१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

श्वासदेखि लाशसम्मको यात्रा

प्राणीभन्दा टाढा, प्रकृति रमाएको स्थान महादेवलाई प्रिय हुन्छन् भन्ने तथ्य यसले संकेत गर्छ

श्वासदेखि लाशसम्मको यात्रा
अ अ+ अ-

श्वासबाट प्रारम्भ भएको जीवन श्वास रोकिएपछि लाश बनेर सकिन्छ । श्वासदेखि लाशसम्मको यात्रा नै भौतिकजीवन हो । गर्भभित्र पिण्डरूपबाट  शरीर निर्माण भई आत्मसाथ लिएर जीवन शुरुवात भए पनि मरेपछि सन्ततिले दिएको पिण्डसँगै सकिन्छ ।

पिण्डमा चेतन प्रवेश गर्नुलाई जन्म र पिण्डलाई चेतनले छोड्नुलाई मृत्यु भनिन्छ । आकाशीय पिण्ड, श्राद्धमा दिइने पिण्ड, गर्भाशयमा बन्ने पिण्डमा आत्माको सञ्चार हुँदा जिवन्त बन्छन् । शरीरसँग जोडिएको नाता वा पहिचान औपचारिक रूपमा सकिनु, चेतनले शरीरलाई छोड्नु, भौतिकस्वरूपले कहिल्यै भेट नहुने गरी विसर्जन हुनु, प्राण नरहनु वा देहको भोगाधिकार समाप्त हुनु नै मृत्यु हो ।

शरीर, इन्द्रिय, मन, आत्माको संयोगलाई आयु भनिन्छ  यसको वियोगलाई मृत्यु भनिन्छ । शरीरमा चेतना ल्याउन तत्व गएपछि देह नै लाशमा परिणत हुन्छ । पिण्डलाई जन्मले जीवनमा रूपान्तरण गर्छ, मृत्युले शरीरलाई लाशमा परिणत गर्छ । लाशमा श्वास र आश हुँदैन । निबासबाट लाशलाई अन्तरयामी शिव एवं मशानघाटका मालिक महादेवमा अर्पण गरिने हुँदा यसलाई शवयात्रा भनिन्छ । जीवनले जात्रा देखाउँछ, लाशले यात्रा गर्न लगाउँछ ।

जात्राले अलमल्याउँछ, दुविधा गराउँछ भने यात्रा गन्तव्यमा पुर्‍याउने हुँदा शवजात्रा नगरेर शवयात्रा गरियो । लाशलाई शिवमा अर्पण गरिने हुँदा मृतकको कपाल र नङ काटिदिने, नुहाइदिने, चन्दन आदिको लेप लगाई पवित्र तुल्याइन्छ । मुक्ति होस् भनी तुलसीको मठमा राखिन्छ, पीताम्बर ओढाइन्छ, तीर्थजलले छर्केर भगवान्को स्मरण गर्दै, लाभा छर्दै घाट लगिन्छ । मृत्युपछि जीवात्माले जीवनभर गरेका शुभ र अशुभ कर्मफल लिएर जान्छन् ।

सर्वाद्वाराणि संयम्य मनो हृदि निरुध्य च ।

मूध्न्र्याधायात्मन: प्राणमास्थितो योगधारणाम् ।।

ओमित्येकाक्षरं ब्रम्ह व्याहरन्मामनुस्मरन् ।

य: प्रयाति त्यजन्देहं स याति परमां गतिम् ।।–गीता (८।१२–१३)

अर्थात् “सबै द्वारलाई रोकेर मनलाई हृदयमा स्थिर गरी, योगधारणाद्वारा प्राणलाई मस्तिष्कमा राखी एकाक्षर शब्दब्रम्हा ॐको उच्चारण र भगवान्को स्मरण गर्दै देहत्याग गर्नुपर्छ ।” ब्रम्हान्ध्रबाट प्राण गएमा मुक्ति हुन्छ भन्ने विश्वास छ । योगका साधकहरूले यहीँबाट प्राण छोडेर आफूलाई जन्ममृत्युको चक्करबाट मुक्त गराउँछन् ब्रम्हन्ध्रबाट प्राण जानसाथ तालु फुट्छ र थोरै रगत आउँछ ।

