१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बन्न सक्छः उपराष्ट्रपति यादव



अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बन्न सक्ने बताउनुभएको छ । नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा) ले काठमाडौँमा आयोजना गरेको ‘नेफ्टा चलचित्र अवार्ड–२०२३’ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक कार्यक्रममा चलचित्रकर्मीलाई प्रमाणपत्र वितरण गर्दै उपराष्ट्रपति यादवले नेपालको प्रचार गर्न कलाकर्मीलाई आग्रह गर्नुभयो ।

“विदेशी चलचित्रलाई यहाँको प्राकृतिक सुन्दरताले आकर्षित गर्छ । हामीले एकजुट हुँदै सहकार्य गरेर नेपाललाई अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बनाउन सक्छौँ”, उहाँले भन्नुभयो, “नेपाली चलचित्र अहिले विश्वभर खोजिएको सुन्दा र देख्दा खुसी लाग्छ । विदेशी बजारमा बलियो बन्न प्रवर्द्धन गर्नु जरुरी छ ।”

उहाँले नेपाली चलचित्रलाई छ दशक लामो यात्रामा पर्दा पछाडि रहेर सघाएका प्राविधिकहरूको कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताउनुभयो । “चलचित्रले मनोरञ्जन प्रदान गर्नेमात्र नभई हाम्रो मौलिक भाषा, वेशभूषा, संस्कृति, इतिहासको संरक्षण र संवर्द्धन पनि गरिरहेको छ । यो सिर्जनशील कलाकर्मीको मेहनत र लगावको प्रतिफल हो”, उपराष्ट्रपति यादवले भन्नुभयो ।

कार्यक्रममा उत्कृष्ट पाँचको घोषणासँगै प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, कलाकार नीर शाह, रमेश उप्रेती, भुवन चन्द, चैत्य देवी, वसुन्धरा भुसाल, दीपाश्री निरौला, बेनिशा हमाल, निर्मल शर्मा, निर्देशक हेमराज बिसी, निर्माता मणिराम पोखरेललगायतको उपस्थिति थियो ।

नेपाली चलचित्रमा प्राविधिकका रूपमा कार्यरतहरूको छाता सङ्गठनले आयोजना गरेको कार्यक्रममा उपस्थित सम्पूर्णलाई नेफ्टा अध्यक्ष पुष्कर लामाले धन्यवाद दिनुभयो । “हामीले गरेको प्रयासमा सधैँ चलचित्रकर्मीको साथ पाएका छौँ । सोही कारण हामी अवार्ड गर्न सक्षम भएका हौँ । निष्पक्षरूपमा अवार्ड सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दछु”, अध्यक्ष लामाले भन्नुभयो । रासस