११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

पाथीभरा पदमार्ग : ‘डस्टबिन’ रित्तो, आसपासमा फोहरको थुप्रो

पाथीभरा पदमार्ग : ‘डस्टबिन’ रित्तो, आसपासमा फोहरको थुप्रो
अ अ+ अ-

ताप्लेजुङ । पाथीभरा मन्दिर जाने पदमार्गको फोहर व्यवस्थापनका लागि बुधबार ‘हाम्रो अभियान नेपाल’ सहितका छ संस्थाले पदमार्गका विभिन्न क्षेत्रमा डस्टबिन राखेका छन् । यसअघि पाथीभरा क्षेत्र विकास समिति, नेपाल टेलिकमलगायत संस्थाले पदमार्गमा दर्जनौँ थान डस्टबिन राखेका थिए । तर फोहरजन्यवस्तु डस्टबिनभन्दा बाहिर यत्रतत्र छरिएको अवस्थामा देखिन्छन् । विभिन्न खानेकुरा, पेयपदार्थका खोल, बोतल तथा मोजालगायत फोहरजन्यवस्तु पदमार्गको आसपासमा फालिएका पाइन्छन् ।

पदमार्गमा यसरी फोहर बढ्नुमा पाथीभरा दर्शन र सो क्षेत्रमा घुमघामका लागि आउने पर्यटकको लापरबाही प्रमुख कारण भएको सामाजिक अभियन्ता रमेश दाहालले बताउनुभयो । “नजिकै डस्टबिन हुँदाहुँदै बाटोमा खानेकुरा र पेयपदार्थका खोल तथा मोजा फालेर जथाभावी फोहर गर्ने गरेको पाइएकाले मन्दिरसँग सम्बद्ध सङ्घसंस्थाका साथै सरोकारवाला निकायले यस्तो कार्यमा रोक लगाउनुपर्छ”, उहाँले भन्नुभयो । धार्मिक तथा पर्यटकीय क्षेत्रमा यसरी जथाभावी फोहर फाल्नाले यहाँको वातावरणका साथै प्रकृतिमा समेत प्रतिकूल असर पुग्ने दाहालको भनाइ थियो ।

पदमार्गमा जम्मा भएको फोहरको उचितरुपमा व्यवस्थापन नभएको पाथीभरा दर्शनका लागि आउनुभएका विष्णुप्रसाद आचार्यले बताउनुभयो। “अन्यत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रमा फोहर फाल्नेलाई नियम बनाएरै नियन्त्रण र नियमन गर्ने परिपाटी छ, तर यहाँ त्यस्तो केही देखिएन, यसमा सबैको ध्यान जान आवश्यक छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार बस्ती आसपासमा पनि घरबाट निस्कने फोहरको सङ्कलन र व्यवस्थापन नभएको देखिएको छ । यात्राका क्रममा विभिन्न ठाउँमा टिनका टुक्रा, रक्सी तथा बियरका बोतल, प्लाष्टिकजन्यवस्तु यत्रतत्र देखिएको आचार्यको भनाइ थियो । यस क्षेत्रका व्यापारले समेत जथाभावी फोहर फाल्ने गरेको उहाँले बताउनुभयो । पाथीभरा क्षेत्रको माथिल्लो भागमा फोहर न्यून भए पनि बस्तीभन्दा तलको भागमा फोहजन्यवस्तु अत्यधिक देखिएको पाथीभरा दर्शन गरेर फर्किनुभएका एक दर्शनार्थीले बताउनुभयो ।

धार्मिक तथा पर्यटकीय क्षेत्र पाथीभरा क्षेत्रमा रेडपान्डासहितका वन्यजन्तु पाइन्छन् । यसलाई लोपोन्मुख हाब्रे ९रेडपान्डा० को चरन र उचित बासस्थानका रुपमा लिने गरिएको छ । यसरी यस क्षेत्रमा फोहर बढ्नुले यहाँका बोटबिरुवा र जनावरलाई नकारात्मक असर पुग्ने देखिएको सरोकारवालाले बताएका छन् । फोहरकै कारण भूमि, वायु र जल प्रदूषण हुने भएकाले जीवजन्तु तथा बोटबिरुवालाई असर गर्ने वातावरण संरक्षणकर्मी बताउँछन् ।

