९ मंसिर २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कथा: हेल्लुस



अ+ अ-

चितुवा एक्कासी बुर्लुक्क उफ्रयो र केटीबाट उछिट्टिएर अलग्ग भयो । चितुवा स्वाँस्वाँ गरिरहेको थियो । केटी पनि । त्यो विज्ञापनको अथवा डिजिटल थिएन । केटी चितुवासित पहिले डराउँदिन थिई, तर उछिट्टिएर पर गएपछि उसमा एउटा भय र विरत्ति भरिन्थ्यो।

ऊ चारैतिर हेर्दैथिई, कोही हेरिरहेको छ छैन ? त्यस्तो हुँदैन थियो । त्यस बखतसम्म त चितुवासमेत अदृश्य भइसकेकी थियो ।
वास्तवमा त्यो चितुवा पनि थिएन । त्यो हेल्लुस नाउँ गरेको जनावर हुन्थ्यो । स्थानीय वासिन्दाले त्यसको नाउँ त्यही राखेका थिए । चितुवासित केही मिल्दाजुल्दो देखिन्थ्यो । हेल्लुसका पनि पञ्जा र नङ्ग्रा थिए । जुङ्गा थिए । सबभन्दा मिल्ने कुरा थियो हेल्लुस पनि त्यत्तिकै बलशाली र फुर्तिलो थियो । हुनसक्छ कैयौँ गुना बढी पनि होस् ।

यसलाई लिएर स्थानीय वासिन्दाका दुई मत थिए । एक – यस जातिमा नर मात्र, पाइन्छ, पोथी हुँदैन । दुई – यसले विभिन्न आकृति धारण गर्न सक्छ।

दुवै कुरामा वैज्ञानिकता थिएन । पहिलोलाई नै हेरौँ । जुन जन्तुमा पोथी नै हुँदैन, त्यसमा भाले मात्र कसरी जीवित रहन सक्तछ र यो वशंगत वा अन्य दृष्टिबाट पनि सम्भव थिएन । जाति नै लोप हुनसक्ने क्रो आफ्नो ठाउँमा छँदै थियो । यो कुनै पनि जीवजन्तु र मनुष्यमा समेत असम्भव थियो । त्यसैगरी अर्को धारणा पनि तथ्यात्मक लाग्दैन थियो । कतैकतै कुनै जीवको रङ बदलिने आकार फेर्ने कुरा त सुनिन्थ्यो । तर विभिन्न रूप वा आकृति धारण गर्न सक्छ, यो नमिल्ने कुरा हो । त्यसपछि पनि यस कथामा जसरी रूपफफेरेको पाइन्छ त्यो त झन्‌ असम्भव नै थियो । तर चलनचल्तीको कुराका अघिल्तिर कसैको केही लाग्दो रहेनछ । विश्वास भने पनि, अन्धविश्वास भने पनि कनै फरक पर्दैन ।

हाम्री यो नायिका लगभग पच्चीस-छब्बीस वर्षकी छे । यसको पति पाँच वर्ष विदेशमा बसेर आएको छ । पाँच वर्षअघि जङ्गल छेउछाउको यस इलाकामा लोग्नेको नियुक्ति कूनै पदमा भएको थियो । यो पनि बताइदिजँ तिनीहरूको प्रेम वा विवाह पनि भएको थिएन । घर भरिभराउ थियो । आमाबाबु, भाइबहिनी, अन्य यथोचित नातेदारले ।

जङ्गालनजिक उसको क्वार्टर थियो । बिहे गरेर यसै क्वार्टरमा दुलही भित्र्याएको थियो । यसबाट बुझ्न सकिन्छ तिनीहरूको घर थिएन । कतै पहाडमा भए कुन्नि ?

विवाहको वर्ष दिन निकै आशा, उत्साह र उत्तेजनामा बितेको थियो । एउटा रात पनि यस्तो बित्दैन थियो, जब तिनीहरू तृप्त नभएका हुन्‌ । नायिका यस तृप्तिलाई पर्खिरहन्थी । यस्तो तृप्ति कहिलेकाहीँ दिउँसै पनि प्राप्त हुन्थ्यो । घरमा कोही नभएर केवल तिनीहरू हुँदा ।

हाम्रो कथा कहाँबाट थालिन्छ भने एक दिन लोग्नेले एउटा अवसर पाउँछ । बाहिर जाने मौका । तीनदेखि पाँच वर्ष । अवसर केका लागि प्राप्त गर्छ, त्यो यहाँ जरुरी देखिएन ।

