११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

प्रयोगविहीन हुन थाले झोलुङ्गे पुल

प्रयोगविहीन हुन थाले झोलुङ्गे पुल
अ अ+ अ-

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाट जोड्ने रघुगङ्गा नदीमाथि रहेको झोलुङ्गे पुल अहिले सुनसान छ ।

म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका तथा मुस्ताङका बासिन्दा बेनी आउने नाकामा पर्ने उक्त पुल विसं २०६४ अघिसम्म निकै व्यस्त थियो । नजिकै बेलिब्रिज र मोटरेबल पुल बनेपछि झोलुङ्गे पुल प्रयोग हुन छाडेको गलेश्वरका बासिन्दा धनीलाल गर्बुजाले बताउनुभयो । “मोटरबाटो र सडक नहुँदासम्म यो पुल तर्नका लागि पालो पर्खनुपर्ने थियो”, उहाँले भन्नुभयो, “अहिले सुनसान छ ।”

धवलागिरि गाउँपालिकाको वडा नं ३ दर देखि वडा नं ४ को मुदी जाने बाटोअन्तर्गत खोलामा विसं २०७५ मा निर्माण भएको ट्रस पुल पनि प्रयोग विहीन अवस्थामा छ । पुलभन्दा माथि सडक निर्माण भएपछि प्रयोग नभएको हो ।

गलेश्वर–राहुघाट र दरको मात्र नभएर म्याग्दीमा सडक सुविधा पुगेका र मोटरेबल पुल बनेका ठाउँका अधिकांश पुल प्रयोगविहीन छन् । अन्नपूर्ण, धौलागिरि र गुर्जा हिमालको आधार शिविर जोड्ने पदमार्गमा झोलुङ्गे पुल नहुँदा पर्यटक र सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

धवलागिरि गाउँपालिका उपाध्यक्ष रेशम पुनमगरले उपयोगविहीन झोलुङ्गे पुुल स्थानान्तरण गर्ने कानुनको अभाव भएको बताउनुभयो । “प्रयोगमा नरहेका पुललाई आवश्यक भएका ठाउँमा स्थानान्तरण गर्दा कम लागतमा छिटो काम गर्न सकिने थियो”, उहाँले भन्नुभयो, “पुल स्थानान्तरण गर्न पाउने कानुन नहुँदा समस्या भएको छ ।”

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले प्रयोगविहीन झोलुङ्गे पुलको विवरण सङ्कलन र स्थानान्तरण गर्न पाउने कानुन बनाउने तयारी गरिरहेको जनाएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले स्थानीय तहसँगको समन्वयमा निर्माण गर्नुपर्ने र प्रयोगविहीन पुलको विवरण सङ्कलनको तयारी गरेको बताउनुभयो ।

“सडक र मोटरेबल पुल बनेपछि कतिपय झोलुङ्गे पुल प्रयोगविहीन बनेका छन्”, उहाँले भन्नुभयो, “प्रयोगविहीन पुलका स्टिल डेग, लठ्ठा, बुल्डअफ ग्रिपलगायत सामग्रीलाई आवश्यक भएको अर्को ठाउँमा स्थानान्तरण गर्नका लागि प्राविधिक अध्ययन र नीति निर्माणको गृहकार्यमा छौँ ।” सडक यातायातको सुविधा नपुगेको बस्ती र पर्यटकीय पदमार्गमा झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता दिएको मन्त्री जुग्जालीले बताउनुभयो ।

प्रदेशमा चालु आर्थिक वर्ष २०८०र८१ मा एक सय ६८ झोलुङ्गे पुल निर्माण हुने मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास निर्देशनालयका निर्देशक डा महेन्द्र बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार पुल निर्माणका लागि यस वर्ष रू ५२ करोड ८७ लाख बजेट विनियोजन भएको छ ।

“पूर्वाधार विकास कार्यालयले छ र मन्त्रालयको प्राविधिक सहयोगमा स्थानीय तहले ३० झोलुङ्गे पुल चालु आर्थिक वर्षको साढे चार महिनाको अवधिमा निर्माण गरिसकेका छन्”, बानियाँले भन्नुभयो, “झोलुङ्गे पुल बनाउन पूर्वाधार विकास कार्यालयमा रू २० करोड ५७ लाख र स्थानीय तहमा रू ३२ करोड ३० लाख बजेट विनियोजन भएको छ ।”

पूर्वाधार विकास कार्यालयमार्फत १० झोलुङ्गे पुल निर्माणाधीन छन् भने १३ वटाको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार भएको निर्देशक बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार चौध पुलको डिपिआर भेरिफिकेशनको चरणमा रहेको र २४ वटाको डिपिआर तयार पार्न बाँकी रहेको छ ।

मन्त्रालयले स्थानीय तहलाई झोलुङ्गे पुल निर्माणका लागि प्राविधिक सहयोग गर्न प्रदेशका ११ वटै जिल्लामा एक/एक जना प्राविधिक जनशक्ति परिचालन गरेको छ । प्रदेशमा हालसम्म दुई हजार ६४ वटा झोलुङ्गे पुल निर्माण भएको मन्त्रालयले जनाएको छ । झोलुङ्गे पुलको जिल्लाको पहिचान बनाएको बाग्लुङमा सबैभन्दा बढी चार सय ९१ पुल बनेका छन् ।

मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डितका अनुसार नेपालमा सन् १९६४ मा सस्पेन्सन ब्रिज डिभिजन स्थापना भएपछि स्विस सरकारको सहयोगमा झोलुङ्गे पुल निर्माणले तीव्रता पाएको हो । पर्वतमा लामो र अग्ला स्थानमा पुल निर्माण भएका छन् । पर्वतको पाङदेखि बाग्लुङ जोड्ने पुल लामो र कुश्मादेखि कटुवा चौपारी जोडिने पुल अग्लो रहेको उहाँले जानकारी दिनुभयो ।

एक अध्ययनअनुसार झोलुङ्गे पुल प्रयोग गर्ने नागरिक पिछडिएको समुदायमा छन् । बढी महिलाले यसको प्रयोग गर्छन् । घाँस दाउरादेखि दैनिकी चलाउन पनि महिलाले झोलुङ्गे पुल प्रयोग गर्ने गरेको उक्त अध्ययनमा उल्लेख छ । “पहिले खोला तर्नका लागि झोलुङ्गे पुल निर्माण हुने गरेको थियो”, निर्देशक बानियाँले भन्नुभयो, “अहिले बाटो र समय छोट्याउन पुलको माग आउन थालेको छ ।” रासस