८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

हिँउ माथि सर्न थालेपछि चिन्तित बन्दै मनाङबासी

हिँउ माथि सर्न थालेपछि चिन्तित बन्दै मनाङबासी
अ+ अ-

मनाङ । नदी किनारै किनार सुन्दरता थप्दै हाँसिरहेको हिमाल र अग्ला पहाडका चुचुरा हेर्दै उकालो चढ्ने क्रमसँगै स्वर्गीय आनन्द लिन पाइन्छ मनाङमा जसबाट प्राकृतिक सौन्दर्यताको पूर्ण रुपमा अनुभूति गर्न सकिन्छ । हिमालबाट आएको मस्र्याङ्दी नदीको सङ्लो, कञ्चन अनि सफा पानी र स्वच्छ हावाको महसुस गर्दै प्राकृतिक सुन्दरताको भरपुर रसास्वादन गर्न पाइने क्षेत्र पनि हो मनाङ ।

यस स्वर्गीय आनन्दको क्षेत्रमा पुग्न विदेशी मात्रै नभई नेपाली पनि उत्तिकै आतुर हुने गर्छन् । कैयौँ मानिस यस क्षेत्रमा पुग्न लालायित हुने गरेका छन् । प्रकृतिसँग रमाउने क्षेत्रकै रुपमा विश्वमा परिचय बनाएको हिमाली जिल्ला मनाङको मुहार बिस्तारै फेरिँदै गएको छ ।

विश्वले स्वर्गका रुपमा बयान गर्ने र प्रचारप्रसार गर्ने मनाङमा जलवायु परिवर्तन त टाढाका कुरा हुन् । मनाङलाई प्रत्यक्ष रुपमा देखिने र भेटिने कुराले नै कुरुप बनाउन थालेको छ । विगतको तुलनामा मनाङ पुग्न सडक सञ्जालले सहज र छिटो बनाएको छ । विभिन्न खालका प्रदूषण पनि बढ्दो छ । प्रत्यक्ष रुपमा जलवायु परिवर्तनको असर देखापरेको छ । यसका साथै मानवीय तवरबाट हुने अन्य फोहरमैला पनि बढ्दै छ ।

यात्रामा निस्कने पर्यटक तथा स्थानीयले हिमाली क्षेत्र र चिसो भएकाले प्याकेटका खानेकुरालाई प्राथमिकता दिएका छन् । प्लास्टिकका प्याकेटका खाद्यवस्तुको वजन कम हुँदा उपयोग बढेको पाइन्छ । यसबाट निस्कने प्लास्टिकजन्य फोहरमैला मनाङमा बढ्दै गएको छ ।

मनाङमा वर्षा

कम पानी पर्ने परिचय बनाएको मनाङमा बिस्तारै वर्षा हुन थालेको छ । जसले गर्दा विश्वले उत्सर्जन गर्दै आएका विभिन्न असरदार वायुले यहाँका प्रकृतिलाई प्रत्यक्ष रुपमा प्रभाव पारेको छ । विसं २०७८ जेठ १४ र असार १ मा मस्र्याङ्दी नदीमा विनाशकारी बाढी आउनु यसकै प्रभावका रुपमा विश्वले लिएको छ । यही बाढीले यहाँका प्राकृतिक सुन्दरतालाई प्रभाव पारेको छ । यसले पनि यहाँको प्राकृतिक रुप फेरिएको छ ।

कहिल्यै बाढी नआएको मनाङमा पहिलोपटक आएको देखेको मनाङ ङिस्याङ गाउँपालिका–१ माथिल्लो पिसाङका ७० वर्षीय याङदुङ गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी जन्मिएर बुढो भयौँ । मस्र्याङ्दी नदीमा बाढी आएको कहिल्यै देखेका थिएनौँ । खै के भएको हो बुझ्नै सकिएन । पृथ्वीमा के फेरिँदैछ कुन्नि पहिले नआउने नदीमा बाढी आयो ।”

बाढीले भौतिक पूर्वाधार र यहाँको प्रकृतिलाई धेरै असर पुर्याएको छ । उहाँले भन्नुभयो, “नदीको वितण्डाले घर, बस्ती बगायो । प्रकृतिले नै बनाएको अनौठो संरचना पनि बाढीले परिवर्तन भयो ।” शान्त र सुन्दर वातावरण रहेको मनाङ अहिले फेरिँदै गएको छ ।

फोहरमैला बढ्दै

बिस्तारै मानव जीवनशैली परिवर्तन हुँदै गएको छ । प्राङ्गारिक खाद्यान्नलाई निरुत्साहित गर्दै बजारमा आएका प्लास्टिकका प्याकेटमा भएका खानेकुरालाई प्रोत्साहन गरिएको छ । जसले गर्दा रमणीय र प्राकृतिक क्षेत्र परिवर्तन हुँदै गएका छन् ।

