१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

पुतली नाच संरक्षणमा युवाको सक्रियता

पुतली नाच संरक्षणमा युवाको सक्रियता
अ अ+ अ-

ढोरपाटन । बागलुङमा सबैभन्दा पुरानो मानिने पुतली नाच संरक्षणमा नयाँ पुस्ताले चासो देखाएका छन् । बाइसे–चौबीसे राजाको पालादेखि सञ्चालन हुँदै आएको सो नाच निसीखोला गाउँपालिका–६ भल्कोटमा मात्रै नाच्ने गरिन्छ । पछिल्लो एक दशकयता ओझेलमा परेको यस नाचलाई भल्कोटका युवाले यस वर्ष भव्यरूपमा प्रदर्शन गरे । गत वर्ष एक दर्जनको हाराहारीमा बूढापाका र युवाले नाच देखाएकामा अहिले झण्डै तीन दर्जन वृद्ध, युवा र बालक सहभागी थिए । हरेक वर्ष माघ ३ गते आयोजना गरिने पुतली नाचसँगै कापैनाच, तरबारनाच र पट्टानाच पनि राखिएको थियो ।

युवा विदेश पलायन र अधिकांश व्यक्ति बजार झर्न थालेपछि लोप हुने अवस्थामा पुगेको यो नाच संरक्षणका लागि गाउँका युवा जुटेका हुन् । मगर समुदायको पहिचानसँग जोडिएको यो नाच संरक्षण गर्न तिलाचन युवा क्लबले नेतृत्व लिएको थियो । बूढापाकाबाट नयाँ युवालाई सिकाउने र हरेक वर्ष नाच्ने नयाँ व्यक्ति तयार गर्नका लागि क्लबले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

वर्षौँ पुरानो मानिने यो नाच कहिलेदेखि सुरु गरियो भन्ने यकिन छैन । पुर्खाहरूले परम्पराका रूपमा मनाउँदै आएकाले यसलाई संरक्षण गर्ने दायित्व नयाँ पुस्ताको भएको उक्त क्लबका सचिव फूलबहादुर बुढामगरले बताउनुभयो । अघिल्ला वर्षको तुलनामा यस वर्ष नाच्नेको सङ्ख्या दोब्बर बढी भएको उहाँको भनाइ थियो ।

सचिव बुढामगरले भन्नुभयो, “लामो समयदेखि हामी युवावर्ग सक्रिय भएर पुतलीनाच संरक्षणमा जुटेका छौँ, कोही बजार झर्ने, कोही विदेश जाने र बूढापाकाबाट पुस्तान्तरण नहुँदा यो नाच लोप हुन्छ कि भन्ने चिन्ता बढेको थियो तर अहिले धेरैले नाच्न चासो दिएका छन्, अग्रजहरूले पनि सहजरूपमा सिकाउने हुँदा अब धेरै समयसम्म यसले निरन्तरता पाउँछ भन्ने आशा पलाएको छ, बूढापाकासँगै युवाहरूलाई सँगै राखेर योलगायत अन्य मौलिक संस्कृति जगेर्ना र संरक्षण गर्नुपर्छ भन्नेमा हामी निरन्तर लाग्दै आएका छौँ ।

के हो पुतली नाच ?

स्थानीय बूढापाकाका अनुसार बाइसे–चौबीसे राज्यका बेला राजारानीको मृत्यु भएपछि स्थानीयवासीले उनीहरूको स्मृतिमा यो नाच नाच्ने गरेका थिए । स्थानीयवासी ८२ वर्षीय मानसिंह बुढामगरले बाइसे–चौबीसे राज्य हुँदा यहाँ मगर राजा वीरमानले राज गरेको र उनको मृत्युको सम्झनामा हरेक वर्ष पुतली नाच नाच्दै आएको बताउनुभयो । उहाँका अनुसार माघ २ गते साँझ राजाको सम्झनामा पुतली बनाउने गरिन्छ । राजा, रानी र धाईमा गरी तीन मूर्तिजस्तो पुतली बनाइन्छ भने माघ ३ गते बालक, युवा र वृद्धहरू पुतलीको पहिरनसँगै बाजाको तालमा नाच्ने गर्छन् ।

माघ ३ गते भल्कोट गाउँबाट नाच्दै केही माथि पुगेर त्यहाँ बन्दुक पट्काउँछन् र पुलतीलाई डोलामा डुलाएर र नाच्ने गर्छन् । साँझ परेपछि पुतलीखोलामा सेलाइन्छ । माघ २ गते साँझ पुतली बनाउन सुरु गरेदेखि ३ गते खोलामा लगेर नबगाउँदासम्म स्थानीय युवाहरू डम्फु बजाउने, अश्लील बोल्ने र कापै खेल्ने गर्छन् । माघ ३ गते बिहानदेखि साँझसम्म भने पुतलीजस्तै बनेका मानिसहरू नाच्छन् । उनीहरूले सनदारमा फेटा, शरीरमा विभिन्न थरिका कपडा पहिरिएका हुन्छन् । पुतलीजस्तै बनेका उनीहरू दिनभर नाच्छन् । जसलाई स्थानीयवासी ‘पुतली नाच’ भन्छन् ।

