काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको बीर अस्पतालमा नवनिर्मित भवनलाई ५ सय शैयाको कोरोना विशेष अस्पताल बनाउने विषयमा छलफल गर्नुभएको छ ।
सिसिएमसीका संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले आईतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्यसचिव शंकरदास बैरागी, सिसिएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराल र वीर अस्पतालका प्रतिनिधिसँग वीर अस्पतालको नवनिर्मित भवनलाई कोरोनाका बिरामी उपचार गर्ने गरी प्रयोग गर्ने विषयमा छलफल गर्नुभएको हो ।
काठमाडौं उपत्यकामा कोरोनाका बिरामीहरु बढिरहेकाले अस्पतालमा बेडको अभाव भएको गुनासो आएपछि सिसिएमसीले बिभिन्न विकल्पको खोजी गरिरहेको छ
। उपप्रधानमन्त्री पोखरेलले आईतबार नै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई टेलिफोन गरी कोरोनाका कारण उत्पन्न परिस्थितिका विषयमा जानकारी लिनु भएको थियो । उहाँले नागरिकको जीवन रक्षाका लागि कुनैपनि कसर बाँकी नराख्न निर्देशन समेत दिनुभएको थियो ।








