१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

छुवाछुतमा डर छ कि डलर ?



अ+ अ-

नेपाली समाज अर्थ, भूगोल, धर्म, राजनीति आदि विधाबाट विभाजित छ । यी विभाजनले कतै खाडल खनेको छ, केहीमा द्वन्द्व उपन्न गराएको छ, कसैमा वैमनस्य जन्माएको छ । धर्मका नाममा भएको विभाजनले जात उत्पन्न गरिदियो । जातलाई युगानुकूल नबुझ्दा छुत, अछुत गरी भाइचारलाई भद्रगोल बनाइदियो । उच्च र निच, पवित्र र अपवित्रजस्ता भावले सृजना गरेको भेदभावलाई छुवाछुत भनियो । छुन हुने र नहुने विभेदको जरो धर्मको जस्तो देखिए पनि राजनीतिक दुराग्रहले यसलाई उमारेको हो । वेद, पुराण, गीता, मन्धुम, त्रिपिटक आदि ग्रन्थहरुले कुन जात र थरका मानिसलाई कसले छुन हुने र नहुने, कुन उपल्लो र तल्लो भन्ने विषयमा उल्लेख नै गरेका छैनन् ।

वेदले यी थरहरु ब्राह्मण मा पर्छन्, यी थर भएका मानिस शूद्र हुन् भनेको छैन ।ब्राह्मण  ज्ञानले, क्षत्रिय बलले, वैश्य व्यापारले, शूद्र सेवाभावले आदरणीय हुन्छन् । हाम्रा शास्त्रले सबैलाई समान स्थान र भूमिका दिन्छन् । यो थर भएकाले मात्र लुगा सिलाउने, छाला र फलामको काम गर्ने, कर्मकाण्ड गर्ने भन्ने निर्देशन शास्त्रले दिएको छैन । चार जातको काम, कर्तव्यको चर्चा स्मृति आदि ग्रन्थमा छ तर त्यहाँ पनि यी यी थरहरु यो जातमा पर्छ भनिएको छैन । किन कि जतिवेला वेद, पुराण आदि लेखियो त्यतिबेलासम्म थरको जन्म नै भएको थिएन भने छुवाछुत कहाँबाट उत्पन्न हुनु । धर्मगुरु निदाएको, राजनीति सुस्ताएको, शकुनि जागेको अवस्था पारेर छुवाछुतको जन्मदाता धर्मलाई मानिएको छ ।

राजनीतिले जन्माएको छुवाछुतमा हिन्दूधर्मको रङ्क पोतेर जबरजस्ती नेपालीलाई बोकाइएको छ । पश्चिमाले मिलेको नेपाली समाज, एकजुट भएको समुदाय, आत्मीय परिवारलाई फुटाउन छुवाछुतको डढेलोमा डलरको चरु र जातको तेल होमिदिएका छन् । उपनिवेशलाई जन्माउने, विकासोन्मुख राष्ट्रका स्रोत र साधनमाथि गिद्दे नजर राख्ने  पश्चिमाहरुबाट वैदिक धर्म, शास्त्र र पुर्खाको बदनाम गराउने भगीरथ प्रयास हुँदै आएको छ । हिन्दूधर्मले विद्वत्ता, दक्षता, रुचि, पेशाअनुसार जातको निर्धारण गर्छ । जातिव्यवस्थालाई बन्द व्यवस्था भनेर अहिले गलत व्याख्या गरिएको छ ।

