५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

जीवित सङ्ग्रहालयको पहिचानमा भैरवदेखि नीलबाराही

जीवित सङ्ग्रहालयको पहिचानमा भैरवदेखि नीलबाराही
अ+ अ-

भक्तपुर । मूर्तकला मात्रै होइन, धार्मिक पर्वले परिपूर्ण विभिन्न अमूर्तकला, संस्कृति, पर्व एवं परम्पराको भण्डार मानिने ऐतिहासिक मध्यपुरथिमि नगरी यतिखेर धार्मिक एवं ऐतिहासिक महत्व बोकेको परम्पराले नाचिरहेको छ । प्रत्येक वर्ष वैशाख २ गते सिन्दुर जात्रा, जिब्रो छेड्ने जात्राले मात्रै होइन, गाईजात्राको भोलिपल्ट द्वितीयादेखि पञ्चमीसम्म चार दिन तीन रात अनवरत रुपमा टोलटोलमा विभिन्न बाजागाजाले गुञ्जयमान हुँदै नाचिने विभिन्न देवीदेवताका नाचले मध्यपुरथिमि दिनरात उल्लासमय बनेको छ ।

विभिन्न देवीदेवताका मुकुण्डो धारण गरी धार्मिक, सांस्कृतिक र ऐतिहासिकतालाई जीवित राख्दै मध्यपुरथिमिको टोलटोलमा नीलबाराही प्याँख र भैल प्याँख जस्ता नाचहरु नाच्दै देवीदेवताको पहिचानलाई जीवित सङ्ग्रहालयको रुपमा यथावत राख्न सफल भएको मध्यपुरथिमिका संस्कृतिकर्मी अर्जुन श्रेष्ठ बताउनुहुन्छ । यतिखेर विभिन्न बाजाको तालमा विभिन्न धार्मिक एवं सांस्कृतिक महत्व बोकेको फरकफरक नाचहरुको प्रदर्शन हेर्दा यहाँको कला, संस्कृतिको धरोहरलाई जीवन्त राख्न यहाँका बासिन्दा निकै जुर्मुराएको देखिन्छ ।

मध्यपुरथिमिभित्र विभिन्न देवीदेवताको मुकुण्डो धारण गरेर नाचिने यस्ता नाचहरु कुनै डबलीमा प्रस्तुत गरिने नाटकीय भने होइन । यी नाचभित्र तान्त्रिक र दैवी शक्तिको बास हुने यहाँका धार्मिक एवं नाचका गुरुहरु र स्थानीय बासिन्दाहरु बताउँछन् । यी नाचहरुको अवलोकन गर्न मध्यपुरथिमिको बासिन्दा मात्रै होइन, उपत्यकाका नेवार समुदायको बाहुल्यतासँगै अन्य जातजातिसहितको भिडले अवलोकन गरिरहेको देखिन्छ ।

तीन दिन चाररात मनाइने नीलबाराही नाच

मध्यपुरथिमिको बोडेमा प्रसिद्ध नीलबाराही मन्दिर छ । नीलबाराही जङ्गलको छेउमा रहेको यो मन्दिर यहाँका बासिन्दाको धार्मिक आस्थाको धरोहर हो । नीलबाराही देवीप्रतिको धार्मिक विश्वास, आस्थालाई यहाँका बासिन्दाले जीवन्त राख्दै आएका छन् । त्यसको उदाहरण हो द्यो प्याँख अर्थात नीलबाराही नाच ।

मध्यपुरथिमिको बोडेमा हरेक वर्ष गाईजात्राको भोलिपल्टको मध्यराति अर्थात भाद्र द्वितीयादेखि पञ्चमीसम्म नीलबाराही नाच चार दिन तीन रातसम्म यहाँको टोल टोलमा प्रर्दशन गर्ने गरिन्छ । नाचमा भैरव एक, बाराही चार, कुमारी चार, सिहं चार द्वारपाल दुई र गणेश चार गरी १९ देवगणले नाच नाच्ने गर्दछन् । देवता १९ जना, गुरु छ जना, १९ जना देवताका सहयोगी, बाजा बजाउने नौ जनाको नाचमा प्रतक्ष्य संलग्नता रहने गर्दछ ।

