१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

आठ वर्षमा रामपुर अस्पताल निर्माण

आठ वर्षमा रामपुर अस्पताल निर्माण
अ अ+ अ-

रामपुर । पाल्पा जिल्लामै सरकारी तवरमा सबैभन्दा ठूलो अस्पताल रामपुरमा निर्माण भएको छ । निर्माण कार्य सुरु भएको करिव आठ वर्षमा ५० शय्याको रामपुर अस्पताल भवन निर्माण भएपछि स्थानीयलाई सहज हुने भएको छ ।

नयाँ भवनको संरचना तयार भएपछि विशेषज्ञसहितको सेवा पाउने आशामा स्थानीय छन् । यस अस्पताल २०७२ सालमा पचास शय्यामा स्तरोन्नति भए तापनि पन्ध्र शय्याकै पुरानो भवनबाट खुम्चिएर सेवा दिइएकोमा नयाँ भवन निर्माण भएपछि सेवा प्रवाहमा धेरै सहज हुने स्थानीयवासी तथा अस्पताल विकास समितिका पूर्वउपाध्यक्ष फणेश्वर गौतम बताउनुहुन्छ ।

“पचास शय्यामा स्तरोन्नति भए तापनि भवन तयार नभएकाले विशेषज्ञ सेवा सञ्चालन हुन नसक्दा यस क्षेत्रका स्थानीय विशेषज्ञ सेवा लिन बुटवल, पोखरा, काठमाडौैँ, चितवन जानुपर्ने बाध्यता बन्यो”, उहाँले भन्नुभयो, “भवनको संरचना तयार भएको हुदा सो सेवा रामपुरबाटै पाएपछि स्थानीयलाई अन्यत्र जानुपर्ने समस्या हट्नेछ ।”

एक हजार सात सय वर्गमिटरमा फैलिएर तयार भएको अस्पतालको भवनसहितको संरचना भ्याटबाहेक रविना कन्ट्रक्सन प्रालि काठमाडौँले २०७२ कात्तिक १७ गते सम्झौता गरी रु २० करोड दुई लाखको लागतमा भवन निर्माण गरेको हो । आर्थिक वर्ष २०७२/७३ को पुसदेखि निर्माण कार्य सुरु गरिएको सो भवन कोभिड–१९ को असरले गर्दा धेरै समय लम्बिन पुग्यो ।

अस्पतालका निमिक्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विजय परियारले पचास शय्यामा स्तरवृद्धि भए पनि भवन निर्माण नहुँदा प्राथमिक सेवा केन्द्रको संरचनामा सेवा प्रदान गर्दै आएकोमा नयाँ भवनबाट बहुविशेषज्ञ सेवा दिने लक्ष्यसहित अघि बढेको बताउँदै हिजोको दिनमा भन्दा फरक ढङ्गले सेवा प्रवाह गर्ने जानकारी दिनुभयो ।

पाल्पाको पूर्वी भेग, स्याङ्जा, तनहुँ र नवलपुर ९नवलपरासी सुस्ता पूर्व० को केन्द्र भागमा रहेको यस अस्पताल कालीगण्डकी करिडोर सडकसँगै जोडिएको छ । सडक सञ्जाल विस्तार र जनघनत्व बढ्दै जाँदा यस अस्पतालमा बिरामीको चाप उत्तिकै बढ्दो छ । हिजोका दिनमा सामान्य उपचारका लागि पाल्पाको तानसेन, स्याङ्जाको वालिङ, बुटवल जाने स्थानीय सडक सुविधा जोडिएपछि रामपुर अस्पतालमै जाने क्रम बाक्लिदो छ । यहाँ दैनिक तीन सय बढी बिरामीले सेवा लिइरहेका छन् ।

सडक सुविधाले गर्दा रामपुर चार जिल्लाको केन्द्रमा जोडिएसँगै अन्यत्र जाने नागरिक हिजोआज रामपुर अस्पतालमै उपचारमा आउने क्रम बढेकाले सेवाको दायरा फराकिलो बनाउँदै कर्मचारी व्यवस्थापन गरी विशेषज्ञ सेवा दिने तयारीमा रहेको अस्पताल विकास समिति अध्यक्ष रामप्रसाद ढकाल बताउनुहुन्छ ।

“भवन अभावमा विशेषज्ञ सेवा सुरु गर्न सकिएको थिएन, अब संरचना तयार भएको छ, विशेषज्ञ सेवा सञ्चालन गरेर प्रभावकारी सेवा दिने तयारीमा छौँ”, उहाँले भन्नुभयो । पाल्पा सदरमुकाम तानसेन देखि करिब ६५ किलोमिटर पूर्वमा रहेको यस अस्पतालमा हाल प्रसूति, एपेण्डिसाइटिस, हर्निया, हाइड्रोसिललगायतको शल्यक्रियामार्फत उपचार हुन थालेपछि स्थानीयलाई ठूलो राहत पुगेको छ ।

सो समस्याको उपचारका लागि यसअघि सदरमुकाम तानसेन, बुटवल, पोखरा, काठमाडौँ जानुपर्ने बाध्यता थियो । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले पूर्वाधार निर्माण अब स्तरीय सेवा कसरी दिने भन्नेतर्फ केन्द्रित हुनुपर्ने बताउनुहुँदै यस अस्पताल रामपुरमा मात्रै नभई गण्डकी बेँसी क्षेत्रका नागरिकको लागि प्रत्यक्ष भूमिका खेल्ने अस्पताल रहेकाले नगरपालिकाबाट अस्पतालको व्यवस्थापन र सञ्चालनका लागि पूर्ण साथ र सहयोग रहने बताउनुहुन्छ ।

प्रदेश सरकारको मातहतमा रहेको रामपुर अस्पताल लुम्बिनी प्रदेशको नजरमा रहेकाले अस्पताललाई ट्रमा सेन्टरको रुपमा अघि बढाउनुपर्ने, रामपुर अस्पताल पालिकास्तरमा निर्माण भएका अन्य अस्पतालको अभिभावकत्व ग्रहण गर्ने र विशेषज्ञ सेवा दिने अस्पतालको रुपमा स्थापित हुनु आवश्यक रहेको लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले बताउनुभयो ।

नयाँ भवनको तल्लो तलामा हाल ओपिडी सेवा प्रवाह भइरहेको छ । विशेषज्ञ सेवाका लागि अहिले विभिन्न उपकरण जडान तथा व्यवस्थापनको काम अस्पतालमा भइरहेको छ । पचास शय्याको अस्पताल भएकाले यहाँ नौ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ ।

विसं २०५२ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भई रामपुरमा स्वास्थ्य उपचार सेवा सञ्चालनमा ल्याइएको हो । सेवाको क्षेत्रलाई विस्तार गरी २०६७ सालमा १५ शय्यामा स्तरोन्नति भई सेवा दिँदै आएको उक्त अस्पतालको २०७२ सालमा ५० शय्यामा स्तरोन्नति गरिएको हो । रासस