१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जाका छ हजार करदाताले बुझाएनन् आयकर विवरण



वालिङ, स्याङ्जा
अ+ अ-

वालिङ । गत वैशाख २५ गतेसम्म स्याङ्जाका छ हजार बढी करदाताले आयकरतर्फको आय विवरण बुझाएका छैनन् । करदाता सेवा कार्यालयमा दर्तामा रहेका कूल १४ हजार चार सय ४७ सङ्घसंस्था, कम्पनी, समूह, समिति र फर्म रहेकामा छ हजार एक सय १० करदाताले आयकर विवरण नबुझाएका हुन् ।

गत वैशाख मसान्तसम्म करदाता सेवा कार्यालयमा आयकरतर्फको आय विवरण नबुझाउने छ हजार एक सय १० करदातालाई आय विवरण बुझाउन पत्राचार तथा सूचना जारी गरिएको कार्यालय प्रमुख कर अधिकृत शोभाकान्त पङ्गेनीले बताउनुभयो ।

गत चैत २५ गतेसम्म छ हजार पाँच सय १५ जनाले आय विवरण बुझाउन बाँकी रहेकामध्ये वैशाख मसान्तसम्म चार सय पाँच जनाले आय विवरण बुझाएको उहाँले बताउनुभयो । प्रत्येक आर्थिक वर्ष सकिएपछि असोज मसान्तभित्र आय विवरण बुझाउनुपर्नेमा करदाताले आय विवरण नुबझाएपछि पत्राचार तथा फोन सम्पर्क भइरहेको उहाँले जानकारी दिनुभयो ।

“कतिपयले व्यापार व्यवसाय छाड्नुभयो तर स्थायी लेखा नम्बर बन्द गर्नुभएको छैन”, उहाँले भन्नुभयो, “व्यापार व्यवसाय छाडेको भए समयमै स्थायी लेखा नम्बर स्थगन गर्न करदातालाई पत्राचार गरिएको छ ।”

व्यापार व्यवसाय सञ्चालन गर्न छाडे पनि थाहा नभएकै कारण यी समस्या देखिएका हुनसक्ने भएकाले वस्तुगत सङ्घसंस्था, जिल्लास्थित उद्योग वाणिज्य सङ्घमार्फत र स्वयं करदातालाई टेलिफोन वा म्यासेजमार्फत आयकर विवरण बुझाउन ताकेता गरिएको उहाँले बताउनुभयो ।

समयमै आयकर नबुझाउने करदातालाई आन्तरिक राजस्व कार्यालयबाट आयकर ऐन २०५८ अनुसार अन्य कानुनी कारबाही तथा विलम्ब शुल्क लिने व्यवस्था रहेको छ । जिल्लाका ११ पालिकामध्ये करदाता सेवा कार्यालयले पत्राचार गरेसँगै विवरण बुझाउने सम्पर्कमा आई विवरण बुझाउन थालेकाले सङ्ख्या घट्दै गएको छ ।

उहाँका अनुसार वैशाख मसान्तसम्म वालिङ नगरपालिकाभित्रका एक हजार आठ सय ८९, पुतलीबजार नगरपालिकाका एक हजार तीन सय २०, भिरकोट नगरपालिकाका तीन सय ९०, चापाकोट नगरपालिकाका पाँच सय ७९, गल्याङ नगरपालिकाका छ सय ९६ करदाताले आयकर विवरण बुझाएका छैनन् ।

आँधीखोला गाउँपालिकाका दुई सय २६, फेदीखोला गाउँपालिकाका दुई सय ५८, बिरुवा गाउँपालिकाका एक सय ३५, अर्जुनचौपारी गाउँपालिकाका एक सय ७४, कालीगण्डकी गाउँपालिकाका दुई सय एक र हरिनाश गाउँपालिकाका दुई सय ४२ करदाताले आयकर विवरण बुझाउन बाँकी छ । रासस