बोडेको लाकुछेँ अर्थात् देवता घरबाट सुरु भई लाछी, लाछकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खासी टोल, नीलबाराही स्थान हुँदै पुन: खासी टोल भएर लाकुछेंमा आएर मुकुण्डो निकालेपछि समापन हुने स्थानीय दिलकृष्ण प्रजापतिले जानकारी दिनुभयो । प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय, पाँगा बाजाको तालमा परम्परागत नीलबाराही देवीको नाच देखाउने र यहाँका बासिन्दाले पूजा एवं दान दक्षिणा दिने परम्परा रहेको उहाँ बताउनुहुन्छ ।

दैनिक १० देखि १४ घन्टासम्म परम्परागत नियममा बाँधिएर नाच्नु पर्ने नीलबाराही नाच कहिलेदेखि सुरु भएको भन्नेबारे यकिन तथ्य फेला नपरे पनि भक्तपुरको नवदुर्गा नाचसँगै नीलबाराही नाच सुरु भएको हुनुपर्ने मध्यपुरथिमि नगरपालिकाका– ८ का वडाध्यक्ष एवं नीलबाराही नाचका संरक्षक रमेश थापा श्रेष्ठ बताउनुहुन्छ ।

विगत २६ वर्षदेखि पोङ्गा पुजामा सहभागी हुँदै आउनु भएका ४५ वर्षीय रोमन धों श्रेष्ठ आफ्नो पुर्खाको आठ पुस्तादेखि नीलबाराही नाचमा सहभागिता रहँदै आएको बताउँदै उहाँले देवगण फेरिदाँ पनि पोङ्गा पूजाको कोटा नफेरिने बताउनु हुन्छ । नाचमा सहभागी हुने देवगणको मृत्यु भएमा वा नीलबाराही देवीको दैवी शक्तिले बाहेक अरु अबस्थामा देवगण फेर्न नपाइने प्रचलन छ ।

उहाँ भन्नुहुन्छ, “हामीले चाहेर आफूखुसी देवगण फेरिने होइन, यो त नीलबाराहीको अदृश्य दैवी शक्तिबाट फेरिने हो, २०१५ सालमा एक पटक देवीको शक्तिले देवगण परिवर्तन भएको थियो, त्यसपछि अझै त्यो अवसर आएको छैन, त्यसैले ७० वर्षभन्दा माथि ७५ वर्षसम्मका आठ जना देवगणले अझै पनि नाचिरहनुभएको छ ।” विसं २०१५ मा देवगण फेरिंदा सिंहका रुपमा नाच्ने राजकुमार पाँ श्रेष्ठ अहिले नाच्ने १९ देवगण मध्येका जेठो हुनुहन्छ । देवगणको मृत्यु भएपछि पनि उहाँको ठाउँ उहाँकै परिवारभित्रको सदस्यले लिनुपर्छ, अरुलाई दिन पाइँदैन । तान्त्रिक शक्तिबाट देवगण हस्तान्तरण गर्नुपर्छ ।

नाचको किंवदन्तीबारे प्रजापतिले भन्नुभयो, “परापूर्वकालमा खेतमा काम गर्न गएका बोडे सहरका स्थानिय धोँ जातका एक व्यक्ति हराए, अचानक उनी घर नर्फिकएपछि चारैतिर खोजी भयो तर भेटिएनन् । चार दिनपछि उनी फर्किए र आफूलाई खेत जाँदा नीलबाराही देवीले लगेर नीलबाराही जङ्गलमा चार दिनसम्म कसैले नदेख्ने गरी नाचको सम्पूर्ण विधि सिकाएर यो नाच हरेक वर्ष चलाउनु भनेर पठाएको बताएपछि त्यस वर्षदेखि यो नाच सुरु भएको किम्बदन्ती रहेको छ । हाम्रा बाजे बराजु भन्दा पनि अगाडिको पूर्खादेखि मान्दै यो आएको यो नाच कुनै पनि वर्ष रोकिएको छैन, दैवी शक्तिको आधारमा यो नाच चलिरहेको छ ।”

