१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएसएआईडीको सुआहारा परियोजनाद्वारा नेपालमा आमा र बालबालिकाको पोषण अवस्थामा सुधार



अ+ अ-

काठमाडौँ, नेपाल । सुआहारा २ “गुड न्युट्रिसन” परियोजनामार्फत पोषणमा युएसएआईडीले गरेको लगानीको परिणामस्वरूप नेपालमा आमा र बालबालिकाको पोषणको अवस्थामा सुधार आएको छ।

युएसएआईडीरनेपालको बहुक्षेत्रीय पोषण परियोजना सुआहारा २ भौगोलिक क्षेत्र र बजेटको हिसाबले नेपालमा युएसएआईडीको सबैभन्दा ठूलो परियोजना हो । ४२ जिल्लामा ७ वर्षसम्म कार्यान्वयन गरिएको उक्त परियोजनाको कुल अनुमानित लागत नौ करोड १४ लाख अमेरिकी डलर रहेको छ।

नेपाल सरकारको बहुक्षेत्रीय पोषण योजनाअनुरुप प्रमाणमा आधारित कार्यक्रमको कार्यान्वयनमार्फत सुआहारा २ ले नेपालीहरूको आहार र महत्त्वपूर्ण पोषण व्यहारहरुमा सकारात्मक परिवर्तन ल्याएको छ । सन् २०११ देखि २०१६ सम्म कार्यान्वयन भएको सुआहारा र सन् २०१६ देखि २०२३ सम्म सञ्चालित सुआहारा २ का उपलब्धि र सिकाइहरुको आदानप्रदान गर्न आज आयोजित कार्यक्रममा यी उल्लेखनीय उपलब्धिहरू प्रस्तुत गरिएको हो ।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री  मोहनबहादुर बस्नेतले नेपालमा महिला तथा बालबालिकाको पोषण अभिवृद्धिमा युएसएआईडीको सुआहारा परियोजनाले पुर्‍याएको महत्त्वपूर्ण योगदानको प्रशंसा गर्नुभयो । “यी निष्कर्षहरूले हालै सार्वजनिक गरिएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको तथ्याङ्कलाई पनि पुष्टि गर्दछन् । रोचक कुरा के छ भने सुआहारा परियोजनाले छ महिना सम्मका शिशु हरुलाई पूर्ण स्तनपान गराउने दरमा पनि सुधार गरेको छ । जुन अभ्यास देशका अन्य भागहरूमा घट्दै गइरहेको छ यसले भावी पुस्ताका लागि पोषणमा सुधार ल्याउने दिशामा नयाँ चुनौती खडा गरेको छ ।”

एक स्वतन्त्र प्रभाव मूल्याङ्कनका अनुसार सुआहारा परियोजना कार्यान्वयन भएका जिल्लाका परिवारहरूले अन्य जिल्लाको तुलनामा स्तनपान र पूरक आहार अभ्यासमा उल्लेखनीय सुधार देखाएका छन् । उक्त परियोजना सञ्चालन नभएका जिल्लाहरूमा बस्नेको तुलनामा सुआहारा परियोजना कार्यान्वयन भएका जिल्लामा बस्ने बालबालिका र आमाहरूले बढी विविधतापुर्ण पौष्टिक आहार सेवन गरिरहेका छन्, गर्भजाँच गराउने महिलाहरुको संख्या बढी छ । र धेरै महिला र बालबालिकाले उचित पौष्टिक पूरक आहार सेवन गरिरहेका छन्, जुन उनीहरू र उनीहरूका बच्चाहरूको स्वास्थ्य सुनिश्चित गर्नका लागि महत्त्वपूर्ण छ ।

पौष्टिक आहार र हेरचाह अभ्यासहरूमा देखिएका सुधारहरूले गर्भवती तथा स्तनपान गराइरहेका महिलाहरुमा कम तौलको समस्या घटाउनमा पनि योगदान पुर्‍याएका छन् । यसले गर्दा गर्भावस्था र बच्चा जन्मने समयमा जटिलताको जोखिम घटेको छ, शिशुको वृद्धि र विकासमा सुधार आएको छ र उनीहरूलाई नसर्ने रोग लाग्ने जोखिम पनि घटेको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. संगिता कौशल मिश्राले सुआहारा परियोजनाले विद्यमान सरकारी संरचना र सामुदायिक मञ्चको उपयोग गरी कार्यक्रम सञ्चालन गरेकोले अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको ज्ञान र क्षमता अभिवृद्धि भइ समुदायमा गुणस्तरीय पोषण सेवा र उपयुक्त परामर्श प्रदान गर्न सघाएको भन्दै परियोजनाको प्रशंसा गर्नुभयो । यस सहकार्यले सरकारको स्वास्थ्य सेवा प्रवाह प्रणाली र मञ्चहरूलाई मजबुत बनाइ नेपालको स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाएको वहाँले बताउनुभयो।

कार्यक्रममा युएसएआईडीका कार्यवाहक नेपाल निर्देशक कारेन वेल्शले सुआहारा २ को घरधुरी तथा समुदायस्तरसम्म पुग्ने विशिष्ट रणनीतिका कारण गर्भवती वा स्तनपान गराउने महिला र दुई वर्षभन्दा कम उमेरका बालबालिका भएका करिब २२ लाख परिवारमा प्रभावकारी रूपमा पुग्न सकेको बताउनुभयो । उहाँले भन्नुभयो, ूसुआहारा २ को उपलब्धिबाट पाठ सिकेर हामी नेपालमा महिला, शिशु र बालबालिकाको पोषण स्थिति सुधारको गति बढाउँदै प्रभावकारी र प्रमाणमा आधारित पोषण कार्यक्रमलाई विस्तार गर्न नेपाल सरकारलाई निरन्तर सहयोग गर्न प्रतिबद्ध छौँ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय योजना आयोग र अन्य प्रमुख सरकारी निकायहरूसँगको निकट सहकार्यमा लागु गरिएको युएसएआईडीको सुआहारा २ परियोजनाले पोषणलाई स्वास्थ्य सेवा प्रवाह, परिवार नियोजन, पोषणयुक्त खाद्यपदार्थका लागि घरेलु खाद्यान्न उत्पादन, पोषण सुशासन र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसँग सफलतापूर्वक जोड्दै आएको छ । नेपालका ७७ जिल्लामध्ये ४२ जिल्लाका ३८९ वटै गाउँपालिका तथा नगरपालिकालाई समेटी सुआहारा २ परियोजनाले मुलुकको पोषण परिदृश्यमा उल्लेखनीय प्रभाव पारिरहेको छ ।