बालबालिकासँग चर्काे नबोल्ने, नहप्काउने, कहिल्यै थप्पड नलाउने नझर्किने, सधैँ जिस्किने र खेल्न मन पराउने । यति भएपछि केटाकेटलाई पुगिहाल्यो । स्कुलबाट आउँदा हरेक पटक आज के पढेर आइस् ? भनेर सोध्नुहुन्थ्यो । हाम्रो घर हुँदै स्कुल जाने गाउँका बालबालिका सबैको नाम उहाँलाई याद थियो । नामैले बोलाउनुहुन्थ्यो र केही न केही सोध्नुहुथ्यो । त्यसैले उनीहरु सबैका प्यारा हुनुहुन्थ्यो माइलाबा । अनि सबैले माइलाबा भनेरै बोलाउँथे ।

कुनै काम थालेपछि खुब हतार हुन्थ्यो सक्न उहाँलाई । त्यो काम फत्ते नगरेसम्म कोही पनि फुत्किन पाउँदैनथ्यो । खरो स्वभावका हुनुहुन्थ्यो । जस्तो कि असारमा पनि हामीले झमक्क साँझ पर्दासम्म काम गथ्र्यौं तर उहाँ घाम अस्ताएपछि हल फुकाउन हतार गर्नुहुन्थ्यो । हामी घर पुग्दा त उहाँ खाना खाएर सुतिसक्नुहुन्थ्यो । मैले जान्दासम्म उहाँ साँझ ७ बज्नुअगावै सुत्नुभयो । बिहान ४ बज्नु अगावै नित्य उठ्ने । कुनै काममा पनि रातिसम्म नगर्ने र साँझ पर्नु अगावै घर पुगिसक्ने । म एक पटक पोखरा पढ्दा राति घर पुगेँ हिँड्दै जाँदा रातको त्यस्तै ८ मात्र बजेको थियो । भोलिपल्ट मलाई कराउनुभयो । दिन आफ्नो रात अर्काको हो, राति हिँड्नु हुन्न भन्नुभयो । मेरो विवाह दिउँसोको थियो, फलेबास । राति घर फर्किन ढिला हुने होकि भनेर बिहानैदेखि हतार गर्नुभएको थियो । तर बिहे त्यस्तै ४ बजेतिरै सकियो । अनि बाटोमा मैले भनेँ– माइलाबा समयमै सकियो है ? हाँस्नुभयो । मलाई शंका लाग्यो माइलाबाले केही गर्नुभयो । नभन्दै विवाह गराउने पण्डितलाई ५० रुपैयाँ घुस दिनुभएको रहेछ विवाह चाँडै सक्नु भनेर । पण्डितको स्टकोटको खल्तीमा ५० रुपैयाँ राखिदिँदै ल जसरी पनि ४ बजेभित्रै विवाह सक्नु है भन्नुभएछ । पण्डितले त्यसै गरेछन् ।

माइलाबाले इख राख्नुहुन्थ्यो । कसैले नराम्रो केही भन्यो भने त्यसलाई दिमागमा राख्नुहुन्थ्यो । तर कसैले केही विषयमा उहाँलाई दोषारोपण गर्यो या गाली गर्यो भने वास्ता गर्नुहुन्नथ्यो । ‘भनोस् त्यसका फल त्यही ब्यहोर्छ’ भनेर टार्नुहुन्थ्यो । आइलाग्नेमाथि जाइलाग्ने स्वभाव उहाँको कदापि थिएन । सहनशिल स्वभाव थियो । ‘सहनेका सय सुद्धि’ भन्नुहुन्थ्यो । यसको अर्थ जो सहन्छ त्यो नै बुद्धिमानी हो भन्ने उहाँको सुझाव रहन्थ्यो । सायद त्यस्तै भएर होला उहाँ २० वर्षको उमेरमा पढ्न जानुभएको रहेछ, इखले । २० वर्षमा अक्षर चिनेर उहाँ ज्योतिषी बन्नुभएको संघर्षलाई प्रेरणाका रुपमा लिन सकिन्छ ।

