३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

ठूला भौतिक पूर्वाधारमा लगानी गर्न हामी तत्पर छौँ: सिआइटीका कार्यकारी निर्देशक नेपाल (अन्तर्वार्ता)

ठूला भौतिक पूर्वाधारमा लगानी गर्न हामी तत्पर छौँ: सिआइटीका कार्यकारी निर्देशक नेपाल (अन्तर्वार्ता)
अ+ अ-

काठमाडौँ । नागरिक लगानी कोष (सिआइटी) सबल वित्तीय संस्था मध्यको एक हो । कर्मचारीदेखि आम सर्वसाधारणलाई समेत वित्तीय सेवा दिँदै आएको कोषले पछिल्ला दिनमा थप क्षेत्रमा समेत लगानी विस्तार गरिरहेको छ । शेयर बजारको विस्तारका लागि नागरिक स्टक डिलरमार्फत आफ्ना गतिविधिलाई समेत अगाडि बढाएको छ । प्रस्तुत छ, शेयर बिक्री प्रबन्धकदेखि शेयर प्रत्याभूतिकर्ताको जिम्मेवारीसमेत सफलतापूर्वक निर्वाह गरिरहेको कोषका पछिल्ला कामकारबाही र यसको भावी रणनीतिका बारेमा कोषका कार्यकारी निर्देशक रमण नेपालसँग भएको अन्तर्वार्ताको सम्पादित अंश ।

नागरिक लगानी कोषको प्रमुखका रुपमा नियुक्त हुनु भएको पनि पाँच वर्ष पूरा हुन लागेको छ । कार्यकालको अन्तिम चरणमा हुनुहुन्छ । यसबीचमा आफूले के कस्ता काम सम्पन्न गरेँ भन्ने लाग्छ ?
यस बीचमा नागरिक लगानी कोषको सुविधा सम्पन्न भवन निर्माण भएको छ । हामीलाई बढी भएको तीन तल्ला भाडा लगाएर अतिरिक्त आम्दानीसमेत गर्न सफल भएका छौँ । हामी सूचना प्रविधिमा कमजोर थियौँ । अहिले एन एल के बेव बेस्ड सफ्टवेयर सञ्चालनमा ल्याएका छौँ । यसबाट पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्मका सबै सेवाग्राहीलाई सहज रुपमा सेवा दिन सकिएको छ । अब बिस्तारै फाइनल पेमेन्ट, सापटीलगायतका अन्य सुविधा लिन सक्ने बनाएका छौँ । कोषको ऐनमा रु आठ अर्बको अधिकृत पूँजी, आठ अर्बको जारी अर्ब र चुक्ता पूँजी आठ अर्ब नै पुर्‍याउने व्यवस्था भए पनि हामीसँग रु ९० करोड मात्रै थियो ।

ठूलो वित्तीय संस्था भए पनि आवश्यकताअनुसार पूँजी वृद्धि हुन सकेको थिएन । दायित्व अनुसारको ब्याकअपमा पूँजी हुनुपर्ने थियो । सोही अनुसार रु पाँच अर्ब २० करोड बराबरको चुक्ता पूँजी पुर्‍याएका छौँ । हकप्रद शेयर दिएर हामीले पूँजी वृद्धि गर्‍यौँ । म आउँदा रु एक खर्ब ११ अर्ब बराबरको निक्षेप रहेकामा बढेर हाल रु दुई खर्ब २० अर्ब भन्दा बढी भएको छ । निक्षेपको बचत दर पनि राम्रो छ । सरकारी, सङ्घसंस्थाका कर्मचारीको मात्रै जम्मा हुने खालको कार्यक्रम मात्रै थिए । सर्वसाधारणलाई पनि जोड्नुपर्छ नागरिक लगानी कोषसँग भनेर नागरिक पेन्सन कार्यक्रम भनेर अगाडि बढायौँ ।

