११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

थासाङको ताल र गुुफा नयाँ गन्तब्य

थासाङको ताल र गुुफा नयाँ गन्तब्य
अ अ+ अ-

म्याग्दी । उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरु मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताल, दामोदरकुुण्ड मुस्ताङका परिचिति धार्मिक र पर्यटकीय स्थल हुुन् । सन् २०२३ मा एक लाख ९० हजार जना विदेशी पर्यटकले भ्रमण गरेको मुुस्ताङमा अन्य थुुप्रै ओझेलमा परेका पर्यटकीय सम्भावनायुक्त स्थल छन् ।

स्थलमार्गबाट मुुस्ताङ जिल्ला भित्रने प्रवेश बिन्दुुमा रहेको थासाङ गाउँपालिका ओझेलमा परेका पर्यटकीय स्थलको पहिचान, पूूर्वाधार निर्माण र प्रर्वद्धनमा जुुटेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, थासाङ गाउँपालिका र पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालयको रु। तीन करोड बढी लागतमा थासाङको तीन वटा तालको संरक्षणका साथै ऐतिहासिक र धार्मिक सम्भावनायुक्त गुरुसाङ्वो गुफामा पूर्वाधार निर्माण भएको छ ।

गुरुसाङवो गुफा, सेकुङ, भुतर्छो ताल थासाङ गाउँपालिकाको वडा नं २ र टिटी ताल वडा नं ५ मा अवस्थित छ् । मुस्ताङमा पर्यटकको बसाई लम्बाउने उद्देश्यले गुफामा पूर्वाधार निर्माण र ताल संरक्षण गरेर नयाँ पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गरिएको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदिप गौचनले बताउनुभयो । “सडक, सुरक्षित पदमार्ग र ताल संरक्षण भएपछि पर्यटक भुल्न थालेका छन्,” उहाँले भन्नुभयो “सडक निर्माणसँगै छोटिएको पदमार्ग र पर्यटकको बसाई लम्बाउन नयाँ गन्तब्य पहिचानसँगै पूर्वाधार निर्माणमा जुटेका छौ ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको ७० प्रतिशत र थासाङ गाउँपालिकाको ३० प्रतिशत साझेदारीमा रु। दुई करोड ९९ लाख ९७ हजार १२६ लगानीमा पूर्वाधार निर्माण भएको हो । पछिल्लो पटक थासाङ गाउँपालिका र पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालय पोखराको रु। १० लाख लागत साझेदारीमा थप पूर्वाधार निर्माण भएको छ ।

पहाडको बीचमा रहेको गुरुसाङवो गुफामा पुग्ने २८६ मिटर रेलिङ र सिंढीसहितको पदमार्ग, १९१ मिटर रिटेनिङ पर्खाल, दुई कोठे पक्की शौचालय निर्माण भएको छ । विभिन्न आकृतिका दृश्यावलोकन गर्न सकिने गुरुसाङ्वो गुफामा वौद्ध धर्म गुरुहरुले तपस्या गरेको स्थानीय इन्द्रसिंह शेरचनले बताउनुभयो । बेनी–जोमसोम सडकको लाजुङ र बोक्सीखोलादेखि नाउरीकोटसम्म गाडी र त्यहाँदेखि एक घण्टा पैदलयात्रा गरेपछि मानापाथी हिमालको फेदीमा रहेको पहाडको बीच भागमा रहेको गुरुसाङवो गुफामा पुगिन्छ ।