मृत्यु हुँदा शरीरका नवद्वारमध्ये नाकका दुई प्वाल, कानका दुई प्वाल, आँखाका दुई प्वाल, मुखबाट प्राण गए मुक्त वा स्वर्गबास हुन्छ तर दिसा, पिसाव गर्ने स्थानबाट गयो भने नरक पर्छ वा मुक्ति पाउँदैन भन्ने विश्वास छ ।  खप्तड स्वामी, योगी नरहरिनाथ, डा. स्वामी प्रपन्नाचार्य र डा. स्वामी रामानन्द गिरिजस्ता महापुरुषले देह छोडेपछि उहाँहरूको मुख खुल्ला भएको हुनाले यहीँबाट प्राण गएको अनुमान गर्दछन् । सिद्धमहापुरुषहरूले कर्मलाई दग्ध गरिसकेका हुनाले प्राण कहाँबाट गयो भन्ने विषयले धेरै अर्थ राख्दैन ।

जन्मनसाथ जीवात्मा कसैको छोरा, कसैको भाइ, कसैकी नातिनी, कसैकी भाञ्जीलगायतका अनेकौँ काल्पनिक नातामा बाँधिन्छ । यो जन्जालबाट मुक्त हुन मृत्युलाई स्वीकार गर्नै पर्छ । जन्मपछि आत्माको सहयोगमा शरीरले आकार लिन्छ । गर्भले जीवलाई झुट्टो नातामा रमाउन सिकाउँछ, मृत्युले सत्यको बोध गराउँछ । संसारको बन्धनले बाँधेर पुन: पृथ्वीमा आउन नपरोस् भनी मृतकले लगाएका कपडाका टाँक, तुना आदिलाई फुकालिन्छ ।

मर्नेबेलामा भगवान्को नाम स्मरण गराउने, शास्त्र पढिदिने, शिरमा गीता, वेद आदि पुस्तक राखिदिन्छन् । शास्त्र, तीर्थस्थल, देवीदेवताको नाम आदिमा परमात्माको आशीर्वाद, मुक्ति गर्ने शक्ति र ईश्वरको निवास हुनाले हेर्दा, छुँदा, सुन्दा पाप नाश हुन्छ । तीर्थजल, तुलसीपत्र, शालीग्राम आदिले मृतकलाई नरकबासबाट छुटाउने हुँदा सनातन धर्म वा नेपालमा पैदा हुनुलाई सौभाग्यशाली मानिन्छ ।

महादेवलाई मुक्तिदाता, इन्द्रियविजयी, निर्भयको स्वरुप बताउन बाघको छाला लगाएको देखाइन्छ । कपडाले लाजमात्र छोपिन्छ, छालाले ब्रह्माण्डको अवस्थालाई बुझाउँछ । बाघ इन्द्रिय विजयी एवं वैराग्य बुझाउने जनावर हो । घाँटीको सर्पले शीतल बन्न, शिरकी गंगाले अरुको कल्याण तथा सृजनात्मक कार्य गर्न प्रेरित गरेको छ । सामान्यत: मशानघाटको वरपर शिवालयबाहेक अन्य मन्दिर वा शिवलिड्डबाहेकका अन्य मूर्ति हुँदैनन् । कालगतिले मरेकालाई मात्र पितृ, मशान, महादेवले आशीर्वाद दिन्छन् । आत्महत्या गर्ने प्रेत हुन्छ र यो अवसरबाट चुक्छ ।

पिशाचहरूलाई हटाएर पितृहरूले मृतकका लागि स्थान बनाउँछन्  तर प्रेतलाई बनाउँदैनन् । परमात्माले बनाइदिएको मन्दिर (शरीर) दुरुपयोग गर्ने प्रेतलाई यमराजले नरकमा दण्ड दिन्छन् । तीव्र इच्छाले समय अगावै मर्नेको आत्माले मुक्ति पाउँदैन । कतिपय स्थानमा चिनासहित मृतकले प्रयोग गरेका सम्पूर्ण सामग्रीका साथै पढेलेखेका ग्रन्थसमेत गाडिदिने, बगाइदिने, जलाइदिने गरिन्छ । यसले इतिहास मेटाउँछ, ज्ञान बगाउँछ, पुर्खाको विरासदमा आगो लगाउँछ ।