वास्तवमा थरचाहिँ बन्द व्यवस्था हो, जात परिवर्तनशील व्यवस्था हो । थरको उत्पत्तिपछि छुवाछुतजस्तो अमानवीय एवं निन्दनीय कुप्रथाहरू देखा परेका हुन् । जस्तै भगवान् वेदव्यासको जन्म मत्स्यगन्धा नामकी शूद्र कन्याबाट भएको थियो । वेदका मन्त्रहरू सङ्कलन गरी चार भागमा विभाजन गरेका हुनाले कृष्णद्वपायनको नाम वेदव्यास हुन पुग्यो । महाभारत, अठार पुराण, अठार उपपुराणलगायतका शास्त्रहरू रचना गरेका वेदव्यास ज्ञान र ध्यानका प्रभावले शूद्रबाट ब्राéण बने । शूद्रलाई छुन हुँदैन भने ब्राéणहरूले वेद कसरी पढ्न हुन्छ ? किनकि वेदका मन्त्रहरुको सङ्कलन त शूद्र जातिमा जन्मिएका वेदव्यासले गरेका हुन् । 

जातिव्यवस्था रहेसम्म एउटै परिवारभित्र चारै जातिका मानिसहरू पाइन्थे । जस्तै बुबाले पढाउँछ भने ब्राéण, छोरा सैन्य सेवामा भए क्षत्री, बुहारी व्यापार गर्छिन् भने वैश्य, छोरी नर्स वा डाक्टर पेशामा संलग्न भए शूद्र जातिमा पर्दछिन् । एउटै व्यक्ति पढाउन जाँदा ब्राéण, व्यापार गर्दा वैश्य, सेवामूलक कार्यमा संलग्न भए शूद्र हुन्थे । एउटै व्यक्ति एकै दिनमा चारै वर्णको हुन सक्ने व्यवस्था हाम्रा धर्म र शास्त्रमा छ ।

ब्राह्मण गस्यमुखमासिद्बाहूराजन्यः कृतः ।
ऊरु तदस्ययद्वैश्यः पद्भ्यां शूद्रोगअजायत ।।
        –शुक्लयजुर्वेद (३१।११)

अर्थात्, “परमात्माको मुखबाट ब्राम्हण, पाखुराबाट क्षत्री, तिघ्राबाट वैश्य र पैतालाबाट शूद्रको जन्म भयो ।” वेदका यी साङ्केतिक वचनले पेशा, रुचि, दक्षता आदिका आधारमा मानिसलाई विभिन्न जातमा विभाजन गरिएको पुष्टि हुन्छ । थरका बाहुनलाई ब्राéण भनिएको होइन । वेदमा शूद्रजातभित्र यी यी थर पर्छन्, त्यसैले छुन हुँदैन भनेर लेखिएको छैन । बौद्धिक बल भएका ब्राह्मण (पुरोहित), शारीरिक बल भएका क्षत्रिय, आर्थिक बल भएका वैश्य, सेवभाव भएका शूद्र हुन् ।

द्वापरयुग अर्थात् आजभन्दा पाँच हजार वर्षअघिसम्म राई, कोइराला, देवकोटा, आचार्य, लिम्बू, गुरुङ आदि थरको विकाश भएको थिएन । थरको विकाशसँगै तल्लोस्तरको काम गर्ने मानिसहरूलाई हेयको दृष्टिले हेर्न थालियो । यो क्रम बढ्दै गएर अन्ततः छुवाछुतको जन्म हुन पुग्यो । विश्वकर्मा (इन्जिनियर)का सन्तानहरू कामीको दर्जामा पुगे, सामवेदका अनुयायी (गायक)हरु गाईनेमा गनिए,  छालाको उपयोगिता जान्ने विज्ञहरु सार्कीमा रुपान्तरित भए । हाम्रा कुनै पनि पुराणमा पोडे, चमार, मुहरलगायतका थर छैनन् भने तिनीहरुलाई हेप्ने, चेप्ने र थिच्ने त कुरै भएन । यस्ता विभेद युरोप र अमेरिकामा सामन्तवादी शासकले गरे भने आर्यवर्तमा महाभारतको युद्धपछि बीजारोपण हुन थाल्यो । देवीदेवता, ऋषिमुनि आदिको जात र थर दुबै छैन, न त छुवाछुतको विभेद छ ।

