११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

आहारा खोज्दै घोडाघोडी आइपुगे आगन्तुक चरा

आहारा खोज्दै घोडाघोडी आइपुगे आगन्तुक चरा
अ अ+ अ-

घोडाघोडी । झन्डै पाँच हजार किलोमिटरको यात्रा तय गरेर कैलालीको घोडाघोडी तालमा साइबेरियन र मङ्गोलियन चरा पुगिसकेका छन् । सन् २००३ अगस्तमा विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी क्षेत्र चराको बासस्थलका लागि उपयुक्त गन्तव्य मानिन्छ ।

पर्याप्त आहारा र सन्तुलित तापक्रमका कारण प्रत्येक वर्ष यहाँ हजारौँ आगन्तुक चरा आउने गरेका छन् । यस वर्ष पनि आगन्तुक चराको चिरविराहट र चहलपहलले घोडाघोडी ताल क्षेत्र थप रमणीय र मनमोहक भएको छ । सेप्टेम्बरदेखि फेब्रुअरीसम्म करिब छ महिना उत्तर ध्रुवका साइबेरिया, मङ्गोलिया, उत्तरी चीन, रसिया, कोरिया, जापान, युरोपलगायत क्षेत्रमा तापक्रम शून्य डिग्री सेल्सियसभन्दा न्यून रहने भएकाले तालतलैया तथा पोखरीमा बरफ जम्ने भएकाले चराहरू उचित तापक्रम र वातावरणको खोजी गर्दै यहाँ आउने चराविद् डा हेमसागर बरालले जानकारी दिनुभयो । अत्यधिक चिसो अनुकूलन हुन नसक्दा र आहारको कमीका कारण चिसो छल्न आहारको खोजी गर्न नेपाललगायतका दक्षिण क्षेत्रतर्फ बसाइँसराइ गर्ने चराहरूको सङ्ख्या ठूलो रहेको उहाँको भनाइ थियो ।

“अत्यधिक चिसो भएपछि तालतलैया बरफमा परिणत हुन्छन् । चराको आहारा नोक्सान हुने भएकाले आहारको खोजीमा नेपाललगायतका दक्षिण क्षेत्र आउँछन्”, चराविद् बरालले भन्नुभयो, “यहाँको मौसम यो बेला अनुकूल हुने र आहार पनि पर्याप्त पाइने भएकाले चराहरू आउँछन् ।” उहाँका अनुसार दशकौँदेखि कैलालीको घोडाघोडीका साथै महादेवा, लौकाहा–भौकाहा, चिरैयाँ, नकरोड, कोइलही, सोनियाँ–रुपियाँ, जम्नेह्टा, घोड्ताललगायत कर्णालीको तल्लो तटीय क्षेत्रमा विभिन्न प्रजातिका हिउँदे आगन्तुक चरा आउने गर्दछन् ।

सेप्टेम्बरको अन्तिम सातादेखि घोडाघोडी क्षेत्रमा एक हजार बढीको सङ्ख्यामा चराहरू आउने गरेका पन्छी संरक्षण सङ्घका सहजकर्ता हिरुलाल डङ्गौराले जानकारी दिनुभयो । “यो बेला ठूलो सङ्ख्यामा विभिन्न देशबाट हजारौँ किलोमिटरको यात्रा तय गरेर यहाँ चराहरू आउने गरेका छन्”, उहाँले भन्नुभयो, “यी चरा छ महिनासम्म यहाँ बसोबास गर्छन् ।” उहाँका अनुसार डिसेम्बरसम्म यहाँ आइपुगेका चरा मार्चमा फेरि आएकै ठाउँतिर फर्किन्छन् ।

“संसारमा चराका नौ वटा उडान मार्ग रहेको बताइन्छ । आगन्तुक चराको नेपालमा दुई उडान मार्ग पर्दछन् । मध्य एसिया उडान मार्ग हुँदै चराहरू घोडाघोडी पुग्छन् । त्यसमा फिस्टे तथा हाँस प्रजातिका चराहरूका साथै सामुद्रिक चराहरू पर्छन् । कहिलेकाहीँ खोया हाँस पनि यहाँ देखिने गरेका छन्”, चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीले भन्नुभयो । उहाँका अनुसार घोडाघोडीमा अहिले आगन्तुक चराका रूपमा सुनजुरे, खडखडे, मालक, बेल्चाठुडे, कालीजुरे, कैलो टाउके, सिन्दुरे, हरियो टाउकेलगायत हाँस प्रजातिका जलपन्छी आएका छन् ।

चौधरीले भन्नुभयो, “साइबेरिया, मङ्गोलिया, उत्तरी चीनलगायतका देशबाट अहिले घोडाघोडीमा आगन्तुक चराहरू आइपुगेका छन् । जाडो यामभरि यहाँका सिमसार क्षेत्रका साना ठूला तालमा ती चराहरू रमाउँछन् । फेरि यता गर्मी बढेपछि उतै फकिन्छन् ।”

कस्तो छ घोडाघोडी ताल ?

