७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी

लेकाली भेगका किसानको रोजाइमा भेडापालन

लेकाली भेगका किसानको रोजाइमा भेडापालन
अ+ अ-

भोजपुर । भेडापालन व्यवसाय यहाँका लेकाली भेगका किसानका लागि राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक भेडापालनबाट यहाँका कृषकले वार्षिक रु सातदेखि नौ लाखसम्म आम्दानी गर्दै आएका छन् । पछिल्लो समय भेडाको घ्यूसँगै मासुको बजारमा राम्रो माग रहेको टेम्केमैयुङका स्थानीय भेडापालक कृषक गोविन्द बस्नेतले बताउनुभयो ।

भेडापालक कृषकले भेडा, ऊन, घ्यू, मोही, छुर्पीलगायत बिक्रीबाट आम्दानी लिने उहाँको भनाइ छ । त्यस्तै ऊनबाट बन्ने राडी, पाखी, लुकुनीलगायत पनि किसानको आम्दानीको स्रोतका रुपमा रहेको छ । एक कृषकले यो व्यवसायबाट वार्षिक रु पाँचदेखि नौ लाखसम्म आम्दानी लिने गरेको बस्नेतले जानकारी दिनुभयो ।

“भेडापालनबाट वार्षिक रुपमा रु पाँचदेखि नौ लाखसम्म आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “भेडापालनबाट राम्रो आम्दानी लिन सकिन्छ, यहाँ उत्पादन भएको भेडाजन्य सामग्रीको देशका विभिन्न ठाउँबाट माग हुने गरेको छ ।” औषधिका रुपमा प्रयोग हुने तथा खानमा स्वादिष्ट हुने भएकाले भेडाको घ्यूको माग धेरै रहेको कृषक शेरबहादुर कठेतले बताउनुभयो । भेडाको घ्यूलाई डढेको घाउको खतलाई हटाउनका लागि राम्रो मानिने उहाँको भनाइ छ ।

भेडाको घ्यू प्रतिकिलो रु चार हजारदेखि पाँच हजारसम्ममा बिक्री हुने उहाँले जानकारी दिनुभयो । त्यस्तै ऊनप्रति किलो रु सात सय र मासु प्रतिधार्नी रु एक हजार पाँच सयदेखि दुई हजार पाँच सयसम्म पर्ने कठेतले बताउनुभयो । भेडापालन व्यवसायलाई निरन्तरता दिन सके राम्रो आम्दानी गर्न सकिने किसान उहाँको भनाइ छ ।

“यो व्यवसायमा दु:ख अलि बढी छ, दु:ख अनुसारको आम्दानी हुन्छ”, किसान कठेतले भन्नुभयो, “खास गरेर भेडाको घ्यूसँगै मासुको माग धेरै छ, भेडाको घ्यू औषधि पनि हुन्छ, भेडाको बल्याक्ख्रा (बोका) को पनि माग धेरै छ ।” यहाँका एक कृषकसँग एक सय ५० सम्म भेडा रहेको उहाँले जानकारी दिनुभयो । धेरै भेडा हुनेले वर्षमा रु आठदेखि १० लाखसम्म आम्दानी गर्ने कृषक कठेतले बताउनुभयो ।

“भेडा राम्ररी फस्टाए भने आम्दानी राम्रो छ”, उहाँले भन्नुभयो, “एक सय ५० देखि दुई सयसम्म भेडा पाल्दा आठ/दश लाखसम्म आम्दानी लिन सकिन्छ ।” यहाँका किसानले उत्पादन गरेको घ्यू, राडी, पाखी, लुकुनीलगायत वस्तु स्थानीय बजारसँगै धरान, विराटनगर, काठमाडौँलगायत ठाउँमा जाने गरेको छ ।

पछिल्लो समय युवा पुस्तासमेत भेडापालनमा आकर्षित भएको कृषक कठेतको भनाइ छ । विदेश गएर आएका युवाहरुले पनि व्यावसायिक रुपमा भेडापालन गरिरहेको उहाँले जानकारी दिनुभयो । “युवा पुस्तामा भेडापालनप्रति आकर्षण छ”, कठेतले भन्नुभयो, “गाउँका कतिपय युवा विदेशमा कमाई गर्न नसकेर आएर भेडापालन गरेर राम्रो आम्दानी लिँदै आएका छन् ।”

मैयुङ डाँडा क्षेत्रमा २८ बढी व्यावसायिक भेडीगोठ रहेको उहाँले जानकारी दिनुभयो । प्रशस्त चरण क्षेत्र भएका कारण यहाँका मैयुङ डाँडा, टेम्के डाँडा, चखेवालगायत क्षेत्रलाई भेडापालनका लागि उपयुक्त स्थान मानिन्छ । यो समयमा भेडा माथिल्लो भेगको चरण क्षेत्रमा रहेको भेडापालक कृषक भक्तकुमार राईले जानकारी दिनुभयो ।

चिसो मौसममा तल्लो भेगमा झारे पनि बर्सात अर्थात् तातो याम सुरु भएपछि भेडालाई माथिल्लो भेगमा लगिने किसान राईको भनाइ छ । धेरै दु:खको काम भएकाले यस्तो पेसामा लाग्ने कृषकलाई राज्यले प्रोत्साहनमूलक कार्यक्रम ल्याउनुपर्ने उहाँको भनाइ छ ।

“यो एउटा परम्परागत पेसा हो”, कृषक राईले भन्नुभयो, “धेरै ठाउँमा भेडापालन व्यवसाय लोप हुने अवस्थामा पुगेको अवस्था पनि छ, धेरै दु:ख कष्टका साथ पुख्र्यौली पेसालाई धानेका छौँ, तर राज्यको ध्यान गएको छैन, राज्यले यस्ता पेसा व्यवसायको संरक्षण ध्यान दिन आवश्यक देख्छु ।”

भेडा बिरामी हुँदा औषधि उपचारका लागि भने समस्या हुने गरेको उहाँको भनाइ छ । राज्यले किसानहरुको पशु बीमा गरिदिए सहज हुने र किसानलाई थप लाभ पुग्ने उहाँको भनाइ छ । चरण क्षेत्रमा हुँदा उपचारको अभावमा भेडा मर्ने गरेको किसान राईको भनाइ छ ।

आम्दानी हुने भए पनि भेडापालन व्यवसायमा दु:ख तथा समस्या भने धेरै रहेको भेडापालक कृषक नुर्वु शेर्पाले बताउनुभयो । सामुदायिक वनका कारण चरणका लागि समस्या हुने गरेको उहाँको भनाइ छ । त्यस्तै बाघ, भालु तथा कुकुरले पनि भेडा मारी दिने समस्या बढी रहेको किसान शेर्पाले बताउनुभयो । भेडामा देखिने धक्ने, छेर्ने, ढाडिने, माटो खानेलगायत रोगले धेरै दु:ख दिँदै आएको उहाँको भनाइ छ ।

“आम्दानी हुन्छ, तर भेडापालनमा चुनौती पनि छ”, कृषक शेर्पाले भन्नुभयो, “विभिन्न वन्यजन्तुले भेडा मार्ने डर हुन्छ, चरण क्षेत्रमा पर्ने सामुदायिक वनहरुले महङ्गो शुल्क लिन्छन्, यहाँ चराएबापत एक भेडीगोठको रु एक हजारदेखि रु पाँच हजारसम्म तिनुपर्छ ।” रासस