५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

बागलुङमा हावाहुरीले मकैबाली नष्ट

बागलुङमा हावाहुरीले मकैबाली नष्ट
अ+ अ-

ढोरपाटन । हावाहुरी र वर्षाले बागलुङका विभिन्न स्थानमा मकै बालीमा क्षति पुर्‍याएको छ । घोँगा लाग्ने बेलामा आएको हावाहुरीले जिल्लाको तमानखोलाका किसानले सयौँ रोपनी क्षेत्रफलमा लगाएको मकै बाली नष्ट गरिएको हो ।

वडा नम्बर १ र २ को सेन्नामा, पहिरा, बोङ्गानी, सोम्मरलगायतका गाउँको करिब सात सय रोपनी क्षेत्रफलमा लगाएको मकै पूर्ण रुपमा नष्ट भएको तमानखोला गाउँपालिकाका कृषि शाखा प्रमुख सन्देश पराजुलीले जानकारी दिनुभयो । शनिबार राती र आइतबार बिहान आएको हुरीले मकै बालीमा क्षति पुगेको उहाँको भनाइ छ ।

सात सय रोपनीमा लगाएको मकै कामै नलाग्ने गरी ढलेपछि किसानले रु ५० लाखभन्दा बढीको क्षति बेहोर्नुपरेको उहाँले बताउनुभयो । किसानले हावाहुरीले मकै नष्ट गरेको जानकारी गराएपछि गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगर, उपाध्यक्ष हिराकुमारी छन्त्याल र प्राविधिकको टोली बारीमै पुगेर क्षतिको विवरण लिएको उहाँको भनाइ छ । मकै ब्लकमा समेत हुरीले ठूलो क्षति पुर्‍याएको उहाँले बताउनुभयो । दाना लाग्ने बेलामा मकै ढलेको हुँदा अब फल नदिने शाखा प्रमुख पराजुली बताउनुहुन्छ ।

“किसानको बारीमा पुग्दा कुनै पनि मकैका बोट ठाडो देखिँदैनन्, सबै ढलेर कामै नलाग्ने भएका छन्, अब ती ढलेका मकैका बोटबाट किसानले एउटा गेँडा पनि उत्पादन गर्न सक्ने अवस्था छैन, गँेडा हालिसकेको भए, केही उत्पादन हुने सम्भावना हुन्थ्यो, अहिले ठ्याक्क घोँगामा गेँडा हाल्ने समय भएको थियो”, शाखा प्रमुख पराजुलीले भन्नुभयो, “अहिले प्रारम्भिक विवरण लिएका छौँ, प्रारम्भिक विवरणमा करिब रु ५० लाख नोक्सानी भएको अनुमान छ, केही दिनमै पूरै विवरण आउने छ, त्यसमा अलि बढ्ने सम्भावना देखिन्छ, किसानले धेरै ठाउँमा मकै ढलेको जानकारी गराउनुभएको छ ।”

उहाँले अहिलेसम्म यहाँका किसानले कृषि बीमा नगरेको बताउनुभयो । बीमा गरेको भए केही सहुलियत मिल्ने पराजुलीको भनाइ छ । यस वर्षदेखि किसानलाई कृषि बीमाको दायरामा ल्याउने तयारी गरिरहेको उहाँ बताउनुहुन्छ । यहाँका अधिकांश किसानले रैथाने जातका मकै लगाएको पराजुलीले बताउनुभयो ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले यस क्षेत्रमा हावाहुरीले अहिलेसम्मकै ठूलो क्षति पुर्‍याएको बताउनुभयो । किसानले जानकारी गराएपछि बारीमै पुगेर क्षतिका बारेमा बुझेको भन्दै पीडित बनेका किसानलाई पालिकाबाट राहतको व्यवस्था गर्ने अध्यक्ष बुढा मगरको भनाइ छ । सबै वडामा प्राविधिक खटाएर सबै क्षतिको विवरण ल्याएर सोहीअनुसार राहतका बारेमा प्रदेश र केन्द्र सरकारसँग पनि माग गर्ने बताउनुभयो ।

“हावाहुरीले किसानले लगाएको मकै बालीमा ठूलो क्षति पुगेको छ, फल्ने बेलाको मकै ढलेर सोत्तर बनेपछि किसानका आँखा आँसुले भरिएका छन्, उहाँहरुको त्यो पीडामा मलम लगाउने प्रयास हामी गर्ने छौँ”, अध्यक्ष बुढा मगरले भन्नुभयो, “अहिले सामान्य विवरण आएको छ, सबै विवरण आएपछि कुन किसनाको कति क्षति भएको छ, त्यस आधारमा पालिकाबाट हुने राहतको व्यवस्था गर्छौं र अन्य नियकाबाट हुने सहयोगका बारेमा पनि हामी पहल गर्छौं ।”

वर्षा र हावाहुरीले मकैका सबै बोट भाँचिएपछि भोकमरी हुने भन्दै किसान चिन्तित बनेका छन् । जिल्लाको मुख्य खाद्य बालीको रुपमा रहेको मकैमा क्षति पुगेपछि मकैको उत्पादन घट्ने अनुमान गरिएको छ । हरेक वर्ष मकै बालीमा विभिन्न कारणले क्षति हुँदै आएकाले मकैको छ । तमानखोलाको मकै जोन क्षेत्र भए पनि अघिल्लो वर्ष मकैको बीउ फरक पर्दा उत्पादनमा निकै गिरावट आएको थियो । यसपालिको हुरीले वर्षभरिको छाक खोसी दिएको स्थानीय किसान खिमबहादुर छन्त्यालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पोहोरपरार साल बारीमा राम्रो मकै उत्पादन हुन्थ्यो र पनि वर्षभरि खान पुग्दैनथ्यो, अहिले त एक पाथी पनि फल्न नपाउँदै हुरीले मकै बारी भरी लडाइँ दियो, एउटा पनि बारीको मकै ठाडो छैन, सबै ढलेका छन्, कति दु:ख गरेर खेती गरेको, एकै छिनको हावाहुरीले यस्तो बनाइदियो, अब के खाएर वर्ष गुर्जाने हो ?”