“हामीहरू बच्चा हुँदा हाम्रो बाउबाजे नाच्ने गर्थे, उनीहरूबाटै हामीले सिकेको हौँ, दुई–चार वर्ष अगाडिसम्म अब लोप हुने भयो भन्ने लागेको थियो तर अहिले युवाहरू एकजुट भएर बचाउन लागेका छन्, धेरै खुसी लागेको छ”, वृद्ध बुढामगरले भन्नुभयो, “हाम्रा बाजेहरूले यहाँ राज्य सञ्चालन गरेको र राजा–रानीका साथै उनीहरूको स्याहारसुसार गर्ने धाइमाको मृत्यु भएपछि उनीहरूको सम्झनामा यहाँका जनताले यो नाच नाच्न थालेको हो भन्ने सुनिन्थ्यो, हामीहरूलाई पनि त्यस्तै लागेकाले अहिलेसम्म सोहीअनुसार सञ्चालन हुँदै आएको हो ।”

पट्टानाच पनि सँगै नाचिन्छ

हातमा भाला तथा तरबार लिएर पुतली नाच्ने व्यक्तिहरू नै पट्टानाच नाच्ने गर्छन् । तत्कालीन मगर राजाका सिपाहीहरूले गर्ने तालिमलाई अहिले पट्टानाच भन्ने गरिएको स्थानीय मेयरसिंह घर्तीमगरले बताउनुभयो । पट्टा नाच्दा दुईतर्फ तरबार र ढाल राखिन्छ र त्यसलाई दुई जनाले नचाउने गर्दछन् । तरबार नचाउँदा दुवैले एकअर्कालाई मार्ने र आफू बच्न खोज्छन् । पुतली नाच्ने र तरबार नचाउने उनीहरू आफैँ गर्दछन् ।

“यस ठाउँमा मगर राजाले राज गरेको हुँदा त्यस बेलाका सेनालाई तालिम दिँदा पट्टा नचाइन्थ्यो रे, त्यसैलाई अहिले पट्टानाचका रूपमा नाच्ने गरिएको हो, यसबारेमा जानकार अहिले कोही पनि हुनुहुन्न पहिलेका हाम्रा अग्रजहरूले भन्दै आएको कुरा हामीहरूले सुनेको बुझेको हो”, उहाँले भन्नुभयो, “हाम्रो पुस्तासम्मलाई यसको अलिअलि ज्ञान छ, हामीभन्दा पछाडिका युवालाई यसबारेमा जानकारी नै छैन, अब यो इतिहास नै मेटिने स्थिति आयोे ।”

देवी खुसी पार्न कापै खेल्ने र यौनाङ्ग देखाइने गरिन्छ । स्थानीयवासीहरू माघ २ गते भल्कोट गाउँमा जम्मा हुन्छन् । जम्मा भएका उनीहरूले कपडाको टालो बेरेर पुतली बनाउँछन् । पुतली बनाउन सुरु गरेदेखि पुतली खोलामा लगेर नसेलाउन्जेलसम्म अश्लील शब्द प्रयोग गरेर भट्याउँदै कापै खेल्छन् । कापै खेल्ने १०–१२ युवाको टोली हुन्छ । उनीहरूले डम्फु, घाँडोलगायत थोत्रा भाँडा बजाउँछन् । पुराना थाङ्ना कपडा र मुखमा मुखुण्डो लगाएका उनीहरूमध्ये केहीले अनुहार देखाएका हुन्छन् । एक जनालाई पुरानो घुम ९भेडाको रौँबाट बनेको कपडा० फेरेर चिन्दै नचिनिने बनाइएको हुन्छ । त्यसलाई भालु भनिन्छ ।

कापै खेल्नेहरूले त्यस भालुको यौनाङ्गमा खरानी र धुलो हाल्दिनाका साथै बेला–बेलामा उत्तानो पारेर देखाइदिएर अश्लील शब्द प्रयोग गर्छन् । त्यसरी यौनाङ्ग देखाउनेलाई स्थानीयवासीले ‘भालुको पित्त’ भन्ने गरेका छन् । देख्दा अवास्भाविक लागे पनि यो वर्षौँदेखिको प्रचलन हो । अश्लील शब्द बोल्दा देवीदेवता खुसी हुन्छन् भन्ने मान्यता पनि रहेको निसीखोला गाउँपालिका–६ का अध्यक्ष सूर्यमान बुढामगरले बताउनुभयो । गाउँपालिका पनि पुतली नाचलगायत यहाँ सबै प्रकारका संस्कृति संरक्षणमा लागेको उहाँको भनाइ थियो ।

अध्यक्ष बुढामगरले भन्नुभयो, “यो हाम्रो पुरानो मौलिक संस्कृति हो, हाम्रो अनुमानमा यो सयौँ वर्ष पुरानो परम्परा हो, पुस्तौँपुस्तादेखि मनाउँदै आएको संस्कृतिलाई हामीहरू नकार्न सक्दैनौँ, अहिले पनि पुरानै शैलीमा मनाउँदै आएका छौँ, पहिलेको तुलनामा यो केही कम भए पनि संरक्षणमा हामीहरूले जोड दिएका छौँ, यौनाङ्ग देखाउनु राम्रो होइन तर पहिलेदेखि नै यो ‘कल्चर’ रहँदै आएकाले अहिले पनि जीवन्त छ, यसरी भालुको पित्त देखाउँदा देवी खुसी हुन्छन् भन्ने बूढापाकाले बताउँदै आएका छन्, हामीहरूले पनि सानैदेखि यही सुन्दै आएका हौँ ।” रासस