१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

उकालो लाग्यो कोरोनाको ग्राफ : छैन मापदण्ड पालना

उकालो लाग्यो कोरोनाको ग्राफ : छैन मापदण्ड पालना
अ अ+ अ-

काठमाडौँ । यही चैत २८ मा देशभर कूल तीन हजार ५३२ जनामा गरिएको परीक्षणमा ३३७ मा कोभिड–१९ सङ्क्रमण देखियो । अघिल्लो महिनाको सोही दिन (फागुन २८) मा दुई हजार ५०० को परीक्षण गराउँदा ४८ जना मात्रै सङ्क्रमित भेटिएका थए । एक महिनाको फरकमा सङ्क्रमणको ‘ग्राफ’ निकै माथि पुगेको उक्त दुई तथ्याङ्कले प्रष्टयाउँछ । त्यसमाथि अहिले देखिएकामध्ये धेरैमा नयाँ स्वरुपको भाइरस छ ।

यसपाली गत वर्ष जस्तो कोरोनाको त्रास कसैमा देखिएको छैन । शङ्कास्पद परीक्षणमा जान अनकनाउँछन् भने मास्क लगाउने, साबुन पानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्नेलगायत मापदण्ड पालनामा खास जागर चलेको देखिँदैन । सडकमा राखिएका कतिपय हातधुने भाँडा प्रयोगविहीन देखिन्छन् ।

काठमाडौँको सुन्धारा, रत्नपार्कलगायत क्षेत्रमा आज मास्क नलगाएका व्यक्ति धेरै भेटिए । “कोरोनाले अब खास केही समस्या हुने देखिएन, त्यसैले मास्क लगाइएन”, नाम नबताउने एक जनाले भन्नुभयो । 

यो क्रम देशभरी नै छ । ठूलाठूला भीडभाड क्षेत्र, जात्रा, मेला, महोत्सव, राजनीतिक कार्यक्रम अहिले यत्रतत्र भइरहेका देखिन्छन् । तर, मन्दगतिमा सङ्क्रमण दर बढिरहेको ग्राफले भने आमसमुदायको ध्यान तान्न सकिरहेको छैन । सङ्क्रमणको ग्राफ बढिरहेको बताउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम भन्नुहुन्छ, “अघिल्लो महिनामा बढीमा दैनिक एक सय बिरामी हुन्थे, अहिले झण्डै दोब्बर थपिएर दैनिक तीन सयभन्दा माथि देखिनु जोखिमतर्फ उन्मुख हुनु हो ।” उहाँले अघिल्लो महिनामा सक्रिय सङ्क्रमित ९०० को हाराहारीमा रहेकोमा आज दुई हजार ७०० पुगेको जानकारी दिनुभयो । 

मन्त्रालयका अनुसार एक महिना अघिदेखि नै सङ्क्रमण बढ्न थालेको भए पनि पछिल्लो १०÷१२ दिनदेखि सङ्क्रमणको रफ्तार अलि तीव्र छ । “अब राम्ररी स्वास्थ्य मापदण्ड नअपनाउने हो भने सबै सेवा ठप्प पार्नुको विकल्प हुन्न”, डा गौतमले दाबीका साथ रासससँग भन्नुभयो ।

अघिल्ले वर्ष यही समयमा भारतमा अत्यधिक सङ्क्रमण भएको बेला नेपालमा न्यून थियो । जब भारतबाट नेपाली स्वदेश फर्किए त्यसपछि एक्कासी सङ्क्रमण दरको गति बढेको थियो । गत वर्ष चैतको अन्तिमबाट क्रमशः बढ्न थालेको सङ्क्रमणको गतिले वैशाख सकिँदा त्रास फैलाइसकेको थियो । 

यसपटक पनि विगतको पुनरावृत्ति हुने आशङ्का जनस्वास्थ्यविद्को छ । अहिले भारतमा दिन प्रतिदिन कोरोनाको सङ्क्रमण दर ह्वात्तै बढिरहेको छ । प्राप्त विवरणमा भारतमा पछिल्लो तथ्याङ्क हेर्दा एकै दिन एक लाख ५२ हजार सङ्क्रमित भेटिएका छन् । भारत–नेपाल खुला सिमानाका कारण त्यहाँबाट मानिस सजिलै नेपाल आउन सक्ने हुँदा विशेष ख्याल गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । उनीहरुमा नयाँ भेरियन्टसहितको सङ्क्रमण देखिएकाले अझै चनाखो हुनुपर्ने मन्त्रालयको भनाइ छ । 

