११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

बाँदरका डरले हिउँदे बाली लगाउँदैनन् किसान

बाँदरका डरले हिउँदे बाली लगाउँदैनन् किसान
अ अ+ अ-

पर्वत । पर्वतका ग्रामीण क्षेत्रमा बाँदर आतङ्क दिन प्रतिदिन बढ्दै गएको छ । बाँदर आतङ्कले हिउँदे बालीनाली लगाउने प्रचलनसमेत कम हुँदै गएको छभने लगाएकाहरुलाई पनि पाक्ने बेलासम्म बाली जोगाउन हम्मेहम्मे पर्दै आएको छ ।

जिल्लाको कुश्मा नगरपालिका–९ का पुनाखर पराजुली विगतका वर्षमा १८ रोपनी खेतमा गहुँ खेती गर्दै आए पनि अहिले बाँझै राखेको बताउनुहुन्छ । विगतमा मङ्सिर तेस्रो सातासम्म गहुँ उम्रिएर हरियाली हुन्थ्यो । यतिबेला गहुँमा सिँचाइ गर्न व्यस्त हुनुहुने पुनाखर बाँदरका कारण फुर्सदिलो बन्नुभएको छ । बाँदर आतङ्क बढ्दै गएपछि पुनाखरको साँधका विष्णुहरि पराजुली र टीकाराम तिवारीको ५० रोपनीभन्दा धेरै जमिन पनि बाँझै छ । उहाँहरूले धान थन्क्याइसकेपछि सबै जग्गा बाँझै छोड्नुभएको हो । “धान जेनतेन थन्क्याउन सकिन्छ”, टीकाराम भन्नुहुन्छ, “हिउँदे खेती जति नै प्रयास गर्दा पनि जोगाउन नसकेपछि आजित भएर लगाउनै छोडियो ।”

त्यसैगरी, फलेवास–४ का रामप्रसाद गौंडेलले लगाएको ४० केजी आलु उम्रिन नपाउँदै एक हूल बाँदर पसेर सर्वनाश पारिदियो । बिहादी गाउँपालिका–३ का रामु पराजुलीले सहकारीमार्फत बर्सेनि एक सय रोपनीमा सामूहिक आलुखेती गर्दै आउनुभएको थियो तर बाँदरबाट जोगाउन नसक्ने भएपछि पछिल्लो तीन वर्षयता आलु रोप्नै छोडेको बताउनुहुन्छ ।

“एक पटक पल्केपछि बाँदरले खेती सखाप नपारेसम्म नछोड्ने रहेछ”, उहाँ भन्नुहुन्छ, “हजारौँ खर्च गरेर महिनौँसम्म खटेको बाली एकै दिनमा सखाप पारिदिएपछि सबै किसान आजित भए । अहिले जति नै प्रयास गर्दा पनि व्यावसायिक आलुखेती गर्न सकिएन ।” बाँदरको हैरानी खेप्न नसक्नुभएका उहाँ दुई वर्षयता बाँदरबाट जोगिन बेसार, अदुवा, तोरीलगायत वैकल्पिक खेतीतर्फ लागेको जानकारी दिनुहुन्छ ।

अहिले जिल्लाभर बाँदरको आतङ्क फैलिएको छ । जिल्लाका ६१ वडामै बाँदरको समस्या नभएको कुनै वडा छैन । कतिपय ठाउँमा किसानले बाली जोगाउन रातदिन समूह भएर जाग्राम बस्नुपरेको छ । बाँदर आतङ्क किसानका लागि टाउको दुखाइको विषय बनेको सरोकारवालाहरुको भनाइ छ । मोदी–२ का गुरुदत्त चापागाईं भन्नुहुन्छ, “पहिला कुकुर भुक्दा भाग्थ्यो । अहिले कुकुरलाई नै झम्टिन आउँछ । जलजला–५ की पार्वती खत्रीले रोपेको २५ केजी आलु बाँदर पसेपछि बाटै बाँकी नराखेर उखेलेको थियो ।”

पर्वतमा आलुको पकेट क्षेत्र मानिने जलजला गाउँपालिकाका बनौँ, शालिजा, लेखफाँट, क्याङ, भुकताङले, बाँसखर्कलगायत वडामा आलुखेतीमा पनि बाँदर मुख्य समस्या बनेकाले किसान चिन्तित बनेका छन् । “अहिले आलु मात्रै नभएर सुन्तला पनि खान थालेको छ”, बाँसखर्कका समुद्र खत्री भन्नुहुन्छ, “पहिला मान्छे देखेर भाग्ने बाँदर अहिले मान्छेलाई नै झम्टिन आउँछ ।”

जिल्लाका उच्च भेगमा पर्ने गाउँको मुख्य बाली आलुखेती हो । हिउँदे खेतीका लागि उपयुक्त मानिने कुश्मा र फलेवास नगरपालिकामा पनि बाँदरको हैरानीले किसानले लगाएको कुनै पनि हिउँदे खेती स्याहार्न नपाइएको किसानको गुनासो छ । दशकअघिसम्म पर्वतबाट अन्य जिल्लामा गहुँ र गहुँको बीउसमेत निर्यात हुने गरेकामा पछिल्ला वर्षमा गहुँ र गहुँको पीठो तराईका विभिन्न उद्योगको भर पर्नुपरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लाको फलेवास नगरपालिकाले चालु आर्थिक वर्ष किसानलाई आलु र गहुँको बीउ नि:शुल्क वितरण गर्ने कार्यक्रम राखे पनि अपेक्षित माग नआएको जनाएको छ । “फाटफुट माग आएको थियो”, कृषि शाखा प्रमुख केदार सापकोटा भन्नुहुन्छ, “बीउ माग गर्ने किसानले बाँदर जोगाइदिने भए लैजान्छौँ, नत्र लैजाँदैनौँ भनेका छन् ।” महाशिला र पैयुँ गाउँपालिकाले आर्थिक वर्ष ०७५/७६ मा सुरु गरेको बाँदर नियन्त्रणको योजना सफल हुन नसकेपछि अहिले त्यस क्षेत्रमा समेत किसानले हिउँदे खेतीप्रति रुचि देखाउन छाडेका छन् । रासस