१६ भाद्र २०८३, मंगलवार
,
Latest
रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग उर्लिएको त्रिशूली-रसुवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा (तस्बिरहरु) चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

समयमा द्रुतमार्ग बन्ने प्रधानमन्त्री दाहालको विश्वास



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले निर्माणाधीन काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) समयमै बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

आज मकवानपुरको भीमफेदी गाउँपालिका र बकैया गाउँपालिकास्थित राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको द्रुत मार्ग (फास्ट ट्र्याक) को अवलोकन एवं निरीक्षण गर्दै उहाँले यस्तो बताउनुभएको हो । द्रूतमार्गमा बनिरहेको सुरुङको पनि अवलोकन गर्दा काम दु्रतगतिमा भइरहेको पाइएको प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो ।

सरकारले सहजीकरणको पाटोमा कुनै कमी नराख्ने बताउँदै जनभावना अनुरुप निर्माण प्रक्रिया भइरहेको पाएको उहाँले जनाउनुभयो । नेपाल सरकारले नेपाली सेनालाई जिम्मा दिएर सही निर्णय गरेको महसुस भएको उहाँको भनाइ छ । निरीक्षणका क्रममा प्रधानमन्त्री दाहालले आयोजनाको अहिलेसम्मको उपलब्धिबारे जानकारी लिनुभयो ।

“हिजो मात्रै काठमाडौँमा ब्रिफिङ भएको थियो । हामी आज निरीक्षणमा आएका छौँ । प्रत्यक्ष हेर्दा काम राम्रै भएको महसुस भएको छ । टनेलभित्र गएर पनि हे¥यौँ । ठूलो टनेल बन्दै छन्”, उहाँले भन्नुभयो । कोभिडका कारण दुई वर्ष काम ढिला भएकाले अब तीव्र गतिमा काम हुने उहाँको भनाइ छ ।

प्रधानमन्त्री दाहालले सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले यस आयोजनासँग सम्बन्धित कतिपय निर्णय गरिने जनाउनुभयो । उहाँले भन्नुभयो, “द्रुतमार्गका निम्ति जरुरी पर्ने ऐलानी जग्गा सम्बन्धित र अन्य कुरामा निर्णय गरेर सरकारले सहजीकरण गर्नेछ ।” आयोजनाको जिम्मेवारी आफू प्रधानमन्त्री हुँदा नेपाली सेनालाई दिएको समेत उहाँले स्मरण गर्दै राष्ट्रको भावना, जनताको चाहना र मनोविज्ञानलाई कदर गर्दै नेपाली सेनालाई दिने निर्णय गरेको जनाउनुभयो ।

प्रधानमन्त्री दाहालले आज नेपाली सेनाको हेलिकप्टरबाट मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिका–५, राजदमारमा स्थलगत अनुगमनसँगै स्थानीयवासीको गुनासो र जिज्ञासा सुन्नुभएको थियो ।

तराईलाई सङ्घीय राजधानीसँग जोड्ने सबैभन्दा छोटो मार्ग भएका कारण यस आयोजनालाई गौरवको आयोजनाको पहिलो प्राथमिकतामा राखिएको छ । द्रुतमार्ग बारा, मकवानपुर र ललितपुर जिल्ला भएर राजधानी जोडिन्छ । प्रधानमन्त्रीले मकवानपुरको बकैया गाउँपालिकाको लेनडाँडा र राजदमार तथा भीमफेदी गाउँपालिकाको महादेवटारमा स्थलगत अवलोकन गर्नुभयो ।

अवलोकनमा प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला, अर्थमन्त्री डा प्रकाशशरण महत, मुख्यसचिव शङ्करदास वैरागी, नेपाल सरकारका सचिव र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालगायतको सहभागिता रहेको थियो । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको यो आयोजना काठमाडौँलाई तराई, मधेससँग जोड्ने सबैभन्दा छोटो दूरीको आयोजनाका रूपमा लिइएको छ । रासस