उमेरमा कमाएको पैसाबाट बचत गर्न सक्ने वा स्वरोजगारमा रहेका व्यक्तिहरु नै किन नहुन्, उनीहरुलाई त्यसमा संलग्न गराउन सकियो भने आफूले कमाएको पैसाबाट आफैँ पेन्सन लिनसक्ने वातावरण बनेको छ । कोषको ऐनले नै नेपालको पूँजीबजारको विस्तार विकासका लागि कोषले भूमिका खेल्न सक्छ भन्ने प्रस्ट व्यवस्था गरेको छ । त्यसका लागि काम भएको थिएन । शेयर बिक्री प्रबन्धक र प्रत्याभूतिकर्ताको मात्रै काम गरिरहेको अवस्था थियो । अहिले पूँजी बजारलाई केही मात्रामा भए पनि स्थायित्व प्रदान गर्नका लागि रु पाँच अर्ब चुक्ता पूँजी भएको नागरिक स्टक डिलर भन्ने कम्पनी स्थापना गरेर काम अगाडि बढायौँ । म आउँदा विभिन्न आन्तरिक कारणले तीन वर्षदेखि साधारणसभा र लेखापरीक्षण पनि हुन सकेको थिएन । त्यसलाई हामीले नियमित गरेका छौँ । थप पाँचवटा शाखा कार्यालय खोलिएको छ ।

हाल कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोष उस्तै प्रकृतिका कोषहरु सञ्चालनमा छन् । यी तीनवटै संस्था एकापसमा मिलाएर एउटा सबल संस्था बनाउन सकिन्न र ?

त्यसरी एकापसमा गाभ्दा एकाधिकार प्राप्त संस्था जन्मने खतरा रहन्छ । त्यहाँ सेवा सुविधामा प्रतिस्पर्धा हुँदैन । मलाई के लाग्छ भने सेवाग्राहीले प्रतिस्पर्धात्मक तवरबाट सेवा सुविधा पाउनुपर्छ । कर्मचारी सञ्चय कोष शत्प्रतिशत सरकारको लगानीमा स्थापित भएको संस्था हो । सामाजिक सुरक्षा कोष पनि सोही प्रकृतिको संस्था हो । नागरिक लगानी कोषमा भने तीन प्रकारका लगानीकर्ता छन् । यसमा नेपाल सरकारको २३ प्रतिशत मात्रै लगानी छ । बैंक तथा वित्तीय संस्थाको १५ दशमलव ११ प्रतिशत बराबरको शेयर छ । कर्मचारी सञ्चय कोषको ३१ प्रतिशत, नेपाल स्टक एक्सचेञ्जको १० प्रतिशत बराबर शेयर छ । यसैगरी सर्वसाधारणको २० प्रतिशत शेयर छ । यो संस्था पीपीपी मोडलको संस्था हो । यसमा सरकार, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था र सर्वसाधारणको पनि छ । भोलि एउटै संस्था हुँदा यी सबै क्षेत्रलाई कसरी मिलाउने भन्ने प्रश्न आउन सक्छ । मलाई लाग्छ, यस खालको संस्था आवश्यक छ र हुनुपर्छ । यो स्वयम्सेवी रुपमा निरन्तर बचत गर्ने खालको संस्था हो । यो ट्रस्टी मोडलमा चलेको संस्था हो ।

प्रतिफल कम हुँदा आम मानिस कोषमा आकर्षित भएनन् भन्ने गुनासो पनि उत्तिकै छ ?

यसअघि सेवाग्राहीलाई थप प्रतिफल दिइएको थिएन । हरेकको छुट्टाछुट्टै वित्तीय विवरण हुन्छ । फरक फरक प्रकृतिका आठरनौवटा विवरण बनाउनुपर्ने हुन्छ । प्रत्येकको नाफा नोक्सान हेरेर हरेक वर्ष थप प्रतिफल दिन्छौँ । त्यसमा ब्याजबाहेक अरू थप प्रतिफल पनि हुन्छ । गत वर्ष हामीले एक दशमलव पाँच प्रतिशत र यस वर्ष पनि सोही बराबरको प्रतिफल दियौँ । यसबाट के भयो भने बजारको ब्याजदर भन्दा उहाँहरुले जम्मा गरेको पैसामा हामीले दिएको ब्याज बढी हुन जान्छ । हाम्रोमा मासिक रुपमा रकम जम्मा गर्ने एउटा कार्यक्रम छ । एकमुष्ट रुपमा मुद्दतीमा राखेजस्तो होइन । त्यसमा पनि हामीले आठ प्रतिशत बराबरको ब्याज वा प्रतिफल दिएका छौँ । हामीले एक दशमलव एक चार प्रतिशत बराबरको स्प्रेडमा काम गरिरहेका छौँ । यो भनेको असाध्यै कम हो । बैंक तथा वित्तीय संस्थाका लागि नेपाल राष्ट्र बैंकले तोकेको स्प्रेड दर भनेको चार दशमलव ४३ प्रतिशत हो । हामी जति सक्छौँ बढीभन्दा बढी सहभागीलाई नाफा दिनुपर्छ र लगानी अनुसारको प्रतिफल दिनुपर्छ भन्नेमा सचेत छौँ ।

