• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

नक्कली शरणार्थी प्रकरणको निवेदन न्यायाधीशद्वय पाण्डे र खरेलको इजलासमा



काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको निवेदन न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा तोकिएको छ ।

काठमाडौँ जिल्ला अदालतले थुनामा पठाएकाहरूको निवेदनमाथि मंगलबारदेखि उच्च अदालत पाटनमा निरन्तर सुनुवाइ हुन लागेको हो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको भन्दै नेपाल सरकारले ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधमा पूर्व विशिष्ट व्यक्तिहरूमाथि मुद्दा चलाएको थियो । उक्त मुद्दामा काठमाडौँ जिल्ला अदालतले अभियुक्तहरू कसुरदार होइनन् भन्न नसकिने भन्दै थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो ।

जिल्ला अदालतको आदेशविरुद्ध पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, सचिव टेक नारायण पाण्डे लगायतका व्यक्तिहरू उच्च अदालत पुगेका थिए । उनीहरुले थुनामुक्त भई मुद्दाको पुर्पक्ष गर्न पाउँ भनी दायर रिटमा मंगलबारदेखि निरन्तर सुनुवाइ हुने भएको हो ।

उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार काठमाडौँ जिल्ला अदालतले थुनामा पठाएकाहरूले थुनामुक्त भई मुद्दाको पुर्पक्ष गर्न पाउँ भनी दायर रिटमा मंगलबारदेखि निरन्तर सुनुवाइ हुनेछ । बिहीबारसम्म यस मुद्दामा आदेश गर्ने तयारी रहेको छ ।