१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रविधिमैत्री र सफा बन्दैछ नयाँ बसपार्क

प्रविधिमैत्री र सफा बन्दैछ नयाँ बसपार्क
अ अ+ अ-

काठमाडौँ । देशैभरका भाडाका बस आउने र जाने गर्ने मुलुकको एकमात्र राष्ट्रियस्तरको बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्क पछिल्लो समय प्रविधिमैत्री र सफा बनेको छ । यसकारण पछिल्लो समय यो बसपार्क व्यवस्थित बन्दै गएको देखिन्छ ।

केही वर्ष पहिले ‘नयाँ बसपार्क’ भन्ने वित्तिकै धेरैले अस्तव्यस्त, फोहर र टहरैटहराले भरिएको प्रदूषितस्थल भन्ने ठाने पनि अहिले यसको स्वरुप फेरिएर प्रविधिमैत्री र व्यवस्थित बन्दै गएको हो । 

काठमाडौँ महानगरपालिका–२६ गोँगबुमा १६१ रोपनी क्षेत्रफलमा सञ्चालित उक्त बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा यात्रु सार्वजनिक यातायातमार्फत् आवतजावत गर्दै आएका छन् ।

काठमाडौँ महानगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गा विसं २०५६ मा महानगरपालिकाका तत्कालीन प्रमुख केशव स्थापित र ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता गरेर नयाँ बसपार्क सञ्चालनमा ल्याइएको थियो । 

शुरुका दिनमा जथाभावी रुपमा टहरा निर्माण गरेर नयाँ बसपार्क क्षेत्रमा व्यापार व्यवसाय सञ्चालन हुँदै आए पनि हाल सबै टहरा हटाएर व्यावसायिक मल निर्माण हुन थालेपछि नयाँ बसपार्कको मुहार फेरिएको हो । ल्होत्से बहुउदेश्यीय प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवर नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बसपार्कको रुपमा विकास गर्ने लक्ष्य लिएको बताउनुहुन्छ । “नेपालको एकमात्र राष्ट्रिय बसपार्कलाई सुविधासम्पन्न बसपार्कको रुपमा निर्माण गर्न लागिरहेका छौँ,” उहाँ भन्नुहुन्छ । ल्होत्सेले पछिल्लो समय नयाँ बसपार्कमा बस पार्किङ साँघुरो बन्दै गएको भन्दै नयाँ बसपार्कको खोजी समेत गर्न थालेको छ । इञ्जिनीयर कुँवरले नयाँ बसपार्कमा सवारी साधनलाई ‘पिक एण्ड ड्रप’को थलो बनाएर अन्य ठाउँमा बसपार्क बनाउने आफ्नो योजना रहेको सुनाउनुहुन्छ । 

   खेम्स क्लिनिङद्वारा सफाइ  

ल्होत्सेले नयाँ बसपार्कलाई सरसफाइको काममा प्राथमिकता दिएको छ । यसको जिम्मा नेपालमा सरसफाइका क्षेत्रमा दक्षता हासिल गरेको कम्पनी खेम्स क्लिनिङले लिएको छ । उक्त कम्पनीका करीब ९० जना कर्मचारी यो बसपार्क सफाइका लागि खेम्स क्लिनिङले सम्झौता गरेको छ र नियमित दैनिक २५ भन्दा बढी सरसफाईकर्मीले सरसफाइको काम गर्दै आइरहेका छन् । 

खेम्स क्लिनिङका संयोजक दिनेश थापाले बसपार्कमा वर्षदिन भन्दा लामो समयदेखि सफाइको काम गर्दै आइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले कोभिड १९– को सङ्क्रमणको समयमा पनि नेपाल सरकारले तोकेका मापदण्डपालना गरेर, हाम्रा श्रमिकलाई पनि सुरक्षित मापदण्डका साथ काम लगाएका छौँ ।’’ 

उक्त सफाइ कम्पनीले बसपार्कभित्र आएका हरेक बसलाई ‘स्यानिटाइजर’ पनि गर्ने गरेको छ । कोभिडको समस्या फेरि पनि नेपालमा बल्झिने जस्तो आशङ्का व्यक्त भइरहेका बेला देशका प्रायस् सबै जिल्लाबाट यो बसपार्कमा आइने बस तथा अन्य सवारी साधनलाई ‘स्यानिटाइजर’ को कार्यलाई अझ चुस्त रुपमा गर्नुपर्ने देखिएको छ ।   

विभिन्न गन्तव्यस्थलबाट आएका सवारी साधनलाई पार्किङस्थल भन्दा बाहिर नै सरसफाइ गरेर भित्र लैजाने व्यवस्था भएपछि पार्किङ क्षेत्र पनि सफा बनेको हो । बसपार्कमा हाल यस्तै, बसपार्कलाई थप सुन्दर बनाउनका लागि बसपार्कभित्रका खाली जग्गामा वृक्षरोपणसमेत गरिएको छ । यसले गर्दा हरियाली बनेको छ । 

