११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

रामपुरका किसानलाई आलु स्याहार्ने चटारो

रामपुरका किसानलाई आलु स्याहार्ने चटारो
अ अ+ अ-

रामपुर । खेतमा उत्पादन भएको आलु खन्ने चटारोले यमकान्ती गौतमलाई भ्याइनभ्याई छ । लामो समयदेखि आलु उत्पादन गर्दै आउनुभएकी उहाँ यतिबेला आलु खन्ने र भण्डारण गर्ने कार्यमा व्यस्त हुनुहुन्छ ।

रामपुर नगरपालिका–७ का अगुवा किसान गौतम यस क्षेत्रमा आलु उत्पादन गर्ने किसानमध्ये उहाँ अगपङ्क्तिमा हुनुहुन्छ । बीउ तथा खायन आलु उत्पादन गर्ने गौतम अहिले साढे सात रोपनीमा लगाएको आलु खन्ने र स्याहार्ने कार्य गरिरहेको बताउनुहुन्छ । “आलु सोचेभन्दा धेरै राम्रो उत्पादन भइरहेको छ, बिक्री गरेपछि तत्काल पैसा बुझ्न पाइने हुदा व्यावसायिक उत्पादनमा जोड दिएको छु, खेतभरि लगाएका आलु फलेको देख्दा रमाइलो लागिरहेको छ”, उहाँले भन्नुभयो ।

उहाँले करिब साढे छ क्विन्टल सेरिटा, खुमल, उज्जवल जातको आलु लगाउनुभएको हो । बर्सेनि गौतमले करिब एक सय क्विन्टल बीउ तथा खायन आलु उत्पादन गर्नुहुन्छ । आलु खेतीबाटै उहाँको परिवारको जीविका चलेको छ ।

“आलु लगाउन थालेपछि घरायसी व्यवहार चलाउन सहज भएको छ”, उहाँले भन्नुभयो, “राम्रो मलजल र उन्नत जातको बीउ प्रयोगले उत्पादन राम्रो भइरहेको छ, यस व्यवसायबाट सन्तुष्ट छु ।” यसै व्यवसायबाट दुई छोरालाई सहरमा कोठा भाडामा राखेर पढाइरहनुभएको छ । छोराको उज्वल भविष्यका लागि विगत सात वर्षदेखि आलु खेतीलाई व्यावसायिक उत्पादनमा जोड दिइरहनुभएको छ । धेरै आलु उत्पादन गर्ने उहाँलाई हरेक वर्ष बजार समस्याकै पिरलो हुने गरे पनि अहिले भने सो समस्या छैन । यो वर्ष करिब रु दुई लाख आम्दानी हुने उहाँको अनुमान छ ।

अघिल्ला वर्षमा उहाँले आलु खनेर सिधै भैरहवाको शीतभण्डारमा लगेर राख्नुहुन्थ्यो । बीउ आलु भएकाले रोप्ने बेलामा महँगो मूल्यमा रामपुरमा ल्याएर बिक्री गरे तापनि यस पटक भने खायनका लागि खनेर सकिएपछि तत्काल बिक्री गर्ने उहाँ बताउनुहुन्छ । खनेको आलु भण्डारण गरी रोप्ने बेला बीउ बिक्री गर्दा अघिल्ला वर्षमा रु पाँच/छ लाख कमाइ गर्नुहुन्थ्यो ।

रामपुर–६ की सीता भण्डारीले यस वर्ष १२ क्विण्टल आलु उत्पादन गर्नुभएको छ । खायन आलु उत्पादन गर्ने देवकोटा बर्सेनि उत्पादन राम्रो भएपछि व्यावसायिक उत्पादनमा हौसला बढेको बताउनुहुन्छ । उत्पादित आलु गत वर्षदेखि चिप्स उत्पादक कम्पनीलाई बिक्री गर्दै आउनुभएको छ । अहिले पनि चिप्सकै लागि बिक्री गर्ने तयारीमा रहेको उहाँ बताउनुहुन्छ ।

“चिप्स बनाउने कम्पनीसँग समन्वय गरेर गत वर्षदेखि नै बिक्री गरिरहेका छौँ, आलु बिकेन भन्ने पिरलो भएन, बिक्री गर्ने बित्तिकै हातमा पैसा परिहाल्ने, शीतभण्डारमा राख्ने खर्च, त्यहाँसम्म लैजाने ल्याउने यातायात ढुवानीमा खर्चनुपरेन”, उहाँले भन्नुभयो ।