बेनी–जोमसोम सडकको ताङछरदेखि सेकुङ हुँदै भुतर्छो ताल जोड्ने तीन किलोमिटर ५१० मिटर सडक निर्माण भएको थासाङ गाउँपालिकाका इञ्जिनीयर विष्णु बास्तोलाले बताउनुभयो । गोलो आकारको सेकुङ तालको वरपर ढुङ्गा बिछ्याएर १९१ मिटर पैदलमार्ग, १२४।५ मिटर रिटेनिङ पर्खाल र दुईकोठे पक्की सार्वजनिक शौचालय निर्माण भएको छ । भुतर्छो तालमा २६।५ मिटर रिटेनिङ पर्खाल, १६० मिटर पैदलमार्ग र एउटा दुई कोठे पक्की शौचालय निर्माण भएको छ । करिब ३० मिनेटको अवधिमा सेकुङ र भुतर्छो तालको यात्रा गर्न सकिन्छ । दुई वटै तालको पृष्ठभूमिमा पूर्वतर्फ निलगिरि र पश्चिममा धवलागिरि हिमाल देख्न सकिन्छ ।

समुन्द्री सतहदेखि दुई हजार ६८३ मिटरको उचाइमा सल्ला र धुपीका रुखहरु रहेको जङ्गलको बीचमा अवस्थित भुर्छतो तालको लम्बाई करिब पाँच सय मिटर, चौडाई ५० मिटर र गहिराई पाँच मिटर भएको अनुमान छ । थकाली भाषामा ९पुच्छोर० भनेर चिनिने भुर्छतो ताल विभिन्न प्रजातिका हाँस, चरा र रतुवा मृगको बासस्थान क्षेत्र हो । सुख्खा मौसममा यस तालमा पूजाआजा गरेमा वर्षा हुने जनविश्वास छ । करिब १५० मिटर लम्बाई र २० मिटर चौडाई रहेको सेकोङ ताल समुन्द्री सतहदेखि दुई हजार ७२५ मिटरको उचाइमा अवस्थित छ । ताल परिसरमा चौंरी, भेडाबाख्रा र गाईभैंसीको चरन खर्क छ । सेकुङ र भुतर्छो तालदेखि करिब एक घण्टा ३० मिनेट पैदलयात्रा गरेपछि पुगिने टिटी ताल चराहरुको बासस्थान हो । १८६ प्रजाति चराको बासस्थान रहेको टिटी तालमा तीन प्रजातिका हाँस पाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० ले जनाएको छ ।

बेनी–जोमसोम सडकको छाक्ताङदेखि पूर्वतर्फ कालिगण्डकी नदी पारी तीन किलोमिटर पैदल यात्रा गरेर पुगिने टिटी तालमा एक वटा दुई कोठे पक्की शौचालय र ताल वरपर ४७२ मिटर पदमार्ग निर्माण भएको छ । पर्यटकीय पूर्वाधार निर्माणका लागि कुल रु। चार करोड असी लाख एक्काइस हजार २२४ लागत अनुमान गरिएकामा मुक्तिनाथ महादेव जे।भी। पोखराले रु। तीन करोड ९९ लाख ९७ हजार १२६ मा ठेक्का लिएको इञ्जिनीयर बास्तोलाले बताउनुभयो । उहाँका अनुसार योजना निर्माणमा थासाङ गाउँपालिकाले रु। ९१ लाख र पर्यटन मन्त्रालयले रु। दुई करोड आठ लाख ९७ हजार १२७ भुक्तानी गरेका छन् ।

समुन्द्री सतहदेखि २६ सय ७९ मिटर उचाइमा रहेको टिटी तालमा पर्यटन वोर्ड पोखरा र थासाङ गाउँपालिकाको रु।पाँच/पाँच लाख लागत साझेदारीमा दुई वटा विश्रामस्थल निर्माण, १६ वटा बेञ्च, डस्टबिन राखिएको र फोहोर व्यवस्थापन गर्ने खाडल खनिएको छ । यी तालहरुमा आकाश खुलेको अवस्थामा धवलागिरि र निलगिरि हिमालको छाँया देखिन्छ । खुल्ला रहेकाले वरपरको पाखाबाट तालमा बाढी पस्ने समस्या थियो ।

