७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

संसारकै आकर्षण फेवातालको बाराही मन्दिर पुन:निर्माण कार्यको थालनी

संसारकै आकर्षण फेवातालको बाराही मन्दिर पुन:निर्माण कार्यको थालनी
अ+ अ-

लेखनाथ । अधिकांश स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गर्छन् पोखराको पर्यटकीय फेवातालको बीच भागमा अवस्थित धार्मिक आस्थाको केन्द्र बाराही भगवती मन्दिरमा । पर्यटकीय दृष्टिकोणले होस् वा धार्मिक आस्थाकै कारण, बाराही भगवती मन्दिर नपुग्ने स्वदेशी तथा विदेशी कमै होलान् । दर्शन र पूजाआजा गर्न मन्दिरमा भक्तजनको दैनिकरूपमा भीड लाग्ने गर्छ ।

पोखराकै प्रसिद्ध मानिने बाराहीदेवीको मन्दिर विसं २०७२ को भूकम्पले तीन इन्च दक्षिणतर्फ कोल्टिएपछि पुन:निर्माण कार्य सुरु गरिएको छ । फेवातालको बीच अर्थात पानीको बीचभागको ढिस्कोमा मन्दिर भएकै कारण मन्दिर ढल्कँदा झनै जोखिम देखिएको छ । जोखिम बढ्दै गएपछि ढल्किएको मन्दिर पुन:निर्माणका लागि बाराही मन्दिर व्यवस्थापन समिति र पुरातत्व विभागले पुन:निर्माणको कार्य अगाडि बढाएका हुन् ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले भूकम्पकै कारण मन्दिर छेउमा रहेका दुई गोदाम कोठाको दक्षिणतर्फको भाग दबेपछि ती कोठा हटाइसकेको जानकारी दिनुभयो । विसं २०१७ मा तत्कालीन राजा महेन्द्रले अहिलेको स्वरूपमा मन्दिर निर्माण गर्नुभएको थियो ।

पुरातत्व विभागको प्रत्यक्ष संलग्नतामा मन्दिर पुन:निर्माण गर्न लागिएको हो । मन्दिर पुन:निर्माण सम्पन्न गर्न रु एक करोड ४० लाख खर्च लाग्ने जानकारी अध्यक्ष कुँवरले दिनुभयो । प्यागोडा शैलीमै कालीगढ मगाएर वर्तमानस्वरूपमै मन्दिर पुन:निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । बाराही देवीको मूर्ति सुरक्षित राखिएको र त्यहाँ पुरातत्व विभागका कर्मचारीको समेत निगरानी रहिरहेको छ ।

कास्कीका तत्कालीन राजा कुलमण्डन शाहले सर्वप्रथम खरको झुप्रो बनाई मन्दिर स्थापना गरेका थिए । यस मन्दिरको अस्तित्व विसं १६६९ देखि कायम रहिआएको छ । कतैकतै विसं १४४७ देखि अस्तित्वमा रहेको भन्ने अभिलेख पनि पाइन्छ । प्राचीनकालमा माटाको ढिस्कोमा एउटा शिला थियो । त्यहीँ मन्दिर स्थापना गरी बाराहीका रूपमा पुजिन थालिएको मन्दिरका पुजारी पर्शुराम पहारीले सुनाउनुभयो । पर्यटकीयरूपमा प्रसिद्ध मानिएको मन्दिरमा सबै धर्मका व्यक्तिले पूजाआजामा प्रवेश पाउँछन् ।

“मन्दिर पुन:निर्माण गर्नका लागि पुरातत्व विभाग र मन्दिर व्यवस्थापन समितिबीच सम्झौता भई एक महिनायता मन्दिरको पुन:निर्माणको कार्य सुरु भएको छ”, अध्यक्ष कुँवरले भन्नुभयो, “मन्दिर पुन:निर्माणका लागि पुरातत्व विभागले रु २५ लाख र बाराही मन्दिर व्यवस्थापन समितिले रु एक करोड १५ लाख जुटाउने सम्झौतामा उल्लेख छ । मन्दिर पुन:निर्माणका लागि आवश्यक पर्ने रकममध्ये मन्दिरको कोषमा अहिले रु ६५ लाख रहेको र अपुग रकम पोखरा महानगरपालिका र अन्य सहयोगदातासँग सङ्कलन गरिने जानकारी तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका सहसचिव महेश्वर पहारीले दिनुभयो । मन्दिर पाँच महिनाभित्र नै पुन:निर्माण गरिसक्ने योजनाका साथ काम अगाडि बढाइएको छ ।