मृतकको आत्माले नयाँ शरीर पाओस् भनी शवयात्रापूर्व पिण्ड दिइन्छ । मुक्तिको कामनासहित लाभा, सिन्दूर आदि छर्दै परिवारबाट अन्तिम बिदाई गरिन्छ । श्रीमती जिवित भए चुरा, पोते श्रीमान्को लाशमा चढाई बाँकी रहेका सिन्दूर विधवाको टाउकोमा छर्किदिएर पोते र चुरा पहिराएर खोला, पधेँरा आदिमा लगेर सिन्दूर पखाल्ने, चुरा फुटाउने, सौभाग्यका सामग्रीलाई नष्ट गरिन्छ । विवाह भनेको जिम्मेवारी बोक्ने काम हो, जञ्जालमा फस्नु हो, मृत्यु भनेको भारी बिसाउने चौतारी भएकाले यस्तो गरिएको हो ।

महादेवलाई श्मशान (लाश पोल्ने ठाउँ) मा बस्ने, भूतप्रेत आदिसँग रमाउने, खरानी घस्ने देवता मानिन्छ । हरेक वस्तुको अन्तिम अवस्था खरानी हो । खरानी बनाएपछि मूलरूपमा फर्काउन सकिँदैन । खरानी औषधि हो, विभूति हो, प्रसाद हो, ऊर्जाको केन्द्र हो, अन्तिम सत्य हो । खरानी (भस्म) घस्ने भएकाले महादेवलाई भस्मेश्वर भनिन्छ । मृतको उद्धार गर्न महादेव गणसहित मशानघाटमा बस्ने हुँदा घाटलाई महान् तीर्थस्थल वा पुण्यस्थल भनिन्छ । देवघाट, देवीघाट, आर्यघाटजस्ता प्रचलित तीर्थस्थलमा ‘घाट’ शब्द जोडिएकाले यी तथ्य बुझ्न सकिन्छ ।

मलामीहरूले एकोहोरो शंख बजाउँदै महादेवलाई “जीवात्माले त्यागेको लाश ल्याउँदैछौँ, यसको मुक्त गराइदिनुहोस्” भनी प्रार्थना गरिन्छ । पूर्णरुपमा जीवन त्यागेको छैन भने शंखको आवाजले उठाउँछ, मृतकका शरीरमा रहेका घातक किटाणुलाई मारिदिन्छ । मृतकका आफन्तहरू समयमा आइपुगेनन् भने अहिलेको जस्तो प्रविधि नहुँदा शवलाई तेल वा सुगन्धित जडीबुटीमा राखिन्थ्यो । भगवान् राम वनवास गएको पीडामा दशरथको मृत्यु भयो । भरत मामाघरबाट आउन समय लागेपछि दशरथको शव तेलमा डुबाएर राखियो । विष्णुपुराणका अनुसार निमिको लाशलाई तेल र सुगन्धित पदार्थमा राखिएको थियो ।

आद्यशंकराचार्यले शास्त्रार्थ जित्नका लागि स्त्रीसँगको शारीरिक सम्बन्धको ज्ञान लिन आवश्यक पर्‍यो । उनले शिष्यहरूसँग सल्लाह गरी आफ्नो शरीर तेलमा डुबाएर राजाको मृत शरीरमा प्रवेश गरी कामकलाको अनुभव लिए । एउटा शरीर छोडेर अर्को शरीरमा प्रवेश गर्नुलाई कायप्रवेश भनिन्छ । बेलायतले भारतमा शासन गर्दासम्म सिद्धहरूले कायप्रवेश गरेको अड्ड्रेजले देखेका कारण साधुसन्तलाई सम्मान गर्दथे ।

शवयात्रामा जानेलाई मलामी भन्दछन् । मृतकका परिवारलाई शान्त्वना दिएर पीडामा मलम(औषधि) लगाउनेहरूलाई मलामी भनिन्छ । उमेर पुगेर मरेको, राष्ट्र वा अध्यात्ममा जीवन खर्चिएको मानिस मर्दा पहिलोपटक मलामी पठाउने चलन छ ।