प्रविधिमार्फत् टिकट खरीद, बुकिङ तथा भुक्तानी 

ल्होत्से बहुउदेश्यीय प्रालिले यात्रुको सहजताका लागि कम्युटर प्रणालीको माध्यामबाट टिकट काट्ने व्यवस्था मिलाएको छ । प्रालिले सरकारले लिएको नीतिअनुसार कोभिड–१९ सङ्क्रमणपछि हुने भीडभाडलाई ध्यानमा राखेर प्रविधिको प्रयोगलाई जोड दिएको छ । ल्होत्सेले बस टिकट खरीद तथा बुकिङका लागि क्यू आर कोर्डमार्फत भुक्तानी हुने व्यवस्था मिलाएको छ । ल्होत्सेले लक्ष्मी बैंक लिमिटेडको सहकार्यमा उक्त सेवा सञ्चालन गरेको हो । 

अत्याधुनिक सुविधा सम्पन्न ‘ल्होत्से मल’ निर्माण 

ल्होत्से बहुउदेश्यीय प्रालिले बसपार्कलाई व्यवस्थित रुपमा सञ्चालन गर्न बसपार्कलाई अतिक्रमण गरेर बनाइएका ६०० टहरा हटाएको छ । काठमाडौँ महानगरापलिकाको स्वामित्वमा रहेको उक्त जग्गालाई महानगरपालिकाले तोकेको मापदण्डअनुसार व्यवस्थित गर्दै लगिएको अध्यक्ष कुँवर बताउनुहुन्छ । 

सोहीअनुसार नयाँ बसपार्कभित्र अत्याधुनिक सुविधा सम्पन्न ‘ल्होत्से मल’ समेत निर्माण गरिएको छ । ठूलो लागतमा निर्माण गरिएको उक्त मल सात तले रहेको छ । 

भूकम्पप्रतिरोधी उक्त मलभित्र पार्किङस्थल, सपिङ सेन्टर, रेष्टुरेन्ट, कफी शप, बैँक, सहकारी, पार्टी प्यालेस, हेल्थ क्लब र फिल्महल रहेको छ । उक्त मल विसं २०७८ वैशाखबाट सञ्चालन गरिने ल्होत्से बहुउदेश्यीय प्रालिले जनाएको छ । 

स्वास्थ्य उपचार तथा परामर्श केन्द्र स्थापना 

नयाँ बसपार्कभित्र स्वास्थ्य उपचार तथा परामर्श केन्द्रसमेत निर्माण भएको छ । ल्होत्से बहुउदेश्यीय प्रालिले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीको सहकार्यमा उक्त केन्द्र स्थापना गरेको हो । उक्त केन्द्रले चालक, सहचालक र यात्रुको निस्शुल्क परामर्श तथा उपचार गर्नेछ । 

चालक र यात्रुका लागि होटल तथा लज 

ल्होत्सेले नयाँ बसपार्कभित्र चालक, सहचालक र यात्रुलाई सहुलियत दरमा खान र बस्नका लागि होटल तथा लज सञ्चालन गर्न लागेको छ । ल्होत्सेले यातायात व्यवसायीको सल्लाहमा लामो दूरीबाट आएका चालक, सहचालक र यात्रुलाई रातको समयमा खान तथा बस्नका लागि बिचल्ली नहोस् भन्ने उद्देश्यले होटल तथा लज सञ्चालन गर्न लागेको हो । उक्त होटल तथा लजमा सहुलियत दरमा स्वस्थ्य खाना खुवाउने लक्ष्य ल्होत्सेले लिएको छ । 

सोलार बत्ती जडान र अपाङ्गमैत्री शौचालय निर्माण 

नयाँ बसपार्कलाई रातको समयमा उज्यालो बनाउनका लागि सोलार बत्ती जडान गरिएको छ । बसपार्कमा हाल ५० बत्ती जडान गरिए पनि आवश्यकताअनुसार सोलार बत्ती थप गर्दै लैजाने अध्यक्ष कुँवरको भनाइ छ । 

यस्तै, ल्होत्सेले शारीरिक रुपमा अशक्त व्यक्तिलाई ध्यानमा राखेर अपाङ्गमैत्री शौचालय निर्माण समेत गरेको छ । 

‘पेट्रोल पम्प’ निर्माण, सिसी क्यामरा जडान  
    
विसं २०६१ देखि पायोनियर फ्युल एण्ड लुब्रिकेन्ट कम्पनीमार्फत् डिजेल मात्र बिक्री वितरण गर्दै आएको ल्होत्सेले यही फागुनदेखि ‘पेट्रोल पम्प’ निर्माण गरेको ल्होत्सेका मानव संशाधन प्रमुख पङ्कज मल्लले जानकारी दिनुभयो । “चारवटा मेसिनबाट सवारी साधनमा डिजेल भर्दै आएका थियौँ, हाल एक पेट्रोल मेसिन जडान गरी पेट्रोल पनि वितरण गर्दै आएका छौँ,” उहाँ भन्नुहुन्छ , “कूल १६ हजार लिटर क्षमताको पेट्रोल पम्प स्थापना गरेसँगै साना सवारी साधनलाई पेट्रोल भर्नका लागि सहज भएको छ ।” 