यहाँ मासुजन्य फोहरका साथै खानेकुराहरु जथाभावी फाल्दा त्यहाँ कुकुर पुग्ने र रेड पान्डा कुकुरको आक्रमणमा पर्ने खतरा बढेको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताउनुभयो । “जथाभाबी खानेकुरा र मासुजन्य फोहर फाल्दा कुकुरहरु आउने जाने र त्यो समयमा रेडपान्डा आक्रमणमा पर्ने समस्या देखिन्छ, कुकुरकै आक्रमणले पाथीभरा क्षेत्रमा रेडपान्डा मरेका घटना पनि छन्”, उहाँले भन्नुभयो ।

मन्दिरमा बलि दिएर ल्याइएको पाठापाठीको मासुबीच बाटोमै खाने, सफा नगरी छोड्ने गर्नाले भुस्याहा कुकुरहरु आउने र रेडपान्डालाई आक्रमण गर्ने गरेको राईले बताउनुभयो । यस क्षेत्रका व्यवसायीले जथाभावी कुकुर पाल्न नहुने तथा फोहर पनि व्यवस्थित तरिकाले सङ्कलन गर्नुपर्ने उहाँको भनाइ थियो ।

कुहिने र प्लास्टिकजन्य वस्तुले माटो प्रदूषण भई हानिकारक रसायन निस्कने, हावामा हानिकारक ग्यास फैलने तथा पानीका स्रोतसमेत फोहर हुने भएकाले व्यवस्थित रुपमा फोहर सङ्कलन गनुपर्नेमा स्थानीयवासीले जोड दिए । फोहरले वातावरण र प्रकृतिमा नकारात्मक प्रभाव पार्ने भएकाले यसको उचित व्यवस्थापन हुन नसकेको यहाँ आउने पर्यटकले गुनासो गरेका छन् । फोहरको उचित व्यवस्थापन भएमा दैनिक सयौँको सङ्ख्यामा पाथीभरा आउने धार्मिक पर्यटकलाई सहज हुने उनीहरुको भनाइ थियो ।

यहाँको फोहर व्यवस्थापनका लागि पदमार्गका विभिन्न ठाउँमा डस्टबिन राखिएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले बताउनुभयो । “ठाउँठाउँमा डस्टबिन राख्ने, समय–सयममा कर्मचारी खटाई सरसफाइ गर्ने गरिएको छ । यहाँ आउने जाने तीर्थयात्रीले प्राय: डस्टबिनको प्रयोग नगरेको पाइन्छ, फोहर गर्नु हुँदैन भन्ने चेतना सबैमा हुनुपर्छ, सीमित व्यक्ति र संस्थाको मात्रै प्रयासले पुग्दैन्”, उहाँले भन्नुभयो । पछिल्लो समय हिउँ परेकाले पनि फोहर उठाउन समस्या भएको अध्यक्ष थेबेको भनाइ थियो ।

वातावरणलाई स्वच्छ राख्दै पाथीभरामा आउने जाने धार्मिक पर्यटकलाई सहज बनाउने आफूहरुको प्रयास निरन्तर हुने समितिका उहाँले बताउनुभयो । अलौकिक शक्तिपीठका रुपमा मानिने पाथीभरामा स्वदेशी र विदेशी गरी वार्षिक लाखौँको सङ्ख्यामा तीर्थयात्री आउने गरका छन् । नेपालसहित भारतका विभिन्न ठाउँबाट भक्तजनको बाक्लो उपस्थिति हुने गरेको छ । विशेषगरी दसैँको समयमा भक्तजनको भीड लाग्ने गर्दछ । माघदेखि बैशाखसम्मको समयलाई पाथीभरा आउने मुख्य यामका रुपमा लिइन्छ । रासस