कोषले जे जति मात्रामा नयाँ नयाँ कार्यक्रम ल्याउनुपर्दथ्यो र सहभागीहरु बढाउनु पर्दथ्यो त्यो भने गर्न नसकेको गुनासो पनि सुनिन्छ नि ?

विभिन्न निकाय र क्षेत्रमा अपेक्षा धेरै हुन्छ । नागरिक लगानी कोषका केही बाध्यताहरु पनि हुन सक्छन् । हामीले जनशक्तिको कुरा गर्दा सम्पूर्ण कर्मचारी लोक सेवा आयोगबाट लिनुपर्छ । थोरै जनशक्तिबाट काम गरिराख्नु परेको छ । पहिलेदेखि साधारणसभा नभएर हिसाब किताब नमिलेर बसिरहेको अवस्थामा त्यसलाई नियमित गर्नुपर्छ नै । सूचना प्रविधि राम्रो थिएन, त्यसलाई पनि व्यवस्थित गर्नुपर्ने थियो । नयाँ नयाँ काम गर्दा नमिलेको हिसाबमा नयाँ ल्याएर थप्ने मात्रै हुने भयो । पहिलेको हिसाब मिलाएर नयाँ कार्यक्रम ल्यायो भने मात्रै सफल हुने भइयो । अब भने केही नयाँ कार्यक्रम अगाडि बढाउनुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौँ । एसेट म्यानेजमेन्ट कम्पनी र वैदेशिक रोजगारीमा गएका नेपालीलाई जोड्ने कार्यक्रम सञ्चालन गर्नैपर्छ । त्यसबाट अनौपचारिक क्षेत्रबाट आइरहेको पैसा औपचारिक क्षेत्रबाट नै आउन सक्छ । त्यसले सकारात्मक ऊर्जा प्रवाह गर्छ ।

नागरिक लगानी कोष जस्ता संस्थाले बजारमा सकारात्मक हस्तक्षेप गर्न सकेको भए बजारमा ब्याजदर क्रमश: घट्ने अवस्था आउँथ्यो । तर, तपाइँहरुले यसतर्फ कुनै पनि प्रयास गर्न नसक्नु भएको हो ?

हाम्रा केही सीमाहरु छन् । हामीले सहभागीलाई बढी सुविधा दिने हो । अरूलाई धेरै हामीले समेट्न सक्दैनौँ । बैंक तथा वित्तीय संस्थाले जस्तो खुल्लारुपमा बचत तथा कर्जा कार्यक्रम सञ्चालन गर्न सक्दैनौँ । बाहिरका निजी क्षेत्रले जस्तो कर्जा प्रवाह गर्न सक्दैनौँ । बचतकर्तालाई आवास कर्जा, शैक्षिक कर्जा, सरल कर्जा, धितोमा आधारित घडेरी कर्जामा बैंक तथा वित्तीय संस्थाले दिएकाभन्दा कममा कर्जा दिएका छौँ । आम रुपमा सबैलाई कर्जा दिने हाम्रो कार्यक्षेत्र होइन ।

कोषको ठूलो हिस्सा मुद्दती निक्षेपमा राख्नुभएको छ र ब्याज आम्दानी गरेर बसिराख्नुभएको छ । यस आधारमा हेर्दा तपाइँहरुको केही दायित्व हुँदैन ?

