२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेससँगको वार्ता समाप्त भयो: पूर्वमन्त्री गोविन्दराज जोशी



नेता गोविन्दराज जोशी
नेता गोविन्दराज जोशी
अ+ अ-

काठमाडौँ । नेपाली काङ्ग्रेस स्वतन्त्र अभियान जोशी समूह तनहुँका तर्फबाट पूर्वमन्त्री गोविन्दराज जोशीले नेपाली कांग्रेससँग भएको वार्ता बिना निष्कर्ष समाप्त भएको घोषणा गर्नुभएको छ ।

जोशीले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसले वार्तामा मूल समस्या समाधान गर्नेतर्फ चासो नदेखाएका कारण वार्ता समाप्त भएको घोषणा गर्नुभएको हो ।

नेपाली कांग्रेसका प्रतिनिधिहरुसँग भएको भनिएको आफ्नो समूहको वार्ता आफूहरुलाई झुक्याउने, स्पष्ट कुरा नगरी अल्मल्याउने र आलटाल गर्ने प्रयत्न भएको महसुस भएको भन्दै उहाँले आजदेखि नेपाली कांग्रेसँगको यो चरणको वार्ता समाप्त भएको घोषणा गर्नुभयो ।

उहाँले भन्नुभएको छ, “ नेपाली काङ्ग्रेसको नामबाट मिति २०७९ चैत्र १९ गतेको आफूले विगतमा गरेका गल्ती प्रति आत्मालोचना गरेको अवस्थामा क्रियाशील सदस्य कायम रहने तथा २०८० साल वैशाख १० गते तनहुँ जिल्ला क्षेत्र नं १ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवारलाई विजयी गराउन क्रियाशील रहेमा क्रियाशील सदस्यता कायम रहने जस्ता वाक्यहरू राखी गरिएको वक्तव्य जालझेलपूर्ण र हामीलाई अपमान गर्ने खालको दस्ताबेज भएको ठहर हामीले गरेका छौँ ।”

उक्त वक्तव्यले नेपाली काङ्ग्रेस तनहुँको समस्या समाधान नगरी अझ झन् बल्झाएको महसुस आफूहरुले महसुस गरेको भन्दै नेता जोशीले सो वक्तव्यलाई अस्वीकार गरेको उल्लेख गर्नुभएको छ ।

आगामी वैशाख १० गते सम्पन्न हुने उपनिर्वाचनमा आफ्नो समूहबाट कुनै आधिकारिक उम्मेदवार नभएको भन्दै उहाँले तनहुँ जिल्लामा समूहका सदस्यहरु कुनै पनि दल विशेषको सदस्य नभएकोले हामी स्वतन्त्र छौँ र स्वतन्त्र रही रहने छौँ भन्नुभएको छ ।

वक्तव्यमा भनिएको छ, “पार्टीबाट विभिन्न कारणले अलग्गिएका पार्टीका साथीहरूलाई सम्मानका साथ समेटेर पार्टीलाई बलियो बनाऔँ भन्ने हाम्रो धारणा थियो र अहिले पनि छ । तनहुँ जिल्लाको मात्र समस्या समाधान गर्न नचाहने काङ्ग्रेस नेतृत्व यो बृहत् कुरामा सहमत हुने कुरै भएन ।”

सत्य, न्याय र सामाजिक समृद्धिका लागि आफूहरुको लडाइँ नसकिएको उल्लेख गर्दै उहाँले भन्नुभएको छ, “जसका लागि हामी सधैँ लडिरहने छौँ । अबको हाम्रो लडाइँ कुनै पनि राजनीतिक विचार भन्दामाथि उठेर पार्टीको झन्डामा सीमित नभएर देश र जनताका लागिहुने छ । किनभने राष्ट्र र राष्ट्रियताभन्दा माथि कुनै पनि राजनीतिक पार्टी हुन सक्दैन । जुन कुरामा न त हाम्रो हिजो विमति थियो न त आज नै ।”