ताल परिसरमा निर्माण भएको रिटेनिङ पर्खालले पाखोबाट आउने बाढी र पहिरो नियन्त्रणमा सघाउ पुगेको थासाङ गाउँपालिका–२ कोवाङका वडाध्यक्ष सन्तोष शेरचनले बताउनुभयो । “सेकुङ, भुर्छतो, टिटी ताल र गुरुसाङवो गुफा मुस्ताङको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भएका छन्,” उहाँले भन्नुभयो “संरक्षण, पूर्वाधार निर्माण र प्रर्वद्धन गरेर थासाङको ताल र गुफालाई मुस्ताङ भित्रने पर्यटक भुलाउने थलोका रुपमा विकास गर्न प्रयास थालिएको हो ।”

प्राकृतिक सौन्दर्यले रमणीय तालमा पर्यटकको चहलपहल बढ्न थालेको छ । यसअघि सुनसान थियो । थासाङका ताल भ्रमणमा क्रममा हिमाल, जङ्गल र एकान्त वातावरणका साथै वन्यजन्तु र पंक्षीहरुको पनि अवलोकन गर्न सकिने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखका गिता गुरुङले बताउनुभयो । “ताल, हिमाल, वनजगल, वन्यजन्तु र पंक्षीहरुको एकै पटक अवलोकन गर्न पाउँदा निकै रमाइलो महसुश भयो” उहाँले भन्नुभयो भन्नुभयो । सेकुङ र भुर्छतो ताल धवलागिरि आइसफल जाने पदमार्गको प्रवेश विन्दुमा पर्छ । ताल परिसरको चरन खर्कमा शरद र वसन्त ऋतुमा गाईभैंसी, भेडाबाख्रा र चौंरी गोठ रहन्छन् ।

चलचित्र र गीतका म्युजिक भिडियो छायाङ्कनका लागि यो ताल ‘भर्जिन’स्थल बन्न सक्ने सम्भावना रहेको प्रतिनिधिसभाको पूर्व सदस्य प्रेमप्रसाद तुलाचनले बताउनुभयो । “ढलेका रुख र बाढीले ताल पुरिंदै गएको थियो,” उहाँले भन्नुभयो “घेरबार पर्खाल, पदमार्ग र शौचालय निर्माणपछि पर्यटकलाई सहजताका साथै संरक्षण, सफा भएको छ ।” नर्साङ गुम्बा, थकाली समुदायको उद्गम स्थल कोवाङ, नाउरीकोट, गुरुसाङवो गुफा, भुर्छतो, सेकुङ, टिटि ताल, लेते र धवलागिरी आईसफललाई पर्यटकीय गन्तब्य बनाउने उद्देश्य सहित पूर्वाधार निर्माण गरिएको पुर्व सांसद तुलाचनले बताउनुभयो ।

नजिकैको बस्ती कोवाङ र लेतेदेखि डेढ घण्टा पैदल हिडेपछि तालमा पुग्न सकिन्छ । सडकमा सवारी साधन तथा पदमार्गमा पैदल हिडेर तालमा पुग्ने विकल्प छ । टिटी ताल परिसरमा बस्ती छ । सेकुङ, भुर्तछोे ताल र गुरुसाङवो गुफा नजिकै बस्ती छैनन् । एकान्त वातावरण छ । धवलागिरि हिमालको पूर्वी मोहोडबाट निरन्तर खसिरहने हिउँपहिरो नजिकबाट अवलोकन गर्न सकिने आइसफलमा पुग्न कोवाङबाट पाँच घण्टा पैदल हिड्नुपर्छ । आइसफल पुग्ने यो छोटो पदमार्ग हो ।