म यस संस्थामा आउँदा कूल पोर्टफोलियोको ६५ प्रतिशत बराबर रकम मुद्दती निक्षेपमा थियो । त्यसलाई बिस्तारै कम गरेर ५० प्रतिशतमा झारिएको छ । कूल स्रोत परिचालनको हिस्साका आधारमा हेर्दा सहभागीलाई कर्जा सापटी नै बढाएका छौँ । दोस्रोमा पूँजी बजारको विकास गर्नुपर्छ भन्ने सरकारको मान्यताअनुसार नै हामीले त्यसका केही औजारहरुमा लगानी गर्‍यौँ । स्टक डिलर स्थापना गर्नेदेखि ऋणपत्रहरुमा लगानी गर्ने, बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयरमा पनि लगानी गर्ने, सर्वसाधारणका लागि बिक्री गरिएका शेयरसमेत खरिद गर्‍यौँ । एकतातर्फ मात्रै लाग्यौँ भने भोलि कुनै क्षेत्रमा समस्या आयो भने यत्रो बचतकर्ताको पैसा जोखिममा पर्छ । सहभागीलाई दिने सुविधा त मुद्दती निक्षेपमा भएको पैसाभन्दा अन्यत्र लगानी भएको पैसाबाट बढी ल्याउनुपर्छ भनेका छौँ । त्यसैले बिस्तारै लगानी अन्य क्षेत्रतर्फ विस्तार गर्दैछौँ ।

जुन उद्देश्यका साथ नागरिक स्टक डिलरको स्थापना गरिएको थियो, त्यसअनुसार काम हुन नसकेको गुनासो पनि सुनिएको छ नि ?

सरकारको वित्तीय क्षेत्र विकास रणनीतिअनुसार नै पूँजी बजारलाई अलिकति भए पनि व्यवस्थित गर्ने उद्देश्यका साथ नागरिक स्टक डिलर स्थापना गरेका हाँै । जतिबेला सो संस्था बनायौँ, त्यतिबेला एउटा ठूला बास्केट फन्ड बनाएर लगानी गर्ने भन्ने हो । शेयर बजारमा नेप्से परिसूचक उकालो लागिरहेको बेला शेयर बजारमा अरू कसैले पनि शेयर कारोबार नगरोस् भन्ने मानसिकता पनि हाम्रोमा छ । लगानीकर्ताले नाफा जति आफैँ राखौँ भन्ने सोच रहन्छ । यो मानवीय स्वभाव पनि हो । तर, जब बजार घट्न थाल्छ र घाटा हुन थाल्छ तब मात्रै हामीलाई जोगाउने कुनै क्षेत्र भइदिनुपर्‍यो भन्ने आवाज उठ्न थाल्छ ।

लगानी गर्दा जोखिम हुन्छ भन्ने मूल्याङ्कन गरेर मानसिक रुपमा तयार भएर नै बजारमा पस्नुपर्छ । हाम्रोमा के भयो भने शेयर बजारमा लगानी गरेर जब नाफा कमाउन थाल्छ, उसले कही कतै बोल्दैन, तर जब घाटा हुन थाल्छ तब मात्रै बोल्ने अवस्था बनेको छ । स्टक डिलरले आफ्नै हिसाबले काम गर्दैछ । बढेको बेला पनि अत्यधिक बढ्न नदिने र घटेको बेला पनि धेरै घट्न नदिने परिस्थितिको सिर्जना गर्न लागेका छौँ । बास्केट फन्ड बनाएर पनि हामी अगाडि बढ्दैछौँ । स्थापना भएको दुई वर्षमा नै बजारमा पूराका पूरा हस्तक्षेप गरेर जाने अवस्था छैन । यसको क्षमताले भ्याउनु पनि पर्‍यो । यो पहिलो डिलर हो । यसले बिस्तारै गति लिन्छ ।

शेयर प्रत्याभूतिकर्ताको रुपमा कोषले पनि काम गरिरहेको छ । तर पछिल्लो पटक एक सिमेन्ट कम्पनीको शेयरलाई लिएर कोषको पनि चर्को आलोचना भयो, यसलाई कसरी लिनुहुन्छ ?

धितोपत्र बोर्डले प्रत्याभूतिकर्ता खोजेर ल्याऊँ भनेर नियममा नै व्यवस्था गरेको छ । त्यसअनुसार हामीले पनि केही शुल्क लिएर गर्छौं । बोर्डले चार प्रतिशत बराबरको शुल्क लिन पाउने व्यवस्था गरेको छ । त्यो पनि ठूलो मात्रामा हुन्छ । हामीले पनि कम्पनीको वित्तीय तथा सबै सूचक हेरेर विश्लेषण गर्छौं । हामीले बजारको मूल्याङ्कन गरी अरू शेयरको अवस्था पनि हेर्छांै । घोराही सिमेन्ट गत वर्षको असारभन्दा अगावै शेयर प्रत्याभूतिकर्ताको जिम्मा लिएका थियौँ । त्यतिबेला बजारमा शिवम् सिमेन्टको बजार मूल्य नौ सय रुपैयाँ बराबर थियो । हामीले अन्डर राइटको निर्धारण गर्दा र धितोपत्र बोर्डले निर्णय गर्दा यतिसम्म गर्न सक्छस भनेर अगाडि बढ भनेको अवस्थामा हामीलाई रु चार सय ३५ मूल्य राखेर प्रस्ताव लिएर आयो ।