मनाङ पर्यटकीय क्षेत्र भएकाले यहाँ फास्ट फुडका रुपमा प्याकेटमा बन्द गरिएका सामानको उपभोग बढ्दै गएको छ । यसले प्लास्टिकजन्य तथा सिसाजन्य फोहरमैला बढ्दै गएको छ । फास्ट फुडका रुपमा उपयोग गरिएको खाद्यवस्तुको प्याकेट जथाभावी फालिँदा यहाँको प्राकृतिक सुन्दरतामा कुरुपता थपिन थालेको छ । फालिएका प्याकेट जताततै फोहरमैलाको डङ्गुर बन्न थालेको स्थानीय फुर्वा लामाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँबाट निस्कने प्लास्टिकजन्य फोहरमैलाको व्यवस्थापन हुन सकेको छैन । यस्ता फोहर बढ्ने क्रममा रहेकाले व्यवस्थापनमा ध्यान जानु आवश्यक छ । उपयोग गर्ने व्यक्ति सचेत भएमा यसको निराकरण गर्न सहज हुन्छ ।”

मनाङ पर्यटकीय क्षेत्र भएकाले स्थानीय तहले नै फोहर व्यवस्थापन गरेका छन् । पछि समस्याका रुपमा विकास हुने भएकाले समयमा नै फोहर व्यवस्थापनमा सचेतता अपनाउनुपर्नेमा उहाँको जोड छ ।

पदमार्ग र हिमाल जोखिममा

हिमाल र पदमार्ग नै मनाङको मुख्य आकर्षणको केन्द्र हो । हिमाल र पदमार्ग नै जोखिममा छन् । हिउँ माथि सर्दै गएको छ । जसले बगर र कालापत्थर बन्ने क्रम बढेको छ ।

हिमालमा हिउँ नै कम देखिन थालेको छ । हिउँदमा नै हिमालमा हिउँ कम देखिनु जलवायु परिवर्तनको प्रत्यक्ष असर परेको विज्ञको भनाइ छ । विभिन्न क्षेत्रबाट गरिँदै आएको अध्ययनले हिमालमा प्रभाव देखिने गरेको विज्ञको बुझाइ छ ।

पदयात्रा र हिमाल नजिकबाट हेर्न विश्वका पर्यटक यहाँ आउँछन् । मुख्य आकर्षण बनेका प्राकृतिक क्षेत्र नै जोखिममा परेपछि कसरी आउँछन् त पर्यटक रु यो विषयमा बृहत् छलफल आवश्यक छ । सरकारले यस्ता प्राकृतिक सौन्दर्यताले भरिएका आकर्षक क्षेत्रको संरक्षणमा प्राथमिकता दिनुपर्ने स्थानीय याङदुङ गुरुङ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बिस्तारै हिमाल पनि माथि सर्दै गएको छ । पहिले त अलि माथि हिँडे भेटिन्थ्यो अहिले त धेरै माथि पुग्नुपर्छ । हिमालमा हिउँ नै देखिँदैन । पदमार्ग पनि बिस्तारै मासिएको छ । पदमार्गमा सडक बनेको छ । अनि केको पदमार्ग रु कि त पदमार्गको विकल्प खोज्नुपर्छ ।” पदमार्गमा हिँड्न रुचाउने भएर नै पर्यटक आउने हो । पदमार्गको संरक्षण गर्नुपर्नेमा स्थानीयवासीको जोड छ ।

हिउँमाथि सरेसँगै हिमालको तल्लो क्षेत्रमा पातपतिङ्गर बिनाको पहाड बनेको छ । ती ठूला चट्टानयुक्त पहाडमा न त खेतीपाती हुन्छ । उपयोगविहीन चट्टान देखिने गरेको छ । यसरी हिमालका हिउँ माथि सर्दै गर्दा पानीका मुहान समेत एक ठाउँमा सुके अर्को ठाउँमा देखिने भएको स्थानीय गुरुङ बताउनुहुन्छ ।

“प्रस्ट उदाहरण हेर्ने हो भने गङ्गापूर्ण ताल नै देख्न सकिन्छ”, उहाँ भन्नुहुन्छ, “अरू के खोज्ने हो र रु हामीले हेर्दा हेर्दै सुक्यो त ताल १ यहाँ सुक्यो अरू ठाउँमा नयाँ ताल देखिन थालेका छन् ।” केही ठाउँमा त बस्तीमा खानेपानीको मुहान नै सुकेर अन्तबाट ल्याउनुपर्ने भएको छ ।

