काठमाडौं । चीनद्वारा नेपाललाई अनुदान स्वरुप प्राप्त अक्सिजन सिलिण्डरलगायतका स्वास्थ्य सामग्री नेपाल ल्याइँदै छ । चीनको खासाबाट स्वास्थ्य सामग्री बोकेका गाडीहरु नेपालको तातोपानी नाकातर्फ प्रस्थान गरिसकेको बताईएको छ । तातोपानी भन्सारमा चीनले ती सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ ।
चीनले २० हजार थान अक्सिजन सिलिण्डर, भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्रीहरु नेपाल सरकारलाई अनुदानमा दिने घोषणा गरेको छ । केही थान सिलिण्डरहरु नेपाल एयरलाइन्सको वाइडबडी जहाजले बेइजिङबाट ओसारेको छ । पहिलो खेपमा चार सय थान अक्सिजन सिलिण्डर ल्याएको जहाज दोस्रो खेप लिन गएराति फेरि बेइजिङ गएको छ । आज १८ हजार थान अक्सिजन सिलिण्डर स्थलमार्ग हुँदै आउन लागेको हो ।
अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्रीहरु न्यालम कस्टमबाट छुटिसकेको बताईएको छ । सामान आउनासाथ आवश्यक प्रक्रिया पूरा गरी काठमाडौं पठाइनेछ । स्वास्थ्य मन्त्रालयलाई चीनले सामान हस्तान्तरण गरेपछि सुरक्षित साथ छिटो पठाउने प्रक्रिया अघि बढ्ने भन्सार कार्यलयले जानकारी दिएको छ ।








