११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

विदेशमा सीप सिकेर स्वदेशमा लगानी

विदेशमा सीप सिकेर स्वदेशमा लगानी
अ अ+ अ-

रामपुर । कुनै समय घरका आँगन र डिलमा सौखका रूपमा कफी लगाइन्थ्यो । उत्पादन लिन नभई घर वरपरको वातावरण सुन्दर र हरियाली बनाउन गाउँघरमा सबैका घरमा दुई–चार बोट कफीका भेटिन्थे । कफीका बोटमा फलेका दानाको महत्व राम्रोसँग थाहा नहुँदा त्यसै खेर जान्थ्यो ।

हिजोआज भने कफीतर्फ आकर्षण बढ्दै गएको छ । यसको खरिद बिक्री, खेती विस्तारमा समेत जोड दिइन थालिएको छ । पाल्पाको रामपुर नगरपालिका–५ भम्बकका प्रेमबहादुर सिंले अहिले कफीखेती गर्नुका साथै गाउँघरमा उत्पादित कफी खरिद बिक्री गरिरहेका छन् । करिब आठ वर्ष दक्षिण कोरिया बसेर फर्किएका उनी अहिले कफी व्यवसायमा रमाइरहेका छन् ।

विदेशमा रोजगारीका क्रममा उनी कफी कम्पनीमा काम गर्दथे । त्यहाँ बस्ने क्रममा कफी उत्पादन, प्रशोधन र बजारीकरणका सीप सिकेपछि अहिले स्वदेशमा बसेर व्यवसाय गर्न सजिलो भएको बताउँछन् । वैदेशिक रोजगारीका क्रममा गुल्मीमा उत्पादन भएको कफी आफू कार्यरत कम्पनी सञ्चालकले खरिद गरी हिमालयको गिफ्ट नामले प्रशोधन गरी बजारमा बिक्री गरेको देखेपछि सिंले गाउँ फर्केर आफ्नो देशको उत्पादन आफैँले बिक्री गर्ने अठोट लिए ।

“हाम्रो देशमा उत्पादन भएको कफी विदेशीले महँगो मूल्यमा ब्राण्ड बनाएर बजारमा बिक्री गरिरहेको छ”, उनले भने, “सीप र प्रविधि नहुँदा नेपाली उत्पादन विदेशीले प्रशोधन गरी बजार पठाएका छन्, आफ्नो उत्पादन आफैँ प्रशोधन गरी बजार पठाउने मनसायले विदेशबाट फर्केर यस व्यवसायमा लागेको हुँ ।”

नेपालमा उत्पादन भएको कफीको स्वाद बेग्लै पाएपछि नेपाल फर्केलगत्तै व्यवसायमा लागेको सिं बताउँछन् । उनले कफी उत्पादन, खरिद बिक्रीमात्र नभई ग्राहकको मागअनुसार बिरुवा उपलब्ध गराउँदै आएका छन् । बरमुन अर्मिलो, बरमुन भर्बिलो, गेइसिया जातका कफी खरिद बिक्री गर्छन् । स्थानीय उत्पादन भएकाले ग्राहकले धेरै मन पराएका छन् ।

उनी भन्छन्, “घरका आँगन, डिल वरिपरि सौखमा रूपमा लगाइएका पाँच–सात कफीका बोट आमाले लगाउने गर्नुहुन्थ्यो, दाना फल्ने आफैँ भुइँमा झर्ने गथ्र्यो, कुनै उपयोगमा ल्याइएन, विदेशमा गएपछि मात्रै कफी कम्पनीमा काम गर्न थालेपछि यसको महत्व र फाइदाबारे जानकारी पाएँ ।”

विदेशमा बटुलेको अनुभवले सिंले स्वदेशमा सोही सीप लगानी गरेका छन् । आफूले उत्पादनदेखि प्रशोधनका प्रविधिको ज्ञान सीप जानेपछि काम गर्न धेरै सजिलो परेको उनको भनाइ छ । उनले गुल्मीबाट बीउ ल्याएर खेती सुरु गरेका हुन् । स्याङ्जाको चापाकोट नगरपालिका–४ लग्दाहामा आजभन्दा करिब सात वर्षअघि पाँच सय बोट बिरुवा लगाए । सो बिरुवाले हाल उत्पादन दिइरहेको छ । व्यावसायिक तवरबाट खेती गरेका उनले बिरुवा लगाएको दुई वर्षमा फुल्न थालेको बताउँछन् ।

