११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने

स्वादका लागि चर्चित बागलुङको आलु

स्वादका लागि चर्चित बागलुङको आलु
फाईल फोटो
अ अ+ अ-

बलेवा । कृषिमा अब्बल बागलुङको ताराखोला आलुका लागि चर्चित गाउँपालिका हो । ताराखोलाका पाँचवटै वडामा बर्खे आलु फल्छ । हिउँदमा पनि गाउँपालिका–४ का बेसी फाँटमा आलु फलेको छ ।

ताराखोले आलुले अहिले गण्डकी प्रदेशमा नै आफ्नो नाम स्थापित गरिसकेको छ । यहाँको आलुमा मिसावट पनि छैन । किसानले आलुबाटै घर खर्च चलाउने र बालबालिका पढाउने गरिरहेका छन् । आलुको बजारसमेत सजिलै पाइएकाले किसानले हरेक वर्ष उत्पादन बढाउने गरेको ताराखोला–५ की दिलकुमारी पुन बताउनुहुन्छ । आएका पाहुनालाई खुवाउनेदेखि कोसेली पठाउने काममा पनि ताराखोले आलु प्रयोग हुन्छ । यहाँका किसानले आलुको चिप्स बनाउनेदेखि अन्य धेरै परिकारका लागि तालिम लिएका छन् । कृषि ज्ञान केन्द्रले पनि आलु उत्पादन बढाउन लगानी गरेको छ ।

ताराखोलामा जस्तै बागलुङको ढोरपाटनमा पनि उपभोक्ताको जिब्रोमा गडिने आलु फल्छ । काठेखोला गाउँपालिकाको धम्जा, बागलुङ नगरपालिकाको भकुण्डे, जैमिनी नगरपालिकाको दमेक र बरेङ गाउँपालिकाको सुखौरा भित्रीवन आलुका लागि चर्चित ठाउँ हुन् ।

बागलुङको उपल्लो पहाडी भूभागमा बर्खे आलु फल्छ भने बेसी फाँटमा हिउँदको समयमा आलु उत्पादन हुने गरेको छ । पहाडको आलु बेसीँका लागि बीउ हुन्छ । बागलुङ बजारमा आजकल जिल्ला बाहिरको आलु थोरै मात्र उपयोग हुन्छ । उपभोक्ताले पनि स्थानीय जातकै आलु छानेर खान रुचाउन थालेका छन् ।

बागलुङमा आलुको स्थानीय उत्पादन बढ्दो छ । किसानले पनि व्यावसायिक रुपमा उत्पादन गरेर बजारमा ल्याएपछि तराईका आलुको माग घटेको छ । “आजकल तराईबाट ट्रकमा आलु आउन छाडेको छ, अधिकांशले गाउँतिरका खोज्छन्”, व्यवसायी अर्जुन चोखालले भन्नुभयो, “स्वादमै फरक पर्ने भएपछि सबैको चाहना स्थानीय आलुमा छ ।”

पछिल्लो समय बागलुङ बजारमा ताराखोला, ढोरपाटन र मुस्ताङका आलु ल्याउने गरिएको छ । ताराखोलाको आलु सानो आकारको पाइन्छ भने ढोरपाटन र मुस्ताङको आलु ठूलो आकारको हुन्छ । “पहिला ट्रकमा आलु र प्याज प्रशस्त आउने गरेकामा केही वर्षदेखि प्याज मात्रै मगाएका छौँ”, थोक बिक्रेता गोपाल कँडेलले भन्नुभयो, “बागलुङकै ग्रामीण क्षेत्रबाट आइरहेको आलुले प्रशस्त पुगेको छ ।”

उहाँले ताराखोला, ढोरपाटन र गाजामा फलेको आलु खरिद गरेर बेच्ने गरेको बताउनुभयो । ती स्थानबाट पोखरा र भैरहवासम्म पनि बिक्रीका लागि किसानले आलु निकासी गर्ने गरेका छन् । सजिलै पाक्ने र मीठो स्वादका कारण स्थानीय आलुको माग बढिरहेको होटल व्यवसायी बताउँछन् ।

