काठमाडौं । नेपाल स्काउटले स्थानिय स्काउट समिति घोषणा गरेको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमका बिच नेपाल स्काउटले सातै प्रदेशका ७ सय ५३ स्थानीय तहमा स्थानिय स्काउट समिति घोषणा गरेको हो । स्काउटले सबै पालिकाहरुमा संयोजक तोकेको छ ।
प्रदेशस्तरिय स्काउट आधारभुत तालिमबाट करिब ४ हजार भन्दाबढी युवाहरुलाई स्काउट मास्टरको रुपमा उत्पादन गरिएको तथा ७५३ वटै स्थानिय तहमा स्काउटको संरचना निर्माण गरिएको र सातै प्रदेशमा स्काउट समिति गठन भई प्रदेश कार्यालय समेत सञ्चालनमा आइसकेको नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले बताउनुभयो ।
हाल ७५ हजार युवाहरु स्काउटका सदस्य रहेको उहाँले जानकारी दिनुभयो । स्थानिय स्काउट समितिले आफ्नो क्षेत्राधिकार भित्रको प्रत्येक विद्यालयमा स्काउट गठन गरी ६ वर्षदेखि २५ वर्षका युवाहरुलाई स्काउटमा समेटिने अध्यक्ष भण्डारीले बताउनुभयो । हाल ६५ हजार वटा सामुदायिक तथा संस्थागत विद्यालयमा स्काउटको संरचना रहेको उहाँको भनाई छ ।
स्काउटको शैक्षिक, सामाजिक तथा सांगठनिक गतिविधिहरुलाई स्थानीय स्तरमा विस्तार गर्न, नेपाल स्काउटको आवधिक निर्वाचन नभएसम्मको अवधिका लागि सबै स्थानिय तहमा स्काउटका गतिविधि सञ्चालन गर्न स्थानिय स्काउट समिति घोषणा गरिएको नेपाल स्काउटले जनाएको छ । स्काउटले बि.सं. २०६८ साल यता बनेका सम्पूर्ण स्थानीय परिषद् तथा स्थानीय कार्यसमितिलाई खारेज गर्दै सो निकायहरुले गर्दै आएका सम्पूर्ण कार्यहरु एवं भोगचलन गरिरहेका सम्पूर्ण चलअचल सम्पतिहरु स्वत्ः सम्बन्धित स्थानीय स्काउटको मातहतमा जाने निर्णय पनि गरेको छ ।