उ आफ्नी स्वास्नीलाई छाड्न चाहँदैन थियो । लोग्ने तृप्तिलाई सँगै लिएर जान चाहन्थ्यो । त्यो तत्काल सम्भव भएन । तृप्तिले सम्झायो, हाम्री यस नायिकाको नाउँ तृप्ति नै राखिदिँदा कसो होला ! त यो तृप्ति आधी खिन्न, आधी प्रसन्न भई ।

श्रीमती वा सन्तान लग्ने कुनै प्रावधान थिएन । सन्तान त छँदा पनि थिएन । तृप्ति खिन्न थिई, लामो समयसम्म लोग्नेसित छुट्टिनुपर्ने भयो । तृप्तिले तृप्तिबाट वञ्चित हुनुपर्ने भयो, इत्यादि । उसलाई आफ्नो नाउँ पनि फेरिदिउँजस्तो लागेको थियो । फेर्न सकिन । नाउँ त हामीले राखेका थियौँ नि त !

प्रसन्नता पनि थियो एक कुनामा । लोग्ने फर्केपछि आफ्नै एउटा भव्य घर हुन्छ, गाडी हुन्छ, त्यो पक्का थियो । सन्तान हुन्छ, तिनको भविष्य हुन्छ । अहिले त आफ्नै भविष्य पनि हुन्छु, भन्न सकियो । त केही समयको बाईबाई र म्वाइपछि स्वास्ती सन्तुष्ट भई ।

लोग्ने हिँड्यो अर्थात्‌ उड्यो । देशको नाउँ पनि जरुरी भएन । अमेरिका, युरोप, अस्ट्रेलिया … यस्तै भनिदिउँ । जरुरी त भविष्यको भव्यता थियो ।

तृप्ति त्यतैको एउटा रिसोर्टमा रिसेप्सनिस्ट थिई । रिसेप्सनिस्टको आधा अर्थ हुन्छ, राम्री पनि थिई । कहिलेकाहीँ कुनै विदेशीले उसको शरीर र सौन्दर्यको राम्रै प्रशंसा गरिदिन्थ्यो। ऊ मुसुक्क हाँसिदिन्थी । पार्ट अफ द जब । प्रसन्नता अफ द जब पनि हो, केही अंशमा ।

यता आएर ग्राहक कम भएको आधारमा होटेलले कर्मचारी छँटनी गरिदियो । त्यसमा तृप्ति पनि परी । जति सौन्दर्य भए पनि हेर्ने मानिस भएन भने, तलब ख्वाउन सक्ता रहेनछन् ।

अब तृप्ति एक प्रकारले हेर्ने हो भने, एकदम स्वतन्त्र भई । त्योभन्दा बढी एकदम एक्ली थिई । घरमा सब हुन्थे । तृप्त हुन्न थिई । उ आफ्नो एक्लोपनमा हुन्थी ।

घरमा समस्याहरू हुन्थे । तृप्ति त्यसमाथि छलफल गर्थी । समाधान पनि झिक्न खोज्थी । समय काटिन्थ्यो । उसको एक्लोपन केही मात्रामा काटिन्थ्यो ।

बेलुकी पुस्तक पढेर समय काट्न खोज्दथिई । तर यो पनि स्थायी समाधान हुन नसत्तै गएको लाग्यो उसलाई । तै पनि वर्ष दिन उसले दिनदिनै पुस्तक पढेर रात काटी । दिन घरको काम, कुराकानी अधवा कहिलेकाहीँ किनमेल गरेर पनि बित्थ्यो । कुरो रातको थियो। वर्ष दिनपछिकै एक चकमन्न रातमा हो, उसको त्यो चितुवासित भेट भएको थियो

अर्थात्‌ हेल्लुससित ।

आधी रातको एकान्तमा उसको हात आफ्नै शरीरको कुनै ठाउँमा पुगेको थियो। उसलाई थाहा थिएन, कसरी ? सबथोक अनायास । केही समय उसले कतैकतै आफूलाई हलुका सुमसुम्याएकी थिई । हुनसक्छ, थकाइका कारण । हुनसक्छ, भित्रको परम एक्लोपनमा बाहिर आफ्नो सङ्गत खोज्न । उसलाई केही सञ्चो पनि लागेको होस्‌। केही मात्रामा आफ्नो सङ्गत पाएजस्तो पनि लागेको होस्‌ ।

