१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

बालविवाहविरुद्ध सक्रिय हुँदै अभिभावक

बालविवाहविरुद्ध सक्रिय हुँदै अभिभावक
अ अ+ अ-

डोटी । जिल्लामा बालविवाहविरुद्ध अभिभावक उत्रन थालेका छन् । जिल्लामा वर्षेनी बालविवाह बढेको भन्दै अन्त्यका लागि यहाँका अभिभावक अभियानमा उत्रिएका हुन् । पछिल्लो समय यहाँका अभिभावक विभिन्न सङ्घसंस्थाको सहयोगमा बालविवाहको अन्त्यका लागि लागिपरेका छन् । 

जिल्लामा रहेको छाउपडी प्रथा तथा बालविवाह अन्त्यका लागि अभिभावक सक्रिए हुन थालेका छन् । डोटीको दिपायल सिलगढी नगरपालिका–८ लडागडाका स्थानीय अभिभावक बालविवाहका कारण छोरीहरु आधारभूत बालअधिकारको अवसरबाट समेत बञ्चित हुने अवस्था उत्पन्न भएपछि बालविवाहविरुद्धको अभियानमा सक्रिय हुन थालेका छन् । वडालाई बालविवाहमुक्त वडा घोषणा गर्ने तयारीमा जुटेपछि बालविवाहविरुद्धको अभियानमा साथ दिने प्रतिबद्धता जनाउँदै अभिभावक पनि सक्रिय भएका हुन् ।

विगतदेखि डोटीलगायत यहाँका अन्य जिल्लामा बालविवाह तथा छाउपडीप्रथा कायमै रहेका कारण कयौँको ज्यान गएकाले आफूहरु उक्त अभियानको अन्त्यका लागि सक्रिय भएको अभियानमा सहभागी अभिभावक भागादेवी लुहारले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा बालविवाह गर्ने क्रम बढेकाले हामीले त्यसको अन्त्यका लागि अभियान चलाएका छौँ, बालविवाह अन्त्य गरेरै छाड्छौँ ।” छोराछारीको २० वर्ष नपुगी विवाह गर्नेलाई कानूनी दायरामा ल्याउन सघाउने उहाँले जानकारी दिनुभयो ।

त्यस्तै कानूनी व्यवस्थाले बिहेबारीमा ढिलाइ हुँदा किशोरीले अभिभावकको मञ्जुरीबिनै आफूखुशी २० वर्ष नपुग्दै भागीविवाह गर्ने समस्या बढ्दै गएको अर्का स्थानीयवासी गोपी साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले विभिन्न संस्थाले काम गरेर हामीलाई थाहा भयो । हामी आफ्ना छोराछोरीलाई कम्तीमा पनि २० वर्षभन्दा पहिले विवाह गर्न दिँदैनौँ, अरुलाई पनि हुन दिँदैनौँ ।” जिल्लाका विभिन्न समुदाय तथा जातजातिमा छोरीको १७÷१८ वर्षकै उमेरमा विवाह गरिदिने चलन कायम रहेको विभिन्न सङ्घसंस्थाको तथ्याङ्कमा उल्लेख छ ।

बालविवाह लुकीछिपी प्रशस्तै हुने गरेको भए पनि गएको दुई आवमा जम्मा चारवटा मात्रै मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “बालविवाह तथा छाउपडी प्रथा जताततै कायम छ भन्ने सुनिन्छ, तर मुद्दा कसैले हालेका छैनन्, गएको दुई वर्षमा जम्मा दुईवटा मात्रै मुद्दा परेका छन्, मुद्दा नै नपरे प्रहरीले कसरी थाहा पाउने ।” यहाँका महिला आधारभूत तह शिक्षाको अवसर पनि नपाएका र सानैमा विवाह गरी आमा बनेका छन् । 

पछिल्लो समय जिल्लामा बालविवाहलाई कम गर्न अभिभावक शिक्षा दिन थालिएको सामुदायिक विकास मञ्चका पूर्वअध्यक्ष भक्तबहादुर सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका अधिकांश वडालाई बालविवाहमुक्त वडा घोषणा गर्ने अभियानलाई गैरसरकारी संस्थाले पनि सहयोग गरिरहेका छन् । 

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक विकास केन्द्र डोटीको आयोजनामा दिपायल सिलगढी नगरपालिका–८ लडागडाका विभिन्न टोलमा अभिभावकलाई बालविवाहविरुद्ध टोल शिक्षा दिएको उक्त संंस्थाका शिक्षा अधिकृत यज्ञराज बडूले बताउनुभयो । उहाँले भन्नुभयो, “बालविवाह अन्त्यका लागि हामीले अभिभावकलाई टोल शिक्षा तथा बालविवाह गर्दा हुने असर बारेमा जानकारी दिन थालेका छौँ, हामीले दिएको शिक्षाले केही हदसम्म भए पनि बालविवाह हट्न सहयोग गर्नेछ ।” उक्त वडा सबैभन्दा बढी बालविवाह भएको वडाका रूपमा परेको छ ।

मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७४ ले विवाह गर्नका लागि केटाकेटीको उमेर कम्तीमा पनि २० वर्ष हुनुपर्ने व्यवस्था गरेको भए पनि जिल्लामा त्यसको खासै कार्यान्वयन नभएका कारण यहाँ बालविवाह घट्नुको साटो बढ्दै गएको कानून व्यवसायी शङ्करदीप मडैले बताउनुभयो । उहाँका अनुसार २० वर्ष नपुगी विवाह गरेको पाइएमा वा मुद्दा दर्ता भएको खण्डमा उक्त विवाह स्वतः बदर हुने र विवाह गर्ने/गराउनेलाई तीन वर्षसम्म कैद तथा रु ३० हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था रहेको भए पनि मुद्दा दर्ता नहुँदा बालविवाहले प्रश्रय पाएको हो ।