एकपटक गाउँका पन्थ हजुरबा आउनुभएछ गाउँकै कसैको विवाहको लगन जुराउनलाई । त्यसदिन ठूला हजुरबुबा दयाराम घरमा हुनुहुँदोरहेनछ । त्यसपछि माइलाबालाई नै ल हरिदेउ बाबु भन्नुभएछ । माइलाबाले ‘मलाई त हेर्न आउँदैन, मैले पढेको छैन’ भनेपछि पन्थ हजुरबुबालाई आश्चर्य लागेछ । उहाँले भन्नुभएछ– सुन्तलाघरे ज्योतिषी खानदानमा जन्मिएको यत्रो लक्का जवान छोराले यस्तो भन्न सुहाउँछ ? त्यसो भए मेरो घरको हली छुटाउँछु, तिमी भोलिदेखि मेरो घरमा हलो जोत्न आउनु । यति भनेपछि माइलाबालाई पुग्यो । उहाँ त्यसैदिन घरमा कसैलाई केही नभनी अर्चले गुरुकहाँ जानुभएछ । अर्चले प्रजापति गुरु (गोविन्द गुरुका पिताजी) कहाँ साँझ नै पुगेर ल यसलाई पढाइदिनुपर्यो गुरु भन्नुभएछ । उबेलाको शिक्षा गुरुकुल नै थियो र माइलाबा पनि गुरुकहाँ पुग्नुभयो ।

त्यसपछि गुरु पनि अचम्म पर्नुभएछ र भन्नुभएछ– ए तिमीले पढेका छैनौँ ? सुन्तलाघरे ज्योतिष पण्डित खानदानमा तिमी यत्रो उमेरसम्म पनि नपढी बसेको ? फेरि गुरुको हप्की । एकैदिन दोहोरो पेलाइमा पर्नुभएछ । उहाँमा इख अझ थपियो । त्यो रात गुरुकहाँ नै सुत्नुभएछ अरु शिष्यहरुसँग । त्यहाँ पढिरहेका शिष्यहरुको पनि अपहेलना त हुने नै भयो किनभने उहाँ २० वर्षको उमेरमा पढ्न जानुभएको छ । अरु साथीहरु सानै थिए । मसँगको कुराकानीमा उहाँले सुनाउनुभएको थियो ।

यता घरमा कहाँ गयो भन्ने खोजी सुरु भयो । तर भोलिपल्टै उहाँ घर आइपुग्नुभएछ । दयाराम हजुरबाले हप्काउनुभएछ कहाँ गएको थिइस् हिजो भनेर । त्यसपछि उहाँले म अर्चले गुरुकहाँ पढ्न गएको थिएँ अब पढ्न जान्छु म घर बस्दिन भन्नुभएछ । त्यसपछि भने हजुरबुबाले नै पढाइ खर्च (गुरु भेटीस्वरुप चामल र घीऊ) आदि लिएर उहाँलाई गुरुकहाँ लगेर औपचारिकरुपमा मेरो छोरालाई पढाइदिनुपर्यो भनेर छोडेर आउनुभएछ ।

