• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   बुद्धजयन्ती मनाइयो ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक ★   महासङ्घ अध्यक्ष ढकालद्वारा जलवायुमैत्री लगानी बिस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह ★   मायादेवी पदमार्गको विकास र लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि मायादेवी ट्रेल रनको आयोजना ★   पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज ★   साकेला उभौली: उल्लासमय बन्दै किराँत गाउँबस्ती ★   पोर्चुगलमा नेपाली रेष्टुराँलाई अन्तर्राष्ट्रिय अवार्ड

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी



काठमाडौँ । नेपाल सरकारले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको प्रतिनिधिसभामा छलफल जारी छ ।

आइतबारदेखि सुरु भएको उक्त छलफलमा आज पनि सांसदहरूले आफ्ना धारणा राख्नुभएको थियो । आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सत्ता पक्षका सांसदहरूले नीति कार्यक्रम राम्रो रहेको बताउँदै कार्यान्यवनमा जोड दिनुपर्ने बताउनुभएको छ भने प्रतिपक्षका सांसदहरूले नीति तथा कार्यक्रमले अहिलेको मुलुकको समस्या समाधान गर्ने गरी कार्यक्रम नरहेको टिप्पणी गर्नुभएको छ ।

बैठकमा नेपाली कांग्रेसका वीरबहादुर बलायरले नीति तथा कार्यक्रमले पछाडि परेका समुदाय, दलित, महिला सबैका विषय समेट्नुपर्ने र समग्रमा मुुलुकको विकास र समृद्धिका लागि बजेट बनाउनुपर्ने सुझाव दिनुभयो । नेकपा (एमाले)का भीमप्रसाद आचार्यले वर्तमान समस्याको समाधान गर्ने खालको नीति तथा कार्यक्रम नआएको टिप्पणी गर्नुभयो ।

नेकपा ९एमाले० का रघुजी पन्तले देशभक्त बनाउन र स्वेदशमै रोजगारीको व्यवस्था गरेर जनतामा आशा जगाउन नीति तथा कार्यक्रम स्पष्ट नभएको टिप्पणी गर्नुभयो । नेकपा (माओवादी केन्द्र) का माधव सापकोटाले नीति तथा कार्यक्रम राम्रो भएको बताउँदै प्रभावकारी कार्यान्वयमा जोड दिनुभयो । कांग्रेसका डा नारायण खड्काले मुलुकमा भ्रष्टाचारको अन्त्य गरी विद्युत् उत्पादनलाई बढाएर धेरै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने सुझाव दिनुभयो ।

एमालेका सांसद ठाकुर गैरेले नीति तथा कार्यक्रममा सामाजिक र आर्थिक वृद्धि गर्ने खालको योजना नभएको हुँदा यसलाई समावेश गर्न माग गर्नुभयो । कांग्रेसका तेजुलाल चौधरीले नीति तथा कार्यक्रममा पिछडिएको क्षेत्र, वर्ग र समुदायका लागि ठोस कार्यक्रम समावेश गर्न आग्रह गर्नुभयो ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल, कांग्रेसका प्रदीप पौडेल र रामहरि खतिवडा, एमालेका ईश्वरबहादुर रिजाल, माओवादी केन्द्रका छिरिङ डम्डुल लामा भोटे, एमालेका विद्या भट्टराई, कांग्रेसका राजु थापा र राजेन्द्र बजगाईं, एमालेका अम्बरबहादुर रायमाझी, कांग्रेसका प्रतिमा गौतम र कुसुमदेवी थापालगायतले नीति तथा कार्यक्रममाथि आफ्ना धारणा व्यक्त गर्नुभयो ।

छलफल आगामी बैठकमा पनि जारी रहने सभामुख देवराज घिमिरेले जानकारी गराउनुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ९ गते बिहान ११ बजे बस्नेछ । रासस