११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

अत्मानिर्भर बन्दै ताप्लेजुङका महिला

अत्मानिर्भर बन्दै ताप्लेजुङका महिला
अ अ+ अ-

फुङ्लिङ । ताप्लेजुङका ग्रामीण क्षेत्रका महिला आत्मनिर्भर बन्नका लागि स्रोत र सीपको खोजी गर्न थालेका छन् । विभिन्न तालिममा सहभागी भएर सीप सिकेसँगै आत्मनिर्भर बन्दै गएका हुन् । आफूले सिकेका सीपले आफूसँगै अरूलाई पनि रोजगारी सिर्जना गर्न सकिने यहाँका महिलाको भनाइ छ ।

उद्यमी बन्न चाहने महिलालाई विभिन्न सङ्घसंस्था तथा स्थानीय तहले आवश्यक सीपका लागि तालिम दिनुका साथै उद्योग स्थापना गर्नका लागि आवश्यक सामग्री अनुदानमा उपलब्ध गराएर गाउँगाउँमा महिलालाई प्रोत्साहन गर्दै आएका छन् ।

हिमाली संरक्षण मञ्च ताप्लेजुङको आयोजना, फुङ्लिङ नगरपालिका–१० वडाको समन्वय तथा रेड पाण्ड नेटवर्क, फुङ्लिङ नगरपालिका र घरेलु तथा साना उद्योग ताप्लेजुङको आर्थिक सहयोगमा दुईमहिने अल्लो प्रशोधन तथा कपडा उत्पादन तालिम बिहीबार सम्पन्न भएको छ । फुङ्लिङ–१० फुरुम्बु गाउँका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हिमाली संरक्षण मञ्चले जनाएको छ ।

फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले तालिममा सिकेका सीपको प्रमाणपत्र सिरानी बनाएर थन्क्याएर नबस्न अनुरोध गर्नुभयो । नगरपालिकाको लगानी र सहभागीको समय खर्च भएकाले उद्यम सुरु गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । नगरप्रमुख मादेनले भन्नुभयो, “तालिम दियौँ । अब उद्यम सुरु गरौँ । स्थानीय सरकार सयहोग गर्न तयार छ ।” जङ्गलमा कुहिएर खेर जाने अल्लोबाट धागो तथा कपडा उत्पादन गरेर आम्दानी गर्नुपर्ने भन्दै उद्यम गर्न चाहनेलाई नगरपालिकाले सहयोग गर्ने उहाँले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिका उपप्रमुख कृष्ण लिङखिमले अल्लो नामी र दामी भएकाले उद्यमका रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।

खेती नै नगरी अल्लो पर्याप्त उत्पादन भइरहेको भन्दै व्यवसायिक रुपमा अल्लो उत्पादन गर्नुपर्ने घरेलु तथा साना उद्योग महासङ्घ जिल्ला अध्यक्ष राजेन्द्र भारतीले बताउनुभयो । अल्लो उत्पादन गरेर आम्दानी गर्न सक्नुपर्ने भन्दै उहाँले उद्यमीलाई महासङ्घले सहयोग गर्ने प्रतिबद्ध व्यक्त गर्नुभयो । उहाँका अनुसार महासङ्घले जिल्ला, प्रदेश र सङ्घसम्म आयोजना हुने कार्यक्रममा जिल्लाको उत्पादनको बजारीकरण गर्ने गरेको छ ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख युवराज घोसाईका अनुसार सामुदायिक तथा सरकारी वन क्षेत्रमा अल्लो पाइने भएकाले सम्बन्धित निकायसँग समन्वय गरेर अगाडि बढ्न सकिने बताउनुभयो । उद्यमी मिलेर उद्योग दर्ता गरी व्यावसाय सुरु गर्न उहाँले आग्रह गर्नुभयो । सरकारी मान्यता प्राप्त गरेसँगै बजेट र तालिम दिन सहज हुने उहाँको भनाइ थियो । “अल्लोको गुणस्तरीय कपडा उत्पादन गर्न सके बजार अभाव छैन”, उहाँले भन्नुभयो ।

डिभिजन वन कार्यालयका प्रमुख बद्रीप्रसाद शाहका अनुसार वनमा पाइने अल्लो सङ्कलन गर्न सके राज्य र उद्यमीलाई लाभ पुग्छ । उहाँले भन्नुभयो, “कानुनबमोजिम अल्लो सङ्कलन गर्न सक्छाँै । सहकार्य गर्न तयार छौँ ।”

सिकेको सीप व्यवहारमा लागू गर्न हिमाली संरक्षण मञ्चका अध्यक्ष चन्द्रमणि लिम्बूले तालिममा सहभागीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “सीप सिक्न मरिहत्ते गर्छौं । व्यवहारमा लागू गर्न चुक्छौँ । आशा छ, अब त्यो हुन्न ।”

तालिममा सहभागीमध्ये चन्द्रकुमारी लिम्बूले भन्नुभयो, “धागो काट्न र बुन्न हामी सक्षम छौँ । भविष्यमा गुणस्तरीय मेसिन पाउने आशा गरेका छौँ ।” सहभागीले अल्लोमा बुटिक भर्ने, लोगो लगाउने र नाम लेख्ने किसिमको तालिम आश गरेका छन् । लिम्बूले थप्नुभयो, “हामीमा धेरै लगानी छ । मेसिनमा उत्तिकै लगानी छ । त्यही भएर मेसिनको अपेक्षा गरेका छौँ ।” प्रशिक्षक आशा आङवुहाङ लिम्बूले आफूले जानेजत्तिकै सीप सहभागीलाई सिकाइएको बताउनुभयो । तालिमसँगै अब बजारीकरणका लागि सहयोग हुनुपर्ने खाँचो औँल्याइएको छ ।

संरक्षण मञ्चका कार्यकारी निर्देशक रमेश राईले तालिममा सहभागीलाई आगामी वर्ष तालिमका साथै मेसिन उपलब्ध गराउने योजना रहेको जानकारी दिनुभयो । उहाँका अनुसार अल्लोको नर्सरी तयार गर्ने, तान बनाउने तथा वितरण गर्ने र बजार व्यवस्थापनलगायत कार्यक्रम छ । जिल्लाका अन्य स्थानीय तहबाट पनि तालिमको माग आइरहेकाले यसलाई निरन्तरता दिइने राईले बताउनुभयो । उहाँका अनुसार झोला, टोपी, गलबन्दी, रुमाल र विभिन्न सामग्री उत्पादन गर्ने संस्थाले योजना बनाएको छ ।

कार्यक्रमका अध्यक्ष तथा फुङ्लिङ नगरपालिका–१० फुरुम्बुका वडाअध्यक्ष सन्तोष लिम्बूले वडावासीले लिएको सीपअनुसारको उद्यम गर्न सहयोग गर्ने बताउनुभयो ।

फुरुम्बुमा दुईमहिने (असोज २५–पुस १९) अल्लो प्रशोधन तथा कपडा बुनाइ सीप विकास तालिम आयोजना गरिएको थियो । उक्त तालिममा १६ जनाको सहभागिता थियो । तालिममा बोइलिङ मेसिन (पकाउने भाडा), बिटिङ मेसिन (कुट्ने मेसिन), रुवा बनाउने हेकल मेसिन र चर्खा उपलब्ध गराएको छ ।

हिमाली संरक्षण मञ्चको रु १३ लाख ५६ हजार, फुङ्लिङ नगरपालिकाको रु दुई लाख र घरेलु तथा साना उद्योग कार्यालयबाट रु एक लाख ५२ हजारको लगानीमा तालिम सञ्चालन भएको मञ्चले जनाएको छ । रासस