माइलाबाले त्यहाँ त्यस्तै ८ वर्षजति पढ्नुभएछ सुरुमा चन्डी, रुद्री आदि हुँदै बेदसम्म । उहाँसँग पढ्दाका केही स्मरणहरु त बरडाँडाका स्वर्गीय डिल्लीप्रसाद शर्मा गुरुले पनि मसँग अर्कै प्रसंगमा भन्नुभएको छ, मैले संग्रहित पनि गरेको छु । पछि उहाँ अमलाचौर यदुनाथ गुरुकहाँ गएर ज्योतिष विद्या पढेको मलाई सुनाउनुभएको थियो । यदुनाथ गुरुकहाँबाटै मेरो पनि औपचारिक शिक्षा सुरु भएको हो । म अमलाचौर विद्यालयमा भर्ना हुनुअघि केही समय खगेश्वर दाइसँगै गएर उहाँसँगै प्रारम्भिक पढाई सुरु गरेको थिएँ । यसरी करिब ८ वर्ष अर्चले र तीन देखि ४ वर्षसम्म अमलाचौरमा पढेर उहाँ चिनापात्रो उतार्ने हुनुभयो र ज्योतिषी बन्नुभयो । पछि मेरा पिता विष्णुप्रसाद पाठकले पनि माइलाबासँग कतिपय शिक्षा हासिल गर्नुभयो । माइलाबाले माथिल्लो र मेराबाले तल्लो आँगनमा बसेर चिना लेख्नुहुन्थ्यो । त्यस क्रममा कुनै दुविधा हुँदा या केही कुराका व्याख्या गर्नुपर्दा आपसमा परामर्श गर्नुहुन्थ्यो । यो अवस्थाको धेरैपटक म पनि साक्षी बसेको छु । ठूलाबा शक्तिप्रसाद पाठकले भने आफूले घरको धन्दा खेती किसानी गरेर भाइहरुलाई पढ्न सहयोग गर्नुभएको रहेछ । ठूलाबासँग भेडाबाख्रा चराउन जाँदा मैले हजुरले किन नपढ्नुभएको भनेर सोध्थेँ । उहाँले पछि मसँग पनि भन्नुहुन्थ्यो– भाइहरुले पढ्ने इच्छा गरे । फेरि ज्योतिष खानदानको इज्जतलाई पनि धान्नुपर्यो । अनि मैले नै म घरको काम गर्छु तिमीहरु पढओ भनेर भनेको हुँ ।

माइलाबाले पढ्न थालेको केही समयमै दयाराम हजुरबाको निधन भएको रहेछ । पछि देवनारायण हजुरबा (मेरा हजुरबा) ले नै उहाँहरुलाई पालनपोषण गरी छुट्टीभिन्न गराउनुभएको रहेछ । ठूला हजुरबा बितेपछि उहाँहरु सँगै नै राख्नुभयो र पछि अलग गरिदिनुभएको रहेछ । त्यसैले हाम्रा बुबाहरु दुई हजुरबाका छोरा भए पनि जेठा, माइला र मेरा बुबालाई कान्छा भन्ने गरिएको रहेछ । देवनारायण हजुरबाका एक छोरा मेरा पिताजी । यो कुरा मैले पनि धेरै पछि थाहा पाएँ र सायद अहिले पनि हाम्रो गाउँका धेरैलाई यो तथ्य थाहा नहोला ।
हाम्रो ज्योतिषी पण्डित खानदानको इतिहास धेरै पुस्तादेखिको । मेरा पिताजी भन्नुहुन्छ हाम्रा जिजुबाजेले लेखेको विसं १६८० सालदेखिका पात्रा छन् घरमा ।

म यो ज्योतिषी खलकको आठौँ पुस्ता हुँ । जस्तो कि विसं १६८० तिरका राछु पाठक हुनुहुन्थ्यो भने उहाँका छोरा वैदु हुनुहुन्थ्यो । त्यसपछि शिवै, शिवैपछि जग्गुबल्लभ, जग्गुबल्लवका छोरा घनश्याम र घनश्यामका छोरा दयाराम र देवनारायण । देवनारायणको छोरा विष्णुप्रसाद र उहाँको छोरा म । हाम्रा घरमा पात्रो हेर्न, चिना चिर्कट उतार्न, विवाह ब्रतबन्ध आदिका लगन जुराउन सधैँ आउने गाउँ र टाढा टाढाबाट पनि । मलाई पनि मेरा हजुरबाले पण्डित बनाउने ठूलो रहर थियो । म सधैँ हजुरबासँग सुत्थेँ सानोमा । उहाँले नै मलाई हरेक बेलुका एक श्लोकका दरले चण्डी घोकाउनुहुन्थ्यो । १३ अध्याय चण्डीमध्येको पहिलो अध्याय मैले कण्ठस्थ गरेको थिएँ । त्यो आँखा नहेरी फरर पढ्दा हजुरबाले स्याबास भनेर धाप मार्नुहुन्थ्यो । उहाँले नै मलाई काठमाडौँको स्वरुप सबै बताउनुभएको थियो ।