नाचका मूल गुरु ७२ वर्षीय सानुकान्छा बालाका अनुसार नाच अवधिभर देवगणले खान हुँदैन, भूईमा बस्न हुँदैन, कसैसँग बोल्न हुँदैन, घामपानीमा छाता ओड्न हुँदैन, दिसापिसाब गर्न हुँदैन र जुत्तासमेत लगाउन हुँदैन, नाच नाच्नेहरुले निकै कडा नियमको पालना गर्नुपर्छ । देवगणले मुकुण्डो लायर घण्टौसम्म टोलटोल घुमेर नियमित नाच्नुपर्छ, गाह्रो भए पनि काँही बस्न पाइदैन, बस्नै परे पनि ज्वकालु (सहयोगी) को काखमा या जिउमा अडेसलगाएर बस्नुपर्छ । नाचको अगाडि र पछाडि बाल्ने चिराग पनि निभ्नु हुँदैन । बत्ती निभ्यो भने देवता हुनेको पेट दुख्ने तथा बान्ता आउँछ भन्ने जनविश्वास अझै रहेको छ । जात्रामा काटमार समेत गर्नु हुदैन । परम्परागत नियमभन्दा बाहिर गए बोडेवासीलाई अनिष्ट हुने जनविश्वास अझै रहेको छ ।

बिहानीपख देवगणलाई पूजा गर्ने स्थानियको घुईंचो लाग्ने गर्छ । जात्रा पहिलो बिहान सकिन्छ, दोस्रो दिन भने बिहान ४ बजे सुरु भएर साँझ सम्पन्न हुन्छ भने तेस्रो दिन बिहान सुरु भएर साँझ र चौथो दिन बिहानदेखि साँझसम्म नै निरन्तर चलिरहन्छ । नाचमा भुस्या बाजा बजाउँदै आउनु भएका ५९ वर्षीय तेजकुमार ब्याय श्रेष्ठ नाच देवता घरबाट निकालेर टोलटोल परिक्रमा गराइने बताउनुहुन्छ । नाच निकाल्नु पहिला द्वितीयादेखि पूर्णिमासम्म ‘प्याँखा स्यनेगु’ अर्थात नाचको तयारी गरिन्छ । भगवानप्रतिको आस्था र परम्परा जोगाउनकै लागि यहाँका बासिन्दाले नाचलाई निरन्तरता दिइरहेका छन् ।

भैल प्यांख अर्थात् भैरव नाच

मल्लकालदेखि सुरु भएर प्रत्येक वर्ष मध्यपुर थिमिमा गाईजात्राको भोलिपल्टदेखि लगातार चाररात मनाइने प्रसिद्ध ऐतिहासिक एवं तान्त्रिक शक्ति बोकेको भैरवनाचले यतिखेर मध्यपुरथिमिको चपाचोलगायतका क्षेत्रमा साक्षात् भैरवको आगमन भएको अनुभूति गराइरहेको छ । आर्थिक अभावका कारण करिब ३३ वर्षसम्म बन्द भएर लोपोन्मुख अवस्थामा पुगेपछि स्थानीयको पहलमा सुरु भएको मल्लकालीन तान्त्रिक लाय्कू भैल: अर्थात् भैरव नाच पनि मध्यपुरथिमिको चपाचोमा भाद्र कृष्ण द्वितीया ९गुंलागा द्वितीया० देखि पञ्चमीसम्म चार रातभर प्रदर्शन भइरहेको छ ।

मध्यपुरथिमि नगरपालिका–६ स्थित चपाचो द्य: छे:बाट सुरु भएको भैरव नाच चपाचो नास द्य: गणेश मन्दिर प्राङ्न, गार्चा गणेश मन्दिर अगाडि, थामद्य:, गुंग चिवा अगाडि र पछाडि, कुतिं चिवा:, हात्ती महांकाल, दिगु टोल, इना लाछी, लायकु, दतलय, मरुटोल, बालकुमारी पछाडि, बालकुमारी अगाडि, बालकुमारी भैल: द्य: अगाडि, दिगु टोल भैल द्य:अगाडि, दिगु टोल नारांद्य, कृचि तिवा, कुम्हाननी, तुलंननी, नासननी, चपाचो, जंलाननी, चपाचो द्य: छेँमा रातभरि नाच प्रदर्शन गरिन्छ ।

तन्त्रमन्त्रद्धारा दैवी शक्तिको आह्वान गरी शरीरमा दैवी शक्ति धारण गरेपछि सुरु हुने भैरव नाचमा सम्बन्धित देवताको मुकुण्डो धारण गरी भैरब २ जना, दाँगी २ जना र ज्यापुंगचा एक जना गरी पाँच देवगणको टोलीले रातभर नाच प्रदर्शन गरेका हुन् । नाचमा धां:बाजा, भुस्या:, पोंगा र म्वाय्ली बाजा बजाएर सोही बाजाको तालमा नाच्ने गरिन्छ ।

