काठमाडौं । आधुनिकताका नाममा वर्तमान पुस्तामा परम्परागत स्वस्थ्य खाना छोडेर पत्रु खाना (जंकफूड) प्रति मोह बढ्दै गएको तथा अस्वस्थकर जीवनशैली अपनाएकाले बालबालिका, महिला, गर्भवती मानिसको स्वास्थ्यमा चुनौती थपिदिएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सन् १९९६ मा २ प्रतिशत नेपालीमा मात्र मोटोपन थियो भने २०१६ मा यो संख्या २२ प्रतिशत पुगेको देखिन्छ । यसको कारण अस्वस्थकर खानपान तथा अस्वस्थकर जीवनशैली नै हो ।
पहिला बढी हिँड्नुपथ्र्यो, धेरै खाना खाँदा पनि शरीरले प्राप्त गरेको उर्जा खर्च हुन्थ्यो । अब कम हिँडिन्छ, कम शारीरिक श्रम गरिन्छ तर खाना धेरै, त्यसमा पनि पत्रु खाना खाइन्छ । यसले गर्दा मोटोपन बढ्छ । मोटोपन धेरै रोगको कारक हुन्छ । युवतीहरुमा मोटोपन हुँदा पछि बच्चा पैदा गर्न कठिन हुन्छ ।
पहिला पुरुषको दाँजोमा महिलालाई उच्च रक्तचाप, डायबिटिज, मिर्गौला रोग, घुँडा दुख्ने समस्या, मुटुको रोग कम देखिन्थ्यो । महिलाहरुले पानी बोक्ने, घाँस काट्ने, घरको सरसफाइ गर्ने, भान्साको काम गर्ने गर्दा शारीरिक व्यायाम हुन्थ्यो तर अहिले विशेष गरी शहरिया महिलामा व्यायामको कमी भएकाले यी रोगहरु बढ्न थालेको तथ्यांकबाट देखिन्छ ।
पहिला महिलाहरु घाममा बसेर तेल लगाउने चलन हुँदा भिटामिन ‘डी’ पर्याप्त मात्रामा पाउँथे । अहिले नेपाली महिलाहरुमा देखिएको ठूलो समस्या भिटामिन ‘डी’ को समस्या छ, किनभने छाला कालो हुन्छ भनेर महिलाहरु घाममा बस्दैनन् । खाना, व्यायाम तथा हिँडाइमा ध्यान दिँदैनन् ।
बजारका पाकेटबन्द तयारी खाना, होटलहरुमा खुवाइने खानाहरुमा नून, चिनी, चिल्लो, रासायनिक पदार्थ बढी हुन्छन् तर शरीरलाई आवश्यक पर्ने सूक्ष्म पौष्टिक तत्व, भिटामिन र रेसादार पदार्थ हुँदैन । रेसादार पदार्थ नखाँदा कब्जियत हुन्छ र बल गरेर दिसा गर्नुपर्दा पाठेघर खस्ने समस्या हुन सक्छ ।
कुपोषण भएपछि पाठेघरलाई ठीक ठाउँमा अड्याएर राख्ने मांसपेशीहरु कमजोर हुन्छन् अनि पाठेघर निस्कने समस्या पनि हुन्छ । महिलाको प्रजनन स्वास्थ्यमा पोषणको ठूलो भूमिका हुने भए पनि घर–परिवारले यसमा त्यति ध्यान दिँदैनन् । स्वास्थ्य मन्त्रालयले पनि भान्साका स्वस्थकर खानाको बारेमा औपचारिक छलफल चलाउने, जानकारी दिने काममा त्यति ध्यान दिएको पाइँदैन ।
गर्भवती महिलाले पत्रु खाना खाँदा पौष्टिक तत्व कमी हुन्छ तर मोटोपन बढ्छ । यसले आमा तथा शिशुलाई मधुमेह, उच्च रक्तचाप हुने सम्भावना बढ्छ । यो समस्या अहिले विशेष गरी शहरिया महिलाहरुलाई धेरै छ । त्यसैले महिलाहरु विशेष गरी गर्भवतीले पत्रु खाना छोडेर स्थानीय स्तरमा पाइने स्वस्थकर खाना खानुपर्छ ।
युवा अवस्थामा खाएको खानाले महिनावारी सुकेपछि पनि प्रभाव पार्छ । चाउचाउ, कुरमुरेजस्ता पत्रु खानाको खोलमा चिल्लो, नून, रसायन, चिनी आदि पदार्थ जति छ भनेर लेखिन्छ त्यो भन्दा ३७ देखि २ सय प्रतिशतसम्म बढी हुन्छ भन्ने कुरा स्वास्थ्य मन्त्रालयको अध्ययनबाट नै सिद्ध भएको छ । यो अध्ययन गरेपछि पनि स्वास्थ्य मन्त्रालयले यस्तो खानाको विरोधमा खासै कदम चालेको चाहिँ छैन । त्यसैले उपभोक्ताले नै यस्ता खाना अस्वीकार गर्नुपर्छ ।