सेकोङ तालदेखि धवलागिरि आइसफलसम्म जाने पदमार्ग, क्याम्पिङ साइट, ताल संरक्षण गरी पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्ने योजना बनाइएको वडाध्यक्ष शेरचनले बताउनुभयो । धौलागिरि आइसफल हुुदै म्याग्दी निस्कने पदमार्ग सञ्चालनको तयारी भएको छ । सेकोङ, भुर्छतो र गुरुसाङवो गुफाको नजिकैको बस्ती नाउरीकोट प्राकृतिक हिसाबले सुन्दर बस्ती हो । नाउरीकोटको फेदी कोवाङ गाउँपालिकाको केन्द्र हो । बेनी–जोमसोम सडकले छोएको कोवाङलाई नेपालका अल्पसङ्ख्यक थकाली समुदायको उद्गमस्थल मानिन्छ । कोवाङमा नर्साङ गुुम्बा रहेको छ ।

पूर्वमा निलगिरि, अन्नपूर्ण र पश्चिममा धवलागिरि, टुकुचे हिमाल दन्तलहर झैं देखिने नाउरीकोटबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । फापर, मकै, गहुँ खेती हुने समथर फाँटमा रहेको नाउरीकोटबाट धौलागिरि हिमालको चुचुरोबाट खस्ने हिउँ थुप्रिएर बनेको आइसफल हेर्न पाउनु अर्को विशेषता हो ।

अल्पसङ्ख्यक थकाली समुदायको बसोबास रहेको नाउरीकोटबाट बर्खामा देखिने हरिया पाखामा दूधका धारा झैँ गरी बग्ने झरना र छहरा हिउँद्मा सुक्दा सेताम्मे हिउँले छोपिन्छ । बसन्त ऋतुमा पृष्ठभूमिमा पाखाभरि लालीगुराँसले रङ्गिन्छ । भदौ, असोज महिनामा वरपरका बारीमा लहलह फापर फुल्दा वातावरण रमणीय बन्ने नाउरीकोटका नरसाम्बो गौचनले बताउनुभयो ।

कोवाङदेखि करिब २० मिनेट पैदल र १० मिनेट सवारी साधनमा यात्रा गरेर पुगिने नाउरीकोटका वरपर घुम्नलायक धेरै ठाउ छन् । भुर्तछो र सेकुङ ताल, गुरुसाम्पुक गुफा र धौलागिरि आइसफल नाउरीकोट भित्रने पर्यटकका लागि घुम्ने ठाउँ हुन् । थकाली समुदायको जीवनशैली, संस्कार, संस्कृति रहनसहन पनि यहाँको थप आकर्षण हो ।

नाउरीकोटमा पर्यटकको सुविधाका लागि होटल, लज तथा होमस्टेको सुविधा छ । नजिकैको जंगलमा पाइने वन्यजन्तु, पंक्षी, जडीबुटी, वनपैदावार, भेडा, चौंरीका गोठ थप आकर्षण हो । वौद्ध धर्मगुरुहरुले वुद्धत्व प्राप्त गर्न तपस्या बसेको करिब ३० मिटर लामो गुरुसाङवो गुफाभित्र बाघको पञ्जा, हात्तीको सुँड, चौंरीको खुर, गाईभैंसीको कल्चौरा, कछुवाको मुखलगायतको आकृतिहरु देख्न सकिन्छ ।

पाँच सय वर्ष पहिले पहिचान भएको स–साना तालहरु रहेका यो गुफाको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसारमा स्थानीय तहका जनप्रतिनिधि र समुदायले जोड दिएका छन् । रमणीय, धार्मिक, ऐतिहासिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण थासाङको तीनवटा ताल र गुरुसाङवो गुफा स्थानीयको आयआर्जन वृद्धि, रोजगारी सिर्जनासँगै भ्रमणमा आउने पर्यटकको बसाई लम्बाउने आधार बनेको छ । सडकले पुराना पदमार्गसँगै पर्यटकको बसाई छोटिएको अवस्थामा पुराना गन्तब्यको संरक्षणसँगै नयाँ गन्तब्यको पहिचान, पूर्वाधार निर्माण र प्रर्वद्धनमा जोड दिनुपर्ने देखिन्छ । रासस