फेरिँदै व्यवसाय

जलवायु परिवर्तनको बढी प्रभाव हिमाली क्षेत्रमा परेको छ । स्थानीयवासी जलवायु परिवर्तनको प्रभावले हिमालमा हुने पशुपालन व्यवसाय फेर्न बाध्य हुन थालेका छन् ।

नासों गाउँपालिका–४ का पशु व्यवसायी सुरेश थकाली वातावरणमा आएको परिवर्तनले पशुपालनमा समस्या हुन थालेको बताउनुहुन्छ । व्यावसायिक रुपमा पशुपालनमा लाग्नुभएका उहाँ मौसम फेरिँदा पशुपालन घट्न थालेको बताउनुहुन्छ ।

विगतमा याक, चौँरी पाल्दै आउनुभएका थकालीको गोठमा अहिले झोपा ९चाँैरी र गाईको क्रस० छ । याक, चौँरीको चरण क्षेत्र घट्ने क्रममा रहेकाले झोपा पाल्न थालेको उहाँले बताउनुभयो । “पशु व्यवसायमा लेकका खर्कतर्फ जान चाहँदैनन् । यहीँ राखे याकचौरी पाल्न सकिँदैन । पहिला ६०÷७० याक, चौँरी पालेको थिएँ, अहिले ४०÷५० झोपा पाल्न थालेको छु”, व्यवसायी थकालीले भन्नुभयो ।

पुख्र्यौली पेसा धान्नै मुस्किल भएको उहाँको भनाइ छ । “बिस्तारै मैले व्यवसाय फेर्दै गएको छु । युवा जति पढ्न र अन्य व्यवसायतर्फ आकर्षित भएका छन् । अधिकांश त विदेश पलायन हुन्छन् । जसले गर्दा पुख्र्यौली पेसा जोगाउन सकस छ”, थकालीले भन्नुभयो । पशुपालन कम हुँदै गएपछि डेरी खोलेर व्यवसायलाई विस्तार गरेको उहाँले बताउनुभयो ।

उमेर बढ्दै गएपछि अब स्वास्थ्यले पनि साथ दिँदैन । खर्कसम्म पुग्नै मुस्किल हुने गरेको उहाँले बताउनुभयो । पशुपालनतर्फ प्रोत्साहन गर्न पालिकाले विभिन्न अनुदानका कार्यक्रम ल्याए पनि पशुपालन घट्दो छ ।

परम्परागत घर मासिँदै

हिमाली जिल्ला मनाङमा बिस्तारै परम्परागत घर मासिँदै छन् । हिउँको पानीले चल्ने मनाङमा वर्षा हुन थालेसँगै परम्परागत माटोका घर मासिँदै छन् । वर्षाले माटोका घर चुहिने र भत्किने भएपछि आधुनिक तवरबाट कङ्क्रिटको घर बनाउन थालिएको छ ।

कङ्क्रिटको घर निर्माणले यहाँका परम्परागत माटोका घर लोप हुन थालेका छन् । यहाँ कमै मात्रामा परम्परागत घर देख्न पाइन्छ । स्थानीय कर्माछिरिङ गुरुङ भन्नुहुन्छ, “पहिले मनाङमा वर्षा हुँदैन थियो । अहिले हिउँ कम पानी बढी पर्न थालेको छ । खै के भएको हो । मौसम पनि फेरिँदै जाने रहेछ कि के हो ?”

पानी पर्न थालेपछि मनाङमा परम्परागत माटोका घर पाउनै मुस्किल हुन्छ । उहाँ भन्नुहुन्छ, “पानी चुहिने घरमा यस्तो चिसो ठाउँमा बस्न सकिँदैन । जसरी हुन्छ कङ्क्रिटको घर त बनाउनै पर्यो नि ? नत्र पानी पर्दा चुहिएर बस्न सकिँदैन । मनाङका सबैजसो ठाउँमा कङ्क्रिटको घर बन्दै गएका छन् । पुरानो घरको आकर्षण बढी छ भनेर नहुने रहेछ । मौसमले हामीलाई चुनौती दिन्छ के गर्नु र ? यहाँका स्थानीयले पानीबाट जोगिन पनि कङ्क्रिटको घर बनाउन थाले ।”

यहाँ लोकप्रिय मानिएको परम्परागत घरलाई संरक्षण गर्न नसकिए भविष्यमा आउने पर्यटक तथा नेपालीलाई नै कथाजस्तो लाग्छ । यसको संरक्षणमा स्थानीयसँगै सरकार सचेत हुनुपर्छ ।