काठमाडौँलाई नेपाल भन्नुहुन्थ्यो उहाँ । बेलुका पिँडीमा सुत्ने । जुन लागेको आकासका तारा गन्दै र आकास हेर्दै सुत्दा कत्ति आनन्द आउँथ्यो । अनि हजुरबाले हरेक दिन नयाँ नयाँ कथा भन्नुहुन्थ्यो र आफू नेपाल हिँडेर गएको र पशुपतिनाथ, बुढानीलकण्ठ आदिको दर्शन गर्ने तथा राजदरबार कस्तो छ भन्ने कथा सुनाउनुहुन्थ्यो । त्यसैले म पहिलो पटक काठमाडौँ आउँदा पनि हजुरबाले वर्षौं अघि भन्नुभएका कुरा स्मरण गरेको थिएँ । त्यसो त म काठमाडौँ आउनु अगावै पनि यो ठाउँ कस्तो छ भनेर दिमागमा उतारिसकेको थिएँ । उबेला उहाँ नेपाल आएको कथा सुन्दा बडो आनन्द आउँथ्यो । अनि सर्पले टोकेको, अन्य रोग लागेको पनि झारफुक गर्ने गर्नुहुन्थ्यो र त्यसका विधि र फुक्ने तरिकाहरु पनि मलाई भन्नुहुन्थ्यो ।

मेरा हजुरबा यसरी जडिबुटीबाट र धेरैको ज्यान बचाउनुभएको थियो । उहाँसँग दिव्य ज्ञान र दैविक शक्ति थियो भन्ने मलाई लाग्थ्यो । भोलिको कुरा आजै भन्नुहुन्थ्यो । आफू कहिले स्वर्गेबास हुन्छु भन्ने कुरा पनि उहाँले आफैँले भन्नुभएको रहेछ पिताजीलाई । उहाँसँगका यस्ता कैयौँ अन्तरंग र ज्ञानगुनका कुरा छन्, जो मैले कतिपय लिपीबद्ध पनि गरेको छु ।

विसं २०६२ को दशैँमा घर गएर फर्किँदा ठूलाबा हामी (मेरो परिवार) लाई छोड्न तल पिपलको रुखसम्मै आउनुभयो । हाम्रो घरको तलपट्टी मलाई लाग्थ्यो झण्डै दुई सय वर्षभन्दा पनि बुढो पिपलको रुख थियो । त्यसअघि कहिल्यै नआउने उहाँले त्यसदिन तलैसम्म आएर विदाई गर्नुभयो र अब घर कहिले आउँछस् भनेर सोध्नुभयो । अब आउँला नि बा पाँच सात महिनामा भनेँ । उहाँले भन्नुभयो– हैन त्यति ढिलो हैन चाँडै आउनुपर्छ, आएस् भन्नुभयो । बाटोमा आउँदा सोच्दै आएँ आज किन तलैसम्म आउनुभयो र किन यस्तो भन्नुभयो भनेर । त्यसवर्ष दशैँमा टीका लगाइदिँदा पनि पहिलेका वर्षहरुभन्दा फरक रुपमा आशीर्वचन दिनुभएको थियो । टीका लगाइदिँदा रुनुभयो । अनि ‘तँ जहाँ भएपनि काँजीकाठ गर्न आएस् है’ भन्नुभयो । बडो नमज्जा लाग्यो । दशैँका दिन पनि किन यस्तो भन्नुहुन्छ भनेर प्रश्न गरेँ । केही बोल्नुभएन, रुनुमात्र भयो । विरामी पनि हुनुहुन्नथ्यो । निकै बलियो शरीर । कहिल्यै केही विरामी नपर्नुभएको, केही दबाई नखानुभएको । त्यसैको कात्तिक २१ गते साँझ भैँसी दुहेर घरको पिँढीसम्म ल्याउनुभएछ र दूधको ठेकी भित्र राख्न दिएर मलाई गाह्रो भयो एक छिन सुत्छु चोखो गुन्द्री ल्याउनु भन्नुभएछ । भाउजुले कुशको गुन्द्री दिनुभएछ र एकैछिन् सुत्नुभएछ । केही मिनेटमा हेर्दा प्राण नै थिएन ।