हामीले सो मूल्य राख्दा घाटामा जाँदैनौँ भन्ने थियो । सबै विवरण हेर्दा हामी घाटामा पर्दैनौँ भनेर अन्डर राइट गर्‍यौँ । विभिन्न समूहले त्यसलाई विवादित बनायो । जतिबेला धितोपत्र बोर्डले शेयर बिक्रीको अनुमति दियो त्यतिबेला अनेक कारणले बिक्री हुने वातावरण बनेन । बोर्डले अन्डरराइटर र रेटिङ कम्पनीले प्रभावकारी काम गरेन भनेर विवाद निकालिदियो । बजारको अवस्था नै परिवर्तन हुँदा बिग्रने अवस्था पनि आयो । आफूले गरेको काममा हामी पूर्ण रुपमा जिम्मेवार छौ । बजारमा नबिकेको भए पनि हामी सो कम्पनीको सबै शेयर स्वीकार गर्थ्यौँ उत्पादनमूलक क्षेत्रमा आएको उद्योगलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सो कम्पनीको शेयर स्वीकार गरेका थियौँ । विभिन्न व्यवसायीको अस्वाभाविक प्रतिस्पर्धाका कारण सो विषय धेरै माथि उचालियो । आखिरी पछिल्लो समय त्यसमा खासै विवाद देखिएन ।

कोषले शेयर प्रत्याभूति गर्दा समस्यामा परेको त्यस्तै अन्य उदाहरण पनि छन् कि ?

हामीले केही शेयर भने उठाउनु परेको छ । त्यसबाट हामीलाई समस्या भएन, बरु फाइदा नै भयो । हामीले विभिन्न बैंकको ऋणपत्रको शेयर प्रत्याभूति गर्‍यौँ । बजारको मुद्दती निक्षेपभन्दा बढी ब्याज भएका ऋणपत्र स्वीकार गयौँ । बैंकको ब्याजदर घटेर आठ प्रतिशत बराबर आएको छ । हामीले सकारेको ऋणपत्रको ब्याजदर १० प्रतिशत माथि छ । यसले संस्थालाई वर्षको रु २५ करोडभन्दा बढी आम्दानी भएको छ । सानिमा र प्राइम बैंकको ऋणपत्रमा कोषलाई फाइदा भएको छ ।

कोषले नेपाल वायु सेवा निगमको जहाज खरिदका लागिसमेत ऋण लगानी गरेको थियो । नियमितरुपमा निगमले कर्जा भुक्तानी गरिरहेको छ ?
नेपाल वायु सेवा निगमले नियमित रुपमा हामीलाई कर्जाको साँवाब्याज भुक्तानी गरेको छैन । निगमले ल्याएका वाइडबडी जहाजमध्ये एउटा वाइडबडी जहाज हाम्रो ऋण लगानीमा खरिद गरेको हो । त्यसको निर्णय म आउनुभन्दा अगाडि नै भएको थियो । कोरोना कालमा कम्पनी नाफामा जान सकेन । बिस्तारै कोरोनाको असर सकिएर जहाज उडाएर पैसा कमाउने अवस्थाको सिर्जना भएको छ । बिस्तारै उसले पैसा तिर्दैछ । हामीले रु १२ अर्ब ऋण लगानी गरेका थियौँ । गत असार मसान्तसम्म रु १६ अर्ब चानचुन पुगेको छ । जुन टोकनका रुपमा गत असार मसान्तमा रु २५ करोड मात्रै तिरेको छ ।