मन्त्रालयका सहायक प्रवक्ता डा समीरकुमार अधिकारी अहिले अवस्था सामान्य हुँदा पनि शङ्कास्पद व्यक्ति परीक्षणका लागि अस्पताल जान जागर देखाउन छाडेको जिकिर गर्नुहुन्छ । “शङ्कास्पद परीक्षणमा जानै पर्छ, क्वारेन्टिन बस्नैपर्छ, नभए अवस्था जटिल हुनसक्छ”, अधिकारीले भन्नुभयो, “अहिले ठूला शहर, नाका क्षेत्र, भारतबाट आउनेमा बढी सङ्क्रमण देखिएको छ”, डा अधिकारीले भन्नुभयो । प्राप्त विवरणअनुसार शनिबारसम्म नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ७९ हजार ७२५ पुगेको छ । तीन हजार ३९ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । 

कोरोना बढ्न थालेपछि सरकारले विशेष सावधानी अपनाउन अपिल गरिसकेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सिसिएमसी०को हालैको बैठकले कोभिड सङ्क्रमणको मात्रा बढेको र नयाँ स्वरूपको भाइरस देखिन थालेको भन्दै आवश्यक सतर्कता जरुरी रहेको निष्कर्ष निकालेको छ । केन्द्रले जिल्लाका कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई थप सक्रिय बनाउने, सीमा नाकामा रहेका स्वास्थ्य डेस्कलाई थप प्रभावकारी बनाउने, एन्टिजेन परीक्षण बढाइने, लक्षण देखापरेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टिनमा राख्ने गरी काम अघि बढाउने निर्णय पनि गरेको छ । तर जुन गतिमा हुनुपर्ने स्वास्थ्य सुरक्षाका कार्यक्रम भने न्यून देखिन्छ ।

दोस्रो चरणको खोप वैशाख ७ बाट 

सरकारले अहिलेसम्म १८ लाख ३५ हजारलाई कोरोना विरुद्धको खोप लगाइसकेको छ । अहिले उपत्यकाका तीन जिल्ला तथा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा खोप कार्यक्रम जारी छ । 

मन्त्रालयबाट प्राप्त विवरणअनुसार नेपालमा अहिलेसम्म कूल ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको छ । सहप्रवक्ता डा अधिकारीले झण्डै १४ लाख मात्रा खोप स्टक रहेको र केही आउने क्रममा रहेको जानकारी दिनुभयो ।

आगामी वैशाख ७ गतेपछि भने शुरुआती चरणमा (माघ १४ गतेदेखि) खोप लगाएका व्यक्तिका लागि दोस्रो चरणको खोप लगाइने छ । पहिलो चरणमा माघ १४ बाट फागुन १० सम्म खोप लिएका दोस्रो चरणमा सहभागी हुनेछन् । त्यसबेला चार लाख ३९ हजारलाई खोप लगाइएको थियो । दोस्रो चराणको खोप उनीहरुलाई नै लगाइने छ । उनीहरु सबै कोरोना सङ्क्रमण रोकथामका लागि अग्रभावमा खटिएर काम गर्ने व्यक्ति हुन् ।

 जुन ठाउँबाट खोप लगाइएको थियो, कार्ड लिएर त्यही ठाउँमा गएर खोप लगाउन सरकारले अनुरोध गरेको छ । नेपाललाई शुरुमा भारतले १० लाख मात्रा कोभिसिल्ड खोप उपलब्ध गराएको थियो । त्यसपछि चीनले आठ लाख मात्रा भेरोसिल खोप दिएको थियो । कोभ्याक्स सुविधाबाट तीन लाख ४८ हजार मात्रा खोप आएको थियो । नेपाली सेनाले पनि एक लाख मात्रा ल्याएको छ । 

सरकारले प्रति मात्रा चार डलर तिरेर १० लाख मात्रा खोप ल्याइसकेको छ भने अब १० लाख मात्र ल्याउन बाँकी रहेको स्वास्थ्य सेवा विभाग खोप महाशाखा प्रमुख डा झलक गौतमले बताउनुभयो । सरकारले दोस्रो अभियानअन्तर्गत गएको फागुन २३ गतेबाट ६५ वर्षमाथिका व्यक्तिका लागि खोप अभियान चलाएको थियो । नेपालमा अहिले भारतको सिरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको ‘कोभिशिल्ड’ र चिनियाँ कम्पनी सिनोफार्मअन्तर्गत बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स कम्पनीले उत्पादन गरेको ‘भेरोसिल’ खोप मात्र प्रयोगमा छ ।
– नारायण ढुङ्गाना