ताल हराउँदै

मुस्किलले चार्टर्ड वा कार्गो फ्लाइट मात्रै देखिने हुम्डे विमानस्थल आफैँमा पर्यटकीयस्थल झैँ बनेको छ । केही वर्षअघिसम्म आँखैसामु देखिने ग्लेसियर वा हिमनदी भने तस्बिरमा मात्रै सीमित हुन थालेका छन् ।

माथिल्लो मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राका गाउँमा जन्मे–हुर्केका कालु घले घरआँगनसम्म बहेर आइपुग्ने हिमनदीको रङ र प्रकृतिको परख सम्झनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अरूभन्दा पनि तीन हजार आठ सय २० मिटर उचाइको विन्दुमा रहेको गङ्गापूर्ण तालको आकर्षणले पर्यटक तान्न सकिएला भन्ने थियो । यो ताल अहिले मैदान झैँ बनेको छ ।”

घले भन्नुहुन्छ, “स्विस भूगर्भविद् टोनी हागनले सन् १९५७ मा गङ्गापूर्ण तालको तस्बिर लिएर प्रचारमा आएपछि यो ताललाई अहिलेसम्म भौगर्भिक बनोट र जलवायु परिवर्तनको अध्ययन गर्ने आधार बनाइएको छ ।” झन्डै नौ किलोमिटर लामो गङ्गापूर्ण ग्लेसियरको बहाव हरेक वर्ष खुम्चँदै गएकोबारे इन्स्टिच्युट अफ टिबेटियन प्लेटो रिसर्चले अध्ययन गरिसकेको छ ।

अनुसन्धान समूहका एक अनुसन्धाता शालिकराम सिग्देलका अनुसार, जलवायु परिवर्तन र अनपेक्षित हिमपहिरो, वर्षा आदिले गङ्गापूर्णजस्ता तालको अस्तित्व लोप हुनसक्ने सम्भावना बढेको छ । अन्वेषकका बुझाइमा, यो त्रासको स्थिति उब्जिए पनि मनाङ ङिस्याङ गाउँपालिका भने गङ्गापूर्ण ताललाई फेरि पुरानै स्वरूपमा ल्याउने योजनामा अघि बढेको छ ।

“अहिले अस्तित्व नै नदेखिने ताललाई पुरानै स्वरूपमा ल्याउन गाउँपालिकाले रु तीन करोड पाँच लाख बजेट छुट्याएको छ”, गङ्गापूर्ण ताल अवस्थित रहेको मनाङ ङिस्याङ गाउँपालिका–६ का वडाध्यक्ष सोनाम गुरुङ भन्नुहुन्छ, “टेन्डर पनि भइसकेको छ । अब पुरिएको तालबाट माटो, बालुवा झिक्ने काम चाँडै सुरु गर्छौं ।”

भिजिट–मनाङ अभियानका अगुवा फुर्वा लामा गङ्गापूर्ण, तिलिचोजस्तै आकर्षक नयाँ ताल मनाङमा भेटिने क्रम जारी रहे पनि आधा शताब्दीदेखि अध्ययन र अनुसन्धानको विषय रहेको गङ्गापूर्णजस्ता हिमतालको संरक्षण प्राथमिकतामा रहनुपर्ने बताउनुहुन्छ । फुर्वासहितका स्थानीय पर्यटनकर्मीको अगुवाइमा दुई वर्षअघि मात्रै चामेबाट २५ किलोमिटर दूरीमा रहेको सिङ्गर लेक (काजिनसारा ताल) (गड अफ फायर) फेला परेको थियो ।

विश्वकै अग्लो स्थानमा रहेको तिलिचो (चार हजार नौ सय १९ मिटर) भन्दा झन्डै दुई सय मिटर उँचो स्थानमा रहेको भनेर प्रचारमा आए पनि काजिनसारा तालको स्वतन्त्र पुष्टि भएको छैन । मनाङ ङिस्याङ–६ का वडाध्यक्ष गुरुङका अनुसार, गङ्गापूर्ण संरक्षणमा तीन दशमलव पाँच मिटर उचाइ र एक सय ९३ मिटर लामो बाँध ९ड्याम० बनाएर २१ दशमलव आठ हेक्टर क्षेत्रफलमा गङ्गापूर्णलाई सुरक्षित तुल्याएर राख्ने योजना छ ।

मौसममा आएको परिवर्तनले नै स्वर्गको उपमा पाएको मनाङ मुहार नै फेरिने अवस्थामा पुगेको छ । यहाँका प्राकृतिक चिजबिज नै फेरिँदै गएपछि प्रकृतिमा रमाउन आउने पर्यटकको आकर्षणमा गिरावट आउने त होइन भनी सोच्नुपर्ने बेला भएको छ । रासस