स्याङ्जाको वालिङ, जगत्भन्ज्याङमा उत्पादन भएका कफी खरिद गरेर पाल्पा रामपुरमा प्रशोधन गरी बाहिर पठाउँछन् । ‘अग्र्यानिक चिया तथा कफी’ नाममा गत वर्ष घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा दर्ता गरी आफैँ उत्पादन, खरिद, प्रशोधन गरी बजारीकरण गरिरहेका छन् । आफ्नै घरमा प्रशोधन मेसिन जडान गरी बजारीकरण गरेपछि राम्रै आम्दानी हुन थालेको सिंले बताए ।

गत वर्षमात्रै आफूले लगाएको एक हजार आठ सय किलो कफी उत्पादन गरेका छन् भने करिब २८ टन कफी खरिद बिक्री गरेको उनले बताए । गत वर्ष एक हजार छ सय किलो कफी जापान, २५ किलो जर्मनी, सात किलो भारत, छ किलो कोरियालगायत देशमा खपत गरेका छन् । गत वर्ष करिब रु आठ लाख बराबरको कारोबार गरेका सिं यस वर्ष रु १० लाख बढी कारोबार हुने बताउँछन् । छहारी, भिरालो जनिनमा बिरुवा लगाएका छन् । कफीखेतीलाई व्यवसायीकरण गर्न उनले आफैँ उत्पादन गरेको एक हजार बिरुवा स्थानीयलाई निःशुल्क वितरण गरेका छन् । यस वर्ष पाल्पा रामपुरमा कफीका बिरुवा लगाउने तयारी गरिरहेका छन् ।

“यसै व्यवसायबाट परिवारको जीविका चलेको छ, अर्काको देशमा काम गर्न सजिलो छैन, आफ्नै देशमा बसेर व्यवसाय गर्दाको आनन्द नै बेग्लै छ”, उनले भने ।

कफी प्रशोधनका लागि घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले प्रशोधन गर्ने मेसिन अनुदानमा उपलब्ध गराएपछि सहज भएको छ । आफ्नै देशमा घरपरिवारका साथमा व्यवसाय गर्न पाउँदा मन आनन्दित भएको सिं अनुभव सुनाउँछन् । आफ्नो देशमा उत्पादन भएको वस्तु यहीँ प्रशोधन गरी उपभोक्तामाझ पु¥याउन पाउँदा खुसीको क्षण सम्झन्छन् । उहाँले रामपुर क्षेत्रलाई कफी उत्पादन प्रशोधन केन्द्रका रूपमा चिनाउने अठोट लिएका छन् । जापानबाट माग धेरै आएकाले पुर्याउन नसकिएको उनी बताउँछन् । प्रशोधन गरिएको कफी हाल सिंले प्रतिकिलो रु एक हजार आठ सयमा बजारमा बिक्री गरिरहेका छन् ।

कफी उत्पादनका लागि सातवटा प्रशोधन मेसिनको व्यवस्थापन गरेका छन् । यस व्यवसायमा करिब रु १० लाख बराबरको लगानी परेको छ । अहिले उनको नर्सरीमा करिब आठ हजार कफीका बिरुवा बिक्री गर्न लायकका छन् । मध्यपहाडका ४० जिल्लामा कफीखेती गरिएको तथ्याङ्क छ ।

केही जिल्लामा भने व्यावसायिकरूपमा खेती गरेको पाइन्छ । पाल्पा, स्याङ्जा, पर्वत, अर्घाखाँची, कास्की, लमजुङ, तनहुँ, गोरखा, ललितपुर, धादिङ, मकवानपुर, म्याग्दी, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकलगायत जिल्लामा कफीखेतीको विस्तार गरिँदै छ । सुशीला रेग्मी/रासस