जस्तै महादेव, विष्णु, राम, कृष्ण, कश्यप, विश्वामित्र, वशिष्ठ आदिको थर छैन । रत्नाकार चोर थिए, शास्त्र अध्ययनपछि ब्राह्मण  बने । रावणका तीन दाजुभाइमा रावण र कुम्भकर्ण खराब कर्मले राक्षस भए तर विभीषण क्षत्रिय राजा र चिरञ्जीवि बने । क्षत्रिय वंशमा जन्मिएका विश्वामित्र पनि योग, साधना, जप, तप र ब्रम्हचिन्तनले ब्रम्हर्षि बने । हिन्दूधर्मले सवरी र रामलाई, कृष्ण र सुदामलाई जोडेको छ । डाकुलाई वाल्मीकि र मूर्खदासलाई कालीदास बनाएको छ । हाम्रा शास्त्रले ज्ञानलाई शिरमा राख्छ जातलाई हेरेर ढोग्न र तिनका पछि लाग्न भन्दैन ।   

जातो व्यासस्तु कैवत्र्यां श्वपाक्यां तु पराशरः ।
वेश्याया गर्भसंभूतो वशिष्ठस्तु महामुनिः ।।

अर्थात्, “माझीकी छोरीबाट जन्मिएका वेदव्यास सबैका पूज्य भए, चण्डालपुत्रका  पराशरसमेत ऋषिहरूमा पूज्य भए, वेश्याबाट जन्मिएका वशिष्ठ ब्रम्हर्षि बने ।” आफ्नो परिचय आफैँले बनाउनुपर्छ । पुर्खाको विरासदमा कुर्लन हुँदैन भन्ने ज्ञान हाम्रा शास्त्र र पुर्खाले दिन्छन् । ब्रम्हाजीले सबै प्राणीको सृष्टि गरे तर यिनीहरु पवित्र समूहमा पर्छन् बाँकी अछुत हुन् भनेनन् । मनुष्यहरु मनु र सतरुपाका सन्तान हुन् तर मनुस्मृतिले यी थरहरु पवित्र र अरु अछुत भनेन । वृहदारण्यकोपनिषद्मा गौतम ऋषिले राजासँग ज्ञान लिएको, राजा जनकसँग विभिन्न विद्वान्, विदुषीले शिक्षा लिएको उदाहरणहरू पाइन्छन् । जातिवादले छुवाछुत जन्माएको भए त क्षत्रीसँग ब्राम्हणले पढ्नै नहुने । ब्राम्हणले मात्र पढाउनुपर्छ, उपदेश दिनुपर्छ भन्ने छैन ।

गीतामा पनि विभिन्न समयमा विद्या कमजोर भएको र ब्राéणइतरका महामनाहरूले ज्ञान प्रचार र उत्थानमा सहयोग पु(याएको इतिहास छ । हरिवंशपुराणमा भनिएको छ– नाभागारिष्टपुत्रौ द्वौ वैश्यौ ब्राम्हणतां गतौ अर्थात् नाभागारिष्टका दुई पुत्र वैश्यबाट ब्राéण भए । विभिन्न समयमा भएका युद्ध र दैवीविपत्ति र राजनीतिबाट छुवाछुत जन्मन पुग्यो । छुवाछुत जन्मन निम्न घटनाहरु पनि कारण बन्न पुगे ।  

(१) महाभारतको युद्धमा विद्या, विकाश, वैभव र विज्ञानको सर्वविनाश भयो । योग्य विद्वान्, परिश्रमी, युवा, अथाहा कला, सम्पत्ति र सम्पदा यही युद्धमा सखाप हुन पुगे । महाभारत युद्धसँगै उपत्न अस्थिर राजनीतिलाई व्यवस्थापन गर्न शासकहरुले अनेक हत्कण्डा अपनाउन थाले । विद्वान्हरु पनि शासकका दास र कामदारजस्ता बन्न पुगे । गुरुकुल र वंशपरम्पराबाट अगाडि बढ्दै आएको शिक्षा व्यवस्था कमजोर बन्दै जाँदा समाज, संस्कृति र सभ्यता रुग्ण हुन थाले ।  

