लुम्बिनी । आइतबारबाट लुम्बिनी प्रदेशको प्रदेश सभाको विशेष अधिवेशन सुरू हुँदैछ। तर आजबाट सुरु हुने विशेष अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेस हुने कार्यसूची रहेको छ।
गत वैशाख पहिलो साता नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि मुख्यमन्त्री पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाले अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।
मुख्यमन्त्री पोखरेलले आफूविरूद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपा सांसदलाई समेटेर यसबीचमा मन्त्रिमण्डल विस्तार पनि गरेका छन्। जसपाबाट चार जना मन्त्री बनेका थिए।
प्रदेश सभामा नेकपा एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना सदस्य छन्। जसमा प्रदेशमा सरकार सञ्चालनका लागि ४४ जना सांसद आवश्यक पर्छ।