राति ९ बजे डिलाघर इन्द्र पाठक दाईले बाउसेचौरबाट फोन गर्नुभयो । त्यतिबेला काठमाडौँ बाहिर मोबाइल फोन थिएन । रातिको समय । मुलुकमा जारी सशस्त्र द्वन्द्वका कारण राजमार्गमा कफ्र्यु । बिहान घर कसरी पुग्नु ? बानेश्वरबाट खगेश्वर दाई आउनुभयो र हामी बसेको घर बबरमहलमा एकछिन् सल्लाह गरेपछि ट्याक्सी लिएर राति नै हिँड्ने कुरा भयो । भाइ चिरन र हामी ३ जना राति त्यस्तै १० बजेतिर हिँड्यौँ । मुग्लिङबाट पारि लागेपछि मस्र्याङ्दी पावर हाउसबाट राजमार्ग बन्द, सेनाको कफ्र्यु थियो । मैले हिँड्नु अघि नै सैनिक जनसम्पर्क निर्देशनालयमा भनेको थिएँ । पछि त्यहाँ एकाध घन्टाको रोकाइपछि हाम्रा लागि बाटो खुला भयो र हामी गयौँ । १५ मिनेटमात्र राखेको भए घरै पुग्थ्यौँ तर आउन सक्दैनन् भन्ने लागेछ र हिँडाएका कारण हामीले तल ढकाल्थरमा चाहिँ भेट्यौँ । राति कसरी आइ पुगेको भनेर धेरै छक्क परे, बलराम दाई भावुक हुनुभयो । पछि ठूली आमाको भने बिहान ८ बजे स्वर्गे भएकाले जान सकेनौँ ।

यो सब कुरा थाहा पाएका माइलाबाले उहाँ कमजोर हुँदै गएपछि पछिल्ला वर्षहरुमा मलाई भन्नुहुन्थ्यो– ठूल्दाईलाई जस्तै मलाई पनि घरबाटै उठाउन आएस् है । माइलाबासँग धेरै समय बसेको अघिल्लो वर्ष कुलपूजामा गएका बेला हो । त्यतिबेला पनि उहाँ कमजोर भएको महसुस भएको थियो । किनभने कुलपूजामा उहाँले समय समयमा आँशु झार्नुभएको थियो । बेला बेलामा मैले कोट्याउथेँ र पहिलेका कुरा स्मरण गर्नुहुन्थ्यो । त्यसबेला पनि मलाई भन्नुभयो– राजुछोरा मलाई काँजीकाठ गर्न आउँछस् नि ? म पनि त अब आधा सयवर्ष उमेरको उकालो उक्लने तरखरमा छु । सायद त्यसैले हो कि मन भरिएर आयो, रोएँ । पछि उहाँलाई कुल मन्दिरको छेवैमा लगेर राखेर मैले गीता पाठ गरेँ उहाँले ध्यान दिएरै सुन्नुभयो । पूजा गरेको हेर्नुभयो । त्यसपछि एक/दुई पटक फोनमा कुरा गरेँ तर फोनमा बोल्दा रुनुभयो । पछिल्लो पटक भाइटीकाको निकोपर्सिपल्ट उहाँलाई भेट्न गयौँ । चन्द्र ढकाल दाई पनि हुनुहुन्थ्यो । मुस्किलले चिन्नुभयो । चिनेपछि मलाई मुसार्नुभयो र म्वाइँ खानुभयो । केही कुरा गर्यौँ । उहाँले कोटभैरव तलको चौतारबाट ढाँड खौर जानका लागि स्थानीयलाई निकै अप्ठेरो भएकाले आफूले करिब ८० हजार रुपैयाँको निजी खर्चमा बाटो बनाएको प्रसंग पनि निकाल्नुभयो । राम्रो कुरा गर्यौँ र छुट्यिौँ । मलाई एक दुई दिन बस्नु भन्नुभएको थियो । तर व्यस्तताले बस्न सकिन । म हिँडेपछि त्यस दिन मात्र राजु खोइ ? राजु गयो ? भनेर धेरै पडक सोध्नुभएको कुरा पछि माइली आमाले मलाई सुनाउनुभयो ।