त्यसपछि उसले बिस्तारो चोर औँलाले आफ्नो शरीरको वीणाको एउटा तार चलाई, सारा शरीर झनन्न गर्यो । शरीरभरि एउटा ध्वनि तलदेखि माथिसम्म कम्पित हुन थाल्यो। त्यसबखत हो, उसले पहिलोपटक हेल्लुसलाई देखेकी थिई ।

हेल्लुसले उसलाई सुम्सुम्यायो । अलिकति नखक्षत दियो होला । त्यसपछि त्यो चितुवाको आकार धारण गरेर शरीरभरि लम्पसार पर्यो । वीणाको झड्कारका साथै हेल्लुसले उसलाई कस्दै गयो । हेल्लुस न्यानो र तातो थियो । उसको शरीरले नरम न्यानो अनुभव गर्यो । शरीरभरि तनक्क तन्किँदै । एकै छिनपछि वीणा शान्त भयो । त्यसैबखत उसले चितुवाको अनुहारलाई आफूबाट झड्कारेर उछिट्याइदिई । त्यस्तो शक्ति उसमा कसरी आएको थियो , कुन्नि ?

उसको सारा शरीर निर्जीव किसिमले शान्त भएको थियो । त्यति मात्र होइन, ग्लानि अनुभव भइरहेको थियो । ग्लानि र पश्चाताप मिश्रित तृप्ति । पहिले तृप्ति अनि ग्लानि। पहिले वीणाको कम्पन, त्यसपछि दिगमिग । पहिले एक्लोपनमा आफ्नो सङ्गत, पछि आफ्नै सङ्गत पनि छुटेर घोर एक्लोपन भोगेको एकलास ।

दुईचार दिन केही भएन । अर्थात्‌ किताब पढेर निदाइरही । निकै समयपछि एक दिन फेरि वीणाको तार तन्केर आयो । कसले तन्काइदिएको थियो एक्कासी, उसलाई ज्ञान भएन यसको चारैतिरको एक्लोपनले हुनसक्छ । तन्केर आउनासाथ लाग्यो उसलाई ज्वरांश छ । यो तापलाई बढाउनु जरुरी छ । उसको औंलो तार तन्काउँदै र्‌ छाड्दै तापमानमा वृद्धि गराउँदै , आँखा चिम्लेर बेजोडसित कम्पित हुन थाल्यो । सङ्गीत फुट्न थाल्यो उसको शरीरभरि

त्यस्तैमा हेल्लुस आयो र उसित खेल्न थाल्यो । कहिले त्यो कुनै विशाल चरा बन्थ्यो, कहिले गैँडा । एकपटक त्यो चितुवा अथवा गैँडा भएर उसको शरीरभरी लम्पसार परेको बखत उसले देखी – अचानक त्यो उसको अफिसको एउटा टाइपिस्ट केटामा परिणत भयो, टाइपिस्टको बलिष्ठ शरीरभरि ऊ समेटिई । टाइपिस्टले उसलाई कसेर अँगालोमा बेर्यो । छातीभरि छाती थिचियो ।सास र आवाज बनेर सुनिन थाल्यो । आवाज अश्वाव्य भयो । सब आँखा चिम्लिरै।

त्यसपछि कम्पन, सङ्गीत, अँगालो सब शान्त । अदृश्य हेल्लुस गायब। बाँकी पछुताउ । के भयो यो ? ग्लानि किन भएको ?

यही थियो, तृप्ति र हेल्लुसको सम्बन्धको घनिष्ठता । त्यो आउँथ्यो । कहिलेकाहीँ त्यो उसको लोग्नेजस्तो पनि देखिन्थ्यो । तब त्यति ग्लानि हुन्थ्यो कि हुन्नथ्यो पछिबाट यो जान्ने हामीसित कुनै ठोस आधार भएन । अनुमान जे गरे पनि भयो।

हेल्लुस कहिले उसको छिमेकको एउटा ठिटो बनिदिन्थ्यो, जो उमेरमा ऊ भन्दा कान्छो थियो र उसलाई दिदी भन्ने गर्दथ्यो । कहिले आफ्नो अफिसको हाकिम बनिदिन्थ्यो । एकपटक त हेल्लुस पहिले कुकुरमा परिणत भयो । त्यसपछि उसकै नाता पर्ने एउटा यस्तो केटोमा परिणत भइदियो, जसको जुँघाको रेखी पनि भर्खर बसुँ कि नबसूँ भन्ने दोधारमा थियो ।