यावत्कालं स्थिरचित्तं न प्राप्नोति जितेन्द्रिय: ।

तावत्कालं नापि कुर्यात् शवेन्द्रस्यापि साधनम् ।।–रुद्रयामलम् (२४।११६)

अर्थात् “जबसम्म चित्त स्थिर हुँदैन, इन्द्रियवशमा आउँदैन तबसम्म शवेन्द्रको साधना नगर्नु” । लाश जलाएको वा गाडेको ठाउँमा सोही रात तन्त्रसाधना गर्दा अनेकौँ सिद्धि प्राप्त हुन्छन् । यसका लागि गुरुको मार्गदर्शन, साधनाको अभ्यास तथा इन्द्रियमाथि विजय पाउनुपर्छ । बासनामा डुबेकाहरूलाई मशानघाट तर्साउने स्थान बन्दछ तर साधकका लागि ज्ञान फूलाउने भूमि हुन्छ । शवको प्रयोग साधनामा मात्र हुँदैन, योगमा पनि शवासन गरिन्छ । शव (लाश) तर्साउने वस्तु होइन संसार चिनाउने मूर्ति हो ।

लाश र मशानघाटसम्बद्ध साधनालाई समयानुकूल प्रयोग गर्न सक्नुपर्छ । अनुभव एवं अनुभूतिलाई पुस्तान्तरण तथा हस्तान्तरण गर्न नसक्दा मशान साधनाका धेरै उपलब्धीहरु गुमेका छन् । मशानघाटमा तन्त्र सिकाउने, यन्त्र बनाउने, पितृ र देवीदेवता भेट्ने परम्परा हराएका छन् । कतिपयले बालबालिका वा लक्षणयुक्त स्त्रीलाई बलि दिई शास्त्रमाथि वज्रपात गरेका छन् । यो ज्ञानको अपमान हो, दैवी शक्तिको उपेक्षा हो, पुर्खामाथिको अन्याय हो, धर्मको आडमा गरिएको आततायी कार्य हो । हाम्रा ऋषिमुनिहरूले हत्याद्वारा धार्मिक अनुष्ठान गरेको सुन्न र पढ्न पाइँदैन ।

केही मन्दिरमा मूर्ति नभई यन्त्र वा प्रतीक राखिएका छन् । तिनका छाना, ढोका, टुँडालहरु अनौठा छन् जहाँ तान्त्रिक विधिले रगतका थोपा अर्पण गर्छन् । विशेष परिस्थितमा साधकले यस्ता मूर्तिमा उग्र अनुष्ठान गराउँछन् । महादेवका साधनास्थल हिमाल, पानी वा मशानघाट हो । हिऊँमा न त कुनै उत्पादन सम्भव छ, न त मशानघाटमा सृष्टिजन्य कर्म गरिन्छ । प्राणीभन्दा टाढा, प्रकृति रमाएको स्थान महादेवलाई प्रिय हुन्छन् भन्ने तथ्य यसले संकेत गर्छ ।

ऋषिहरूले कसैलाई रुवाएर, दु:खाएर, मारेर साधना गरेनन् । महादेवले शिवलाई सामग्री चढाएर पूजा गरेको देखिँदैन केवल शिवलिङ्गमा ध्यान गरेको वर्णन भेटिन्छ । श्वासको उचित प्रयोग वा साधनाको बलबाट आफूलाई लाशमा परिणत गर्नुपर्छ । श्वासबाट समाधिमा पुगिन्छ । समाधिबाट शिव प्राप्त हुन्छ अर्थात् श्वासले शिवसम्म पुर्‍याउँछ । श्वास वा जीवनलाई उचित रूपमा सदुपयोग गर्न सकेमात्र शिव प्राप्त हुन्छ, परमात्मा बुझिन्छ । श्वास र लाश दुबै मुक्तिका आधार हुन् । दर्शनका दृष्टिले, साधनाका अनुभवले, शास्त्रका निर्देशनले लाशसँग डराउने होइन पाठ सिक्ने हो, संसार चिन्ने हो, कर्तव्य बुझ्ने हो, बाटो पत्ता लगाउने हो ।