काठमाडौं । प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणा बदर गर्ने मागसहित रिट हाल्न विपक्षी गठबन्धनका नेताहरु आज सर्वोच्च अदालत जाने तयारीमा छन् । नेपाली काँग्रेस सभापति शेर बहादुर देउवासहित माओवादी अध्यक्ष प्रचण्ड,एमाले नेता माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव अदालत जाने तयारीमा रहेको बताईएको छ । गोविन्द बन्दी,खम्ब खाती लगायतका वकिलहरुले रिटको मस्यौदा तयार पारेका छन् ।
सकेसम्म आजै सर्वोच्च अदालत जाने तयारीमा आफूहरु रहेको नेपाली कांग्रेसका सचेतक पुष्पा भुसालले जानकारी दिएकी छिन् । देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १४९ जना सांसदको तर्फबाट रिट तयार भएको र सबैजना भौतिक रुपमा अदालतमा उपस्थित हुने बताइएको छ ।
संविधानको धारा ७६ को उपधारा ५ बमोजिम कांग्रेस सभापति शेरवहादुर देउवाद्वारा १४९ जना र केपी शर्मा ओली पक्षबाट १५३ जना सांसदको हस्ताक्षर आाएको थियो । तर दाबी नपुगेको भन्दै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते नयाँ निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।








