२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट रंगाशालाका कारण डेढ वर्षदेखि डिप्रेसनमा छुः धुर्मुस (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले आफू डेढ वर्षदेखि डिप्रेसनमा रहेको खुलासा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आधा घण्टा लामो भिडियो पोष्ट गर्दै उनले चितवनमा निर्माणाधीन क्रिकेट रंगाशालाका कारण डेढ वर्षदेखि आफू ‘डिप्रेस्ड’ रहेको बताएका हुन् ।

‘म आज अलि आक्रोशित पनि हुन सकूँला । अलि बढी उत्तेजित पनि हुन सकूँला । मेरो स्वभाव यसरी आक्रोशित हुने स्वभाव होइन । तर म बाध्य भएँ । के गरुँ ?,उनी भन्छन् , ‘म मानसिक यातना भोगिरहेको छु । डेढ वर्षदेखि डिप्रेसिभ छु । त्यसैले म सुरूमै माफी चाहन्छु । मैले बोलेका कुराले कसैलाई ठेस पुर्याउँछ भने म माफी चाहन्छु ।’

केही दिन पहिलेमात्र नेपाली क्रिकेटले तय गरेको विश्वकप यात्रालाई स्मरण गराउँदै उनले नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगाशालाको आवश्यकता रहेको प्रस्ट पारेका छन् । ‘आज नेपाली खेलाडीले नेपालको शिर उच्च राख्दै गर्दा तिनै खेलाडीले खेल्ने रंगाशाला बनाउनु के अपराध हो ? के हामीले पाप गरेका थियौं ?’ धुर्मसले प्रश्न गरेका छन् ।

त्रिवि मैदानमा भएको उक्त खेलमा मैदानबाहिर दर्शकहरू पर्खालमा तथा रूख चढेर खेल हेरेका थिए । यस्तो अवस्थामा नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान अपरिहार्य भएको उनले बताएका छन् । ‘आज सञ्चारमाध्यममा रूखमा झुण्डी झुण्डी क्रिकेट हेरेको भनेर सम्प्रेषित भएका समाचार हेरेर हामीहलाई मज्जा आइरहेको होला ?’ धुर्मुस प्रश्न गर्छन् ।

रंगाशाला निर्माणको सपना धुर्मुस–सुन्तलीको मात्रै नभएर सबै नेपालीको रहेको बताउँदै उनले निर्माणको काम रोकिनुको कारणबारे भिडियोमा बताएका छन् ।