११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

सडकको पहुँचसँगै वैकल्पिक बन्यो ग्राभिटी रोपवे

सडकको पहुँचसँगै वैकल्पिक बन्यो ग्राभिटी रोपवे
अ अ+ अ-

स्याङ्जा । वालिङ ५ पाडेथोकका किसानले कुनै बेला आफूले उत्पादन गरेको कृषिजन्य वस्तु डोकोमा बोकेर बजारसम्म पुर्‍याउनुपर्ने बाध्यता थियो ।

गाउँदेखि नजिकैको वालिङ बजार पुग्न पनि झण्डै दुई घण्टा पैदल हिँड्नुपर्दथ्यो । बजारसम्म पुग्न गोरेटो बाटोसमेत राम्रो थिएन सडक सञ्जाल त परेको कुरा थियो ।

वालिङ बजारबाट उत्तर पूर्वी भेगमा रहेको अग्लो पहाड पित्लेक र त्यसको काखमा कृषि कर्ममा रमाइरहेको पाडेथोकमा पिउने पानीको समस्या पनि उत्तिकै थियो । सिँचाइका लागि वर्षाको पानी सङ्कलनका लागि पोखरी निर्माण गरिएका थिए । यसको समाधानका लागि खानेपानी लिफ्टिङ गरेर गाउँमा ल्याइयो ।

त्यसपछि मौसमी तथा बेमौसमी तरकारी, फलफूल उत्पादनमा सहजीकरण गर्न स्थानीय किसानको अगुवाइमा जनकल्याण कृषि सहकारी संस्था स्थापना भयो । सहकारीमा आवद्ध एकसय ४२ घरधुरीमध्ये ७२ घरधुरीले व्यावसायिक तरकारी उत्पादन गर्न थाले । उत्पादन बढेसँगै बजारीकरणकोे समस्या पनि बढ्दै गयो । स्थानीयले उत्पादन गरेको कृषि उपजको बजारीकरणको सहजताका लागि विसं २०७४ मा बिना विद्युतीय ग्राभिटी रोपवे निर्माण भई सञ्चालनमा आयो ।

वालिङ ५ पाडेथोक नजिकै रहेको सल्लाघारीबाट वालिङ १ त्रियासी जोड्न गरी रोपवे निर्माण भएको थियो । कृषि विकास मन्त्रालय व्यावसायिक कृषि तथा व्यापार आयोजनाको रु २४ लाख ४५ हजार र रु ३१ लाख ६० हजार बराबरको स्थानीयको जनश्रमदानमा पित्लेक–खहरे ग्राभिटी रोपवे सञ्चालन गरिएको सहकारीका व्यवस्थापक हुमनाथ लामिछानेको भनाइ छ ।

सल्लाघारीदेखि खहरेसम्म आठ सय ५४ मिटर लम्बाइको रहेको विना विद्युतीय ग्राभिटी रोपवेको भारवहन क्षमता एकसय २० किलोको छ । माथिल्लो स्टेशनबाट एकसय २० किलो तौल तल्लो स्टेशनमा पठाउँदा तल्लो स्टेशनबाट ३० किलोको तौल माथिल्लो स्टेशनसम्म पठाउन सकिन्छ ।

“यहाँका व्यावसायिक किसानले उत्पादन गर्नुभएको मौसमी तथा बेमौसमी तरकारी, फलफूल ढुवानीको भरपर्दो माध्यम रोपवे बन्यो”, उहाँले भन्नुभयो, “रोपवेको विकल्प थिएन, सस्तो र सहज थियो तर पछिल्लो एकवर्ष गाउँसम्म आउने बाटो कालोपत्र भई सडक सञ्जालले जोडिएपछि रोपवे वैकल्पिक साधनकोरुपमा प्रयोग थालेको छ ।”

गाउँबाट वालिङ तथा आसपासका अन्य बजारमा गाडी जाने र सोही गाडीमा यहाँका किसानले उत्पादन भएको कृषिजन्य उपज पठाउने गरेका छन् । “सल्लाघारीसम्म बोकेर पुर्याउनुपर्ने र त्यहाँबाट लोड गरी र तल्लो स्टेशनबाट फेरि लोड गरी सम्बन्धित व्यापारीकहाँ पुर्‍याउनुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “अहिले घरैबाट सवारीधनीहरुले उठाएर लगिदिने र आफैले बजारमा चलेको मूल्यअनुसार बिक्री गरी साँझ घरमै पैसा ल्याई बुझाइदिने गरेकाले अहिले यहाँका किसानलाई निकै सहज भएको छ ।”

रोपवेमार्फत ढुवानी गर्दा प्रतिकेजी रु एक शुल्क लिने गरिएको थियो । गाडीबाट ढुवानी हुन थालेपछि गत एक वर्षदेखि रोपवे खासै प्रयोगमा आएको छैन । प्रयोगमा नआए पनि ढुवानी गर्ने वैकल्पिक साधनकोरुपमा समय–समयमा मर्मत सम्भार कार्य भने निरन्तर भइरहेको व्यवस्थापक लामिछानेको भनाइ छ ।

पाडेथोकका व्यावसायिक किसान यज्ञप्रसाद लामिछानेले अहिले गाउँबाटै बजार जाने गाडीमार्फत कृषि उपज ढुवानी गर्नुहुन्छ । सवारी धनीले घर–घरबाटै कृषि उपज उठाएर बजार लैजाने र बिक्री गरेर हिसाब घरमै ल्याएर बुझाइदिने गरेकाले सहजता भएको उहाँले बताउनुभयो ।

“गाउँबाट बिहानमा दैनिक दुईवटा जीप वालिङ तथा आसपासका बजारमा जान्छन्”, उहाँले भन्नुभयो, “गाडीधनीले हामीले घर–घरमा तौलेर राखेका कृषि उपज बजार लैजान्छन् र चलनचल्तीको मूल्यमा बिक्री गरी साँझ आएर हिसाब दिन्छन्, त्योबापत प्रत्येक किसानले प्रतिकेजी रू दुई ढुवानीबापत दिन्छौंँ ।”

गाउँबाट बजारसम्म जाने गाडीलाई आम्दानी पनि र किसानलाई सहजता पनि हुने गरेको छ । “कोही ब्यापारीले माग गरेमा गाडीवालाले त्यहाँसम्म पनि सोही मूल्यमा ढुवानी गरिदिन्छन्”, उहाँले भन्नुभयो, “नभए उनीहरुले जहाँ पनि बिक्री गरेर हामीलाई हिसाब दिन्छन्, झट्ट हेर्दा कृषि एम्बुलेन्सको काम भएको छ ।”

मौसमी तथा बेमौसमी गोलभेडा, तरकारी, सुन्तला, कागती लगायतका कृषिजन्य उत्पादन गरी गाउँमा करोडौँ आम्दानी भित्रिने गरेको छ । धेरै लामो समयदेखि ठूलो सङ्ख्यामा यहाँका किसानले व्यावसायिक रुपमा तरकारी तथा फलफूल उत्पादन गर्दै आएका छन् । यहाँको मुख्य आम्दानीको स्रोत नै मौसमी तथा बेमौसमी तरकारी र फलफूल रहेको जनकल्याण कृषि सहकारी संस्थाका अध्यक्ष नीलकण्ठ लामिछानेले बताउनुभयो । रासस