५ श्रावण २०८३, मंगलवार
,
Latest
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिम चितवन गाजरखेतीको ‘हब’



फाईल फोटो
अ+ अ-

नारायणगढ । प्राङ्गारिक कृषि उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यका साथ भरतपुर महानगरपालिका–१५ श्रीपुरका चार बिघा चार कट्ठा जमिनमा गाजरखेती गरिएको छ । रासायनिक मल र विषादीको प्रयोगबिना प्राङ्गारिक प्रक्रियाद्वारा किसान चन्द्रप्रसाद अधिकारी, महेन्द्र पौडेल र मोहनसिंह गुरुङले संयुक्तरुपमा रु १४ लाख लगानी गरेर भाडाको जग्गामा गाजरखेती गर्नुभएको हो ।

विसं २०३२ देखि श्रीपुरमा गाजरलगायतका प्राङ्गारिक खेती गर्दै आउनुभएका कृषक अधिकारीले तत्कालिन समयमा ५० ग्राम बीउ रोपेर गाजरको खेती सुरु गरेका अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, “खास गरेर यहाँ २०३२ सालदेखि गाजर खेती गर्न सुरु गरेको हो । त्यसपछि क्रमिकरुपमा अरु साथीहरु पनि गाजर खेतीमा अग्रसर हुनुभयो यसले गर्दा श्रीपुरलगायत पश्चिम चितवन गाजरको हबजस्तै बनेको छ ।” उहाँको अनुभवमा यो क्षेत्रमा गाजरको लागि उपयुक्त माटो र हावापानी छ । उहाँका अनुसार यहाँका धेरै किसानको अहिले आम्दानीको स्रोतको रुपमा गाजर खेती पनि एक हो ।

गाजर, मुला, चुकन्दर सलादका रुपमा प्रयोग गर्ने वस्तु भएको हुँदा स्वास्थ्यको हिसाबले पनि यसको उत्पादन प्राङ्गारिक प्रक्रियाले हुनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यो पूर्ण सलादको रुपमा खाने हुँदा यसमा रासायनिक मल, विषादी प्रयोग नगरिकन प्राङ्गारिक उत्पादन गरौँ भनेर हामीहरु निरन्तर लागिरहेका छौँ ।” उहाँले गाजर खेतीलाई अझ व्यवस्थित बनाउन नसकेको बताउनुभयो । विभिन्न सरोकारवाला निकायको साथ र सहयोग मिलेमा यस खेतीलाई अझ व्यवस्थितरुपमा गर्न सकिने उहाँको भनाइ छ ।

प्राङ्गारिक सङ्घ र प्राङ्गारिक सहकारीमा समेत आबद्घ रहनुभएका किसान अधिकारीले अहिले जिल्ला प्राङ्गारिक सङ्घ, प्राङ्गारिक कृषि उत्पादक सहकारीको पूरै समूह प्राङ्गारिक गाजर खेती गर्ने क्रममा जुटिरहेको बताउनुभयो । उहाँका अनुसार यो सँगै जिल्ला प्राङ्गारिक सङ्घअन्तर्गत १६/१७ बिघामा जमिनमा गाजर र चुकन्दर खेती गरिएको छ ।

उहाँले यहाँ उत्पादन भएको एक सय टन गाजर र चुकन्दर अर्गानिक भ्यालीलाई दिने सहमति भएको र अन्य उत्पादन अर्गानिक बजारमा बिक्री गरिने बताउनुभयो । विगत देखिनै सहभागितामूलक गुणस्तर निर्धारण प्रणालीका अनुसार विभिन्न प्राङ्गारिक उत्पादन गरिँदै आएको र उत्पादन गरेर बजारीकरण गर्ने वस्तु अर्गानिक सर्टिफिकेसन नेपाल ९ओसिएन० प्रमाणित हुने जनाइएको छ । हाल सेरेसजस्ता अन्तर्राष्ट्रिय कम्पनीले समेत बजारीकरणको लागि प्रमाणीकरणको काम गरिरहेको उहाँले बताउनुभयो । उहाँले यहाँ उत्पादन भएका गाजरलगायतका वस्तु अर्गानिक भ्यालीसँग सहकार्य गरेर उत्पादनलाई प्रशोधन गरी विदेशी बजारमा पठाउने सम्झौता भएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्राङ्गारिक बजार बढेको छ सँगै किसानको सक्रियता पनि बढ्दै गएको छ ।”

प्राङ्गारिक प्रक्रियासँग गाजर खेती गर्दासँगै उम्रने झारको कारणले खर्च बढी आउने अर्का किसान गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “बिगौँ जमिनमा प्राङ्गारिक प्रक्रियाबाट गाजर लगाइएको छ खेतभरि गाजरको बिरुवालाई ढाँक्ने गरी झार आएको छ । प्राङ्गारिक पद्घतिमा बिषादी प्रयोग गर्ने कुरा भएन मानिसले गोड्दा खर्च बढ्ने भयो ।” गाजर गोडाइको खर्च कम गर्नका लागि विषादीलगायतका हर्बिसाइटको प्रयोग बढेको जनाउँदै सिधै सलादको रुपमा खाने वस्तुमा यसको विकल्प हुनपर्छ भन्ने मान्यता आफूहरुको रहेको उहाँको तर्क छ ।

त्यसैगरी किसान पौडेलले गाजर खेतीमा रोग र किराको समस्या नभएको बताउनुभयो । उचित व्यवस्थापन भएको खण्डमा उत्पादनको हिसाबले १५ देखि २० क्विन्टल प्रतिकट्ठा गाजर उत्पादन गर्न सकिने उहाँको भनाइ छ । गाजर गोड्दा लाग्ने खर्चको बारेमा मानिसले भन्दा यसको विकल्प खोजीयन्त्र उपकरण प्रयोगमा ल्याउन सकेमा खर्च कम हुने र हर्बिसाइटबिना उत्पादन गरिएका गाजरले राम्रो बजार पाउने उहाँको भनाइ छ । मङ्सिर पहिलो सातामा रोपिएको गाजर फागुनको अन्तिम सातामा तयार हुने उहाँले बताउनुभयो । रासस