(२) तक्षशीला, विक्रमशीला, नालन्दाजस्ता विश्वविद्यालयमा आगो लाग्यो । विशाल आर्यवर्त ससाना राज्यमा विभाजित हुन पुग्दा राज्यबाट विद्या, विज्ञान, संस्कृति, संस्कार संरक्षणमा ध्यान पुग्न सकेनन् र कुप्रथाहरुले जरा गाड्न पुग्यो ।  

(३) लामो समयसम्म भारतमा मुसलमानले शासन चलाए । उनीहरूको शासनकालमा कैयौँ हिन्दूहरू बाँच्नका लागि इस्लाम(मुसलमान) बने । अंग्रेजहरु प्रवेशसँगै यहाँका हरेक पक्ष बिटुला, छिन्नभिन्न र अस्तित्वबिहीन बन्न पुगे । अङ्ग्रेजले त न्वारनकै बल लगाएर बोक्सी, सती, छुवाछुत प्रथा हिन्दूधर्मको पेवा हो भनेर रटान लगाए । यसरी गलत मान्यता र परम्परा बिस्तारै धर्मका अङ्ग बन्न पुगे । किनेर, भ्रम छरेर, विभीषण जन्माएर, विवाद खडा गरेर विदेशीले हाम्रो गौरव गाथालाई गलाउन, गडाउन र सडाउन लागि परे । हाम्रो धर्म, शिक्षा, संस्कार, राजनीति, ज्ञान, भाषा, पहिरन, इमानलाई अंग्रेजले उठ्न नसक्ने, उठे पनि हिँड्न नसक्ने, हिँडे पनि दौडन नसक्ने अवस्थामा पु-याइदिए । यसबाट छुट्करा पाउन हामीले शास्त्र पढ्न, इतिहास बुझ्न र विदेशीको प्रभावबाट जोगिन आवश्यक छ । यसका लागि आगामी दुई सय वर्ष इमान्दारीका साथ कडा मिहिनेत गर्नुपर्छ ।

नेपालबाट छुवाछुत हटाउने हो भने थरलाई हटाएर गोत्र, पाछा, सामे मात्र राख्नुपर्छ । जस्तै चामलिङ राईहरूको दोवालीछा पाछा हो, उनीहरूले राई नलेखेर दोवालीछा लेख्ने । आत्रेय गोत्र भएका पोखरेलहरूले नामको पछाडि आत्रेय लेख्ने । छुवाछुतको चपेटामा परेकाहरूलाई आर्थिक, शैक्षिक, साँस्कृतिकरुपमा सबल तुल्याउने । यहाँ त छुवाछुत हटाउने नाममा केहीको व्यापार फैलिएको छ, राजनीति मौलाएको छ, विदेशीको चलखेल बढेको छ, टाठाबाठाको खेती फस्टाएको छ, लक्षित समूह भने सबैको खेलौना भएका छन् । चर्को भाषण र ठूला -याली गरेर, संविधानमा लेखेर, आरक्षणको घुम्टो ओडाएर छुवाछुतको अन्त्य हुँदैन ।

जयस्थिति मल्लले चार जात ३६ वर्णमा विभाजित गरेको नेपाली समाजलाई जङ्गबहादुरले वि. सं. १९१० मा मुलुकी ऐन ल्याएर विश्रृङ्खलित बनाए । यसलाई हटाउन वि. सं. २०२० सालमा राजा महेन्द्रले नयाँ मुलुकी ऐन ल्याएका थिए । प्रभावकारी कार्यान्वयनको अभावमा प्रतिफलमुखी हुन सकेन । अहिले यसलाई निको पार्नतिर नलागेर खाने भाँडो, माग्ने झोली, विभाजन गराउने खाँडो बनाउँदैछन् । बाह्य सहयोग र धर्मपरिवर्तनबाट समस्या समाधान हुन सक्दैन । 

तं शशाप कुलाचार्यः कृतागसमकामतः ।
न क्षत्रबन्धुः शूद्रस्त्वं कर्मणा भवितामुना ।।
            –श्रीमद्भागवत्पुराण (९।२।९)

