२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फापर खेती घट्यो



अ+ अ-

ढोरपाटन । लेकाली खेतीका रूपमा परिचित फापर बाली घट्दै गएको छ । बागलुङको ग्रामीण क्षेत्रमा बढी उत्पादन हुने यो बाली पछिल्लो केही वर्षयता कम हुँदै गएको छ । व्यावसायिकरूपमा फापर खेतीप्रति किसानको आकर्षण घट्दै गएको छ । रैथाने बाली फापरको आँटो, ढिडो, रोटीलगायत परिकार उपभोग गर्ने गरेकामा पछिल्लो समय आयातित खानेकुराको प्रयोग हुन थालेपछि यसको खेती कम हुन थालेको पाइन्छ । फापरका परिकार उच्च रक्तचाप र मधुमेहका बिरामीका लागि अति उत्तम मानिन्छन् ।

बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र ताराखोला गाउँपालिकाको माथिल्लो क्षेत्रमा फापर खेती गर्ने क्रम घट्दै गएको छ । स्थानीय तीर्थबहादुर बुढामगर पहिला गाउँका हरेक किसानले आफ्नो एक–दुई रोपनीमा भए पनि फापर खेती गर्ने गरेकामा हाल त्यसको ठाउँमा गहुँ र मकै लगाउने गरिएको छ । “अहिले कमैले मात्र फापर खेती गर्ने गरेका छन्”, उहाँ बताउनुहुन्छ– “हामी फापरकै आँटो, ढिडो र रोटी खाएर हुर्किएका हौँ, अहिले गाउँमा फापर खेती गर्न छाडे ।”

फापर बारीमा अन्य खेती हुन थालेको स्थानीय निमबहादुर विक बताउनुहुन्छ । “पहिला रातो र कालो जातको फापर राम्रै फल्थ्यो, आजभोलि निकै कम फल्ने गरेको छ”, उहाँले भन्नुभयो । फापर खेती गर्ने बारीमा केही वर्ष मकै र जौँखेती गरेको तथा त्यसपछि फापर नै लगाउँदा उत्पादन कम भएको विकले बताउनुभयो । फापरको उत्पादन घटेपछि चार वर्षदेखि यसको खेती गर्न छाडेको विकको भनाइ छ । मेहनत गरे पनि उत्पादन न्यून हुँदा फापर खेतीप्रति स्थानीयको आकर्षण घटेको उहाँ बताउनुहुन्छ । “फापरको बीउ जोगाउन गाह्रो हुन थालेको छ”, विकले भन्नुभयो ।

अचेल फापरका परिकार गाउँमा पाक्न छाडेका छन् । मेला–महोसत्वमा मात्र फापर सीमित भएको छ । बागलुङमा अहिले ८५ हेक्टर क्षेत्रफलमा फापर खेती हुने गरेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी कुमार पुनमगरले जानकारी दिनुभयो । उहाँका अनुसार हरेक वर्ष एक सय २० मेट्रिक टन फापर उत्पादन हुने गरेको छ । फापर बाली संरक्षणका लागि ‘रैथाने बाली संरक्षण’ कार्यक्रम सञ्चालन गर्ने, उन्नत जातका बीउ वितरण र किसानलाई प्रोत्साहन गर्ने सूचना अधिकारीले पुनमगरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हरेक वर्ष फापर खेती घट्दै गएको छ ।” रासस