बिक्रीका लागि उहाँले हरेक वर्ष तीन रोपनी जग्गा छुट्टाएर आलु खेती गरिरहनुभएको छ । व्यावसायिक उत्पादन थालेपछि आर्थिक क्षेत्रमा बलियो बन्दै गएको उहाँको अनुभव छ । फस्ट च्वाइस फुड प्राइभेट लिमिटेड कम्पनी बुटवल बेलबासको सहकार्यमा रामपुर नगरपालिकाले यस वर्ष खायन आलु उत्पादन कार्यक्रम सुरु गरेपछि किसानको आकर्षण बढ्दै गएको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताउनुभयो ।

रामपुरमा उत्पादन भएको आलु सो कम्पनीले खरिद गरेर लैजाने सम्झौता भएपछि किसानले उत्साहित हुँदै आलु खेती लगाएका छन् । कार्डिनल, खुमल उज्वल, खुमल रातो, जनकदेव, टिपिएस जातका बीउ खरिद गरेर खेती गरेका छन् ।

“आलुको लागि यो क्षेत्र उपयुक्त रहेकाले नगरपालिकाबाट उत्पादनमा जोड दिएर विभिन्न कार्यक्रम गरिरहेका छौँ, व्यावसायिक उत्पादन गर्ने यहाँका किसानले आलुबाट राम्रो आयस्रोत लिन सफल हुनुभएको छ”, कृषि शाखा प्रमुख पाण्डेय भन्नुभयो ।

रामपुरमा धेरै उत्पादन हुने आलु खेतीलाई व्यवसायीकरण गरी यसैबाट आर्थिकस्तर उकास्न आलु लगाउन किसानलाई उत्प्रेरित गर्दै बीउ अनुदान सहयोगका कार्यक्रम गरिरहेको रामपुर नगरपालिका प्रमुख रमणहादुर थापाले बताउनुहुन्छ । उत्पादित आलुलाई रामपुरमै सुरक्षित भण्डारणका लागि नगरले शीतभण्डार निर्माण गरी प्रयोगमा ल्याएको नगर प्रमुख थापाले बताउनुभयो ।

“ठूलो परिमाणमा उत्पादन गर्ने कृषिउपजलाई नगरले बजारीकरणको व्यवस्थापन गर्नेछ, उत्पादनमा किसानले जोड दिएर काम गर्नुपर्‍यो, विभिन्न अनुदानका कार्यक्रम पनि नगरले सहयोग गर्नेछ”, नगर प्रमुख थापाले भन्नुभयो ।

यस वर्ष हराभरा महिला कृषि सहकारी, दियालो सामाजिक महिला उद्यमी कृषि सहकारी, कँडेलबारी कृषक समूह, तालपोखरा कृषक समूह, आत्मनिर्भर कृषक समूह, जनजागृति कृषक समूह, सातबिसे सेरा कृषक समूह, माझटोल कृषक समूह, नदी किनार कृषक समूह, शुभप्रभात महिला कृषक समूहले रामपुर नगरपालिकाको अनुदान सहयोगमा खायन आलुखेती गरिएको हो । यस वर्ष झण्डै तीन सय क्विन्टल आलुको बीउ किसानलाई अनुदानमा उपलब्ध गराइएको छ ।

स्थानीयस्तरमा नै शित भण्डार बनेपछि किसानलाई भण्डारण गर्न सजिलो र अर्कोतर्फ उत्पादित आलुबाट आम्दानीको स्रोत राम्रो बनेपछि यस व्यवसायबाट आर्थिक समृद्धितर्फ किसान अगाडि बढेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने बताउनुहुन्छ ।

खायन आलु उत्पादन कार्यक्रमअन्तर्गत नगरपालिकाभित्र यस वर्ष करिब चार सय रोपनी क्षेत्रफलमा आलुखेती गरिएको छ । रामपुरमा करिब दुई हजार पाँच सय हेक्टर क्षेत्रफलमा आलुखेती गरिँदै आएको छ । पछिल्ला वर्षमा रामपुरमा पालिकाले बीउमा अनुदान दिन थालेपछि आलुखेतीमा किसानको ह्वात्तै आकर्षण बढेको छ ।

छोटो समयमा खेती लगाएर धेरै उत्पादन गर्न पाइने आशामा धेरैले हिउँदयाममा व्यावसायिक आलु उत्पादनलाई जोड दिन थालेका छन् । रामपुर क्षेत्रमा आलुको उत्पादन राम्रो हुन थालेपछि आयस्रोतको एउटा दरिलो माध्यम बनेको छ । रामपुरबाट बिक्रीका लागि अहिले तानसेन, पोखरा, बुटवल, नारायणघाट, काठमाडौँसम्म सडक सञ्जाल जोडिएपछि सवारी साधनमा पठाउन सजिलो भएको छ । रासस