पछिल्लो हप्ता उहाँ निकै कमजोर हुनुभयो । दूधमात्र सेवन गरेर बसेको पनि करिब १० दिन पुगेको थियो । उहाँलाई उठाउन घरमै पुग्छु कि पुग्दिन भन्ने मनमा बडो त्रास थियो र छिनछिनमा फोन गरिरहन्थेँ बालाई । भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठाको कार्यक्रममा जाने प्रस्ताव आएको थियो मलाई यसैकारणले मैले रद्द गरेँ । सायद हिजोआज तिरै हुदैछ । माइलाबाले ठूल्दाजुलाई झैँ मलाई पनि उठाउन आएस है भनेका शब्द कानमा बढी नै गुञ्जिन थालेकाले विदेश र स्वदेशका पनि टाढाको भ्रमण राखिन ।

यसैबीचमा पुसको अन्तिम साता पोखरामा राससको पूर्वनिर्धारित कार्यक्रम थियो र पोखरा हुँदै बागलुङसम्म पनि पुगेँ । बाटोमा पनि बालाई कल गर्दै हिँडेको थिएँ, माइलाबाको अवस्था कमजोर नै थियो । काठमाडौँ २७ गते आएँ । तर २८ गते साढे १ बजेतिर माइलाबाले परलोकको यात्रा तय गर्नुभएछ । उहाँको महाप्रस्थानको दु:खद खबर बाले फोनमा बडो भारी मनले सुनाउनुभयो । स्तब्ध भयौँ । तर माइलाबाले हामी सबैलाई समय दिएर प्रस्थान गर्नुभएछ । अघिल्लो दिन दिउँसैदेखि भोलिपल्ट घाट पुग्ने समयसम्म प्रसस्तै समय दिनुभयो । इच्छा हुनेले संसारको जुनसुकै कुनाबाट पनि उपस्थित हुनसक्ने गरी समय दिनुभयो ।

काठमाडौँबाट म चिरन भाई र लक्ष्मी छोरी बाटो लाग्यौँ । दीपक भाइ कार्यक्रमले सिन्धुलीतिर भएकाले साँझ अबेरसम्म सम्पर्क हुन सकेन । पछि राति सम्पर्कमा आयो र जान नपाएर निकै पछुतायो । हामी काठमाडौँबाट ६ बजेतिर बाटो लाग्यौँ । बलराम दाई र राधा छोरी मुगलिङबाट थपिए । उता पोखरामा इन्द्र दाई कुर्नुभएको थियो तर सँगै जान सकेनौँ ।
बिहान साढे ६ बजे घर पुग्यौँ । बडो सुनसान र स्तब्ध थियो सुन्तलाघर । बिहान यतिबेला त माइलाबा घर गोठ र तलमाथि निकै नै ओहोरदोहोर गर्ने बेला हो । म जहिले घर पुग्दा पनि (साँझ नपर्दै पुगेँ भने) सबैभन्दा पहिला माइलाबाले नै देख्नुहुन्थ्यो र म पनि उहाँसँगै भेट्थेँ । उहाँ एक ठाउँमा लामो समय बस्न नसक्ने स्वभावको हुनुहुन्थ्यो । बडो सक्रिय शरीर यता र उता हिँडिरहनुहुन्थ्यो । तर आज उहाँ मठ अगाडि चुपचाप सुतिरहनुभएको छ । यसो सेतो कपडा उठाएर मुहार हेरेँ । चिर निद्रामा हुनुहुन्थ्यो । आँखा खोल्नुभएन, केही बोल्नुभएन । खगेश्वर दाइले मलाई आँशुले हेर्नुभयो । मन थाम्न सकिन, भित्र गएँ ।

