१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेना परिचालन गरेर तत्काल सीमा क्षेत्र बन्द गर्नुपर्छ :डा. सुन्दरमणि दिक्षित



अ+ अ-

काठमाडौं । नागरिक समाजका अगुवा तथा बरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले नेपाल कोरोना संक्रमणको जटिल अवस्थामा पुगिसकेकोले तत्काल सिमा नाका बन्द गर्नुपर्ने बताउनुभएको छ । 

रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो,‘अहिले स्थिति एकदमै जटिल अवस्थामा पुगिसकेको छ, अस्पतालमा अब आईसियु बेड छैनन्, अक्सिजन छैन । भेन्टिलेटर त छँदै छैन् । अहिले जटिल अवस्थामा पुगेकोले हामीले के गर्ने भन्ने कुरा निक्र्यौल गर्नुपर्छ । सिमा नाकाहरु तुरुन्तै बन्द गर्नुपर्छ । तत्काल कडाईका साथ सिमा नाका बन्द गर्नुपर्छ । र, सिमाको व्यवस्थापनमा अब नेपाली सेनालाई खटाउनुपर्छ । त्यहाँ सिभिलियनले अब नियन्त्रण गर्न सक्दैनन् । काठमाडौं उपत्यकाको नाका पनि तत्काल बन्द गर्नुपर्छ । कडाई गर्नुपर्छ ।’

उहाँले आईसोलेशन र क्वारेन्टिनको व्यवस्थापनि पनि प्रभावकारी रुपमा गर्नुपर्ने बताउनुभयो । उहाँले जनता अहिले असाध्यै सतर्क हुनुपर्नेमा जोड दिँदै भन्नुभयो,‘अहिले जात्रा र पर्व मनाउने बेला होईन् । धर्म, संस्कृति र परम्परा बचाउनको लागि जात्रा नगरौं । मान्छे नै बचेनन् भने धर्म, संस्कृति कसरी बच्छ ? हामीले दुवै कुरालाई मिलाएर जानुपर्छ ।’

उहाँले अहिले आफूहरुले (नागरिक) ले के गर्ने र सरकारले के गर्ने ? भन्नेबारे भूमिका र जिम्मेवारी निर्धारण हुनुपर्ने पनि सुनाए । उनले भने,‘अहिले कोरोनाको यस्तो जोखिम बढेको छ । तर, हामी जनताले असाध्यै यसलाई बेवास्ता गरेका छौं । जुन देशमा जनताले बेवास्ता गरेका छन्, त्यहाँ कोरोनाको अवस्था भयावह छ, तर जुन देशमा जनता अनुशासित भएका छन्, ती देशमा कोरोना नियन्त्रण भएको छ । त्यसैले हामी नेपालीहरुले पनि लापरवाही गर्नुहुँदैन् ।’

उहाँले नेपालका राजनीतिक दल र यसका नेताहरुलाई अहिले कोरोनाको जोखिमको समयमा भीडभाड गर्न नहुने कुरा थाहा हुँदाहुँदैपनि जनताको वास्ता नगरी खाली आफ्नो स्वार्थको लागि अघि बढेको आरोप लगाउनुभएको छ  । उहाँले भन्नुभयो,‘नेताहरुले अहिले तिमी जनता मरे मर, तर हामीलाई माथि पुर्याईदेउ भन्ने मात्रै ध्यान छ ।’ उहाँले पब्लिक पनि अब एकदमै सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा कोभिडविरुद्धको खोपपनि पर्याप्त मात्रामा नभएको अवस्था सुनाउनुभयो । उहाँले भन्नुभयो,‘भारतले पनि दिन सकेको छैन् । अरु देशले पनि दिन सकिरहेका छैनन् । नेपाल सरकारले अब जहाँबाट भएपनि किनेर ल्याउनुपर्छ । सबै जनतालाई खोपको व्यवस्था गर्नुपर्छ ।’

उहाँले कोरोना नियन्त्रण तथा रोकथामको लागि सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो,‘अहिले शिक्षा र स्वास्थ्य मन्त्रालयबीच नै अन्तरविरोध छ, यो बेलामा उनीहरुबीच समन्वयकारी हुनुपर्दथ्यो । यो मिलाउने काम क्याविनेटको हो । यसमा प्रधानमन्त्रीले तत्काल साझा निर्णय गर्न निर्देशन दिनुपर्छ ।’ उहाँले अब परीक्षणको दायरा बढाउनुपर्ने, भेन्टिलेटर, अक्सिजन, आईसियुको उचित व्यवस्थापन गर्नुपर्ने पनि भनाई राख्नुभयो । 

डा. दिक्षितले अहिले जुन जुन विद्यालयमा संक्रमणको जोखिम छ, ती विद्यालयहरु तत्काल बन्द गर्नुपर्ने बताउनुभयो । र, पठनपाठन भने वैकल्पिक माध्यमबाट सुचारु गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले विज्ञहरुको सल्लाह र सुझावअनुसार विद्यालयहरु कसरी सञ्चालन गर्ने भन्नेबारे निर्णयमा पुग्नुपर्ने बताउनुभयो । उहाँले अब कोरोनाको यो दोस्रो लहरलाई कसरी सामना गर्ने भन्नेबारे नेपाल सरकारले तत्काल श्वेतपत्र जारी गर्नुपर्ने माग गर्नुभयो । उहाँले अब जनता सेल्फ लकडाउनमा बस्नुपर्ने र अनुशासित हुनुपर्ने पनि सुझाव दिनुभयो ।