उसलाई ज्ञान हुँदैन थियो । हेल्लुस आएपछि मात्र त्यो कुनै मनुष्यमा परिणत हुन सक्थ्यो । किशोरदेखि कोकोसम्म भन्न कठिन । हेल्लुस तब मात्र आउँथ्यो, जब सितार तन्किन थाल्दथ्यो । सितारको तन्काइसितै हेल्लुस प्रकट भइहाल्थ्यो । अनि तृप्तिले तार बजाउन थालेपछि ऊ नजिकिँदै जान्थ्यो । कम्पित र तृप्त हुँदै जान थालेपछि हेल्लुस उसको शरीरभरि व्याप्त भएर विविध मनुष्य रूप धारण गर्न थाल्दथ्यो । उसलाई झन्‌ कम्पित तुल्याउँदै जान हेल्लुस यस्तो रूप धारण गर्दथ्यो । कहिले कुनै एक । कहिले दुई तीन पनि। कहिले जल हारसहित बलिष्ठ पाखुरा र चौडा छातीको रूप लिन्थ्यो । कहिले हेल्लुस कुनै रूप धारण नगर्दै लुटुपुटु गरेर अलप हुन्थ्यो । तृप्तिलाई, तृप्ति र अतृप्तिबीचमा छाडेर । ग्लानि र एकान्तमा छाडेर । भ्रमित छाडेर ।

केवल एकैछिन । एकैछिनमा सब समाप्त हुन्थ्यो । हेल्लुस अदृश्य । ऊ लस्तपस्त । पश्चाताप भरिएको । ग्लानि छरिएको मन । कहिले बेसी कहिले कम । भोलिदेखि कम्पित नहुने वाचा आफैसित । औँला नियन्त्रणमा राख्ने । चाहिएन सङ्गीत । यी सङ्गीतभन्दा एकान्त राम्रो । शून्यता राम्रो । यो सङ्गीतभन्दा बेग्लिनु राम्रो । नीरसता राम्रो । उदासी राम्रो।

एक दिन त उसले औँलाहरूमा सियोले घोची पनि । तर सियोको घाउ भरिन कति दिन लाग्थ्यो र? त्रमश ऊ सङ्गीतमय बन्न थाल्दथिई ।

दिउँसो उसलाई केहीको सम्झना हुँदैन थियो । उसको शरीर । सितार होइन , संयन्त्रात्मक बनेझैँ लाग्थ्यो ।

त्यसो त हेल्लुसलाई पनि यदाकदा सम्झन्थी । तर त्यो सम्झनामा धेरै वितृष्णा हुन्थ्यो । जस्ती एउटा पशुलाई हेय ठानिरहेकस् होस् ।

यो पशुले कसैलाई मारेको अथवा मांसाहारी बनेको प्रमाणा कहिल्यैफेला परेको थिएन । यतिजस्तै यसका कथा पनि धेरै प्रचलित थिए । यति र हेल्लुसमा एउटै अन्तर थियो । यति अझै प्रमाणित हुन बाँकी थियो । हेल्लुसलाई मानिसहरू यदाकदा देख्ने गर्दथे , भन्दछन । त्यो चुपचाप कुनै ढिस्कोमाथि बसिरहेको हुन्थ्यो । सम्भवतः एक्लोपनको विक्षोभमा । त्यसरी पोथी हुन्न भन्ने धारणा थियो नि त ?

हेल्लुस के थियो ! यसमा धेरै भनाइ प्रचलित थिए । मानिसको धारणा थियो, कुनै जन्तु अन्य प्रजातिको जन्तुसित कुनै खास ग्रहनक्षत्र मिलेको बेला लायो भने हेल्लुसको जन्म हुन्छ । अर्को भनाइ पनि थियो – हेल्लुस सबै जनावरको अलिअलि अंश मिलेर बनेको प्राणी हो। तर यो मिसिने प्रक्रिया के हो त्यसबारे कसैलाई ज्ञान थिएन । अनि त्यसरी भाले मात्र किन निर्मित हुन्छु, त्यसको पनि उत्तर थिएन ।

साभार : ध्रुवचन्द्र गौतम समग्र कथाबाट