पहिले सधैँ त्यही मठको अगाडि बसेर चिना लेख्नुहुन्थ्यो माइलाबा । आज त्यही ठाउँमा चिर निद्रामा हुनुहुन्छ । उहाँले रचेको सारा सृष्टि त्यहीँ छ । ठूला दु:खले आर्जेको श्रीसम्पत्ति जहाँको त्यहीँ छ । हाड घोटेर तुलाएको घर छँदैछ । तर उहाँका सन्ततिहरु भने उहाँलाई अब सदाका लागि विदाइ गर्ने तयारीमा जुटेका छौँ । विधिको विधान, प्रकृतिको नियती पनि अचम्मको बनेको छ । हाम्रा माइलाबालाई कसैले यो हालतमा पुर्याएको भए त्यसको हुर्मत लिनसक्ने ल्याकत हामीसँग थियो । तर दैवसँग कसले सक्ने ? यही दैवरुपी अदृश्य शक्तिले नै सबैको चित्त बुझाइदिएको छ । तैँचुप मैचुप बनाइदिएको छ । दैव देखाएर चित्त बुझाउनु सबैको नियती नै हो । विधान पनि कस्तो सर्वस्वीकृत बनेको ? कसैले प्रश्न गर्नै नसक्ने । दुनियाँ संसारलाई यही विधानले बाँधेको छ अनि यसैले तोडिदिन्छ संसारिक मायाँ र मोहको जालो ।

तर कति निष्ठुर नियति । विधान लेख्ने मस्यौदाकारहरु पनि कति कठोर । ढुंगा माटोकै मुटु भएजस्ता । हिजोसम्म बाटो हिँड्दा या सुत्दा कतै कुनै बाँसको सानो छेस्काले कोप्छ या छुन्छ कि भनेर बडो ख्याल गर्नुुपथ्र्यो । तर आज खट कस्ने बाँस तयार हुँदैछ । तिनै बाँसको बन्दैछ ओछ्यान र सिरानी । कस्तो बिडम्बना । बडो अनुत्तरित हुनुहुन्छ दुवै माइलीआमा । उठ्दै, आउँदै, हेर्दै फर्कंदै गर्नुहुन्छ । दैवको दैलो कठोर छ भन्ने कुरा उहाँहरुलाई पनि थाहा छ । यस्तै हो सबै एकदिन जानैपर्छ– मेरी आमाले उहाँहरुको चित्त बुझाउँदै हुनुहुन्छ । आखिर चित्त न हो, बुझाउनै पर्यो । अन्तिम विदाईको यात्रा तय भयो ।

सानोमा सुन्थेँ– ‘तँलाई शंखेढुंगामा लैजाना ।’ सानोतिनो गल्ती र रिसमा पनि यस्तो गाली दिन्थे कतिले । थाहा थिएन त्यतिबेला यो शब्दको भेद । उबेला छुँदैनथ्यो यसले । बाल मस्तिष्कले कोही मर्नुको अर्थ र त्यसपछिको पीडाको मापन कसरी गर्न सक्थ्यो र ? त्यो उमेरले मृत्यु जान्दैनथ्यो, पीडा छाम्दैनथ्यो । र कसैको मृत्युपछि बाँचेकालाई दिने पीडादायी विछोड कस्तो हुन्छ भन्ने कल्पना गर्न पनि सक्दैनथ्यो । तर पछि थाहा भयो शंखेढुंगाको अवस्थिति, नियती र कठोरता । सारा सपना सेलाउने शंखेढुंगो लाग्छ, ढुंगाभन्दा धेरै कठोर छ । आफैँले देखे, भोगेका र संगालेका सपनाहरुको चाङ छ उसँग । हजारौँ लाखौँ अतृप्त सपनाहरुको साक्षी छ उ । युगौँयुगदेखि धेरैका आँशु र अलापहरु देखेको छ । किनभने आँशुका भेलहरु यही ढुंगाको बाटो भएर बग्छन् र कालीगण्डकीको भेलमा मिसिन्छन् । अनि सदाका लागि बिलीन हुन्छन् । सँगसँगै छन् कालीगण्डकी र शंखेढुंगो । अहँ बोल्दैनन्, इसारा मात्र गर्छन् । तर त्यहाँ पुग्ने हामीले तिनको सञ्चार बुझ्दैनौँ, कठोरतामात्र भोग्छौँ ।