एक सय ३८ हेक्टर क्षेत्रफलमा फैलिएको यो ताल औँला भएको हत्केला आकारको छ । यस आसपासमा रहेका अन्य १३ वटा तालसमेत गरेर उक्त सिमसार क्षेत्रमा तालैतालले ओगटेको क्षेत्रफल दुई सय ४८ हेक्टर रहेको छ ।

एउटा तालको सीमा टुङ्गिन नपाउँदै अर्को ताल सुरु हुने घोडाघोडी क्षेत्र तालैतालको मालाजस्तै देखिन्छ । जङ्गलबीच तालैतालको लस्करसहित जैविक विविधताले भरिएको यस क्षेत्र तराई र चुरे जोड्ने जैविक मार्गका रुपमा रहेको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष चौधरीले बताउनुभयो ।

पूर्व–पश्चिम राजमार्गको छेउमा रहेको ताल क्षेत्र दुर्लभ चराचुरुङ्गीले विचरण गर्ने शान्त र सुरक्षित बासस्थान हो । विश्व जलचर इतिहासमा सङ्कटापन्न दर्जनौँ जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ चराचुरुङ्गीको संरक्षणका कारण यो ताल सन् २००३ मा विश्व रामसार सूचीमा सूचिकृत भएको उहाँको भनाइ थियो ।

“विश्वभरका एक हजार तीन सय १४ रामसार क्षेत्रमध्ये केही विशेष स्थानीय प्रजातिका माछा र पुतली यस ताल क्षेत्रमा मात्र पाइन्छन् । त्यसैले पनि विश्वका सङ्कटापन्न जलचर, स्थलचर तथा जैविक विविधताका दृष्टिले घोडाघोडी ताल महत्त्वपूर्ण छ”, पन्छी संरक्षण सङ्घका सहजकर्ता डङ्गौराले भन्नुभयो । उहाँका अनुसार यहाँ चार सय ५० प्रजातिका वनस्पति पाइन्छन् । यहाँका जङ्गलमा बहुमूल्य र औषधिका रूपमा प्रयोगमा आउने सतिसाल, साज, खयरलगायत वनस्पति पाइने बताइएको छ ।

रामसारको प्रावधानअनुसार विश्वका आठ मध्ये दुई महत्त्वपूर्ण अन्तर्राष्ट्रिय चराहरूको सूचक यस तालमा उपलब्ध छन् । हरिहाँस, बगाले सिमकुखुरा तथा नादुन हाँसले घोडाघोडी ताल क्षेत्रमा मात्रै प्रजनन गर्ने गरेका घोडाघोडी बृहत् तथा पर्यटन विकास बोर्डका उपाध्यक्षसमेत रहेका चराविद् डिआर चौधरीले बताउनुभयो । यहाँ हरिहाँस, मगर गोही र वनधान सूचक प्रजातिको रूपमा छन् । उहाँका अनुसार विश्वव्यापी रूपमा लोप हुँदै गएका भुडिफोड गरुण, सेतो गिद्ध, सानो खैरे गिद्ध, हाज हलाचे, राज धनेसलगायत प्रजातिका चराहरू यहाँ बसोबास गर्दछन् ।

चराहरूको महत्वपूर्ण बासस्थल भएकाले २८ फागुन २०७८ मा घोडाघोडी क्षेत्रलाई नेपालको पहिलो ‘बर्ड सेन्चुरी चरा अभय आरक्षण क्षेत्र’ घोषणा गरिएको थियो । त्यसपश्चात् यस क्षेत्रमा पर्यटकको चहलपहल बढेको स्थानीय बताउँछन् ।

चराविद् डिआर चौधरीले भन्नुभयो, “नेपालकै पहिलो बर्ड सेन्चुरी घोषणा गरेपछि यहाँ पर्यटकको सङ्ख्या बढेको छ । सयौँ प्रजातिका चराचुरुङ्गीका साथै विश्वकै दुर्लभ प्रजातिका अजिङ्गर, सालक, पानी ओत, कछुवासमेत यहाँ पाइन्छ । साथै चितुवा, रतुवा, घोलर, बँदेल, चित्तल, खरायो, बाँदर, मुसा, सुन गोहोरो, सर्प, नीलगाईलगायत जनावरले यहाँको जैविक महत्व विश्वव्यापी बनाएका छन् ।”

यहाँ एक हजार छ सय ७० हेक्टरमा फैलिएको सिमसार क्षेत्रमा २४ वटा ताल छन् भने दुई हजार पाँच सय ६३ हेक्टर क्षेत्रफल रामसार क्षेत्रले ओगटेको छ । छ सय ४७ प्रजातिका बोटबिरुवा, ३१ प्रजातिका माछा, तीन सय ८० प्रजातिका चरा, ३२ प्रजातिका पुतली र ११ प्रजातिका शङ्केकिरा पाइने यस ठाउँ संरक्षण तथा जैविक विविधताको क्षेत्रमा खोज गर्नेका लागि विश्वविख्यात अध्ययन केन्द्र सावित भएको चराविद् चौधरीले बताउनुभयो । उहाँका अनुसार यहाँ ३४ प्रजातिका स्तनधारी जनावर र सात प्रजातिका घिस्रेर हिँड्ने जनावर पाइन्छन् ।

घोडाघोडी ताल छेउमा भगवान् शिवको प्रसिद्ध मन्दिर रहेकाले यस क्षेत्र धार्मिक दृष्टिकोणले समेत आस्थाको केन्द्रका रूपमा स्थापित भएको घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले बताउनुभयो । “यो ताल प्रदेशको मात्रै नभई देशकै गहन हो । हामीले यहाँ देश विदेशबाट पर्यटन भित्र्याउने गरी काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अहिले गुरुयोजनाअनुसार ताल क्षेत्र व्यवस्थित गर्दैछौँ । यसले पनि ताल क्षेत्र अझै मनमोहक र रमणीय देखिनेछ ।” रासस