काठमाडौँ । नेपालमा कहीँ कतै प्राकृतिक या दैवी प्रकोप भयो कि कतिपयलाई त्यहाँ पुग्नै हतारो हुन्छ । उनीहरुको दिमागमै यो लाग्दो हो कि त्यहाँ पुगेर प्रचार प्रसार गराएपछि जनताको सान्त्वता पाइन्छ ।
त्यस्तै लागिरहेको छ यतिखेर पनि जाजरकोट भूकम्पस्थल पुग्न । त्यसैले एकपछि अर्कोगरी भिआइपीहरु त्यहाँ पुगिरहेका छन् ।
गएको शुक्रबार राति भूकम्प गयो र ठूलो जनधनको क्षति गरायो । शनिबार बिहानै प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुगे र क्षतिको जानकारी लिए । उनी त्यहाँ पुग्दा जनता त्रसिद थिए, पराकम्पहरुले पनि उनीहरुलाई बारम्बार हल्लाएको थियो ।
तर प्रधानमन्त्री त्यहाँ पुगेपछि जिल्लाको सिंगो सुरक्षा दस्ता उनको सुरक्षामै लाग्नुपर्यो, लाग्यो । उता घरभित्र, संरचनाभित्र मानिसहरु पुरएका थिए, देशका सुरक्षा निकायहरुले उद्धार गरी उनीहरुलाई निकाल्ने काम गरिरहेकै थियो ।
जनताा विपतमा परेका बेला देशको कार्यकारी प्रमुख त्यहाँ पुग्नुलाई अन्यथा लिनु हुन्न । किनभने उहाँले अवस्थाको जानकारी लिनु नराम्रो काम होइन । मात्र यहाँ उल्लेख गर्न खोजिएको प्रसंग यो हो कि उहाँ त्यहाँ पुग्दा उद्धारका क्षेत्रमा के उपलब्धि भयो भन्ने हो ।
सरकार त त्यहाँ पनि छ । अहिले सिंहदरबार बाहिर पनि सरकारहरु छन् । प्रदेश, स्थानीय सरकार तत् तत् ठाउँमा छँदैछन् । उनीहरु खटेका थिए, उद्धारको काम जारी थियो । तर तत्कालै प्रधानमन्त्री जाँदा ती उद्धारकर्मी, ती सुरक्षाकर्मी प्रधानमन्त्रीको सुरक्षा, प्रबन्ध या व्यवस्थामा जुट्नुपर्ने भएकाले थप १०÷२० जना सुरक्षाकर्मीले पनि उद्धारकै काममा लाग्न पाउँथे कि भन्ने हो ।
त्यसपछि रक्षामन्त्री तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का त्यहाँ पुगे र अहिले पनि उनी त्यतै देखिन्छन् । अस्पताल, भत्किएका घरतिर उनी चाहारिरहेकै देखिन्छन् । प्रधानमन्त्रीपछिको वरियताका वरिष्ठ मन्त्री मात्र होइनन् मुलुकको रक्षामन्त्री पनि हुन् । उनी हुँदा पनि त त्यहाँका सुरक्षार्मी, उद्धारकर्मी, अस्पताल या सरकारका सबै निकायले काम गर्दो हो ।
फेरि हिजो पुगे राष्ट्रपति रामचन्द्र पौडेल । भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेर उनले घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए भने भूकम्पको केन्द्रबिन्दुमा पुगेर क्षतिको जानकारी लिने र अवलोकन गर्ने काम गरे । अस्पताल पुगे जाजरकोट अस्पतालमा रहेका घाइतेको अवस्थाको जानकारी लिने काम गरे र त्यही स्थानबाट हेलिकोप्टरमा फर्किए ।
राष्ट्रपपति पौडेलले घाइतेहरुको उपचार, मृतक तथा पीडित परिवारलाई राहात र सहयोगका लागि आफूले सरकारसँग कुरा गर्ने पनि बताएका छन् । राष्ट्रपति पौडेल सदरमुकाम खलङ्गा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठवीसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्धारको अवस्थाका बारेमा जानकारी पनि लिएका थिए ।
यसरी देशका राष्ट्रप्रमुखले सरकार प्रमुखले उद्धारमा चासो राख्नु नराम्रो होइन । तर पनि राष्टपति आफैँ उद्धारमा पर्ने गरी घटनास्थलमै किन जानुपर्ने भन्ने प्रश्न अहिले उठेको छ । अस्ति राष्ट्रपतिले युरोप भ्रमण स्थगित गरेको समाचार आएपछि जेजसरी उनको कामको स्वागत गरिएको थियो, मंगलबार फेरि उनलाई भूकम्पको इपिसेन्टरमा सुरक्षार्मीले उनलाई होतरेर हिँडाइरहेको तस्बिरको धेरैले आलोचना गरेका छन् ।
एक त उनी त्यहाँ यति हतारमा पुगेर पीडितलाई कुनै त्यस्तो ठूलो सहयोग प्राप्त भएको पनि देखिँदैन किनभने उनी त्यहाँ पुगेपछि सिंगो जिल्लाको सुरक्षा कमाण्ड नै उनको पछि लागेको थियो । त्यहाँ पुगेपछि पनि उनले कमाण्ड पोस्टमै बसेर जानकारी लिएको भए त्यहाँ उद्धारका काममा खटेका सेना प्रहरीले आफै काम गर्न पाउँथे र यता राष्टपतिको प्रकोप पर्यटनको श्रोत साधनको पनि बचत हुन्थ्यो ।
औपचारिक पोसाकमा ठटिएका राष्टपतिलाई प्रभावित क्षेत्रमा सुरक्षा अंगले उद्धार गरेको शैलीमा बडो टिठलाग्दो शैलीमा हिँडाएका छन् जहाँ कैयौँ सुरक्षाकर्मीको पनि पछि पछि लावालस्कर देखिन्छ ।
पीडितको सहानुभूति बटुल्नका लागि त अब उद्धारको काम सकिएकाले राहात वितरण गर्नुपर्छ । उता भिआइपीको लर्को छ यता पीडितले कात्तिकको जाडोमा खुला आकासमा रात गुजारेका, खाद्यान्न नपाएका, सुत्केरी आमाहरुले न्यानो ओढ्ने नपाएका समाचारहरु निरन्तर आएका छन् ।
सहयोग घोषणा व्यापक आएको सुनिन्छ तर पीडितसम्म पुर्याउन सकिएको छैन । त्यहाँ पुगेर थुप्रिएको पनि समाचार छ । त्यसैले त्यसलाई बाँड्ने र जनतासम्म पुर्याउने काममा बरु सरकारले तारतम्य मिलाओस् । त्यहाँ पनि सरकार छ, सरकारका अंग छन् । आफू नै त्यहाँ पुगेर आफैले उद्धार गरिनुपर्ने टिठलाग्दो अवस्थाको प्रदर्शन कसैले नगरोस् । भिआइपीहरु त्यहाँ पुगेर उनैको सुरक्षाको सास्ती कसैले नदेओस् । नेपाल प्रकोप पर्यटनको अखडा बन्नबाट बचोस् ।