यस वर्षको नाचमा सरगत प्रजापति ज्यापुंग:चा, श्यामसुन्दर प्रजापति म्यापा भैल अर्थात भैरब, राजन प्रजापति लु भैल: अर्थात भैरब, निरोज प्रजापति न्हापा दाँगी र नयन प्रजापति लु दाँगी बनेर नाचिरहेको स्थानीय श्रीकृष्ण प्रजापतिले बताउनुभयो । यो नाचमा भैरबले खड्ग, कुमारीले डमरु र ज्यापूँगले ज्यापूँग अर्थात कपालको बिंया, अक्षता, ताय् भएको भाडो, हातमा लिएर धा ं:बाजाको साथै नाचका लागि १२ जनाले दाग:, आठ जनाले भुस्या, आठ जनाले पोङ्गा र चारजनाले मुहाली बजाई विभिन्न ३० देखि ३२ तालमा नाच्ने परम्परा रहदै आएको छ । नाचको क्रममा भैरब र कुमारीले बेलाबेलामा क्रोधित भएर नाच्ने र ज्यापुंगले शान्त बनाउने गर्दछन् ।

शास्त्रीय एवं तान्त्रिक विधिको प्रयोग गरी देव गणहरुको शरीरमा शक्ति प्रवेश गराई नाच नचाउने परम्परा रहेको छ । उनीहरुलाई तीन सातादेखि प्रत्येक दिन साँझ नाच प्रदर्शनका लागि तान्त्रिक विधिको प्रयोग गरी प्रशिक्षण दिइएको थियो । मन्त्रोचारण गरी नाच निकाली सकेपछि नाच समापन नभएसम्म देव गणले कसैको जुठो खान नहुने, शुद्ध भएर बस्नुपर्ने प्रावधान रहेको छ ।

प्राचीनकालमा मध्यपुरथिमि क्षेत्रका बासिन्दालाई भूतप्रेत, पिसाचले दु:ख हाहाकार मच्चाएका थिए । त्यसबाट मुक्ति पाउनका लागि लाय्कूका सञ्चालकहरु सक्रिय भएर शास्त्रका विज्ञ, तान्त्रिक र विद्वानसँग छलफल गरी स्थानीय मानिसहरुमा तान्त्रिक विद्यामार्फतबाट मानिसको शरीरमा भैरब, कुमारीको शक्ति प्रवेश गराई क्रोधित मुद्रामा टोलटोलमा नचाएपछि भूतप्रेतहरु टिक्न नसकेकाले त्यसपछि यो नाच चल्दै आएको भनाइ छ । अठासी वर्षपछि मध्यपुरथिमि नगरपालिका–५ दिगुटोलमा गतवर्ष सञ्चालनमा ल्याईएको प्राचीन महाकाली नाच भने यसवर्ष प्रदर्शनी गरिएन । सुरु भइसकेको नाच प्रदर्शन नगर्दा पुन: यस्ता नाचहरु लोप हुन्छन् कि भन्ने आशङ्का पुराना पुस्तामा रहेका छ ।

यस्ता नाच एवं पर्व सञ्चालनका लागि आर्थिक भार बढी पर्ने भएपछि नाच सञ्चालनमा कठिनाइ आउने गरेको छ । नाच सुरु हुनुपूर्व करिब तीन सातादेखि तयारी गर्नु पर्ने, गुरुदेखि बाजा बजाउने, सबै नाचमा सहभागी हुनुपर्ने, नाच सुरु भएपछि प्रत्येक दिन प्रसादका रुपमा भोज खुवाउनु पर्नेलगायतमा एउटा नाच चलाउन १० औं लाख खर्च हुने तर रकमको सहयोग सरकारीस्तरबाट नहुने हुँदा परम्परा जोगाउन कठिनाइ पर्ने गुरु अर्जुन श्रेष्ठ बताउनुहुन्छ ।

स्थानीयस्तरमा दाताहरुबाट स्वेच्छिक चन्दा एवं आर्थिक सहयोग सङ्कलन गरी पर्व चलाउनु पर्ने बाध्यताको अन्त्य गर्दै सबै खर्च स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट आए सहज हुने उहाँ बताउनुहुन्छ । यस्ता नाच र परम्परा हेर्नका लागि नगरपालिकाले विदेशी पर्यटकलाई पनि सहभागी गराउने नीति लिनु आवश्यक छ । तर नगरपालिकाले विदेशी पर्यटकको आगमन बढाउने गरी कुनै काम नगरेको स्थानीयको भनाइ छ ।  रासस