स्थानीय उत्पादनको आलु खानेले तराई र भारतबाट आउने आलु मन नपराउने होटल व्यवसायी रुसन सापकोटाले बताउनुभयो । “स्थानीय पाएसम्म हामीले पनि बाहिरको लिने कुरै भएन”, सापकोटाले भन्नुभयोे, “पाहुनाकै चाहनाअनुसार ताराखोले र ढोरपाटनको आलु खुवाइन्छ ।” स्वादका कारण स्थानीय आलु नै बढी खपत भएको उहाँले बताउनुभयो । ताराखोला र ढोरपाटनका अलावा बागलुङका बँेसीमा फलेको आलुको पनि उत्तिकै माग छ ।

अघिल्ला वर्षको तुलनामा बागलुङमा आलु उत्पादन बढेको कृषि ज्ञान केन्द्रको पनि तथ्याङ्क छ । आलु लगाउने क्षेत्रफल र उत्पादन बढेकाले आत्मनिर्भर मात्र नभइ बिक्री गरेर लाखौं कमाइसमेत भित्रिएको केन्द्रका प्रमुख भानुभक्त भट्टराइले बताउनुभयो । चालु वर्ष बागलुङमा तीन हजार ५० हेक्टर क्षेत्रमा आलु लगाइँदा ५४ हजार आठ सय १० मेट्रिकटन आलु फलेको केन्द्रको प्रारम्भिक तथ्याङ्क छ । प्रतिकिलो रु ३० मा मात्रै बेच्न सक्दा किसानले रु एक अर्ब ६४ करोड कमाउन सक्ने उहाँले बताउनुभयो ।

उहाँका अनुसार गत वर्ष जिल्लामा ४५ हजार छ सय मेट्रिक टन आलु फलेको थियो । यस वर्षको उत्पादन २० प्रतिशतले बढी हो । मौसम राम्रो परेको, उन्नत प्रविधिको प्रयोग र समयमा मलको उपलब्धताले यो अवस्था आएको उहाँले बताउनुभयो । “बागलुङको आलुमा रासायनिक मल प्रयोग भएको छैन, कम्पोष्ट मलको प्रयोग भएको छ”, भट्टराइले भन्नुभयो, “राम्रो बजार पाएकाले किसान पनि खुसी भएका छन् ।”

ताराखोला, तमानखोला र काठेखोला गाउँपालिका तथा ढोरपाटन र जैमिनी नगरपालिकामा धेरै आलु फल्छ । गलकोट र निसीखोलामा पनि आलु उत्तिकै फलाइन्छ । बागलुङमा ढोरपाटनको स्थानीयबाहेक कार्डिनल, जनकदेव, खुमलटार र एमएस ४२ दशमलव तीन नामका आलु बढी फलेका छन् । सबैभन्दा बढी उपभोक्ताले ताराखोला र ढोरपाटनको आलु मन पराउने गरेको सापकोटाले बताउनुभयो ।

आलुको उत्पादन बढेपछि कृषि ज्ञान केन्द्रसहित स्थानीय पालिका समेतले जिल्लामा सातवटा शीत भण्डार बनाएका छन् । ती शीत भण्डारमा तीन सय ५० मेट्रिक टन बढी भण्डारण गर्न मिल्छ । एक सय १० मेट्रिक टनको भण्डारण निजी क्षेत्रले बनाएको छ ।

आलुको उत्पादकत्व बढाउन सञ्चालित आलुजोन, ब्लक र पकेटक्षेत्र विस्तार गर्दा पछिल्लो चार वर्षमा आलुको उत्पादन दोब्बर बढेको कार्यालयका सूचना अधिकारी कुमार पुनले बताउनुभयो । चार वर्षदेखि हरेक वर्ष २० देखि २५ प्रतिशत बढिरहेको छ । घरघरमा फलाएर खाने आलुको रेकर्ड नभएको उहाँले बताउनुभयो ।

“जसले ठूलो परिणाममा उत्पादन गरेर बजार पठाएका छन् उनीहरुको मात्रै तत्थ्याङ्क राखिएको छ”, पुनले भन्नुभयो, “बजारमा आलुको मूल्य रु ५० देखि ९० प्रतिकिलोमा बिक्री भइरहेको छ ।” तथ्याङ्कका लागि किसानले रु ३० मात्र पाएको रेकर्ड बनाए पनि रु एक अर्ब ६४ करोडको आलु बिक्री भएको अनुमान गर्न सकिने उहाँले बताउनुभयो । रासस