१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

रानीमहल : रङ फेरियो तर अवस्था फेरिएन

रानीमहल : रङ फेरियो तर अवस्था फेरिएन
अ अ+ अ-

रुपन्देहीः काठमाडौँको सामाखुशीकी शकुन्तला ढकाललाई पाल्पाको रानीमहल हेर्ने वर्षौं देखिको धोको थियो । प्रेमको प्रतीक मानिने रानीमहल साँच्चिकै सुन्दर र आकर्षक होला भन्ने अपेक्षा लिएर रानीमहल हेर्न पुगेकी ढकाल त्यहाँ पुग्दा भने खिन्न हुनुभयो । उहाँको कल्पनामा जस्तो थियो, वास्तविक त्यस्तो थिएन रानीमहल ।  

“मैले त राजाले बनाएको दरबार अत्यन्तै आकर्षक होला भन्ने सोचेकी थिएँ तर यहाँ आउँदा त एउटा रित्तो भवन मात्रै रहेछ”, ढकालले भन्नुभयो, “त्यतिबेलाको राजामहाराजाको तथा महलको पनि झल्को दिने कुनै सामान यहाँ रहेनछन् । न त यसको ऐतिहासिक महत्वबारे यहाँ कतै लेखिएको पाइयो ।” ऐतिहासिक महत्वको स्थल भएर पनि व्यवस्थित गर्न नसक्नु कमजोरी भएको ढकालको भनाइ छ । 

साथीहरुसँगै काठमाडौँ बानेश्वरबाट रानीमहल अवलोकनका लागि पुग्नुभएकी भवानी सिंह पनि दङ्ग हुनुहुन्थ्यो । “रानीमहलका बारेमा धेरै सुने पनि आँखा अगाडि देख्न पाउँदा वास्तविकता थाहा हुँदो रहेछ, मैले त नाम सुन्ने बित्तिकै कति राम्रो र आकर्षक होला भन्ने कल्पना गरेकी थिएँ तर रित्तो घर मात्रै देखेपछि अलि नमज्जा लाग्यो”, सिंह भन्नुहुन्छ, “यहाँ आउँदा रानीमहलका बारेमा धेरै कुरा बुझ्न र देख्न पाइन्छ जस्तो लागेको थियो तर त्यस्तो भएन ।” 

विसं १९५४ मा तत्कालीन जनरल खड्ग शमशेरले आफ्नी प्यारी रानी तेजकुमारीको सम्झनामा पाल्पाको तानसेन नगरपालिका–१३ स्थित कालीगण्डकी नदीको तिरबाटै जग उठाएर रानीमहल निर्माण गर्नुभएको हो । धार्मिक रूपमा पवित्र कालीगण्डकीको किनारमा रहेको विशाल पत्थरबाट ठड्याएर बनाइएको विशाल दरबार व्यवस्थित नगरिँदा त्यहाँ पुग्ने पर्यटक खिन्न हुने गरेका छन् । “रानीको स्मृतिमा बनाइएको रानीमहलबारे धेरै सुनेको थिएँ त्यसैले पहिलो पटक घुम्न आएँ । त्यति व्यवस्थित र आकर्षक भने रानीमहल रहेनछ”, रुपन्देहीको भलुहीका सुरज सुनारले भन्नुभयो । 

करीब ५६ फिट चौडाइ, ११२ फिट उचाइ भएको चारतले भवनको सन् १९५० मा शिलान्यास भई चार वर्षमा दरबार, मन्दिर र पाटीपौवासहित निर्माण कार्य पूरा भएको थियो । यस महल जीर्ण भएपछि २०७२ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुरातत्व विभागले रानीमहलको पुनर्निर्माण गरेको थियो ।

लुम्बिनी प्रदेश सरकारले रानीमहल परिसरमा सामान्य पार्क निर्माण गर्नेबाहेक खासै काम गरेको छैन । रानीमहललाई प्रदेशको महत्वपूर्ण पर्यटकीयस्थल बनाउने लक्ष्यअनुसार पहिलो चरणमा पार्क बनाउने काम भए पनि तानसेन नगरपालिकालाई जिम्मेवारी दिइएकाले अहिले कुनै योजना तथा कार्यक्रम तय नभएको बताउनुहुन्छ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता दीपक ज्ञवाली ।