उनीहरु धेरैका पीडा हेरिमात्र रहन्छन् । आज हाम्रा आँशुको पनि साक्षी थिए ती । यता माइलाबा वायुमा बिलिन भइरहँदा उता गुरुदत्त काकाले उहाँका व्यक्तित्व र कृतित्वको बयान सुनाउँदैैहुनुहुन्थ्यो । यी सबैको साक्षी छन् शंखेढुंगो अनि छिनछिनमा हल्कोको आवाजमा बोल्न खोज्ने कालीगण्डकी । छिनभरमै माइलाबा धुवाँको बाटो भएर जानुभयो र देवतुल्य पितृ स्वरुपमा परिणत हुनुभयो । अब हामासँग पछि विस्मृत हुँदै जाने ताजा स्मृतिहरु मात्र बाँकी छन् । अनि तिनलाई थाम्दैछ भारी मनले ।

मानिसको इहलिला यसरी समाप्त भएर जाने गरेको यथार्थ देखे भोगेको मानिस एकैछिन घाटे बौरागी बन्छ । उसलाई एकैछिन मात्र भए पनि घाटे बैराग्यले छुन्छ र भन्छ– आखिर संसार केही छैन, कोही छैन । तर घाटबाट उकालो लागेपछि सुरुभैहाल्छ उसको जीवनको लेखाजोखा र हिसाबकिताब । घर पुग्दासम्म त आँगन, परिवार, आफन्त, सम्पत्ति, कृति, वस्तुभाउ र नियति सबैसँग लोभिन्छ । कहिल्यै भरिन्न उसको लोभको भकारी । घाटे बैराग्यता त एकछिनको मात्र हो ।

आज म पितृदोषबाट मुक्त भएँ भन्ने मनमनै सोचेँ । अब माइलाबा बोल्नुहुन्न, देख्नुमात्र हुन्छ । ‘मलाई लैजान आएस है’ भन्ने गरेको उहाँको आग्रह कतै पूरा गर्न नसकेको भए मलाई जीवनभर पीडा हुन्थ्यो । उहाँलाई आफ्नै हातले विदाई गर्न पाएँ, धन्य भएँ । उहाँकै कृपाले त्यहाँसम्म पुगेँ र अन्तिम संस्कारमा सहभागी भएँ । जिवीत मानिसले गर्ने आखिर यही हो । हाम्रा बुडापाकाहरुले जिउँदाको जन्ती मर्दाको मलामी यसै भनेका होइनन् । यस भनाई भित्र मानिस हुनुको खास अर्थ छ । किनभने पशुलाई त न मलामी चाहिन्छ, नत जन्ती नै । मैले अब चाहेर पनि माइलाबालाई विदाई गर्ने यो अवसर जीवनमा कसरी पाउँ ? असम्भव । अब त उहाँ हाम्रो स्मृतिमा मात्र हुनुहुन्छ । तर भौतिक शरीर हामीबीच नरहेपनि उहाँले हाम्रो जीवनका लागि भरेका प्रेरणाहरु भने जीवन्त नै छन् ।

उहाँको जीवनको उत्तराद्र्धसम्मकै सक्रियता मेरालागि प्रेरणा हो र मसधैँ पछ्याउने छु । कुनै काम सुरु गर्न दुविधा हुँदा उहाँले भन्ने गरेको– ‘असम्भव के छ ? मानिसले आकासमा जहाज उडाइसके । पहिलो पटक उडाउनेले नआँटेको भए के त्यो सम्भव थियो त ? त्यसैले कसैले न कसैले त आँट्नै पर्यो नि ।’ उहाँका यी ढाडसले काममा अघि बढ्न सधैँ जाँगर भरिदिन्थ्यो । पुज्य माइलाबा, आज दशौँ दिनको पुण्य तिथिमा हजुरलाई सम्झिरहेका छौँ, सधैँ सम्झिने छौँ ।