२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङका ३७ वडा पहिराको उच्च जोखिममा



बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोला बस्तीमा गएको पहिरो ।
अ+ अ-

बलेवा । बागलुङ जिल्लाको दशवटा स्थानीय तहका ८५ वडामध्ये ३७ वडा पहिराको उच्च जोखिममा र ३१ वडा मध्यम जोखिममा परेका छन् ।
मनसुनजन्य प्रकोपको स्तरीकरण गर्दा बागलुङ जिल्ला नै पहिराको उच्च जोखिममा पर्छ । जिल्ला विपद् व्यवस्थापन समितिले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने सिलसिलामा प्रकोपको स्तरीकरण गर्दा बागलुङ पहिराको प्रकोपमा पहिलो नम्बरमा परेको हो ।

पहिराकै कारण हरेक वर्ष यहाँका नागरिकले ज्यान गुमाउनु परेको छ । जिल्लाका दस स्थानीय तहबाट सङ्कलन गरिएको तथ्याङ्क तथा जिल्ला प्रशासन कार्यालयमा प्राकृतिक प्रकोपका लागि वितरण गरिएको राहतको विवरणअनुसार पहिराको प्रकोपबाट अधिकांश स्थानीय तहका वडा समस्यामा परेको पाइन्छ । जिल्लाका कूल ८५ वडामध्ये पहिराको प्रकोपमा ३७ वटा वडा उच्च जोखिम, ३१ वडा मध्यम जोखिम र १७ वडा निम्न जोखिमको सूचीमा छन् । मनसुनजन्य आपत्कालीन कार्ययोजना–२०७९ मा उल्लेख भएअनुसार पालिकाका मुकाम रहेका वडाहरुसमेत पहिराको जोखिममा छन् ।

जोखिममा सामुदायिक विद्यालयसमेत समावेश छन् । यस वर्ष २० सामुदायिक विद्यालय भवनमा पहिराले असर पार्नसक्ने जिल्ला विपद् व्यवस्थापन समितिको अनुमान छ । सबै स्थानीय तहमा व्यवस्थापन पूर्वको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिनुभयो ।

मनसुन सक्रिय हुनुपहिले नै विपत् पूर्व, विपत् भएको समय र विपत्पश्चात् गर्नुपर्ने कामका बारेमा सरोकारवाला निकायसँग समन्वय र साङ्गठनिक जिम्मेवारी बाँडफाँड गरिएको उहाँले बताउनुभयो ।

कालीगण्डकी, बडिगाड, दरमखोला, निसीखोला, भुजीखोला, तमानखोला, ठेउलेखोला, अँधेरीखोला, दरौँदीखोला, उत्तरगङ्गालगायत खोला तथा नदी किनारका बस्तीहरु बाढीको जोखिममा छन् । पहिरो प्रकोपका कारणले जिल्लाभर करिब ३० हजार व्यक्तिलाई असर पर्नसक्ने अनुमान गरिएको छ। पहिराको प्रकोपबाट घरगोठमा क्षति पुग्न सक्ने, बालबालिका, वृद्घावृद्घाहरु, गर्भवती, सुत्केरी, अपाङ्ग व्यक्ति, दलित र अति गरिबलाई बढी असर पर्ने विपत् प्र्रतिकार्य योजनामा उल्लेख छ ।

यहाँका सबै खोला किनारका तटीय क्षेत्रहरु जोखिममा छन् । कार्ययोजनाले उद्धार राहत तथा पुन:स्थापना र सचेतनाका लागि उपलब्ध साधन स्रोतको समेत तथ्याङ्क तयार गरेको छ । जिल्लाका अधिकांश बस्ती, सडक, भल तथा बाढीका कारण जोखिममा पर्ने स्थानीय तहको पूर्वानुमान छ । स्थानीय तहले गत वर्ष तयार गरेको बाढी पहिरो पीडितको तथ्याङ्क र यो वर्षको सम्भावित जोखिमको अवस्था हेरेर तथ्याङ्क तयार गरेकोे हो । रासस