पाल्पा सदरमुकाम तानसेनबाट करीब १४ किलोमिटरको दूरीमा रहेको रानीमहल ऐतिहासिक महत्वको स्थल भएर पनि सरकारको खासै प्राथमिकतामा परेको छैन । सदरमुकामबाट महल पुग्ने सडक निर्माणको काम भइरहेको छ । यो आर्थिक वर्षमा सबै सडक कालोपत्र हुने तानसेन नगरपालिकाले जनाएको छ । 

साबिकको बौघागुम्बा गाविस–२ मा अवस्थित रानीमहल दरबार नेपालकै ताजमहलका रूपमा कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि उभिएको छ । रानीमहल दरबारको बायाँतर्फको शीतलपाटी दरबार परिसरमा फोहोराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुईवटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एकै  किसिमका शिव र गङ्गाका दुई मन्दिर छन् ।

यो महलको युनानी शैलीमा बेलायती इन्जिनीयरले डिजाइन गरेका थिए । वरिपरि रहेको बगैँचा र रानीपोखरीले महल आकर्षक देखाएको छ । दरबारको एकातर्फ बुर्जाको जग कालीगण्डकी नदीमा छ । महलभित्र पानीपोखरी, मन्दिर, बगैँचा आदि रहेका छन् ।

दरबारको मूलढोकाबाट कुँदिएका ढुङ्गा र इँटाबाट बनाइएका खुड्किला तल सिधा कालीगण्डकी नदी कुण्डसम्म जोडिएका छन् । प्रसिद्ध मुक्तिनाथ तीर्थ जाने मुख्यद्वार भएकाले तीर्थालुहरूलाई बस्ने सुविधा सहितका पौवासमेत निर्माण गरिएको छ ।

पाल्पाको सदरमुकाम तानसेनबाट उत्तरपश्चिम करीब तीन घण्टा पैदल यात्राबाट रानीमहल पुग्न सकिन्छ । सन् १९६० मा खड्ग शमशेरले श्री ३ को पदसहित शासनसत्ताको बागडोर आफूले सञ्चालन गर्न खोज्यो भन्ने षड्यन्त्रको छनक पाएपछि चन्द्र शमशेरले पाल्पामा थप सेना पठाई तैनाथी आफ्नो हातमा लिएका थिए । खड्गशमशेरले आफूमाथि थप खतरा उत्पन्न हुने त्रासमा दरबारमा रहेका सबै बहुमूल्य वस्तु छोडेर तीनवटा साँचो र सरकारी ढुकुटी लिई भारत पलाएन भएपछि प्रेमको प्रतीक ठानिने रानीमहल बेवारिसे बन्न पुगेको स्थानीय बासिन्दाको भनाइ छ । दिवङ्गत रानीको सम्झनामा बनाइएकाले रानीमहल दरबारलाई प्रेमको प्रतीकका रूपमा लिने गरिन्छ ।

नेपालकै ताजमहलका रूपमा कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि पश्चिमी कलाशैलीमा रहेको रानीमहल दरबारको बायाँतर्फ शीतलपाटी दरबार परिसरमा फोहोराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुईवटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ । रानीमहलको दक्षिणतर्फ पाल्पातिरबाट आउँदा बाटोमा पर्ने बैकुण्ठे पहाड पर्छ भने पारिपट्टि, कालीगण्डकी पारि स्याङ्जा जिल्लाको सतुङ्गा पर्छ । महलको मुख्य मोहडा उत्तर–पश्चिम फर्किएको छ । पश्चिममा कालीगण्डकी र पूर्वमा वराङदी नदी छ । महल दोभानको ठीक अन्तिम विन्दुमै अवस्थित छ । विशाल चट्टानको थुम्कोमाथि निर्मित यस महलले झण्डै ११२ फिट लामो भूभाग ओगटेको छ । मुख्य भवन दुईतले भएको यसको उचाइ ५६ फिट जति छ । 