जुन प्रकारले पैसा उठ्नुपर्ने थियो त्यसरी उठेको छैन । सरकार ग्यारेन्टी बसेकाले निगमले तिरेन भने सरकारले तिर्छ भन्ने विश्वास छ । निगमबाट प्राप्त हुने किस्ता नियमित नभएसम्म थप ऋण लगानी गर्ने विषयमा हामीले सोच्नैपर्छ । एक रुपैयाँ पनि बाँकी भएसम्म डिफल्टर नै हो । अहिलेको अवस्थामा निगमले आफ्नै स्रोतबाट किन्छौ भनेको छ । त्यो कति सम्भव छ, त्यही संस्थाले जान्ने कुरा हो । अहिले निगमको किस्ता नै नियमित नभएकाले नेपाल वायुसेवा निगम, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अर्थ मन्त्रालयलाई हामीले किस्ता तिर्नका लागि ताकेता गरिरहेका छौँ । तर, हामी भने डिफल्टरलाई जुनसुकै दबाब आए पनि ऋण भने दिन सक्दैनौँ ।

आगामी दिनमा कोषले थप नयाँ कस्ता कार्यक्रम ल्याउनुपर्ला भन्ने तपाइँलाई लागेको छ ?

मेरो विचारमा हालसम्म कोषले गर्दै आएको कामलाई नै निरन्तर रुपमा थप परिस्कृत गरेर जानुपर्छ । नागरिक पेन्सन कार्यक्रमलाई दायरा विस्तार गर्न सकिन्छ । थप कार्यक्रम ल्याउनेभन्दा पनि यसले जति थप स्रोत परिचालन गर्नुपर्ने हो, त्यसलाई नै पूर्वाधार क्षेत्रमा लगानी गरेर वा सदुपयोग गरेर जान सकेको खण्डमा राम्रो हुन्छ । एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गरेर जानुपर्छ ।

कोषलाई माथिल्लो तामाकोशी आयोजनाको सफल अभ्यासपछि थप केही ठूला आयोजनामा लगानीका लागि पनि प्रस्ताव आएको छ?
सकारात्मक ढङ्गले नै प्रस्ताव आएको छ । समृद्धिका आधार नै जलस्रोत हो । समयमा नै गर्नुपर्छ । समय र लागत नबढ्ने गरी ऊर्जा क्षेत्रको विकास गर्नुपर्छ । यसमा लगानी गर्न ढिलाइ भइसकेको छ । सरकारले पनि विद्युत् निर्यातका लागि विशेष ध्यान दिनुपर्छ । हामी यसमा सहभागी हुँदैछौँ । हामी उत्पादनमा प्रत्यक्ष सहभागी हुने होइन, लगानी गर्ने हो । अरू परियोजनामा लगानी गर्न तयार छौँ ।

कोषमा पैसा जम्मा गर्नेले १५ प्रतिशत बराबरको कर तिर्नुपर्छ । सेवाग्राहीमाथि करको भार थोपरिएको भन्ने सेवाग्राहीको गुनासोलाई के भन्नुहुन्छ नि ?

यसमा सबै प्रस्ट हुनुपर्छ । हामीसँग धेरै योजना छन् । त्यसमध्ये कर्मचारी बचत वृद्धिमा कर लाग्दैन । त्यसमा सरकारले रु तीन लाखसम्ममा कर छुट दिएको छ । पहिलो पाँच लाखसम्म एक पैसा पनि कर लाग्दैन । दोस्रो पाँच लाखमा पाँच प्रतिशत कर लाग्छ । बाँकी रु १० लाखभन्दा बढीमा जति जम्मा भएको छ त्यसको ५० प्रतिशतमा पाँच प्रतिशत लाग्छ । त्यो भनेको कर्मचारीको तलब बराबरको रकममा कटाएर जम्मा हुन्छ । त्यो भनेको सेवाग्राहीले सम्बन्धित संस्थामा कर नतिरी जम्मा गरिदिएको पैसा हो । उता कर तिरेको हुँदैन । आयकर ऐनअनुसार थप लाभ दिएको अवस्थामा कुनै पनि संस्थाले कर्मचारीको नियमानुसार कर कट्टा गरेर भुक्तानी दिनुहुन भनेर हिसाबै नगरी पठाउने गरेको हुन्छ । उताबाट कर नतिरी आएको पैसा, उपदानमा जम्मा भएको पैसामा मात्रै १५ प्रतिशत कर लाग्छ, सबैमा होइन । २०७५ असारसम्म पाँच प्रतिशत मात्रै कर लिइएको थियो भने त्यसपछिको बजेट वक्तव्यअनुसार कर लाग्न सुरु भएको हो । हामीले ऐन कार्यान्वयन गरेका हौँ । रासस