११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

संविधानको पालना र संवैधानिक जिम्मेवारी नै मार्गनिर्देशक सिद्धान्तः राष्ट्रपति पौडेल

संविधानको पालना र संवैधानिक जिम्मेवारी नै मार्गनिर्देशक सिद्धान्तः राष्ट्रपति पौडेल
अ अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्ना मार्गनिर्देशक सिद्धान्त रहने बताउनुभएको छ ।

राष्ट्रपतिमा निर्वाचित भएपछि सङ्घीय सांसद र प्रदेशसभा सदस्यलाई राष्ट्रपति कार्यालयमा साक्षात्कार तथा धन्यवाद दिन आज आयोजित समारोहमा उहाँले राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात् गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहने उल्लेख गर्नुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “संविधान निर्माण गर्ने प्रक्रियामा सहभागी रहेर काम गर्ने अवसर प्राप्त गरेका कारणले पनि संविधानले राष्ट्रपतिलाई दिएको काम, कर्तव्य र अधिकारप्रति म सचेत रहने विश्वास दिलाउन चाहन्छु । वर्तमान संविधानले नेपाल राष्ट्रलाई मार्गदर्शन गर्ने कुराप्रति सदैव सजग रहने प्रण गर्दछु ।” आवधिक निर्वाचन लोकतन्त्रको प्राणवायु भएको उल्लेख गर्दै उहाँले नेपालमा स्थानीय तह, प्रतिनिधिसभा, प्रदेशसभादेखि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा सबैमा बधाई तथा धन्यवाद ज्ञापन गर्नुभयो ।

“यस महत्वपूर्ण घडीमा मुलुकलाई यहाँसम्म ल्याउन अहम् भूमिका खेल्ने सहिद तथा अग्रजप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । संविधानको पालना र संरक्षण गर्ने विषय अबको प्रमुख दायित्व र कर्तव्य हुनेछ भन्ने प्रष्ट पार्न चाहन्छु । गणतान्त्रिक नेपालको राष्ट्रपतिबाट नेपाली जनताले अपेक्षा गरेको व्यवहार र कार्यशैलीप्रति म सदैव सचेत छु र भविष्यमा पनि रहनेछु”, उहाँले भन्नभयो ।

राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सजग रही निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने राष्ट्रपति पौडेलले प्रण गर्नुभएको छ । संविधानले नेपालका तमाम जनतालाई असिम अधिकार प्रदान गरेको उल्लेख गर्दै उहाँले यसको जगेर्ना गर्दै राष्ट्रलाई स्थायित्व दिन सबैको परम कर्तव्य भएको बताउनुभयो । पटकपटकका नयाँनयाँ प्रयोग नेपालले भोग्न सहज नहुने उहाँको भनाइ थियो ।

निर्वाचित जनप्रतिनिधिले संविधान र कानुनको मर्म तथा भावनालाई अगीङ्कार नगरी शासन सञ्चालन गर्दा व्यक्ति मात्र नभएर संस्थाप्रति समेत नागरिकका आस्था र विश्वास गुम्दै जाने कुरामा सबै सचेत हुनुपर्नेमा राष्ट्रपति पौडेलको जोड थियो । लोकतान्त्रिक शासन व्यवस्थामा लोकतान्त्रिक संस्था बलिया र कानुनसम्मत भएनन् भने त्यस्ता संस्थाप्रति नागरिकका विश्वास धर्मराउने, व्यवस्थाप्रति वितृष्णा जाग्न सक्ने हुनाले यसतर्फ सबै सजग रहन जरुरी छ भन्नेमा आफू दृढ रहेको उहाँले बताउनुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “मुलुकमा अहिले पनि थुप्रै चुनौती छन् । कोभिड–१९ महामारीपछि विश्वव्यापीरुपमा देखिएको आर्थिक सुस्तताको असर नेपालमा समेत देखिन थालेको छ । सङ्क्रमणकालीन न्यायको व्यवस्थापन, आर्थिक क्षेत्रमा देखिन थालेका असर एवं जलवायु परिवर्तनले देखापर्न थालेका असरको न्यूनीकरण तथा राजनीतिक उपलब्धिको रक्षा जस्ता विषयमा राष्ट्रिय सहमति र राष्ट्रिय एकताको आवश्यकता मैले देखेको छु ।”

प्राप्त राजनीतिक उपलब्धिको सदुपयोग गर्दै तीव्र आर्थिक, सामाजिक रूपान्तरणमा ध्यान दिन नसकेमा अन्ततः प्राप्त उपलब्धि माथि नै प्रहार हुन सक्नेतर्फ सबै गम्भीर हुन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले अबको बाटो दिगो शान्ति, विकास, सुशासन र समृद्धि रहेको र यसतर्फ सङ्घीय सरकार तथा सङ्घीय संसद् र प्रदेश सरकार तथा प्रदेशसभाका सदस्यको सकारात्मक भूमिकाको अपेक्षा गर्नुभयो । उहाँले सङ्घ, प्रदेश र स्थानीय तहका साथै निजी क्षेत्रको सहकार्यमा उच्चतम् प्रतिफल प्राप्त गरी प्राप्त प्रतिफलको समुचित वितरणबाट जनताको इच्छा र आकाङ्क्षा सम्बोधन गर्नुपर्नेतर्फ सबैको ध्यान जाने विश्वास व्यक्त गर्नुभयो ।

मेलमिलाप राष्ट्रिय एकताका माध्यमबाट कठिन समयमा पनि समस्याको सहज समाधान निकाल्न सकेको इतिहास गर्दै सबै एकताबद्ध हुन जरुरी रहेको उहाँको भनाइ थियो । नेपालको संविधानको धारा ६२ बमोजिम आफूलाई गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपतिका रुपमा निर्वाचित गराउनुहुने सम्पूर्ण सङ्घीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यप्रति राष्ट्रपति पौडेलले धन्यवाद ज्ञापन गर्नुभयो ।

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री, मन्त्री, सङ्घीय सांसद, प्रदेशका मुख्यमन्त्री, प्रदेशसभाका सदस्यलगायत सहभागी हुनुहुन्थ्यो । सो अवसरमा राष्ट्रपति पौडेलले आमन्त्रण अतिथिको सम्मानमा चियापान समारोह आयोजना गर्नुभएको थियो । रासस