उत्तर–पश्चिम कुनामा अर्थात् कालीगण्डकीको ठीक माथिल्लो भागमा भव्य वुर्जायुक्त आठकुने आकर्षक शीतल पाटी (विश्राम घर) पनि बनाइएको छ । यसैगरी, प्राङ्गणको तल्लो भागमा पूर्वपट्टि कार्यालय कक्ष रहेको छ भने त्यसको तल्लो भागमा घोडा बाँध्ने तबेला, सुरक्षा सेनाहरु बस्ने र खाना पकाउने ठाउँ बनाइएको छ । महलको प्राङ्गणदेखि पश्चिममा कालीगण्डकीको किनार र पूर्वमा वराङदी नदीसम्म कुँदिएका सिँढीहरु छन् ।

सानाठूला गरी २५ कोठा भएको यो महल कुनै समयमा मूल्यवान् इरनियन गलैँचा एवं कलकत्ताको सिलार्जस् कम्पनीमार्फत बेलायतबाट झिकाइएको अत्याधुनिक फर्निचरहरुबाट सजिएको थियो । यस महलको सिमानाभित्र विशाल प्राङ्गण छ । 

प्राङ्गणको दायाँबायाँ पानीपोखरी, मनमोहक बगैँचा, कलश, आधुनिक पार्क, फलामे खम्बाहरु र झुलिरहेका फलफूलका गमलाहरु छन् । त्यस्तै, पश्चिमपट्टि नागनागिनीहरुले शिवलिङ्गमा जलसेचन गरिरहेका कलात्मक दृश्यहरु बनाइएका छन् । साथै सोही जलाधारामा नुहाउन सुविधायुक्त स्थानघर पनि बनाइएको छ । उचित संरक्षण र सरसफाइको अभावले यी संरचनाहरु भने आकर्षक देखिँदैनन् । पुरातात्विक महत्वको क्षेत्र भएर पनि उचित संरक्षण र संवद्र्धन हुन नसक्नु विडम्बना हो भन्नुहुन्छ, स्थानीय पर्यटन व्यवसायी सुरेश क्षेत्री । 

उतिबेला निकै रकम खर्चिएर बनाइएको यो दरबारमा अहिले आएर पिउने पानी र शौचालयको समेत व्यवस्था छैन । भएको शौचालय प्रयोग गर्ने अवस्थामा छैन । पुनर्निर्माणपछि रानीमहल केही व्यवस्थित भए पनि शौचालय र पिउने पानीको अभावले पर्यटकका धेरै गुनासा सुन्नु परेको अस्थायी प्रहरी बिट रानीमहलका प्रहरी हबलदार खेमबहादुर केसी बताउनुहुन्छ । 

“दरबार अवलोकन गर्ने भनेर टाढाटाढाबाट पर्यटक आउँछन् । न शौचालय छ न त पिउने या अरू प्रयोजनका लागि प्रयोग गरिने पानी । एक जनाको प्रवेश शुल्क जम्मा रु २० छ । सुविधा नभएपछि त्यही पनि फिर्ता दिनुस् भनेर कतिपय झगडा गर्नुहुन्छ हामीले जवाफ दिन सक्दैनौँ”, केसी भन्नुहुन्छ । 

रानीमहल आसपासमा पर्यटकहरुको उचित बसोबासका लागि स्तरीय होटेल सञ्चालन हुन सकेका छैनन् । जसका कारण पर्यटकहरु बास बस्न तानसेन फर्कन बाध्य हुन्छन् । यहाँ अहिलेको यो अवस्थाको अन्त्य गरी सामान्य सुविधा र वरपर बास बस्न मिल्ने खालका केही होटेल सञ्चालनमा ल्याउन सके यो रानीमहल र यस वरपरको क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्ने थियो । यसका लागि स्थानीय सरकारले नै पहल गर्दा राम्रो हुनेछ ।  

–निरा गौतम