१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

मोटर चढ्ने गुर्जालीको धोको कहिले पूरा होला ?

मोटर चढ्ने गुर्जालीको धोको कहिले पूरा होला ?
अ अ+ अ-

बेनी । धवलागिरि गाउँपालिका–१ गुर्जाका ८३ वर्षीय खिमबहादुर छन्त्याललाई गाउँबाटै मोटर चढेर सदरमुकाम पुग्ने धोको छ । जीवनका आरोह अवरोध सङ्घर्षपूर्ण तवरले बिताउनुभएका उहाँ युवावस्थामा देश तथा विदेशमा समेत पुग्नुभयो । विदेशको विकासको समेत अनुभूति सँगाल्नुभएका उहाँले आफ्नै गाउँमा समेत विकासका पूर्वाधार बन्न थालेपछि गाउँबाटै मोटर चढेर सहर पुग्ने रहर जागेको बताउनुभयो ।

जिल्लाको सबैभन्दा दुर्गम बस्तीका रुपमा परिचित गुर्जा जिल्लाको एक मात्रै सडक सञ्जालको पहुँच नपुगेको वडा हो । विकासमा ओझेलमा परेको सो स्थानका स्थानीयवासीमा पछिल्लो समय विकासको प्रमुख आधार मानिएको सडक सञ्जालको पहुँच निर्माण गर्ने योजना गढेको छ । यहाँबाट गाउँपालिकाको केन्द्र मुना पुग्न एक दिनको पैदलयात्रा गर्नुपर्छ । प्रौढ र युवायुवतीहरु गुर्जादेखि पैदलयात्रा गरी सहजै गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम बेनी आवत–जावत गर्न सक्ने भए पनि बालबालिका र वृद्धवृद्धाहरुलाई भने यात्रा गर्न सहज छैन ।

“उमेरमा त सयौँ पटक ओहोर–दोहोर गर्यौँ, पहिले कतै पनि सडक थिएन, हामीले पनि आशा गर्ने कुरा भएन, अहिले गाउँपालिकाको केन्द्रबाट छिमेकी गाउँ लुलाङसम्म सडक आयो भन्ने सुनेका छौँ, हाम्रै पालामा गाउँमा मोटर आउँछ कि भन्ने भरोसा थपिएको छ”, गुर्जाका वृद्ध दलबहादुर छन्त्यालले भन्नुभयो । यातायातको पहुँच नपुगेको कारण यहाँ खाद्यान्न ढुवानीमा खच्चड र मानिसले नै सामान बोक्दै आएका छन् । लुलाङदेखि गुर्जासम्म खच्चडमा प्रतिकिलो सामान ढुवानीको रु २० लागत पर्छ । ढुवानी बढी लाग्ने भएकाले यहाँका स्थानीय महँगीको मारमा समेत छन् ।

खाद्यान्न लगायतको सामग्रीहरु खच्चडमा नै ढुवानी हुने र खच्चडले बोक्न नमिल्ने रड, जस्तापाता, पाइप लगायतका सामान मानिसले बोकेर लैजाने गरेको विगत एक दशकदेखि खच्चडमा सामान ढुवानी गराउँदै आउनुभएका युवा लोकबहादुर रसाइलीले जानकारी दिनुभयो । भारी वर्षा हुने बर्खा र हिमपात हुने हिउँदका केही महिना खच्चडलाई सामान बोकाउन नमिल्ने भएकाले उक्त समयमा गाउँमा खाद्यान्न लगायतका सामान ढुवानी ठप्प हुने गर्छ ।

सडक नपुगेको कारण स्थानीय स्वास्थ्य संस्थामा उपचार गराउन सम्भव नहुने बिरामीहरुलाई डोको र पिठ्यूँमै बोकेर सदरमुकामको अस्पतालतर्फ लैजानुपर्ने बाध्यता रहेको स्थानीयवासी धनबहादुर छन्त्यालले बताउनुभयो । “सडक नहुँदा ठूलो समस्या छ, बिरामी हुँदा पैसा जोहो गर्न सक्नेले हेलिकप्टरमार्फत अस्पताल लैजाने गर्छन्, पैसा जुटाउन नसक्नेहरु कि घरमै थला परेर बस्नुपर्छ, कि त भने बोकेरै लैजानुपर्छ”, उहाँले भन्नुभयो । एक गाउँ एक वडाका रुपमा रहेको गुर्जामा दुई सय ७० घरधुरी रहेका छन् । दलित र छन्त्याल दुई समुदायको मात्रै बसोबास रहेको गुर्जामा तत्कालीन समयमा खानी खन्ने क्रममा बसोबास रहन गएको पाइन्छ ।