पर्यटकीय सुन्दर नगरी पोखरास्थित यो मन्दिर कास्कीका घुम्नैपर्ने ठाउँको सूचीमा अग्रपङ्क्तिमा आउँछ । मन्दिरमा पर्यटकको दैनिक घुइँचो लागिरहन्छ । माछापुच्छ्रे हिमालको छायाँ फेवातालमा परेको दृश्य मन्दिरबाट मनोरम देखिन्छ । कोजाग्रत पूर्णिमालगायत अन्य धार्मिक पर्वहरूमा यहाँ मेला लाग्दछ ।

तालको बीचको भाग अर्थात मन्दिर भएको ठाँउको क्षेत्रफल कम तर स्वदेशी तथा विदेशी पर्यटक र दर्शनार्थीको भीड बढी हुनुका साथै असिना पानी आउँदा मन्दिरमा पुग्ने मानिसले दु:ख कष्ट पाउने गरेका कारण मन्दिर परिसरमा भौतिक संरचना निर्माण गर्नेबारेमा रु १५ करोडको गुरु योजनासमेत अगाडि सारिएको सहसचिव पहारीले जानकारी दिनुभयो ।

स्थानीय प्रा डा भरत पहारीको संयोजकत्वमा इञ्जिनियरसहितका विज्ञ टोली गुरुयोजनामा विभिन्न संरचनालाई समेटेर अगाडि बढ्ने छ । विज्ञ टोलीका संयोजक पहारीका अनुसार मन्दिर पुन:निर्माणको कार्यसम्पन्न भएपछि मन्दिर वरपरको भागलाई सदुपयोग गर्न र एक सय वर्षसम्म मन्दिर पुग्ने भक्तजनलाई ठाउँको अभाव हुन नदिन भइरहेको प्राकृतिक संरचनालाई असर नपर्ने गरी भूमिगत भौतिक संरचना निर्माण गरिनेछ । भौतिक संरचनादेखि बगैँचा र धार्मिक अनुष्ठान गर्ने ठाउँ बनाइनेछ ।

तालबाराही मन्दिर व्यवस्थापन समिति सल्लाहकार तथा स्थानीयवासी ७७ वर्षीय रमेशबहादुर भट्टराईले अग्रज पुर्खाको भनाइअनुसार परापूर्वकालमा फेवाताल भएको ठाउँमा बस्ती थियो । एक दिन बेलुका एक वृद्ध जोगी बास माग्दै आए त्यो बस्तीमा । कसैले बास नदिएपछि उनी एक वृद्धाकहाँ पुगे । वृद्धाले बास बस्न दिइन् । तर, खान भने ढुटोको रोटी मात्रै भएको सुनाइन् । वृद्ध जोगी तयार भएर त्यही खाएर सुते । घर बाहिरै सुतेका जोगीले बिहान हिँड्नु अगाडि वृद्धालाई भने– “यो गाउँ चाँडै जलमग्न हुनेछ । तपाइँ भने अग्लो ठाउँमा चाँडै जानू ।” जोगी हिँडेको केही समयलगत्तै स्वाँ।।। आवाज आयो । स्वाँ।।। सँगै पानी बढेर आयो । बस्तीमा पानी आउन थाल्यो । जोगीको सल्लाहअनुसार वृद्धा अग्लो ठाउँमा गएर बाँचिन् ।

फेरि एक दिन विशाल वर्षा आयो । वर्षापछिको डुबानले मूर्ति बगाएर अहिलेको मन्दिर भएको ठाउँमा ल्यायो । तालको बीचमा टापु बनेको र त्यहीँ मन्दिर स्थापना गरिएको इतिहास पनि निकै रोचक छ । कास्कीका राजा कुलमण्डन शाहलाई मूर्ति स्थापना गरी पुज्नु भन्ने सपना आयो । उनले सपनाअनुसार मूर्ति स्थापना गरेर पूजा गर्न राज्यकै तहबाट लाए । क्रमश: विकास हुँदै मन्दिर अहिलेको अवस्थामा आएको हो । त्यहीँ ढिस्कोमा तालवाराही देवीको शिला राखी पुजिँदै आएको किंवदन्ती छ ।

