५ श्रावण २०८३, मंगलवार
,
Latest
नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौरिस हर्गोज पदमार्गको प्रवर्द्धन गर्दै अन्नपूर्ण गाउँपालिका



अ+ अ-

अन्नपूर्ण (म्याग्दी) । म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही मौरिस हर्गोजको नाममा पहिचान गरिएको पदमार्ग प्रवर्द्धन थालिएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण प्रथम हिमाल आठ हजार ९१ मिटर अग्लो छ । नारच्याङदेखि अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने पदमार्गको प्रवर्द्धनका लागि जनप्रतिनिधि, कर्मचारी, पर्यटनकर्मीलगायतको टोलीले पैदलयात्रा थालेका हुन् । सन् १९५० जुन ३ तारिखमा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेका थिए । हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई उनकै नाममा नामकरण गरिएको छ ।

आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये पहिलो मानव पाइला परेको अन्नपूर्ण जेठो हिमाल हो । मौरिसले अन्नपूर्ण आरोहण गरेको तीन वर्षपछि सन् १९५३ मे २९ तारिखमा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका एडमण्ड हिलारीले सगरमाथा पहिलो पटक आरोहण गरेका थिए । आधार शिविर पदयात्रामा जान लागेको टोलीलाई बिहीबार पोखरेबगरमा गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन र उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बिदाइ गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीको नेतृत्वमा कार्यपालिकाका सदस्य, पर्यटन व्यवसायीसहित ३० जनाको टोली नारच्याङ–छोटेपा–हुमखोला हुँदै आज बिहान आधार शिविर प्रस्थान गरेको छ । पोखरेबगरदेखि हुमखोलासम्म गाडीमार्फत गएको टोलीले त्यहाँदेखि चार हजार एक सय मिटर उचाइमा रहेको आधार शिविरसम्म पैदलयात्रा गर्ने कार्यक्रम छ । आधार शिविरमा दौड प्रतियोगिता र पर्यटन प्रवद्र्धन सम्बन्धमा अन्तक्र्रिया कार्यक्रम गरिने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।

गाउँपालिकाका अध्यक्ष पुनले सहजरुपमा छोटो पैदलयात्रा गरेपछि पुगिने र सुरक्षित अन्नपूर्ण आधार शिविरमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ सालमा पहिचान भएको मौरिज हर्गोज पदमार्गको प्रचारप्रसारका लागि यसअघि २०७६ सालमा प्रथम अन्नपूर्ण महोत्सवको आयोजना गरिएको थियो ।

“अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने पदमार्ग तयार भएको सन्देश प्रवाह गर्नु हाम्रो उद्देश्य हो”, अध्यक्ष पुनले भने “हुमखोलादेखि एकै दिनको पैदलयात्रा गरेर आधार शिविर पुगिने पदमार्गको बारेमा जानकारी नहुँदा धेरै आरोही र पर्यटक हेलिकप्टरबाट जाने गरेका छन् ।”

उपाध्यक्ष तिलिजाले मौरिसको पाइला पछ्याएर तयार पारिएको पदमार्ग सुरक्षित र सहज भएको बताइन् । “अन्नपूर्ण र नीलगिरि खोलाको किनारै किनार, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तु, झरनाको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ”, उनले भनिन्, “आधार शिविरमा रहेको नारच्याङ पञ्चकुण्ड तालको धार्मिक महत्व पनि छ ।”

मानव बस्तीदेखि टाढा रहेको आधार शिविर जाने पदमार्गमा बाटो, पुल, आश्रयस्थल, सञ्चारलगायतका पूर्वाधार निर्माणका लागि अध्ययन थालिएको गाउँपालिकाले जनाएको छ । रासस