विगतमा गाउँपालिकाको केन्द्र मुनासम्म नै पैदलयात्रा गर्दै आएका गुर्जालीलाई यो वर्ष करिब साढे एक घन्टाको पैदलयात्रा छोटिएको छ । मुनादेखि खोरिया हुँदै वडा नं २ को लमसुङ पुगेको सडक लुलाङ गाउँसम्म पुगेको छ । लुलाङदेखि गुर्जा ६ देखि ८ घन्टाको पैदलयात्राको हो । सडक सञ्जाललाई गाउँसम्म नै पु¥याउने हरेक गुर्जालीको सपना बनेको छ ।

यस वर्ष गाउँपालिकाले विनियोजन गरेको रु ४५ लाख बजेटबाट लुलाङसम्म सडकको ट्र्याक निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार, उक्त बजेटमध्ये २० लाख बजेटबाट ट्र्याक निर्माण गरिएको हो भने अरू बजेट सडकको संरक्षणका लागि ग्याबिनजाली लगाउने, मेसिनरी पर्खाल बनाउने लगायतको क्षेत्रमा उपयोग गरिएको छ । लमसुङ गाउँको शिरमा भने पहिराको जोखिम कम गर्न एक सय २० मिटर सडक मानिसहरुले नै मेसिन नलगाईकन सडक खनेका हुन् । लमसुङदेखि लुलाङसम्म करिब दुई किलोमिटर दुई सय मिटर सडकको ट्र्याक निर्माण भएको छ ।

गण्डकी प्रदेश सरकारमार्फत विनियोजन भएको रु ८० लाख बजेटबाट लुलाङदेखि गुर्जातर्फ सडकको ट्र्याक निर्माण गर्न परिचालन गरिने भएको छ । नयाँ ट्र्याकलाई स्तरीय बनाउने र गुर्जालाई सडक सञ्जालले जोड्ने योजनालाई गाउँपालिकाले प्राथमिकतामा राखेको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले बताउनुभयो । “प्रदेशबाट आएको बजेटलाई पनि तत्काल कार्यान्वयनमा लैजान्छौँ, आगामी वर्ष गाउँपालिका, प्रदेश र सङ्घीय सरकारमार्फत समेत पर्याप्त बजेटको व्यवस्थापन गर्नतर्फ अहिलेदेखि नै प्रयास थालेका छौँ, गुर्जामा सडकको पहुँच पु¥याउने पालिकाको पूर्वाधार योजनाको मुख्य प्राथमिकतामा छ”, उहाँले भन्नुभयो ।

लुलाङदेखि गुर्जासम्म सडक सञ्जालको ट्र्याक निर्माण गर्न करिब सात करोडको बजेट अनुमान गरिएको छ । सडकको दूरी छोट्याउन सुरुङमार्गको समेत सम्भाव्यता अध्ययन गरिएको भए पनि लागत बढी लाग्ने भएपछि सडकको ट्र्याक निर्माणलाई नै जोड दिएर योजना सञ्चालन गरिएको गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । योजनाको डिपिआर तयार गर्दा लुलाङदेखि गुर्जासम्मको सडकको दूरी १६ किलोमिटर कायम हुने अनुमान छ । पहाडी भिर हुँदै करिब तीन हजार तीन सय मिटर उचाइको देउराली डाँडा भएर सडक निर्माण गर्नुपर्ने भएकाले सडक निर्माणमा लागत बढी र काम चुनौती पूर्ण मानिएको छ ।

लुलाङ–गुर्जा सडकलाई डोल्पाको दुनैसम्म जोड्ने गरी अघि सारिएको वडाअध्यक्ष छन्त्यालले बताउनुभयो । गुर्जाबाट रुकुमको पुथाउत्तरगङ्गा गाउँपालिका हुँदै डोल्पाको दुनैसम्म सडक विस्तार गर्न सकेमा कर्णाली–लुम्बिनी–गण्डकी–बागमती प्रदेश जोड्ने छोटो दूरीको राजमार्गकै रुपमा यसलाई विकास गर्न सकिने वडाअध्यक्ष छन्त्याल बताउनुहुन्छ । “गुर्जादेखि डोल्पासम्मको दूरी जम्मा ९० किलोमिटरको रहेको छ, समग्र काठमाडौँदेखि डोल्पासम्म पाँच सय किलोमिटरभन्दा छोटो पर्छ, यो सडक निर्माण गर्दा वातावरणीय रुपमा कम क्षति र पर्यटकीय दृष्टिकोणमा समेत उच्च लाभदायी बन्न सक्छ”, उहाँले भन्नुभयो । यो योजनालाई धवलागिरि गाउँपालिकाको गाउँसभाले समेत अपनत्व लिएर सङ्घीय र प्रदेश सरकारमा आवश्यक बजेटका लागि योजना माग गरिसकेको छ । रासस