यस्तै नयाँ बसपार्कको सुरक्षाका लागि सिसी क्यामरा समेत जडान गरिएको छ । हाल नयाँ बसपार्क क्षेत्रमा २८ क्यामेरा जडान गरिएको मानव संशाधन प्रमुख मल्लले बताउनुभयो । 

‘वासिङ र सर्भिसिङ’ सेन्टर 

विभिन्न ठाउँ हुँदै काठमाडौँ आएका सवारी साधनलाई सफा राख्नका लागि नयाँ बसपार्कभित्रै वासिङ सेन्टर स्थापना गरिएको छ । वासिङ सेन्टर स्थापनासँगै गाडीलाई सफा बनाउनका लागि सहयोग पुग्नेछ । यस्तै, ल्होत्सेले सिप्रदी कम्पनीको सहकार्यमा सवारीसाधन सर्भिसिङ सेन्टरसमेत स्थापना गरेको छ । 

सम्झौता सकिएपछि महानगरलाई जिम्मा 

विसं २१०२ सम्म ल्होत्से बहुउदेश्यीय प्रालिले सञ्चालन गर्न पाउने गरी सम्झौता भएको नयाँ बसपार्क सम्झौता अवधि सकिएपछि काठमाडौँ महानगरलाई जिम्मा लगाउनुपर्ने हुन्छ । बसपार्कभित्र निर्माण गरिएका संरचनासमेत महानगरलाई बुझाउने गरी सम्झौता भएको छ । 

विसं २०५६ मा काठमाडौँ महानगरपालिकासँग सम्झौता गरेर बसपार्क सञ्चालनको जिम्मा लिँदा प्रतिवर्ष रु ५२ लाख राजश्व तिरेको ल्होत्सेले विसं २१०२ सम्म पुग्दा वार्षिक रुपमा झण्डै रु चार करोड ६४ लाख राजश्व तिर्नेछ ।

नयाँ बसपार्कबाहेक हाल राजधानीको गोँगबु, पुरानो बसपार्क, गौशाला, कलङ्की, कोटेश्वर र सोह्रखुट्टेबाट सवारीसाधन विभिन्न जिल्लामा छुट्ने गरेका छन् । पुरानो बसपार्क तथा कोटेश्वरबाट सिन्धुपाल्चोक, ओखलढुङ्गा, दोलखा, रामेछाप, खोटाङलगायतका जिल्लामा सवारी साधन आवतजावत हुँदै आएको छ । 

नयाँ बसपार्कबाट पश्चिमको हुम्लाबाहेक सबै जिल्लामा बस आवतजावत गर्दै आएका छन् । हुम्लामा राम्रो सडक नहुँदा सवारीसाधन जान सकेका छ्रैनन् । पछिल्लो समय आर्थिक गतिविधिको एक मुख्य थलोको रुपमा समेत नयाँ बसपार्क विकसित हुँदै गएको छ । नयाँ बसपार्कको निर्माणसँगै हाल गोँगबु क्षेत्रमा झण्डै एक हजारको हाराहारीमा होटल तथा १०० को हाराहारीमा डान्सबार तथा दोहोरी रेष्टुराँ सञ्चालनमा रहेका छन् । 

काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारी नयाँ बसपार्क र यस क्षेत्रबाट काठमाडौँ महानगरपालिकालाई धेरै राजश्व सङ्कलन हुने गरेको बताउनुहुन्छ । नयाँ बसपार्क र ठमेलको केही भाग पर्ने काठमाडौँ महानगरपालिका–२६ बाट आर्थिक वर्ष २०७५र७६ मा रु १६ करोड राजश्व सङ्कलन भएको थियो ।

आव २०७६/७७ भने कोरोनाका कारण राजश्व सङ्कलनमा कमी आएको वडाध्यक्ष तिवारीको भनाइ छ ।

यस्तै, टोखा नगरपालिकाले समेत नयाँ बसपार्क क्षेत्रबाट वर्षेनी करोडौँ राजश्व उठाउँदै आएको छ । नयाँ बसपार्क क्षेत्र टोखा नगरपालिकाको ९ नं वडामा पर्दछ । नयाँ बसपार्कमा हाल दुई हजारको हाराहारीमा सार्वजनिक सवारी साधन पार्किङ गर्न मिल्छ भने दैनिक एक हजारेखि एक हजार ५०० सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन् । -अच्युत रेग्मी/रासस

                                                                    सफाइ गर्दै खेम्स क्लिनिङका कर्मचारीहरु