पृषध्रले गाईको हत्या गरेको हुनाले शूद्र हुनुप-यो । गलत कर्म गर्नेहरु शूद्र बन्ने तर कुन थर र कुलमा जन्मियो त्यसका आधारमा शूद्र हुने व्यवस्था हाम्रा शास्त्रमा छैन । अहिले पनि तल्लो जातमा जन्मिएका कैयौँ विद्वान्, साधक वा महापुरुषहरूलाई उपल्ला जातका विद्वान्, विदुषीले मानेको, पूजेको, श्रद्धा गरेको देख्न पाइन्छ । लिम्बूकुलका महागुरु फाल्गुनन्द, राईकुलका सं. डा. स्वामी प्रपन्नाचार्यजी महाराज, क्षत्रिय कुलका योगीराज योगी नरहरिनाथ, तामाङ परिवारमा जन्मिएका कालिञ्चोकबाबा आदि यसका ज्वलन्त उदाहरण हुन् ।

आचरण, संस्कार नभएका बाहुनहरूलाई कसले सम्मान गरेको छ र ? धर्मले यो जातिलाई नछुनु, यसले ल्याएको पानी नचलाउनु, यसले पकाएको भात नखानु भनेको छैन । हुने र नहुने हामीले बनाएका हौँ र अपजश हिन्दूधर्मलाई दिन्छौँ । १२ वर्षे 'जनयुद्ध'मा गाई काटिए, पूजारी कुटिए, संस्कृतका ग्रन्थहरु जलाए, मान्छेलाई मार हाने । यसो हुँदैमा नेपालीले शास्त्र जलाउँछन्, गाई काट्छन्, मन्दिर भत्काउँछन् भन्न मिल्छ त ? कुप्रथालाई शासकले जन्माउँछन् त्यसको जिम्मा वेदले लिनुपर्ने, विकृति राजनीतिकर्मी मौलाउँछन् त्यसमा टेण्डर आह्वन हिन्दूले गर्नुपर्ने ? नकाम नेताहरु गर्छन् त्यसको ओठ पुराण र मुन्धुमले ढाकिदिनु पर्ने ? गीतामा श्रीकृष्णले भन्नुभएको छ– चातुर्वण्र्यं मया सृष्टं गुणकर्म विभागशः चार वर्णको जन्म मैले गुण र कर्मका आधारमा गरेको हूँ । न जन्मतो न जनकाद् ब्रम्हतेजः प्रजायते जस्ता मान्यता यसैका परिपोषक हुन् । छुवाछुत न त धर्मले, न त हाम्रा पुर्खाले, न त हाम्रो संस्कृतिले जन्माएका हुन् ।

यसलाई उन्मूलन गराउन पश्चिमाले खर्च गर्छन्, राजनीतिकर्मीहरुले चुनावको मुद्दा बनाउँछन्, मानवअधिकारकर्मीहरुले कुर्लन्छन् तर जरोमा बसेर कसैले उपचार गर्दैनन् । यो रोग हो उपचार गर्नुपर्छ तर यसलाई विज्ञापन गरी भड्काउँदा केहीको रासनपानी चल्ने हुँदा शासकहरु मौन छन्, यसका विज्ञहरु मूकदर्शक छन् । हामी वसुधैवकुटुम्बकम्, सहनाभवतुको नारा लिएर प्राणी र प्रकृतिलाई माया गर्छौ भने नेपालीनेपालीबीच किन अभद्र र अमानवीय कर्म गर्न रुचाउँछौँ ? नेपाल गरिब हुनमा, नेपालीबीच फुट आउनमा विदेशबाट लादिएको मनोवैज्ञानिक शिक्षा, उनीहरुले रटाइदिएको गलत इतिहास, उनीहरुले खुवाइदिएको डलर हो । त्यसकारण यसको अपजश र ठेक्का हिन्दूधर्मले लिन सक्तैन ।