फेवाताल आफैँमा प्रसिद्ध गन्तव्य हो । तेइस दशमलव ३० मिटर गहिराइ, चार दशमलव ४६ किमी लम्बाइ तथा दुई किमी चौडाइको नेपालको पर्यटकीय ताल हो फेवाताल । त्यही तालको एक धेरै पुरानो मन्दिर हो ताल बाराही भगवतीको मन्दिर । यसमा पूजाआजाको प्रारम्भ विसं १४६७ बाट भएको हो भने विसं १८६८ देखि नित्य पूजाआजा सुरु भएको पाइन्छ । सामान्य अवस्थामा रहेको मन्दिरलाई झुप्रोबाट उठाउन तत्कालीन राजा महेन्द्रले विसं २०१७ मा अहिलेको स्वरूपमा मन्दिर निर्माण गरिदिएपछि यसले थप चर्चा पाउन थालेको हो ।

मन्दिर व्यवस्थापन समितिको स्थापना भने विसं २०५३ मा आएर मात्रै भएको थियो । हिकमतबहादुर कुँवरको नेतृत्वमा प्रथम व्यवस्थापन समिति बनेको थियो । तालको किनाराबाट पाँच मिनेटभित्रै डुङ्गा चढेर बाराही मन्दिरसम्म पुग्न सकिन्छ । प्राकृतिक मनोरम दृश्यले यहाँ पुग्ने जो कोहीलाई आनन्दित तुल्याउनुका साथै तालबाराहीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वासले पनि सबैलाई आकर्षित गरेको छ । कूल तीन रोपनी आठ आना दुई दाम क्षेत्रफलमा फैलिएको यस मन्दिरको संरक्षण एवं पूर्वाधार विकासमा तालबाराही मन्दिर संरक्षणरगुठी व्यवस्थापन समिति क्रियाशील रहँदै आएको छ ।

तालको बीचमा मन्दिर अवस्थित छ भन्ने सुनेर पनि टाढाटाढाबाट दर्शनार्थी फेवाताल आउने गरेको जानकारी पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले बताउनुभयो । तालमा देखिने माछापुच्छ्रे हिमालको छायाँ र मन्दिर परिसरबाट देखिने अन्नपूर्ण मिहालको शृङ्खला, सराङ्कोट, विश्वशान्ति स्तूप, काँहुडाँडा, पुम्दीकोट, जस्ता सम्पदाले पर्यटकलाई लोभ्याउने गरेको उहाँले सुनाउनुभयो । मन्दिर गुठीका नाउँमा खेत र केही रोपनी जङ्गलसमेत रहेको छ ।

‘फेवा’ गाउँको छेउमा रहेकाले यो तालको नाम फेवा ताल रहन गएको हो । ‘बैदाम’ गाउँको छेउमा पर्ने हुँदा बैदाम ताल पनि भनिने गरिन्छ । यसको बीचमा ‘बाराही मन्दिर’को अवस्थितिले यसलाई बराह मन्दिरबाट पनि चिनाउन सकिन्छ ।

यो नेपालको दोस्रो सबैभन्दा ठूलो ताल हो । फेवा ताल समुन्द्रको सतहदेखि सात सय ४२ मिटर (दुई हजार चार सय ३४ फिट) को उचाइमा रहेको छ । यस तालले लगभग पाँच दशमलव २३ वर्ग किमी (दुई वर्ग माइल) क्षेत्रफल ओगटेको छ । यस तालको औसत गहिराइ आठ दशमलव छ मिटर (२८ फिट) रहेको छ भने अधिकतम गहिराइ २४ मिटर (७९ फिट) रहेको छ । यस तालको अधिकतम जल क्षमता लगभग चार करोड ३० लाख क्युविक मिटर (३५ हजार एकड फिट) रहेको छ । यस तालको उत्तर दिशामा अन्नपूर्णा हिमशृङ्खला रहेको छ, जुन २८ किमीको दूरीमा छ । यो ताल माछापुच्छ्रे, अन्नपूर्णा र धौलागिरि तथा अन्य पर्वतको टाकुराको प्रतिविम्बका लागि पनि प्रसिद्ध छ, जुन यस तालको पानीमा स्पष्ट देखिन्छ । रासस