११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

पर्यटकीय रिठेडाँडामा वनभोज खानेको भीड

पर्यटकीय रिठेडाँडामा वनभोज खानेको भीड
अ अ+ अ-

बलेवा । बागलुङ जिल्लाको जैमिनी नगरपालिका– ५ बिनामारेको रिठेडाँडा पछिल्लो समय वनभोज स्थल बन्दै गएको छ । वडाको उच्च भागमा पर्ने डाँडा हिउँद लागेपछि दिनदिनै भरिभराउ हुन थालेको हो ।

प्रचारप्रसारको अभावमा ओझेलमा रहेको रिठेडाँडामा पछिल्लो समय विभिन्न समूह वनभोजका लागि पुग्ने गरेको वडाअध्यक्ष ठगबहादुर थापा क्षत्रीले बताउनुभयो । अहिले यो क्षेत्रमा जैमिनीका विभिन्न ठाउँबाट वनभोज खान आउन थालेका हुन् । वनभोज खानेले यहाँ रहेको चौतारी, पोखरीलगायतका रमणीय स्थलका बारेमा प्रचार गरेसँगै पछिल्लो समय रिठेडाँडा वनभोज खानेको लागि रमणीय स्थल बन्दै गएको वडाअध्यक्ष क्षत्रीले बताउनुभयो ।

कुनै समय नागपञ्चमी, बडादशैं, चैत्राष्टमीलगायत पर्वका मौकामा मेला लाग्ने गरेको भएपनि सुरक्षा जोखिमका कारण रिठेडाँडामा मेला लाग्न छोडेको केही वर्ष भएको छ । नयाँ पुस्ताले त त्यसको महत्व पनि भुल्न थाले । कुनैताकाको हराभरा र रमझममय रिठेडाँडा निर्जन डाँडामा फेरियो । मन्दिर र चौतारी जीर्ण बने । पोखरी सुक्यो । घाँस र झाडीले रिठेडाँडा घेरियो । त्यसको प्राकृतिक सौन्दर्य मात्रै गुमेन, धार्मिक, सांस्कृतिक पक्ष पनि ओझेलमा पर्‍यो । गाउँको विकास र पर्यटन बुझेका स्थानीय अगुवालाई भने त्यो कुराले पिरोल्दै गयो ।

उनीहरुले गुमनाम रिठेडाँडाको रौनक फर्काउने सपना देखे । जनप्रतिनिधिले पनि स्थानीयवासीसँग होस्टेमा हैँसे मिलाए । सबै कस्सिए, पर्यटनबाट रिठेडाँडालाई चिनाउन । जैमिनी नगरपालिका–५ बिनामारेस्थित रिठेडाँडाको मुहार अहिले विस्तारै बदलिँदैछ । विकास निर्माण र पर्यटनका योजनाले नयाँ वनभोज स्थलका रुपमा रिठेडाँडा चिनिँदैछ ।

‘यो डाँडाको पौराणिक महत्व धेरै छ, समय अनुसार परिवर्तित संरचना तयार गरेर यो डाँडालाई नयाँ व्यवस्थापन गर्दैछौँ,’ उहाँले भन्नुभयो, ‘बीचमा मेला, पर्वमा झैझगडा हुन थालेपछि सुरक्षा खतराका कारण यहाँ हुने मेलाको परम्परा बन्द हुन पुगेको हो ।’

रिठेडाँडामा उद्यान, पदमार्ग निर्माण, चौतारी संरक्षणलगायतका काम भएको छ । पर्यटनको काम हुन थालेपछि त्यहाँ रहेको शङ्खेपहाराको चर्चा पनि बाहिरिएको छ । त्यहाँ रहेको चौतारीमा १२१ वर्ष पुरानो ढुङ्गाको शिलालेख पनि छ । पोखरीमा रहेको मौलो पनि उति नै पुरानो रहेको स्थानीय टंक केसी बताउनुहुन्छ । हिउँदमा सो पोखरी सुक्ने गरेको छ । बाह्रैमास पानी जम्ने बनाउन पोखरी संरक्षणको योजना पनि ल्याइएको छ । भगवती मन्दिर जीर्ण बनेपछि नगरपालिका र स्थानीय दाताको सहयोगमा पुन:निर्माण गरिएको छ ।

रिठेडाँडाको विकासमा वडा र नगरपालिकाको पनि साझेदारी छ । नगरका पर्यटकीय विकास योजनामा रिठेडाँडा सूचीकृत छ । यहाँ शौचालयको व्यवस्था, खानेपानीको व्यवस्था रहेको र दिनभर घाम लाग्ने भएकाले वनभोज खानेको रोजाइमा रिठेडाँडा परेको हो । एकैदिन चार पाँच समूह हुँदा बिनामारेकै भातखाने डाँडालाई विकल्पको रुपमा प्रयोग गर्ने गरिएको छ । भातखाने डाँडामा खानेपानी र शौचालयका पूर्वाधार बनाउन सके त्यहाँ पनि वनभोज स्थलको सम्भावना छ ।

तर भातखाने डाँडामा सबै जग्गा व्यक्तिका नाममा रहेकाले संरचना निर्माणमा कठिनाई रहेको क्षत्रीले बताउनुभयो । कतै समथर त कतै भिरालो भू–बनोटमा रहेको रिठेडाँडाबाट मनोरम हिमशृङ्खला, पहाड र गाउँबस्तीको अवलोकन गर्न सकिन्छ । नेपाललाई उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर र अन्य सहायक सडक हुँदै रिठेडाँडा सजिलै पुग्न सकिन्छ । एक हजार तीन सय मिटरको उचाइमा अवस्थित रिठेडाँडा सदरमुकाम बागलुङ बजारदेखि २५ किमी दूरीमा पर्छ । रासस